बंगलादेशी प्रधानमन्त्री शेख हसिना भारतको त्रिपुरा राज्य पुगेकी छिन् । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार आन्दोलनकारीले आवासमै छिरेर प्रदर्शन गरेपछि देश छाडेकी उनी ढाकाबाट हेलिकप्टरमा उडेकी थिइन् । केहीबेर अघि उनी भारतको त्रिपुरा राज्य पुगेकी छन् ।
प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर मुलुक छाडे लगत्तै सेना प्रमुख जनरल वकेर–उज–जमानले सबै दलको सहभागितामा अन्तरिम सरकार गठन हुने घोषणा गरेका छन् ।
आइतबार नियुक्त सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सोमबार प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । शाहले आफ्नो शपथसँगै ६ जना मन्त्री र तीन जना राज्यमन्त्रीसमेत नियुक्त गरेर १० सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । मन्त्री र राज्यमन्त्रीहरुको शपथसमेत सोमबार नै भएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ३७ वटा विभाग गठन गरेका छन् । सोमबार सभापति देउवाले विधानको धारा ३७ (१) बमोजिम ३७ वटा विभागका प्रमुखहरु मनोनयन गरेका हुन् ।
बंगलादेशमा आन्दोलन पुन: चर्किएपछि ढाकास्थित नेपाली राजदूतवासले त्यहाँ रहेका नेपालीहरूलाई अधिकतम सतर्कता अपनाउन अनुरोध गरेको छ । सोमबार दूतावासले एक सूचना जारी गर्दै बंगलादेशमा रहेका सबै नेपालीहरूलाई आफू बसेकै स्थानमा सुरक्षित रहन आग्रह गरेको हो ।
वीरगन्जस्थित भन्सार नाका, एकीकृत सुरक्षा जाँच चौकी र सिर्सिया सुक्खा बन्दरगाह क्षेत्र एक सातादेखि ड्रोन क्यामेराको शंकास्पद गतिविधिबाट आतंकित बनेका छन् । गत साउन १२ रातिदेखि यसरी एकसाथ विभिन्न स्थानमा ड्रोन क्यामेरा उडेर निश्चित स्थान विशेषको निगरानी गर्न थालेपछि दुवै देशका सरोकारवाला पनि चिन्तित बनेका हुन् ।