साझामा अचेल नेपालको बारेमा बिचार आदान प्रदान र बहस हुन छाडेको छ । राजनीतिक बहस त परै जाओस, हिंसात्मक तथा आतंकबादी ज्यादतिहरुको विरोध गर्ने उर्जा समेत समाप्त भए जसो छ । देशभित्र वा बाहिर जहाँसुकै रहेका नेपालीहरु नेपालको अन्धकार भविष्य तथा अनिश्चित वर्तमान देखेर दिक्दार र चरम निराश बनेका छन भन्ने मलाइ लागेको छ । हाम्रो समाज डरलाग्दो रुपमा आतंकवादको चपेटामा परेको छ, जसका विवरणहरु पत्रपत्रिकामा छिटपुट आउँछन । तलका विवरणहरुले तिनै आतंकबादको चित्कार बोलेको छ -
--------------
केही दिनअगाडि अखबारमा पश्चिम नेपालको एउटा समाचार छापियो । एकजना बाबुले 'आफ्ना छोरालाई कुट्ने माओवादी कार्यकर्तालाई सजाय देऊ भगवान्' भन्दै बोकाको भाकल गरेको यो समाचार 'नयाँ नेपाल', 'क्रान्तिकारी रूपान्तरण', 'युगान्तकारी परिवर्तन'जस्ता हामीले बारम्बार प्रयोग गर्ने शब्दमाथि कठोर व्यंग्यबाण हो । माओवादी साथीहरू 'हजार माइलको लामो यात्रा पहिलो पाइलाबाट सुरु हुन्छ' भन्ने पंक्ति बारम्बार उद्धृत गर्छन् । डा. बाबुराम भट्टराईले पनि बजेट भाषणमा यसलाई महत्त्वका साथ उल्लेख गरेका छन् । कुरा सही हो । तर, पहिलो पाइलो नै गलत भयो भने धेरै कुरा बिग्रन्छ ।
रामहरि श्रेष्ठ हत्याप्रकरणमा मुछिएका कालीबहादुर खामले रक्षामन्त्रीको संरक्षण मात्रै पाएनन्, माओवादी भेलामा असहमत पक्षलाई तर्साउने पनि मौका पाए । धादिङमा अपहरित दुई युवाको ज्यान मात्र लिइएन, उनीहरूको लाससमेत बेपत्ता पार्ने कुचेष्टा गरियो । सिंहदरबारपरिसरमै मागेजत्ति चन्दा दिन नमान्दा ठेकेदारहरूले ज्यानको धम्की सहनुपर्यो । ठेक्कापट्टामा दादागिरी, सीमाव्यापारमा कमिसनतन्त्र, अवैध गाडीको निर्वाध प्रयोग, समानान्तर सुरक्षा प्रणाली, असहमतहरूमाथिको ब्ल्याकमेलिङ नियमित आकस्मिकताजस्तो बन्न पुगेको छ । नातावाद, बिलासिता, मण्डलेहरूसँगको साहचर्य र भद्दा अवसरवादबारे अरूले बोल्नु पूर्वाग्रह ठहरिएला, तर पार्टीभित्रैबाट उठिरहेका आलोचनालाई बेवास्ता गर्नु सजिलो छैन ।
यस्ता घटनाक्रमले 'नयाँ नेपाल', 'क्रान्ति', 'नयाँ नेतृत्व'जस्ता शब्दलाई नै उपहासको विषय बनाइदिएका छन् । त्यसैले आकाशका तारा झारिदिने ठूला-ठूला वाचा गर्नुभन्दा हाम्रा नेताहरूले सहिष्णुता, सहकार्य र सहयात्राको संस्कृतिको विकास गरिदिए, कम्तीमा पनि जनतालाई भविष्यप्रति आशावादी बनाइदिए र सही दिशातिरको पहिलो पाइलो मात्रै चालिदिए पनि धेरै हुने थियो । अहिलेसम्मको सोच र शैलीमा सुधार नआए 'नयाँ नेपाल' त बन्ला, तर त्यो नेपाल हामीले खोजेजस्तो शान्त, लोकतान्त्रिक, सुसंस्कृत र समृद्ध नयाँ नेपाल भने बन्नेछैन । --- प्रदीप ज्ञवालीको लेखबाट
-----------------अनि यो चाहि इमेलमा प्राप्त महेश्वर श्रेष्ठको लेखबाट ---------
हिजोका ट्यापे, झ्यापे र टापटिपेहरु, जताततै उधारो खाएर पैसा कहिंकतै नतिर्नेहरु, जोसंग पनि सापटी लिएर कहिल्यै नफर्काउनेहरु, राम्रो घरघडेरी दिलाई दिन्छु भनी बैना पचाउनेहरु, वैदेशिक रोजगारीमा लगाई दिन्छु भनी सोझा मानिसहरुसंग मोटो रकम लिएर दिल्ली बम्बैमा अलपत्र छोडेर आउनेहरु, सिधासादा युवतीहरुलाई राम्रो काममा लगाई दिन्छु भनी विदेशका बेश्यालयमा बेच्न लानेहरु, एकान्त दोबाटो कुरेर यात्रु-बटुवा लुट्नेहरु, ट्याक्सी चढेर उल्टै चालकलाई लुट्नेहरु, भ्रष्टाचारको अभियोगमा नोकरीबाट बर्खास्त भएकाहरु, अनेक अपराधको आरोपमा प्रहरीको कालोसूचीमा परेकाहरु, एक ठाउँमा आफ्नो घरखेत हुँदाहुँदै अर्को ठाउँमा सुकुम्बासी बन्न जानेहरु, अर्काको सम्पति कब्जा गर्नेहरु, तर्साएर धम्क्याएर जबरजस्ती चन्दा र कर असुल्नेहरु, किसानले दुख गरी फलाएको अन्नपात लुट्नेहरु, अर्थात यावत किसिमका लुच्चालफंगा, जालीफटाहा, चोरडाँका, लुटेराहत्याराहरुले राजनीतिक संरक्षण, पहिचान र हैसियत पाए पछि, हिजो जनताको छातिमा गोली दाग्ने र त्यसो गर्न आदेश दिनेहरु आज राज्यको सम्मानित नीति निर्माता र सरकारका वरीष्ठ सल्लाहकार बने पछि सर्वसाधारण जनताले कुकुरले नपाएको दुख पाउनु बाहेक अरु के नै बाकि रह्यो र ?
सत्तासीनहरु भन्ने गर्छन् सामन्ती तानाशाहीलाई परास्त गरी देशमा लोकतन्त्र आएको छ, निरंकुश राजतन्त्रलाई पराजित गरी मुलुकमा गणतन्त्र आएको छ र हामी नेपाली समाजको आमूल रुपान्तरण गरी समृद्ध र समुन्नत नयाँ नेपाल बनाउन लागिपरेका छौं। तर खै सर्वसाधारण नेपाली जनताले लोकतन्त्र र गणतन्त्र आएको अनुभूति गर्न पाएको ? लोकतन्त्र र गणतन्त्र त सत्तासीनहरु र तिनका नन्दीभृंगीहरुलाई मात्र आएको छ। जनताको भागमा लोकतन्त्र होइन ठोकतन्त्रको वित्यास परेको छ, गणतन्त्र होइन गुण्डातन्त्रको अत्यास परेको छ। हिजो निरंकुश राजतन्त्रको तातो तावामा छटपटाएका नेपाली जनता आज ठोकतान्त्रिक गुण्डातन्त्रको भुंग्रोमा छटपटाइरहेका छन्। त्यसबाट मुक्ति पाउन समग्र नेपाली समाजको आमूल रुपान्तरण भन्दा बढी काम नगरी लुटेर खान पल्केकाहरु र तिनको पक्षपोषण गर्ने, आफ्नो विचारसंग असहमतको भौतिक अस्तित्व नै स्वीकार नगर्ने ठोकतान्त्रिक गुण्डातन्त्रका हिमायतीहरु, गुमस्ताहरु र सरदारहरुको वास्तविक रुप, सार र उद्देश्यलाई बुझेर उनीहरुलाई यथोचित स्थानमा ल्याउन र सभ्य समाजको मूल्य, मान्यता, संस्कार र सहअस्तित्वको पाठ सिकाई सभ्य नागरिकमा रुपान्तर गर्न अत्यन्त जरुरी भएको छ। अन्यथा देशलाई बोकासा, पोलपोट अथवा इदिअमिनको शासन भोग्नु पर्ने स्तिथि तर्फ उन्मुख हुनबाट रोक्न सकिने छैन। अस्तु।