सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधिसभा उपनिर्वाचनमा भाग लिने भएको छ । प्रदेश सभा उपनिर्वाचनमा भने भाग नलिने रास्वपाले निर्णय गरेको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले इलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा भाग लिने निर्णय गरेको छ भने सुदूरपश्चिम प्रदेश सभाका बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा भने उम्मेदवार नउठाउने निर्णय गरेको छ ।
माओवादी केन्द्रले सुरेन्द्रराज पाण्डे नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दूरगामी निर्णय नगर्न आग्रह गरेको छ । माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको छ ।
राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले संघीयताको मर्म र भावना अनुसार प्रदेश र स्थानीय तहले पाउने अधिकारमाथि संघीय सरकारले हस्तक्षेप गरेर जवाफदेहीता नदेखाएको निष्कर्ष निकालेको छ ।
राष्ट्रिय सभा अध्यक्षमा सत्ता गठबन्धनबाट माओवादीका नारायण दाहाल र कांग्रेसबाट युवराज शर्माले मनोनयन दर्ता गरेका छन् । दाहाल राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सत्ता गठबन्धनका माओवादी, एमाले, एकीकृत समाजवादी, जसपाका संयुक्त उम्मेदवार हुन् ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जनअपेक्षा पूरा गर्नका लागि नयाँ गठबन्धन निर्माण भएको बताएका छन् । एमाले बैतडीको नवौँ जिल्ला अधिवेशनको सोमबार पाटनमा उद्घाटन गर्दै मन्त्री भण्डारीले जनताको निराशालाई आशामा बदल्न नयाँ गठबन्धनको आवश्यकता महसुस गरिएको बताए ।