आफ्नै प्रेयसीलाई चुम्बन गर्न पाएनन् काठमाडौं उपत्यका सुन्दर बनाउने अभियानलाई उचाइमा पुर्‍याउन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौंका पूर्वमेयर केशव स्थापितलाई महत्वपूर्ण जिम्मेवारी दिएका छन्। सम्पूर्ण उपत्यकालाई एकीकृत रूपमा विकास गर्ने उद्देश्यले स्थापित काठमाडौं उपत्यका विकास प्राधिकरणमा प्रमुखका रूपमा स्थापितको नियुक्ति भएको हो। काठमाडौं नगरप्रमुख भएका बखत उनले गरेका राम्रा कामका कारण प्राधिकरणको आयुक्त भएलगत्तै स्थापितले काठमाडौंलाई सुन्दर सहरमा परिवर्तन गर्न सक्छन् भन्ने विश्वास जागेको छ। काठमाडौंको राष्ट्रिय सभागृहमा आफ्नो कार्यालय स्थापित गरेका स्थापितसँग साप्ताहिकका अश्विनी कोइराला र नरेन्द्र रौलेले उनको स्वप्नदर्शी योजनाका सम्बन्धमा कुराकानी गरेका थिए। अबचाहिँ काठमाडौं सुन्दर हुन्छ भन्ने आशा गर्न सकिन्छ ? शतप्रतिशत। आशा होइन, अब विश्वास गर्नुहोस्। काठमाडौं विश्वकै सुन्दर सहरमध्ये एक हुनेछ। त्यो अनुभूति कहिलेदेखि हुन थाल्छ ? एक वर्षमा तपाईंहरूले देखिने खालको परिवर्तन पाउनुहुनेछ। पाँच वर्षमा यो सहरको नाप-नक्सा नै परिवर्तन हुन्छ। एउटा सहरको नाप-नक्सा परिवर्तन गर्न अर्बौं रुपैयाँ लाग्छ, कसरी जुटाउनुहुन्छ ? सुरुमा केही बजेट आवश्यक पर्ला। प्रधानमन्त्रीज्यूले तपाईंलाई पैसा चाहिन्छ कि, प्रशासन चाहिन्छ कि गुन्डा चाहिन्छ, सबै प्रयोग गर्नुहोस्। म तपाईंको काममा सहयोग गर्छु भन्नुभएको छ। सुरुको बजेट पनि खर्च नगरी म यो सहर बनाउँछु। यसका लागि मैले शून्य सूत्र अभियान थालनी गर्ने योजना बनाएको छु। के हो शून्य सूत्र अभियान ? लागत नलाग्ने, तर फलदायी काम हुने अभियान। जस्तो काठमाडौंको सडक चौडा पार्नुपर्‍यो भने रोडछेउको व्यक्तिलाई पछाडि जग्गा भएको घरधनीले मुआब्जा दिने। यसो गर्दा पछाडिको जग्गाको मूल्य दोब्बरभन्दा बढी हुन्छ। ऊ पनि फाइदामा, सरकार पनि फाइदामा। मेलम्चीको पानी काठमाडौं ल्याउन कति झमेला छ, त्यसमा काठमाडौंवासीलाई नै सेयर दिने हो भने एक पैसा पनि खर्च हुँदैन, झमेला पनि हुँदैन। पैसा नै लगानी नगरीकन ठूला-ठूला प्रोजेक्ट तयार पार्न सकिन्छ। यो त नीतिगत कुरा भयो, उदाहरण दिएर म यो कामचाहिँ नमुना रूपमा गर्छु भन्दा पो बढी प्रभावकारी हुन्छ....? ल सुन्नुस्। नेपालको सेन्ट्रल जेल कहाँ छ ? काठमाडौंको मुटु त्रिपुरेश्वरमा। त्यो जग्गाको मूल्य अर्ब रुपैयाँभन्दा बढी छ। त्यसलाई बेचिदिने र टाढा हजारौं रोपनी जग्गामा सेन्ट्रल जेल बनाउने। त्यहाँका कैदीहरूमध्ये कसैलाई च्याउ खेती गर्न दिने, कसैलाई अंगुर र कसैलाई पशुपालन। उनीहरू सजाय भुक्तान गरेर निस्कँदा आफ्नो क्षेत्रको विशेषज्ञ भएर निस्कन्छन्, एउटा यो फाइदा। अर्को अर्बौं रुपैयाँमा बिक्री भएको त्यो आम्दानीमध्ये केही करोड रुपैयाँले मैले सोचेजस्तो जेल बन्छ। बाँकी पैसाले नगरको विकास हुन्छ। यस्ता धेरै काम गर्न सकिन्छ। काठमाडौंका मूल्यवान् अरू कुन-कुन जग्गा बेच्ने योजना बनाउनुभएको छ ? बेच्ने भन्नेबित्तिकै गलत अर्थमा लिनु हुँदैन, यसलाई विकास गर्ने अर्थमा बुझ्नुहोला। जस्तो- भृकुटीमण्डप प्रदर्शनी मार्ग क्षेत्रमा नेपालका ठूला कलेज छन्। कानुन क्याम्पस, आरआर क्याम्पस र संस्कृत क्याम्पस। यस्तो मूल्यवान स्थानमा ती कलेजको के काम ? टायर बाल्न ? त्यहाँ त सुन्दर कम्प्लेक्स र कर्पोरेट अफिस बन्नुपर्ने होइन ? ती कलेजलाई १०-२० किलोमिटर टाढाको पहाडको फेदमा निर्माण गर्ने। अब जसले ती जग्गा किन्छन्, उसले ती कलेजबाट हाइस्पिड मोनोरेल बनाइदिन्छन्। ५ मिनेटमा विद्यार्थी कलेज पुग्छन्। एक पैसा खर्च नगरी सुन्दर स्थानमा कलेज पनि बन्यो, त्यो ठाउँको विकास पनि भयो। तपाईंले देखेको अर्को सपना के होला ? सपना त अनगिन्ती छन्। यद्यपि मेरो कल्पनामा आएको एउटा योजनाचाहिँ सुनाइहाल्छु। जस्तो आजको ललितपुर ललितपतनम्को परिष्कृत रूप हो। ललितपतनम्को अर्थ कला-कौशलको सहर भन्ने बुझिन्छ। पहिलेको ललितपतनम् गोदावरीमा निर्माण गर्ने मेरो योजना छ। गो दावरीमा भएको हजारौं रोपनी सरकारी जग्गालाई व्यवस्थित गरेर २० औं हजार व्यक्तिलाई रोजगारी दिने कला उद्योग खोल्ने। हामी अरनिकोका सन्तान, तर सहरभित्रको एउटा कोठामा टुक्टुक गरेर बसिरहेका छौं। पाटन सहर आधुनिक बनाउने, गोदावरीमा परम्परागत कलाकृतिको आधुनिक औद्योगिक क्षेत्र बनाउने योजना छ। अहिले विस्तार भएका सडकको काम रोकिन्छ कि भन्ने चिन्ता नगरवासीको छ, के भन्नुहुन्छ ? काठमाडौं यो देशको राजधानी हो। यहाँ विदेशी आउँदा अचम्म पर्नुपर्‍यो, नेपाली आउँदा गर्व हुने खालको हुनुपर्‍यो। दुई-चारवटा सडक त अन्तर्राष्ट्रिय स्तरका हुन्छन्। यस्तो कल्पना गर्ने व्यक्तिले अहिलेको सडक विस्तार अभियान रोक्छ होला त ? यो त द्रुत गतिमा बढ्छ, जनताको सहभागितामा अझै फराकिलो पार्ने योजना छ। खोला किनारमा बसेका सुकुम्बासीलाई के गर्नुहुन्छ ? सरकारले उनीहरूलाई केही महिनाको कोठा भाडा दिएर त्यहाँबाट निकाल्ने योजना बनाएको छ। मैले उनीहरूलाई सहरवासी बनाउने योजना बनाएको छु। कीर्तिपुरपारि रहेको हिमाल सिमेन्ट कारखानामा उनीहरूलाई व्यवस्थित बसोबासको व्यवस्था गर्ने योजना छ। त्यसपछि नदी किनारलाई अझ फराकिलो बनाउने, खोलामा ढल मिसाउन बन्द गर्न ठूला ढल बनाउने, त्यसमाथि स्तरीय पिच बनाएर विश्वकै उत्कृष्ट सहर बनाउने योजना छ। आज जो व्यक्ति नदी किनारमा मुख थुनेर हिँड्छन्, उनीहरू त्यहाँ जग्गा किन्न तँछाड-मछाड गर्नेछन्। अहिले विदेशी राजदूतावासहरू सहरको मध्यभागमा छन्, उनीहरू नदी किनारमा बस्न आउनेछन्। भन्न खोजेको कुरा के भने जति हरियाली, त्यति नै आकषर् क। तपाईंले आफू पदबहाल भएकै दिन युवाहरूका लागि मनोरञ्जन पार्क बनाउँछु भन्नुभयो, पपुलर हुन भन्नुभएको हो ? यत्रो सहर छ, यति धेरै युवा छन्। उनीहरूका लागि कसले सोच्यो ? सबै नेताहरू बूढा भएर हो कि भन्ने लाग्यो। युवाहरूको अवस्था कस्तो छ भने उनीहरू आफ्नी प्रेमिकासँग दिल खोलेर चुम्बन पनि गर्न पाउँदैनन्। उनीहरूलाई यो मेरो काठमाडौं हो भन्ने गर्व नहुन्जेल विकास गर्न सकिँदैन। उनीहरूको साथ लिन सकिँदैन। लोकप्रिय हुनलाई मैले त्यसो भनेको होइन, उनीहरूको पीडा बुझेर भनेको हुँ। युवालाई मात्र किन, एकछिन मन बहलाउन सबै उमेरका व्यक्तिलाई यस्तो पार्क चाहिन्छ। म त यस्तो अक्सिजन पार्कको कल्पना गर्दैछु, जो-सुकै व्यक्ति पनि सहरको कोलाहलबाट एकछिन फ्रेस हुन सकोस्। मीठो अक्सिजन लिन सकोस्। हो, म अक्सिजन पार्क बनाउँदैछु। तपाईं आफूलाई स्वप्नदर्शी मान्नुहुन्छ ? स्वप्नदर्शीहरू सपना देख्छन्, उनीहरूले कार्यान्वयन गर्छन् भन्ने लाग्दैन। म कार्यान्वयन गर्छु। यसकारण म आफूलाई प्रयोगकर्ता मान्छु। स्वप्नदर्शीको सपनाको आधार हुँदैन, मेरो आधार छ। यो आधार कहाँबाट आयो ? के जन्मजात आएको हो ? होइन, सिक्दै प्रयोग गर्दै आएको हो। अरूको जस्तै मेरो पनि काठमाडौं सुन्दर होस् भन्ने सपना थियो। अरूले सपना देखे र बिपनामा बिर्सिए। म प्रयोगकर्ता भएकाले प्रयोग गर्दै आएँ। काठमाडौंको मेयर हुँदा जानी-नजानी गरें। अहिले खारिएको छु। केशव स्थापित काम गर्ने मान्छे त हो, तर रक्सी खाएर बिग्रियो भन्छन् नि ? मेरो जातै रक्सी खाने हो। यसो भन्दैमा जथाभावी खान्छु भन्ने होइन। पहिले जिम्मेवारी नहुँदा अलि बढी पिएँ। अब त जिम जान्छु, शरीर बनाउँछु। पहिलेजस्तो झल्लु भएर कहाँ हिँड्छु र ? तपाईं एमालेको मान्छे, माओवादी सरकारले तपाईंलाई यत्रो जिम्मेवारी किन दियो होला ? म एमालेका लागि खल्तीको सुपाडी हुँ, मन लागे टोक्यो, नलागे खल्तीमा राख्यो। आफ्नो घरमा भएको मान्छेको क्षमता जतिसुकै भए पनि अनादर हुन्छ, बाहिरकाले चिन्छ। जे भए पनि माओवादी ठूलो परिवर्तन गर्छु भनेर त्यत्रो युद्ध गरेर आएको पार्टी, काम नगरे जनताको अघि जान लाज हुन्छ। त्यही लाज बचाउन मलाई ल्याइएको हो। आखिर काम गर्ने मान्छे त चाहियो, कहाँबाट ल्याउने ? त्यसो भए तपाईं माओवादीतिर जानुहुन्छ हो ? पटक्कै होइन। बरु माओवादी र एमालेलाई एक ठाउँमा ल्याउने पुलको काम गर्छु। आखिर दुवै कम्युनिस्ट पार्टी, अब बहुदल स्वीकार गरेपछि दुवैबीच कति पो फरक छ र ? यसो भन्दैमा केही फरक छैन पनि भनेको होइन, जति फरक छ, मेटाउँदै जानुपर्छ र एक ठाउँमा आउनुपर्छ।
Bimalkarna · Jul 30, 2012 5:14 PM · 10,227 views
Hahahahaha.... मेरो जातै रक्सी खाने हो। यसो भन्दैमा जथाभावी खान्छु भन्ने होइन। पहिले जिम्मेवारी नहुँदा अलि बढी पिएँ। अब त जिम जान्छु, शरीर बनाउँछु। पहिलेजस्तो झल्लु भएर कहाँ हिँड्छु र ? All jokes aside, I have heard Mr. Sthapit is an effective bureaucrat. More power to him.
Nepali_American · Jul 31, 2012 8:51 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion