काठमाडौं, पुस १५ - न कुनै समारोह थियो, न कार्यक्रम नै । प्रधानमन्त्री पुष्पकमल दाहाल चढेको गाडी मंगलबार अचानक सुन्दरीजलस्थित बीपी संग्रहालय पुगेपछि रंगरोगन र पुनर्निर्माणमा जुटेका कर्मचारी र सुरक्षाकर्मी चकित भए ।
'कालो टोपी र सुटमा दाहाल देखा पर्दा त अनौठो लाग्यो,' संग्रहालयका अध्यक्ष परशुराम पोखरेलले भने । प्रधानमन्त्री दाहाल अचानक संग्रहालय पसेपछि पोखरेलसहितका पदाधिकारी र कर्मचारी बुधबार संग्रहालय परिसरमा हुने 'राष्ट्रिय एकता तथा मेलमिलाप दिवस' को तयारीलाई थाती राख्दै उनको स्वागतमा जुटे ।
अध्यक्ष पोखरेलले हतार-हतार बारीबाट फूल टिपेर स्वागत गरे । सुरक्षा स्रोतअनुसार प्रधानमन्त्री मंगलबार गोकर्ण रिसोर्ट गएका थिए । उनी त्यतैबाट पहिलोपटक सुन्दरीजल संग्रहालय पुगेका थिए । प्रधानमन्त्रीले त्यहाँ करिब डेढ घन्टा बिताए ।
संग्रहालय परिसरमा पसेलगत्तै प्रधानमन्त्रीले बीपीलाई थुनिएको कोठा, भेटघाट कक्ष र भान्सा हेरेका थिए । उनले बीपीको कोटलाई ह्यांगरबाट निकाल्न लगाई ओल्टाई-पल्टाई गरेका थिए ।
गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, योगेन्द्रमान शेरचन, रामनारायण मिश्र, दिवानसिंह राईलगायत नेतालाई थुनिएको कोठा पनि हेरेका थिए ।
अध्यक्ष पोखरेलले प्रधानमन्त्रीलाई बीपीको आत्मवृत्तान्तमा उल्लिखित प्रमुख सातवटा कोठा देखाउँदै बेलिबिस्तार लगाएका थिए ।
प्रधानमन्त्री दाहालले भारतका तत्कालीन 'डेपुटी प्राइममिनिस्टर' मुराजित देसाइर्ंले बीपीलाई क्यान्सर रोगबारे अंग्रेजीमा लेखेको पत्र पनि पढे ।
कोठाका भित्तामा रंगरोगन भइरहेकाले झुन्ड्याइएका तस्बिर भुइँमा छरिएका थिए । बीपीकै कोठाको एकछेउमा बसेर उनले छरिएका सबैजसो तस्बिर एक/एक गरी हेरेका थिए । 'कतिपय तस्बिरमा लागेका धूलो हातले पुछेर पनि हेर्नुभो,' अध्यक्ष पोखरेलले भने, 'बीपी-पत्नी सुशीलाको तस्बिर पनि हेर्नुभयो ।'
पोखरेलका अनुसार तस्बिर हेरेपछि प्रधानमन्त्रीको प्रतिक्रिया थियो, 'बीपीको मिसेसको फोटो हो यो ? असाध्यै राम्री हुनुहुँदोरहेछ ।' दाहाल पत्नी सीतासहित संग्रहालय पुगेका थिए ।
संग्रहालय हेर्दै गर्दा प्रधानमन्त्रीले ठट्टा पनि गर्न भ्याएका थिए । 'असाध्यै हँसाउने खुबी रहेछ, हाँसोठट्टा पनि गर्नुभो,' पोखरेलले कान्तिपुरलाई टेलिफोनमा भने ।
बीपी खाना खाइरहेको र छेवैमा गिरिजाले सुरक्षा दिइरहेको तस्बिर देखेपछि दाहाल एकछिन घोत्लिए । त्यो देखेर पोखरेलले बेलिबिस्तार लगाइदिए, 'उहाँ -गिरिजा) बीपीको असाध्यै ख्याल गर्नुहुन्थ्यो ।' डेढ घन्टा लामो बसाइमा प्रधानमन्त्रीको मोबाइल सेटमा तारन्तार फोन आइरहेको थियो । प्रधानमन्त्रीले सानो आवाजमा 'रिसिभ' गर्न पनि भ्याइरहेका थिए । अवलोकनपछि उनले बीपीको सालिकमा पुष्पगुच्छा चढाई अभिवादन गरे ।
र्फकने बेला उनले आगन्तुक पुस्तिकामा लेखे, 'वैचारिक मूल्य र निष्ठाको राजनीतिप्रति समर्पित ऐतिहासिक व्यक्तित्व विश्वेश्वरप्रसाद कोइरालाको संग्रहालय अवलोकनले मलाई इतिहाससँग वर्तमानको वार्तालाप महसुस भयो । यथार्थमा मैले नयाँ ऊर्जा प्राप्त गरेको अनुभूत गरें ।'
र्फकनेक्रममा प्रधानमन्त्रीले संग्रहालयलाई सक्दो सघाउने आश्वासन दिएका थिए ।