सोम दाई ,
थोरै शब्दहरु सापटी लिएको छु ,अनि शिर्षक पनि ....ऋणी छु है दाई
कसैले उसको कानमा खुसुक्क भनेको जस्तो लागेको थियो उसलाई , आज आकाशमा कालो सुर्य उदाउनेछ । उसले धेरै बेर आकाश नियाल्न खोज्यो तारा हरु शित झार्दै थिए उसको आँगनको घाँसमा , उसको ओइलिएको आँगन शितले सिँचेर हरियो बनाइदिने आश गर्यो मनमनै उसले । तर खोइ त कालो सुर्य ! मन को अर्को कुना खिसिक्क हाँस्यो उ माथी !
“धत रातमा पनि सुर्य उदाउँछ ? कसले भन्यो तँलाई आज कालो सुर्य उदाउँछ भनेर ?”
उसले मनलाइ सम्झायो
“ हैन कसैले मेरो कानैमा आएर भनेको आज कालो सुर्य उदाउँछ , जसका किरणहरु पनि काला हुनेछन् उसले पहिला मलाई अनि त्यसपछि अरुलाई एक एक गर्दै छोप्दै जानेछ ।“
“आफ्नो मनले भनेको नसुनेर कसैले कानमा खुसुक्क भनेको सुन्ने ?” मनले फेरि रोष पोख्यो । उसको मन उ भन्दा जिद्दि निस्कियो ।
“त्यसो भए वास्तविकता के त ?” उसले जति गर्दा पनि आफ्नो मनलाई जित्न सकेन । उ अलमल्ल मा पर्यो ।
“मेरो विचारमा तँ निन्द्रा मा छस् ! उठ्न खोज त !”
उसले आँखा उघार्यो बिस्तारै , हो रहेछ ।उसको झ्यालको पर्दा हल्लिरहेको थियो । कति जिस्किन्छ हावा पनि उसका पर्दाहरु सँग । कोठा उसको पर्दा उसको तर हावा लाई किन मतलब छैन उसको एकान्तता को !
सँधै जस्तै आज पनि उसले ताल्चा देख्यो अर्को ढोकाको उसको खाटबाटै पल्लो कोठामा लागेको ताल्चा देखिन्छ । करिव एक महिना देखी बन्द ताल्चा। यस्तो ताल्चा जो त्यो ढोका भन्दा अस्तित्ववान छ । ढोकाको चुकुलमा कमसेकम आफ्नो हातको आधिपत्य हुन्छ भित्र नियाल्न मन लाग्यो घरक्क खोल्यो नियाल्न मन लागेन ढ्याम्म बन्द गरिदियो । तर ताल्चाको अघि उसका हातहरु विवश छन् । उसले पनि चाबि खोज्नु पर्ने हुन्छ , ताल्चाको आधिकारीक स्वामी । उसले आँखा अन्यत्रै मोड्यो । उसलाई त्यो ढोका खोल्न मन छैन । एक माहिना अघि देखीको उसको बेडरुम भनाउँदो कोठा उसलाई छिर्नै मन छैन !उसलाई त्यो बन्द ढोका नै प्यारो छ । त्यो ताल्चा उसको मनमा पनि त लागेको छ । आँखा नभिजोस् भनेर आँखामा पनि लागेको छ । उसले दवाएर राखेको रापमा लागेको छ । साँच्चै त्यो ताल्चा त्यो ढोका भन्दा अस्तित्ववान छ ।
उसले घडी हेर्यो पाँच बजेको हुँदो हो ! उ प्रायश: चाँडो उठ्ने मान्छे होइन ।आजकल उ निदाउन छोडेको छ । निदाउँदा पनि त्यस्तै अनेक थरिका सपना देख्छ । कोहि कानमा आएर खुसुक्क चाहिने नचाहिने कुराहरु भनिदिन्छन् । उ सोझो बनेर निन्द्राका पलभरी पत्याइ पनि दिन्छ । तर उसको चतुर मन उसलाई झुट पत्याउन दिँदैन सँधै जस्तै ।झुट देख्नु भन्दा , कसैका अमुर्त बुझिनसक्नुका कुराहरु सुनिदिनु भन्दा ननिदाउनु नै राम्रो होला भनेर सोच्छ । अनि आँखा च्यातेर यता उता हेर्छ रातभरी ।
“कति बसिराखेको भित्रै , उज्यालो हुन लाग्यो बाहिर निस्कि चिया टेबल मैँ छ !” परिचित आवाज सुन्यो उसले , आवाज आमाको होला !उसलाई तँ भन्ने कि उसको मन हुन्छ कि आमा , अरुले तँ भनेको उसले सुनेको छैन ।
उ झस्कियो , उसले सपनामा देखे जस्तै कालो सुर्यका कालो किरणहरुले उसलाई निले भने ! त्यो सपना हो , मनले फेरि उसलाई डराउन दिएन । झन्न उसको मन छ र मात्रै उ हिँडिरहेको छ ।
एफ.एम.का आवाजहरु मान्छेको कोठा कोठामा बिउँझदै थिए ।उसलाई त्यो धुन मन पर्दैन । उसको कानमा सियो ले घोचे जस्तो लाग्थ्यो त्यो धुन सुनेपछि । एक महिना अघि उसले यहि धुन सुनेको थियो । तर अर्काको घरमा गएर एफ.एम. बन्द गर भन्न पनि त सक्दैन नि उ !
“आमा माया फर्किन्न अरे ? माइतबाट ??” सोध्न खोज्यो उसले । ताल्चा हेर्यो कोठाको , उसको प्रश्न रोकियो ।उ झसंग भयो , राता भए उसका आँखा अचानक उसको आँखामा यथार्थको राप देखियो ।
रातिको आवाज मायाको त थिएन त्यसो भए ? उसले दाँज्न भ्याएको छैन , होइन होला मायाको आवाज त , माया कसरी आओस् । उसले नै त देखेको मायालाई साडी बेरेर झुण्डेकी ! तै पनि बिहेको , रातो सितारा जडेको साडी !!! त्यहि ताल्चा लागेको कोठामा !!! मरिसकेको मान्छे फर्किन्नन् कहिल्यै ।
उ अझै पनि सम्झिन्छ पुलिसले उसलाई पनि त धेरै केरकार गरेको ।बिहे गरेकै चार दिनमा किन झुण्डिइ त आखिर तँलाई थाहा हुनै पर्छ भनेर पुलिस ले तर्सायो पनि ! बिहा गरेको चार दिन मा त झन उसलाई थोरै कुरा मात्र थाहा हुनु पर्ने , मान्छे बुझ्नलाई जीवन पर्याप्त हुन्नन् पुलिस किन माया सँग बिताएका चार दिन लाई विशेष मानीरहेका छन् उसलाई अचम्म लाग्यो । उ रोएको पनि थियो मलाई केहि थाहा छैन भनेर । चिठ्ठी पनि त लेखिन मायाले जानेबेलामा मात्र “ मलाई थाहा छ भविष्य सुन्दर हुन्छ ,म गल्ति गर्दै छु , तर मलाई विश्वास छ मेरो सुख यसैमा छ !”
कस्ता अस्पष्ट शब्दहरु । उसलाइ रिस पनि उठेको थियो रोइसकेपछि । कस्को लागि रुँदैछ उ ? बुझ्ने लाई उसको आँशुको मतलब छैन , आँशुको मतलब हुनेहरु बुझ्नको लागि त्यहाँ छैनन् । कसको लागि रोएको त उ ?
आजकल उ रुन छोडेको छ । मायाको केस आत्महत्या नै सावित पनि भयो रे !मान्छे ले शरिर को हत्या लाई आत्महत्या किन भन्छन् ? आत्मा मर्दैन भने !!!
तर पनि सावित भो अरे आत्महत्या ! आत्मा नमरेपनि मायाको आत्महत्या सावित भयो ।
उसको मनले भन्यो सावित भएपछि ,
“यो अन्याय भयो !”
उ मनका कुराहरु बुझ्दैन । पुलिसको केरकार बाट उ बचेको छ ।अब सावित भएको कुरामा उसलाई आरोप लाउने छैनन् । अन्याय कसरी भयो त ?उसलाई त न्याय नै भयो नि !
“कसरी ?”
“ तेरो रहरहरु पनि त मरेका छन् , तेरो इच्छा माया सँगै पोष्टमार्टम भए , तेरो खुशि सँगै डढ्यो माया सँग ! कसैले देख्यो ?”
यो प्रश्नको उत्तर उ सँग छैन । उसले मनको कुरा सुनेको नसुन्यै पार्यो !
क्रमश:
mahila dai-कथा पूर्णरुपमा अलग हो ।थोरै शब्दहरु ,अनि शिर्षक सापटी लिएको छु ,तिर्ने वाचा सहित !!
साहिँली मनै त हो घरी के सोच्छ घरी के घरी चिसो हुन्छ घरी तात्छ पनि !!!
गुच्चाचोर जी धन्यवाद !!!
somewhereondearth dai thanx.............
timi-mero-sathi thanx............
n thanx to all readers.............2nd part .............यसैको तल छ :)
दोस्रो भाग-
उसले नखोतलेका कुराहरु धेरै छन् । उसले नबुझेका पाटाहरु धेरैछन् । कहिलेकाहिँ उसलाई आफु सवैभन्दा निरिह सवैभन्दा मुर्ख छु जस्तो लाग्छ । पछि सोच्छ अग्यानता को अँध्यारोमा नै उत्सुकताको बिउ रोपिन्छ । कौतुहलता आएर मलजल गर्छन् । नत्र त उ पनि सवै बुझिसकेपछि मोक्षको मार्गमा कुनै प्रश्न को वैशाखी नभएर लडिरहेको हुन्थ्यो मैले सवै जीवन बुझिसकेको छु भन्दै ! अनि मात्र उसले आफ्नो मुर्खता मा सन्तुष्टि प्राप्त गर्छ ।वास्तवमा मान्छे मुर्ख हुनु भनेकै सन्तुष्ट हुनु हो र सन्तुष्ट हुनु भनेको नै मुर्ख हुनु पनि शायद !
माया घरमा आएकै दिन उसले सोधेको थियो !
“तिमीलाई म मा सबैभन्दा मन परेको कुरा के हो ?”
माया ले धेरै बेर उसलाई हेरेकी थिई । उसले सोच्यो उसका धेरै कुरा मायालाई मन परेका छन् । माया के भनौँ भनेर छट्याउन सकिरहेकि छैन , उ मख्ख परेको थियो ।
आज उ सँग अर्को प्रश्न छ जस्को जवाफ उ सँग छैन !
“त्यो दिन माया आखिर किन चुप थिई ?”
“के नचाहिने कुरामा अल्झिरहेको तँ !” उसको मनलाई मायालाई सम्झिरहेको मन पर्दैन ! मन उसलाई बिर्सन चाहन्छ । उसको आँखामा बसेको मायाको अन्तिम तस्विर उ मेटाउन चाहन्छ ।
“यो मेरो प्रश्नको जवाफ हैन !” उसले फेरि पनि जिद्दि गर्यो ।
“तेरो प्रश्न के हो त ? अस्तित्व छ त्यसको ?”
उसको मन पटक पटक आवेशमा आउँछ यस्ता प्रश्नहरु बारम्बार आइरहँदा।कहिलेकाहिँ भित्र बाट निक्लिएर उसको गालामा नै झापड लगाइदेला जस्तो !
“ यदि मेरो प्रश्नको छैन भने मेरो पनि अस्तित्व छैन !” यसपाली उसले पनि हठ छोडेन !
“तँ मा मन पर्ने केहि कुरा भेट्टाइन तर तेरो चित्त दुख्छ भन्ने सोची , त्यहि भएर चुप लागेकी माया !” मनले आखिर तितो कुरा ओकल्नै पर्ने भो !
“जव म मा केहि नै मन परेन भने आखिरमा फेरि मेरो चित्तको विचार गर्नु पर्ने किन त मायाले !”
यो प्रश्नको जवाफ शायद उसको मन सँग पनि छैन ।
माया धेरै बोल्दिन थिई । उ बोलाउँथ्यो माया एक टक उसलाई हेरीरहन्थि कुनै वच्चा लाई हेरे जस्तो गरीदिन्थी । उ मायालाई जिस्क्याउँथ्यो माया मुस्काउन खोजेजस्तो गरीदिन्थी । उ सोच्दथ्यो उ बुझिरहेको छ , मायालाई हाँस्न मन छैन तर माया उसलाई देखाउनलाई नै भए पनि मुस्कान ओढ्न खोज्दैछे उसको अनुहारमा मुकुण्डो बनाएर । उसलाई माया को स्पर्श अझै पनि याद छ । मायाले उसलाई नयाँ जीवन चार दिन मै देखाएकी थिइ । उसले यस अघि त्यत्तिको आद्र स्पर्श भेट्टाएको थिएन । एउटै खाटको दुइ चरम कुनामा नछोइकन पनि उ मायाको आद्रता अनुभव गर्थ्यो । अनि उ सोच्दथ्यो उसले मायालाई नछोए पनि भोगेको छ । झुक्केर स्पर्श भएका ठाउँहरुलाई उ बिहानै उठेर हेर्दथ्यो अनि सोच्थ्यो उसले माया लाई जित्नेछ कुनै न कुनै दिन !
आज माया छैन । उसले जित्ने केहि छैन !उसलाई आफ्नो मन सँग नै प्रतिष्पर्धामा उत्रिन मन लागेको थियो । तर मनले भो म हारिदिन्छु भन्यो !
उसलाई मनले हारेको चित्त बुझेन । कसैको झोलामा फ्याँकेको जित किन लिओस् उ ?
मायाका आँखाहरुलाई उसले बिहाको दिन पनि त सुख्खा देखेको थियो । सामान्यतय केटीमान्छे को त्यो दिन रुने दिन हुन्छ । तर उसका आँखाहरु असामान्य सुख्खा थिए । मानौँ आँखाहरु मरुभुमी बनेका छन् । उसको आँखामा वालुवाका कण कण हरु मात्र देखिएजस्तो ,बालुवाले उसको मुहार नै सुख्खा बनाएका जस्तो । अब त्यहाँ चाहना पलाउनेछैनन् उसलाई लागेको थियो ।मात्र उसले काँडा देखेको थियो । सिउँडिका काँडा !!!
“ म तिमीलाई दास बनाउन चाहन्न ह्रदयमा राख्न चाहन्छु !”
उसका शब्दहरु सतहि थिए जस्तो लाग्छ कहिलेकाहिँ उसलाई !मानौँ उ बाहिर बाहिर हात भिजाएर गहिराहि का मोति हरु टिप्न चाहन्छ । असम्भव प्राय उसका शब्दहरु । आफ्नो इच्छाहरु सँग कुश्ति खेलेका उसका वाक्यहरु सतहि ,पूर्ण सतहि !!!
शायद त्यहि कुरा मायाले पहिल्यै रातमा बुझेकी थिई । त्यसैले त्यस्तो लुटपुटिने वाक्यमा पनि मायाको ह्रदय परिवर्तन भएन । जव उसले जिद्दि नगरेजस्तो गरेर पनि अनुनयात्मक जिद्दि गरेको थियो । मायाले धेरै बेर सोचेर भनेकी थिई !
“मलाई थोरै समय चाहिएको छ !”
उसले टाउको हल्लायो । मन अहँ भनेर हल्लाउन चाहन्थ्यो । उसले हुन्छ भनेर टाउको हल्लायो !
त्यो दिन उसको मनले घोषणा गर्यो !
“आज तैँले सबैभन्दा ठूलो गल्ति गरेको छस् !”
“आखिर माया मेरै त हो नि , आज नभए भोलि !” उसले मनलाई फेरि जिद्दि गरेर जित्यो ! उसको मन मन नलागि नलागि चुप भएको थियो !
आखिर कति समय ? र के का लागि ?? आजकल मन उसलाई सोधिरहन्छ । जस्को उ सँग जवाफ छैन !
उसले उसको बेडरुमको ढोकाको ताल्चा हेर्न छोडेको छैन । पहिला पहिला उ त्यहाँ भित्र गएर चिच्याउँथ्यो । उसको मन उसलाई चुप लाग भन्थ्यो । उ मान्दैनथ्यो , मान्छेहरु आएर उसलाई समातेर बाहिर निकाल्थे । पछी त्यो कोठामा ताल्चा लाग्यो ।
उसलाई बाहिर चिच्याउन मन लाग्दैन । उसलाई त्यहि कोठामा गएर चिच्याउन मन लाग्छ । मायाले सुन्छेकी त्यहाँबाट गएको आवाज की जस्तो लाग्छ उसलाई !
उसका दाह्रि बढेर उसको सेतो खबटे गाला छोप्दै गइरहेका थिए । आँखा पनि आजकल भित्र छिर्न थालेको थियो । बिहे को दिन त उ चिल्लो भएको थियो । त्यति खेर उ मोटो पनि थियो रे , पाक्लाकपुक्लुक गाला भएको ! आजकल उ घट्दै छ रे !मायाको आत्मा घरमैँ छ जसले उसलाई गलाउँदै छे भन्छन् मान्छेहरु ! अब ग्रह शान्ति गर्नु पर्छ अरे , घरमा ठुलै हवन पनि ,, तर उसले खाना नखाएको मा ध्यान पनि त जाँदैन कसैको ! मात्र उसको मन भन्छ । तँ दुब्लाएको खाना कम भएर हो ! मायाले आफूलाई चाहेको कुरा गरी , अब उ तेरो पछि किन लागोस् ?माया सकिइसकी अब माया छैन , मायाका दुराचार हरु पनि छैनन् !
“ मायाले चाहेकी के थीई त आखिर ?” उ मनलाई फेरि प्रश्न राख्छ !
“ म तेरो मन हो , मायाको होइन !” मनलाई पनि झर्को लाग्छ !
“तै पनि मलाई त्यो प्रश्नले पोल्छ , कोहि छ मायाको मन बुझ्ने ?”
मन चुप थियो , उसलाई उत्तर चाहिने बेलामा ! उसले धेरै बेर उत्तर पर्खियो , उत्तर आएन !
क्रमश:
“तै पनि मलाई त्यो प्रश्नले पोल्छ , कोहि छ मायाको मन बुझ्ने ?”
छ, छ। त्यही छ नि, एउटा इन्जिनीर फुच्चे क्या त।
हो, हो, त्यही धनकुटाको, हैन ब्यारे झापाको। ल त अर्को भाग छिटो राख अब।
“ मन बुझ्नु त्यत्ति नै गाह्रो कुरा हो जत्ति मन नहुनु , जो मान्छेको मन हुँदैन त्यसले मात्र मन बुझ्छ ।“
उसले धेरै बेर सोचेर निकालेको निष्कर्ष । कस्तो गाह्रो निस्कर्ष ,कस्तो निरर्थक निष्कर्ष , यस्तो निष्कर्ष जो आँफैमा निष्कर्ष हिन छ । उसलाई आफ्नो निष्कर्षमा चित्त बुझेन ।त्यसो भए मायाको मन कसले बुझ्यो ? उसले बुझ्ने भए के गर्नुपर्ला ?उसको सामु दुइ प्रश्न तेर्सिए ! उसले प्रश्नहरुलाई नियालेर हेर्यो बिस्तारै प्रश्नहरु अजंगिदै थिए । आयतन बढाउँदै थिए ,घना हुँदै थिए । विग्यान को नियम बिपरित का प्रश्नहरु सामान्यतय बस्तु को आयतन बढ्दा घनत्व घट्थ्यो वा घनत्व बढ्दा आयतन घट्थ्यो तर ति प्रश्नमा त्यो लागु भएन ति प्रश्नहरु मात्र बढ्न जान्दथे । उसलाई लाग्यो अब त्यो प्रश्नले उसले देखेको निलो आकाश छोप्नेछन् अनि उसले मात्र त्यो प्रश्नको संसार देख्नेछ !यता प्रश्नवाचक चिन्ह को पर्खाल उता प्रश्नवाचक चिन्हको पर्खाल अनि ओहो कति साँघुरो अस्तित्व ! उ चटपटाउनै नसक्ने , उ निस्सासियो !
“त्यो प्रश्नलाई तँ आफै बढावा दिइ राखेको छस् !” मनले उसलाई ढाडस बँधायो !
“ यो प्रश्न बढिरहेको छैन त ?”
“ अहँ छैन !”
“त्यसो भए म किन यी प्रश्न बढेको देख्दै छु ?”
उसका प्रश्नका चांग बढ्दै थिए । कुनै तात्विक , कुनै सतहि ,कुनै अर्थपुर्ण कुनै निरर्थक तर समानता पनि त थियो । ति सबै प्रश्न थिए !
“ प्रश्न हैन तेरो भय बढ्दै छ !” मन ले सटिक उत्तर दियो !
“हैन म डराएको छैन !”
“डराएको कुरा मनलाई थाहा हुन्छ कि तँलाई ? तँ डराउन छोड प्रश्न स्वयं घट्नेछन् !” कहिले काहिँ उसलाई अचम्म लाग्छ आखिर उसको मन उसलाई सँधै किन गालि गर्छ ।फेरि उसलाई लाग्छ होइन उसको मन त साँचो बोल्छ , उसले देखेका झुटलाई केलाइदिन्छ , केलाएका सत्यहरु उसलाई तितो गालि लाग्छ भने त्यसमा मनको के दोष ?
“कसरी घटाउँ त म भय ?”
“तेरो प्रश्नको समाधान पक्कै त्यहि ताल्चा भित्र छ ! खोल्न सक्छस् त्यो तैँले सँधै देखेको ताल्चा? ”
मनले यसपाली उसलाई आँटिलो काम अह्रायो !
उसले सम्झियो त्यो कोठामा पुगेपछि उसले चिच्याएको ! मान्छेहरुले पक्डिएर उसलाई पागलखाना मा बुझाइदिए भने फेरि चिच्याएर !उ आफ्नो ग्यारेन्टि लिन पनि त सक्दैन म चिच्याउँदिन भनेर ! मायाले जिवित रहने ग्यारेन्टि त दिन सकिन उ जाबो चिच्याउनु को के ग्यारेन्टि गरोस् ! हुन त चिच्याउँदा पागल भन्नु सापेक्षिक कुरा हो ! मौनता मा सिरसिरे वतास पनि त चिच्याए जस्तै हुन्छ त्यसो भए के बतास नै पागल हो ? कसले बुझोस् उसको कुरा तर , यहाँ तर उ कायर भएको भने सिद्द हुँदैछ । उ सक्दैन त्यो ताल्चा खोल्न त्यो भने साँचो कुरा हो अकाट्य कुरा !
“अहँ म खोल्दिन त्यो त !”
“किन डराइस फेरि ? तैले आँट हराएको छस् कतै ! माया जानु भन्दा निक्कै अघि , माया आउनु भन्दा पनि अघि !”
“ यो साँचो होइन !”
“ यो शतप्रतिशत साँचो हो र माया तेरो आँट हराएको ले गइ शायद यो पनि !” मनले आरोप लगायो !
“यो आरोप झुटो हो !” उसलाई आरोपहरु मन पर्दैनन् झन त्यसमाथि झुटो ।
उसले पुलिसले केलाएको सम्झ्यो
“आखिर मायाले चार दिनमैँ झुण्डिने कारण के थियो ! तँ शायद यौन पिपासु थिइस् !”
उसले होइन भन्न र मात्र रुन सक्यो !
“केटा भएर रुन्छ , यो यौनपिपासु हैन , नामर्द रहेछ त्यहि भएर झुण्डिछे बुढि !” पुलिस जोडले हाँसेको थियो । उ त्यो दिन देखी चुट्किले पात्र बन्यो । उसका धेरै उखान निस्किए ।पुलिसहरु हरेक टुक्कामा उसलाइ जोड्थे । उ मात्र हेरिरहन्थ्यो , आँशु भरिएका आँखाले रुँदा पनि नामर्द कहलाउने डर थियो ।
“यो नामर्द हुनुको साथसाथै लाटो पनि रहेछ !” अर्को ले अर्को टुक्का थप्यो !
“हैन म नामर्द पनि हैन लाटो पनि हैन ,सुन्यौ मेरो बोलि ?” उ आफ्नो घोक्रो फुटुन्जेल चिच्याएको थियो त्यतिखेर !
“ त्यसो भए तँ भित्र भय किन ?” मनले उसलाई सम्झना मा बसिरहन दिएन !
“खोई भय ?”
साहिँलीलाई प्रतिकृयाको लागि धन्यवाद ,फुच्चेले मायाको मन बूझेको भए कथा हैन जीवन बन्थ्यो होला :)
भाग-३
उसले आफ्नो पसिना दाहिने हातले पुछ्यो । दाहिने हात ल्याफ्राक्कै भिजेको थियो !
“ तेरो भिजेको हात हेर , यहि हो तेरो भय ! जति कम पसिना त्यति कम भय !” यसपाली उसको मन अट्टहाँस गरेर हाँस्यो !
उसले हत्तपत्त आफ्नो हात रुमालले पुछ्यो !अनि हात हेर्यो !
“के हेर्छस् त्यो हातमा ? अब रुमाल हेर , त्यहाँ छ तेरो भय !” मन हाँस्न छोडेको थिएन ! उसको मन साँच्चै पुलिस जस्तै छ , जतिखेर पनि हाँसिरहन्छ ।
“तँ मलाई नढाँटी भन् के तँलाई त्यो ताल्चा मन पर्छ ?”
उसले टाउको हल्लायो । उ त स्वच्छन्द मान्छे कसरी मन परोस् ताल्चा उसलाई ?
“चाबि कहाँ छ त ?” मनले यसपालि सुस्तरि सोध्यो !
“ आमा सँग होला !”
“चोर्न सक्छस् ?”
उसले टाउको हल्लायो !
“नामर्द !” मन ले फेरि झपार्यो !
“ म नामर्द पनि होइन लाटो पनि होइन !” उसलाई फेरि आफ्नो घोक्रो फुटाउन मन लाग्यो
“के तोड्न सक्छस् त !”
उसले धेरै सोच्यो अनि यसपाली सकारात्मक उत्तर दियो !
“ठिकै छ आज राति त्यो ताल्चा तोड्नुपर्छ !”
मन ले समय तोकिदियो । उसले सन्तोष को सास फेर्यो । हो अब ति प्रश्नहरु खुकुलिदै छन् । आयतन घटाउँदैछन् । उसलाई अचानक सास फेर्नलाई हावा पाएको जस्तो भएको छ ।
क्रमश:
आबुइ कस्तो डरलाग्दो! अब फुच्चेले त्यो कोठाभित्र के के देख्ने हो? भुत छ भने चाहि भाग ल!
मनोबिज्ञान/मनोभाव खै के भन्छन दर्हो जान्छ है फुच्चेको,साइकाइट्रिस्ट हुनु पर्ने मान्छे कसरी इन्जिनियर हुन पुग्या हो बरु।
बिच मा एक दुईटा पढ्न पाको छैन,अब सुरु गर्छु एसै बाट।
<<<मौनता मा सिरसिरे वतास पनि त चिच्याए जस्तै हुन्छ
त्यसो भए के बतास नै पागल हो ?>>>
<<<उसले आफ्नो पसिना दाहिने हातले पुछ्यो । दाहिने हात
ल्याफ्राक्कै भिजेको थियो !>>
कस्तो बबाल, अस्तिन कार्य ब्यस्तताले गर्दा एता आउन भ्याको थेन, ऐले त कुर्सी को छेउमा बसेरै पढेँ। अत्ती ससक्त प्रस्तुती। ब्यग्रताको साथ अर्को भागको प्रतिक्षामा।
dami atti dami prastuti. ekai sasma padhe. baru katha ko nam arkai audaichha bhanya birsya jasto chha fuchche jyu le
साहिँली तिमी खाली जिस्क्याइरहनछ्यौ तर धरोधर्म मलाई पनि जिस्क्याइरहे हुन्थ्यो जस्तो लाग्छ ,आउँदैन होला हौ भुत नै त !!!
बिष्टे हैन मान्छे इन्जिनियर र साइक्याट्रिष्ट टु इन वन हुन मिल्दैन भन्या ?
पर्फेक्सनिष्ट धन्यवाद केहि छैन आखिर कार्यब्यस्तता पछि पनि त सम्झेको त हो नि ....
खुसि धन्यवाद कथा को नाम राख्नु अघि सोचेको त हो हेर न तर मुर्दा को नाम चेन्ज गरेर त्यति राम्रो नाम राखिदिन चाहिँ कस्तो कस्तो लाग्यो अर्को कथा राम्री केटीको लेखेछु भने चाहिँ पक्का ;)
उसलाई अझै याद छ त्यो ताल्चाले उसलाई गिज्याएको । उसको मन धत ताल्चा त निर्जीव पो हो त भनीरहन्छ तर मनलाई के थाहा थाहै नपाउने गरी ताल्चा उसलाई जिस्क्याइरहन्छ ।आज उ त्यहि ताल्चा तोड्दैछ ।
तोडफोडको सामान्य सिद्दान्त हो जब सम्म गरिँदैन योजनाको जानकारी कसैलाई दिनुहुन्न । उसले कसैलाई आज ताल्चा तोड्ने कुरा भनेन ।
उसलाई आज त्यो ताल्चा गिडगिडाउँदै छ जस्तो लाग्छ ।साँची त्यो ताल्चाको मन कहाँ होला जो सँग उ सल्लाह लिँदो हो , झगडा गर्दो हो । उसले ताल्चालाई नियालेर हेर्यो उसले ताल्चा भित्र मुटु भेट्टाएन । उ निष्कर्षमा पुग्यो ताल्चा अविश्वासको प्रतिक हो , निषेधको धरोहर हो त्यसैले ताल्चामा मुटु हुन्न ।
..................... .............................. ............................ ................................
उसले ताल्चा तोड्यो । एउटा निष्पट्ट मौनता चिरेर त्यो कोठाको ढोका कुइयँ करायो । हलुका किरणहरु पनि डराउँदै उ सँगै भित्र छिरे । उसले पछि फर्किएर हेर्यो उसको पछि त्यो कोठामा उसको मन र केहि किरणहरु छिरेका थिए । उ एक्लै थिएन ।
“चुप लाग !” ढोका बन्द गर्दै गर्दा उसले ढोकालाई अराएको पनि थियो ।
ढोकाले यसपाली टेर्यो शायद , बन्द हुँदा उ चुपचाप थियो । उज्याला किरणहरु बाहिरै फर्के ।
बत्ति अँध्यारै होस् भन्ने चाहन्थ्यो शायद , बलेन उसले बाल्न चाहँदा पनि । उसले खाट छामिहेर्यो । धुलै धुलो भएको थियो होला उसको हात खस्रो भएर आयो । छेवैको ड्रेसिंग टेबलको ऐना मा उसको अनुहार थिएन । माया ऐना हेर्दिन थिई खासै , उ मख्ख पर्थ्यो मायालाई आफ्नो सुन्दरतामा विश्वास छ भन्ठानेर । माया मात्र झ्याल बाट बाहिर हेर्थी । उ झ्यालको छेवैमा गयो । झ्यालको एउटापल्ला खोल्यो । बाहिर को स्ट्रिट ल्याम्प त्यो झ्याल बाट प्रश्ट देखिन्थ्यो । उसले जुनलाई हेर्यो त्यहि झ्यालबाट अनि स्ट्रिट ल्याम्प पनि ।
“स्ट्रिट ल्याम्प बिरामी छ क्यारे , थोरै पहेँलिएको छ !” उसले सोच्यो
“के नचाहिने कुरा सोच्छ !” मनलाई सँधै उसको सोचाइ मै आपत्ति हुन्छ ।
“ किन उ बिरामी हुन पनि नपाओस् त ?”
“ त्यसको रंग नै त्यस्तो हुन चाहिँ पाउन्न र?” मनले फेरि प्रतिकार गर्यो ।
“ कस्तो बिरामी रंग त?”
उसले आफ्नो ढिपी छोडेन ।
“ तँ मायाको बारेमा पत्ता लगाउन आएको की स्ट्रिट ल्याम्प को बारेमा ?”
उसलाई थाहा छ कसैले प्रश्न सोध्नु पर्दैन उ माया कै बारेमा पत्ता लगाउन आएको हो । तर खै मायाले आफु जानु अघि केहि खासै कुरा छोडीन पनि त आखिर ! उसको कपडा भएको सुटकेश मा केहि नै छैन होला । उसको दवाइ को शिशि त्यहि खाट को खापा मा राखेकी थिइ ।स्लिपिंग ट्याब्लेट को शिशि होला । मान्छेले सपना देख्न पनि त सुत्नु पर्छ । शायद माया सपनाहरु नटुटुन् भन्ने चाहन्थी ।
................... ............................ ............................ ...................... ..................
कोठा समग्रमा यथावत नै लाग्यो उसलाई , केहि त परिवर्तन छैन ।हुन त माया पनि त परिवर्तन चाहन्नथी । उसलाई परिवर्तन भइरहने जीवन यति नराम्रो लागेको हुन सक्छ की उसले स्थायी उपाय रोजी !!!!
कोठाको स्थायित्व यति यथावत थियो कि त्यो पंखा पनि मुस्कुराइरहेथ्यो
“किन केहि छ र हाँस्नु पर्ने ?” उ आवेशमा आयो ।
“को संग बोलेको ?” उसको मन छक्क पर्यो ।
“त्यो पंखालाई हेर त , हाँस्दै छ !’
“ त्यो हाँसेको हैन ,बुट्टा हो त्यसको !”
“ काहिँ बुट्टा पनि हाँसे जस्तो हुन्छ त ?”
“हैन म हाँसेकै हो !”
पंखाले फेरि जिस्क्यायो उसलाई । पंखालाई उसको पिडामा नुनचुक दलिदिने पुरानो वानी छ । के माया सँग साडी मात्र भएको भए उ झुण्डीन सक्थी झुंडिन प्रेरित गर्ने उसको रातो सितारा जडेको साडि हैन , पंखा हो जो छतमा बसेर मुस्कुराइरहन्थ्यो ।
“ किन त ?” उ फेरि मन छोडेर पंखा तिर फर्कियो !
“मायाको बारेमा बुझ्न आएको हैन ? उ सँग अन्तिम भेट मेरो थियो !”
“तँ मायाको हत्यारा होस् त्यसो भए !”
“ मैले त मात्र उसलाई स्वतन्त्र हुन सघाएको हुँ !” पंखा शालिन थीयो ।
“ के म उसको कारागार हुँ र ?”
“तेरो आवाज बढ्दै छ , बाहिर सुनिएला !” मनमा शंका पलायो !
पंखा मात्र हाँसिरह्यो । मानौँ उ उत्तरबिहिन हुँदा पनि मुस्काउन सक्ने अद्वितिय क्षमता राख्दछ । अरु कसैको लागि पंखाले दुरी बिनाको यात्रा गर्छ ।
“खोइ त मेरो उत्तर ? किन आफुले गरेको हत्यामा शालिनताको कात्रो बेरेर स्वतन्त्रता भन्छस् ” उ जंगियो ।
“ तँ जे भन् उ मरेकी हैन ,स्वतन्त्र भएकी हो !”
अचानक उसले पदचाप सुन्यो वाहिर कसैको ,आवाज बढ्दै गयो उसैको मुटुको वाटो भएर कोहि कोठामा निक्ले जस्तो लाग्यो । बिस्तारी आकृती देखा पर्यो कोठामा !!!!!!!!!!!!!!
उसको मन उसले नटेरे पनि चिच्याइ रह्यो त्यो भ्रम हो माया हैन भ्रम हो माया हैन !!!!!!
समाप्त !!!!
lau sakio?? ani maya kina mareko ho ta?? plz dnt keep the suspence..:(
perfectionist thanx................अरु लेख्ने सकेसम्मको प्रयास गर्नेछु !!..
Perika thanx for the response तर यो कथा को शिर्षक माया भएको भए पनि यो कथा उ को हो मायाको हैन , जसले मरेकी श्रीमतीको बारेमा धेरै सोचेर अन्त्यमा उसले देखेको भान भएको सम्म पारेर छोडेको हुँ !!!! सस्पेन्स छोडेको छैन होला खासै कथामा !!!! :) भूलचुक भए माफ पाउँ !!!
I really wanted to know WHY she died??? But your writing is perfect no doubt on dat at all.. M always waiting when u will write next..
perika, she was in love with someone else hola, hai hai fuchche? yo katha end bhayo aba arko katha chadai auchha hola.
Khushii I think so as well... Poor gal!!!:(
फुच्चे गुरु,मजा आयो।
म पनि एक्छीन आफु र मनले गर्ने वार्तालाप कोरेल्न थाले कथा पढेर।
एउटा बिशिष्ट प्रस्तुती । निकै परिपक्व विश्लेषण अनि माझिएको लेखाई । बाघपटुका पाउँछु म तिम्रो लेखाईमा ।
यसपालि निक्कै कुरा खोदल्यौ । निक्कै राप आयो ।
लेख्दै गर ।
thanks for sharing
-somewhereondearth
फुच्चे साथी कस्तो गहिरो अनि आक्रान्त मनको गढ़िलो चित्रण तिम्रो "माया" कथामा .... साँची नै सोम दाइले भनेको जस्तै "...निकै परिपक्व विश्लेषण अनि माझिएको लेखाई । बाघपटुका पाउँछु म तिम्रो लेखाईमा ।..."
<<उ निष्कर्षमा पुग्यो ताल्चा अविश्वासको प्रतिक हो , निषेधको धरोहर हो त्यसैले ताल्चामा मुटु हुन्न ।>>
हरेक वाक्यले प्रश्नै प्रश्नमा पिल्सिएको र अल्झिएको मनोभाव दर्शाउने ..... हजुरका लेख प्राय: मनोबैज्ञानिक भावमा आधारित हुन्छ र तेस्लाई बेयिमानी नगरी कस्तो सच्चा चित्रण हुन्छ ... अझै पढ्न पाउँ प्रभु ...
Last edited: 26-Dec-12 12:04 PM
Please log in to reply to this post
You can also log in using your Facebook