नेपाली विमातृभाषीलाई सलाम!

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

जगदीश घिमिरे-  नेपाली विमातृभाषीलाई सलाम! MONDAY, 06 AUGUST 2012 15:07 नागरिक     1 2 3 4 5   (0 votes, average 0 out of 5) नेपाली भाषा बाँचिरहोस्। -प्रकाश सायमी सायमीको यस उद्गारले मेरो मन छोयो। साहित्य, संगीत, सिनेमाका त्रिवेणी प्रकाश सायमीले आफ्नो निबन्ध र नियात्रा संग्रह 'वर्षादी दिनहरू' २०६६, को 'भाव-कथन' (भूमिका) मा लेखेको यो अन्तिम वाक्य हो। कति नेपाली मातृभाषीले यस्तो लेखेका छन्? कति विमातृभाषीले यस्तो लेखेका छन्? होलान्, मैले पढेको छैन।  स्कुले निबन्ध लेखन प्रतियोगितामा प्रकाश सायमीका नेपाली मातृभाषी सहपाठी पहिला भए र उनी दोस्रा। उनी लेख्छन्, 'विमातृभाषी विद्यार्थीले मातृभाषी विद्यार्थीसित गरेको प्रतिस्पर्धाले मेरो जीवनमा धेरै अर्थ लाग्न गयो। साहित्यमा रुचि वा रहर नभईकन पनि म स्कुलको प्रथम स्थानको विद्यार्थी भएका नाताले यस्ता अनेक सहभागितामा लागिरहनुपर्‍यो र म यसै सिलसिलामा निबन्धकार भएँ।'  यसरी निबन्धकार भएका सायमीको यस संग्रहका सबै लेखहरू रोचक छन्। 'बम्बई, गुरु र वर्षादी दिन' नेपाली र भारतीय साहित्यकार, कलाकारबारे लेखिएका संस्मरण र प्रसंगहरू बढी मर्मस्पर्शी छन्। उनी निबन्धकार मात्र भएनन्, नेपाली भाषाका विभिन्न विधामा नौवटा किताबका लेखक भए, कवि र कलाकार पनि भए। आफ्नो कुल परम्परामा नभएको कुरा गरेर आफ्नै पितालाई पनि जिल पारे। ••• एक हजार वर्षअघि मगर सम्राट् नागराजले जुम्लामा सिंजा राज्य स्थापना गरे। उनको सम्राज्य भोटदेखि तराई र बद्रीकेदार खण्डदेखि काठमाडौँसम्म फैलिएको थियो। उनले आफ्ना शिलालेखहरूमा नेपाली भाषा प्रयोग गरेका छन्। इतिहास शिरोमणि बाबुराम आचार्यले यो तथ्य प्रकाशमा ल्याएका हुन्। त्यसपछिका काठमाडौँ उपत्यकाका मल्ल राजाहरूले नेपाली र मैथिली भाषाको संरक्षण र विस्तार गरेका हुन्। काठमाडौँका ऐतिहासिक स्थलहरूमा त्यसका प्रमाणस्वरूप प्रशस्त शिलालेख र अभिलेखहरू छन्। अन्वेषक कमलमणि दीक्षितको मत छ, नेपाली भाषाको विकासमा गैरनेपालीभाषीको दोबरभन्दा बढी योगदान छ। खसहरूले आफ्नो मातृभाषामा बोल्नु र लेख्न जान्नेहरूले लेख्नु स्वाभाविक हो। तर, नेपाली भाषाको विकासमा सबभन्दा ठूलो योगदान मातृभाषी खसको होइन, विमातृभाषी लाहुरेहरूको छ। उसै पनि नेपालका विभिन्न मातृभाषी जाति र समूहका जनताबीच आपसमा कुरा गर्न नेपालीबाहेक अरू कुनै भाषामा सम्भव थिएन, अहिले पनि छैन। सुगौली सन्धि (सन् १८१६) पछि फिरंगीले खडा गरेको गोर्खा सेनाका गुरुङ, मगर, किराती र किरातीहरूमा पनि राई-लिम्बु र राई-राईबीच सम्पर्क गर्न नेपाली भाषा नै चाहियो। फिरंगीलाई पनि नेपाली भाषा नै गोर्खाली सिपाहीहरूसँग सम्पर्क गर्ने भाषा बनाउन कर लाग्यो।  'गोरा साहेब' हरू र लाहुरेहरू नेपाली भाषामा मनका कुरा गर्न लागे। लाहुरेका लागि त्यो गर्वको विषय भयो। घर आएका लाहुरेहरूले परिवारजनसँग पनि 'गोरा साहेब' सँग कुरा गर्ने नेपाली भाषा नै कुरा गर्नु ठूलो कुरा भयो। अरू समूहहरूसँग सम्पर्क गर्ने भाषा त नेपाली छँदै थियो।  सन् १८२० मा जेए एटनले नेपाली भाषाको पहिलो व्याकरण 'अ ग्रामर अफ नेपाल ल्यांग्वेज' नेपाली वा नेपाली भाषाको प्रेमले लेखेको होइन, फिरंगी अफिसरलाई गोर्खा सेनासँग कुरा गर्ने सम्पर्क भाषाको आवश्यकता पारेकाले लेखेको हो। अर्को कारण थियो, बाइबलको नेपालीकरण र प्रचार। सन् १८२१ मा बाइबलको पहिलो नेपाली अनुवाद भयो। सन् १९३२ मा राल्फ लिली टर्नरले नेपाली भाषाको व्युत्पत्तिमूलक शब्दकोश (एटिमोलिजिकल डिक्सनरी अफ नेपाली ल्यांग्वेज) लेखे। आज बेलायत र हङकङमा नेपाली भाषाका अग्रणी लेखक विमातृभाषी नै छन्। ती धन्य छन्। संसारै छरिए पनि नेपाली भाषा र साहित्यका लागि एकजुट भएका विमातृ नेपालीभाषी स्तुत्य छन्। संसारैभरि छरिए पनि नेपाली भाषा र साहित्यका लागि एकजुट भएका विमातृ नेपालीभाषीहरु स्तुत्य छन्। सात वर्षको उमेरदेखि मैले अंग्रेजी भाषा सिकेँ। ६० वर्ष भएछ, अझै सिक्दैछु। त्यत्तिकै वर्ष हिन्दी भाषा सिकेँ, अझै सिक्दैछु। साहित्य लेख्न थालेपछि स्वाध्यायले सिकेको बाहेक नेपाली भाषा खासै सिकेको होइन, तर नेपाली नै अरूभन्दा बढी जान्दछु।  मातृभाषा रगतमा हुन्छ, नेपाली भाषा मेरो रगतमा छ। म नेपाली भाषामा जसरी शब्द र भावको संयोजन गर्न र अभिव्यक्त गर्न सक्छु, अरू कुनै भाषामा सक्दिनँ। जति नेपाली भाषा जान्दछु, त्यसको आधा हिन्दी र त्यसको पनि आधा अंग्रेजी जान्दछु। मैले जीविकाको सन्दर्भमा चार दशक बेलायत र अमेरिकाका अंग्रेजी मातृभाषी सहकर्मीहरूसँग काम गरेँ। कति वर्ष उनकै देशमा बिताएँ। तैपनि मेरो अंग्रेजी भाषाको क्षमता 'अफिसियल रिपोर्ट' पढ्न र लेख्न पुग्ने तहको छ, साहित्य सिर्जना गर्ने तहको होइन। अंग्रे्रजी भाषामा उच्चारणको पनि आफ्नै समस्या छ, अंग्रेजीमा प्रत्येक शब्दको उच्चारण सिक्नुपर्छ, अर्थ र भावार्थका अनेक आयाम सिक्नुपर्छ। तैपनि गलत प्रयोग हुन्छ। धेरै मित्रले तिम्रो 'अन्तर्मनको यात्रा' अंग्रेजीमा अनुवाद गर भन्छन्। कति जना मित्र र पाठकले 'म गर्छु' पनि भने। तर, भएन। मैले नै केही सम्पादनसहित पहिलो चरणको अनुवाद वा पुनर्लेखन गरे हुने हो। एक त मेरो ह्याउ पुगेको छैन। अर्को कुरा, मलाई थाहा छ, म अंग्रेजी भाषाको माध्यमले नेपाली मुटुमा पुग्न सक्दिनँ। नेपालीभाषी पाठक मेरा देउता हुन्, जति जाने पनि म तिनलाई अंग्रेजी भाषाको फूलपाती चढाएर पूजा गर्न सक्दिनँ। जुद्धशमशेरले एक जना रातापीरा फिरंगीलाई भन्न चाहे, 'तिमी रातापीरा, स्वस्थ छौ।' उनको मुखबाट निस्कियो, 'यू आर ब्लडी।' उनले अर्को फिरंगीलाई अर्कै प्रसंगमा भन्न चाहे, 'यो साँचो हो।' भने, 'दिस इज की।' उनले अंग्रेजीमा साँचोलाई 'की' भन्छन् भन्ने बुझेका थिए। नजिकैको भारदारले खुसुक्क भने्, 'महाराज, 'साँचो' भन्नलाई त 'ट्रु भन्नुपर्छ। सच्याइबक्सियोस्ा्।' जुद्धशमशेरले भने, 'सच्याउन्न। जुद्धेले जे बोल्यो, बोल्यो!' 'जुद्धेले जे बोल्यो, बोल्यो' भन्ने उखान त्यसै बेलादेखि चलेको हो भन्छन्।  यी किंवदन्ती होलान्, तर यिनले पराई भाषा कति जटिल हुन्छ भन्ने सन्देश दिन्छन्। अंग्रेजीमा लेखिएका यस्तै त होइन, लगभग यस्तै प्रयोगहरू अचेल पनि पढ्न पाइन्छन्। ••• मैले आदरणीय अग्रज साहित्यकार वासु शशीसँग निकै वर्ष संगत गरेँ। लेखकका रूपमा र उनको मातहत कर्मचारीका रूपमा। उनी देउपाटनका वैद्य थरी नेवार हुन्। तर, उनको नेपाली भाषामाथिको अधिकार नेपाली मातृभाषी लेखकको भन्दा कम थिएन। ठमेलका न्हुच्छे महर्जन हाम्रा प्रिय चालक थिए र पिकनिकमा हेड कुक पनि हुन्थे।  बासुदाइ रमाइलो गर्न भन्थे, 'जगदीश, न्हुच्छेले के भन्छ, सुन।'  पिकनिकमा सबै भोज्य र पेय समाप्त भएपछि बासुदाइ सोध्थे, 'न्हुच्छे, मासु कति बाँकी छ?' 'एक थोपा पनि छैन!' 'रक्सी कति छ नि?' 'एक टुक्रा पनि छैन! राछेसहरूले सबै खाइसक्यो!' न्हुच्छेको एक थोपा मासु, एक टुक्रा रक्सी! बासुदाइको भाषा-विनोद! म त्यो बारम्बार सम्झन्छु। त्यसले पनि पराई भाषाको जटिलता सम्झाउँछ। न्हुच्छेको भाव-सञ्चार हुन्थ्यो। नेपाली न्हुच्छेको विमातृभाषा हो। तर, यो जुद्धशमशेर बोलेको अंग्रेजीभन्दा राम्रो थियो। ती फिरंगीहरूले जुद्धशमशेरको भाव बुझे होलान्।  मैले काठमाडौँ र यहाँका नेवार मित्र र सहकर्मीहरूको गहिरो संगत गरेको आधा शताब्दी भयो। तर, मेरो त्यो 'विमातृभाषा' राम्ररी सिक्न सकेको छैन, मलाई खेद छ।  दिवंगत हृदयचन्द्रसिंह प्रधान, सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, कृष्णचन्द्रसिंह प्रधान, रत्नध्वज जोशी, भुवनलाल प्रधान, काशीबहादुर श्रेष्ठ, भवानी भिक्षु, धिरेश्वर झा धीरेन्द्र, धुस्वाः सायमीजस्ता अनेक महान् आत्माहरूले नेपाली भाषा र साहित्यमा गरेको योगदान अतुलनीय छ। जीवित पुराना स्तम्भहरू-सत्यमोहन जोशी, तेजेश्वर बाबु ग्वंगःदेखि आधुनिक पुस्तासम्मका अनगिन्ती विमातृभाषी लेखकले मलजल गरेको हुनाले नेपाली भाषा र साहित्य साँचो अर्थमा नेपाली भाषा र नेपाली साहित्य भएको छ। आजका अनगिन्ती विमातृभाषी नेपाली भाषा र साहित्य साधकहरूका योगदानको उचित मूल्यांकनविना नेपाली साहित्यको चर्चा अधुरो हुन्छ। नेपाली किताब प्रकाशकका रूपमा रत्न पुस्तक भण्डारका संस्थापक रत्नबहादुर श्रेष्ठको योगदान कसले बिर्सन सक्छ? नेपाली साहित्यका समस्त विमातृभाषी लेखक र समस्त विमातृभाषी प्रयोगकर्ता मेरा विशेष आदरणीय छन्। सबै नेपाली विमातृभाषी सरोकारवालालाई सलाम!

_____ · Aug 6, 2012 7:04 AM · 1,136 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all