सारङ्गी बजाउँदै डुल्न थालेको ४० वर्ष नाघ्यो । गोरखा नगरपालिका–७ धारापानीमा बसाइ भए पनि डुल्दाडुल्दै गोरखा, लमजुङ, धादिङ र कहिले त काठमाडौंसम्मै पुग्छु । ६० वर्षको भएँ । अहिले दम रोग लागेको छ । स्वाँ–स्वाँ हुने समस्याले हिँड्न अलिक गाह्रो हुन्छ । आफूले सारङ्गी रेट्न जानेकाले पेसा छाड्न मन लाग्दैन । धुन सुनाएर हुने कमाइले तीन छोरा, श्रीमती र मैले ज्यान पालेका छौं ।