कोसी संकटमा हाम्रो जिम्मेवारी कति?
- होमलाल
कोसी नदीको कटानले आएको बाढीबाट सयौ मानिसको ज्यान गयो, सयौ
हराई रहेका छन, लाखौ घरबार बिहीन भए र यो बिपत्तिले के कति नोक्सानी भयो भन्ने
लेखाजोखा गर्न हामीले लामो समय पर्खिनु पर्ने निश्चित छ। यो एउटा प्राकृतिक संकट
मात्र हैन, सम्बन्धित निकायहरुको लापरबाई पनि हो। नेपाल र भारत बीच सुरु भएको आरोप
प्रत्यारोपको खेलमा हाम्रो के दोष भनेर उम्किनु भन्दा आफ्ना कमजोरीहरुलाई सच्याउदै
यो दुर्घटना नदोहोरिन हामीले के कस्तो भूमिका खेल्न सक्छौ भन्नेतिर ध्यान दिन
जरुरी छ। किनभने दोष त हाम्रो पनि छ।
सतहबाट कुरो बुझ्दा नेपाल-भारत बीचको सम्झौता अनुसार कोसी
बाँधको मर्मत संभार गर्ने पुरा जिम्मेवारी भारतको नै छ। तर नेपाल सरकारले पनि
आफ्नो तर्फबाट पनि कोसी प्रोजेक्ट को रेखदेख गर्न आफ्नै कर्मचारीहरु खटाएको छ।
तिनीहरुले आफ्नो भूमिका कसरी निर्बाह गरे? के सांच्चै नै उनीहरुको रिपोर्टलाई
भारतीयहरुले लत्याएकै कारण यो दुर्घटना घटेको हो? नेपाल सरकारले आफू चोखिनु पैले
यो कुरा सार्वजानिक गर्नु आवश्यक छ। र यदि नेपाली पदाधिकारीहरुको पनि लापरवाही
देखिए उनीहरुलाई कारवाही मात्र हैन पदमुक्त पनि गर्नु पर्छ। किनभने मान्छेको जीउ
धनसंग खेलवाड गर्नेलाई हामी स्वतन्त्र छोड्दैनौ भन्ने हाम्रो कडा सन्देश दिनु
पर्छ।
कोसी नदी बिहार सरकारको केन्द्र सरकारसंग मागि खाने भाँडो
हो भन्ने सबैले बुझेकै कुरा हो। त्यति मात्र हैन, बिहारमा हुने घुसखोरी र
भ्रष्टाचारका कुरा हामीले धेरै सुनेका छौ र त्यहीबाट भित्रिएको भनिएको भ्रष्टाचारी
संस्कार केही त भोग्न थालिसकेका छौ। त्यसैले कोसी नदीको दुर्घटनाको जड त घुसपैठ नै
हो। तर त्यो घुसपैठबाट नेपाल अलग छैन। भारतीय ईन्जिनियरहरुले बनाएको र मर्मत गरेको
हरेक कुराको नेपालको तर्फबाट पनि प्रमाणित गरिनु पर्छ। तटबन्धको लागि ढुंगा
नेपालले दिनु पर्छ र प्रयोग गरिएको ढुंगाको वजन समेत प्रमाणित गरिनु पर्छ। एकजना
जानकार ब्यक्तिले, “खै ढुंगा? बाढीले बगायो” भनेर
नक्कली कागजात गरेर भ्रष्टाचार हुने बताए। यसरी सयौ ट्रक ढुंगा मात्र राखेर हजारौ
ट्रक ढुंगा प्रयोग भएको बिबरण बनाईन्छ। र त्यो बिबरण नेपालको तर्फबाट पनि प्रमाणित
गरिन्छ। भने, के हामी निर्दोष छौ?
अर्को कुरा, बिगत दुई चार बर्ष देखि माओवादीले ढुंगा संकलन
कार्यमा अवरोध खडा गर्ने गरेको पनि ति जानकार ब्यक्तिले उल्लेख गरे। ढुंगा संकलन
बापत ठेकेदारले सरकार र माओवादीलाई दोहोरो ट्याक्स तिर्नु परेपछि घाटा हुने भएकोले
ढुंगाको लागि टेण्डर नै हाल्न छोडियो। ढुंगाको ढुवानी रोकिए पनि कागजी हिसाब
रोकिएन। यदि त्यो सत्य हो भने कोसी दुर्घटनामा नेपाली कर्मचारीको मात्र हात हैन,
सरकार र माओवादीको पनि ठूलो हात रहन आउछ। नेपाल सरकारको बागडोर सम्हालेका माओवादी
प्रचण्डले चुनौतिलाई स्वीकारेर आफ्नो जिम्मेवारी निभाउनु पर्छ। किनभने नेपाल
भारतको गुह्ये राजनितिलाई बिर्सेर मानब कल्याणका लागि सही कार्य गरिनु पर्छ। साथै,
पुरानो सन्धि खारेज गर्न भारत पनि तयार रहेको अहिलेको अवस्थामा फेरी सत्ता टिकाउको
लागि माओवादीले पनि असमान सम्झौता गर्दैनन् भन्ने आशा गरौ।
कोसी दुर्घटनाले गरेको जनधनको क्षतिलाई मनन गरेर सही काम
गरौ। कडा बादविबाद गरेर हामी उच्च हुने हैन, ब्यबहार र चरित्रले उच्च बन्ने हो।
घुसपैठमा संलग्न नेपालीलाई कारवाही गरेर भारतीय सरकारलाई पनि समस्याको जडमा पुग्न
सघाऔ। सरकार, माओवादी र कर्मचारी सबैले सही काम गरौ। यो नेपाल र भारतको मुद्दा
हैन, यो त मानबियताको मुद्दा हो। जसको जीउधनको नास भयो, ति त गरीब मेहनति कृषक हुन
चाहे ति बोर्डर वारी का हुन चाहे पारीका।