उल्टो संघीयता

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  उल्टो संघीयता WEDNESDAY, 18 JULY 2012 13:09 प्रा. पु्ष्प कडेँल     1 2 3 4 5   (2 votes, average 3.00 out of 5) राज्य पुनःसंरचनामा चाख राख्ने र चिन्नेहरु सबैले मलाई संघीयता विरोधी भन्छन्। नेपालमा संघीयता माग्नेहरुले यसै अर्थमा मेरो विरोध गर्छन् र कुनै पनि मञ्चमा उपस्थित नभए हुन्थ्यो भन्ठान्छन्। अर्कोतर्फ एकीकृत नेपाल चाहनेले भने समर्थन पनि गर्छन्। वास्तवमा म संघीयताको विरोधी हैन, ठूलो समर्थक हुँ। संघीयता महान् छ भन्ने मेरो राय छ। संघीयता जान्नेलाई श्रीखण्ड नजान्नेलाई खुर्पाको बींड हो। संघीयता नभएको भए आज संसारमा थुप्रै महान् राष्ट्र रहने थिएनन्। यदि संघीय प्रणालीको विकास गर्न नसकेको भए आजको अमेरिका, स्विट्जरल्याण्ड, अष्टेलिया, भारत, क्यानडा, ब्राजिल, दक्षिण अफ्रिका, पूर्व सोभियत संघ, जर्मनी, मलेसिया, नाइजेरिया आदि महान् देश संसारमा उपस्थित हुने थिएनन्। संघीयताले नै यी देशको जन्म गराएको हो र संसारको राजनीतिमा यिनीहरुको प्रभाव फैलाएको हो।   यसो किन भएको छ भने संघीय व्यवस्थाका विभिन्न लाभकारी गुण छन्। यसले छरिएर रहेकालाई एक ठाउँमा ल्याउँछ तर शक्तिलाई एक ठाउँमा केन्द्रित नगरी विभाजन गर्छ। यसमा लोकतन्त्रको अभ्यास अझ धेरै गर्न सकिन्छ, यसले नयाँ नेतृत्व विकासको अवसर दिन्छ र यो सरकारलाई जनताको नजिक लैजाने माध्यम पनि हो। यसले प्रतिस्पर्धाको भावना पनि विकास गर्छ। सन्तुलन र नियन्त्रणको अवस्थालाई बलियो बनाउन पनि यसले काम गर्छ र विविधतालाई पनि समेट्छ। वास्तवमा मानव जातिका उत्तम आविष्कारमध्ये यो एउटा हो। यसले संसारमा शान्ति कायम गर्न र मानव जातिको विकास गर्न ठूलो काम गरेको छ। आजका धेरैजस्ता ठूला र विकसित देश संघीयताका कारण अडेका हुन्। संघीयता नभएको भए आज संसारमा २०० मात्र नभएर अझ धेरै देश हुने थिए। एक अर्कामा लडाइँ गरिरहेका हुन्थे र सायद औपनिवेशिक शासन प्रणाली पनि यथावत् हुन्थ्यो। किनभने संघीयताले नै अमेरिका, भारत, अष्टे्रलिया, क्यानडा, भारत, दक्षिण अफ्रिका आदि देशबाट बेलायती उपनिवेशको जुवालाई फालेको हो।  संघीयता एकाकार हुने प्रक्रिया हो, संगम हो, अग्रगमन हो, सहकारिता हो, विकेन्द्रीकरण हो र जनमुखी सरकार हो। यो महान् छ, अजर छ र अमर छ। यो एकताको सूत्र र त्यसतर्फको यात्रा हो। एकताले दिने लाभ संघीयताले दिन्छ। यसले छुटि्टएर रहेका इकाईलाई एकताको सूत्रमा बाँध्ने काम गर्छ। यसले संसारलाई एकाकार बनाउने काम गर्छ। शान्तिले मानव जातिलाई के दिन्छ भन्ने कुरा संघीयताको अध्ययनले बताउँछ। अर्थतन्त्रको हिसाबले यो ठूलो बजार सिर्जना हो, जसले पुँजीवादको विकासमा सहयोग गर्छ। यसले मानव जातिमा एक अर्कोप्रति प्रेम र सद्भाव सिर्जना गर्नमा सहयोग गरेको छ। हिजो सिर्जना भएका संघीय देशको इतिहासले त्यही देखाउँछ।  त्यसैले म संघीयता विरोधी होइन। म विरोधी हुँ- विभाजनको, युद्धको, संघर्षको र एकअर्काप्रतिको घृणाको। एकताले प्रेम दिन्छ, विभाजनले घृणा, संघर्ष, अशान्ति र हिंसा। संसार नै एकात्मकतातर्फ गइरहेको अहिलेको अवस्थामा जात, भाषा, धर्म, संस्कृति आदिको नाउँमा इतिहासदेखि एकताबद्ध भएकालाई विभाजन गर्ने खेल संघात्मकता होइन। बेल्जियम, सुडान, स्पेन, इथियोपिया आदि देशमा भएका प्रयोगले यही कुरा भन्छ। यी देशमा जुन दिनदेखि संघीयताको नाउँम्ाा विभाजनको बीउ रोपिए, त्यसै दिनदेखि त्यहाँ अशान्ति, विद्वेष, हिंसा, आतंक र घृणा सिर्जना भएको छ। हजारौं मानिस यही नाउँम्ाा मारिएका छन्। एकताबद्ध देशलाई विभाजन गर्न थरीथरीका आधार सिर्जना गर्ने कामलाई संघीयताको नाउँ लिनु सर्वथा नाजायज छ। त्यसैले संघीयता भनेको एकता हो, विभाजन होइन। मेरो असहमति संसारका केही देशमा संघीयताको नाउँमा रोपिएको विभाजनको बीउतर्फ हो।  नेपाल चाहे जुनसुकै हिसाबले भए पनि एकीकृत छ। यो देशमा थरीथरीका जाति, भाषा, संस्कृति, भेषभूषा आदि छन् तर हामी एकीकृत छौं। एकअर्कामा सम्मान छ, सौहार्द्धता छ र सहयोग छ। सामन्ती व्यवस्थाले सिर्जना गरेका कतिपय विकृति र वर्गीय असमानता समाधान गरेर जानुपर्ने आवश्यकता छ। त्यसैका लागि हिजो संयुक्त संघर्ष गरियो र राजतन्त्रलाई सदाका लागि फालियो पनि। तर अहिले भावी योजना बनाई देशलाई एकताबद्ध बनाएर समृद्धिको बाटोमा जानुको सट्टा अर्थ न बर्थको गोविन्दे गाई, टाउको दुखेको औषधी नाइटामा लगाई भनेजस्तै संघीयताको नाउँम्ाा विभाजनका बीउ रोपेर हिंसामा जाने कुरा गर्दैछौं। एकअर्कालाई तथानाम पाँडे गाली गर्दैछौं। हिजो विभाजनमा रहेका कतिपय देश संघीयतामार्फत् एकताबद्ध भई अगाडि बढिरहेका छन् भने हामी एकताबद्ध रहेको देशलाई विभाजन गरेर अनेकथरीका हिंसा निम्त्याउँदै छौं। हाम्रा पूर्खाले रगतसँग साँटेर बनाएको यो सानो देशको थुप्रै भूभाग सुगौली सन्धिले कटाउने काम गर्यो, मूर्खतापूर्ण कामले बाँकी भूभागलाई पनि हामी टुत्र््कयाउन जाँदैछौं। यदि एकअर्काप्रति घृणा गर्दै विद्वेष फैलाउँदै र रक्तरञ्जित इतिहास बनाउँदै संघीयतामा गयौं भने निश्चत छ- हामी एक रहन सक्दैनौं। के देखिन्छ भने कम्युनिष्टहरु जो नेपालको सन्दर्भमा आफूलाई सबैभन्दा राष्ट्रवादी भन्छन्, तिनीहरु नै जातीय पहिचानको आधारमा देश विभाजन गर्न खोज्दैछन्। सोभियत संघ, युगोस्लाभिया र अन्य कम्युनिष्ट राज्य किन सिद्धिएछन् भन्ने पनि यसबाट थाहा पाइन्छ। त्यसैले पहिचानको आधारमा देशलाई विभाजन गर्ने कामलाई म संघीयता भन्दिन। यो विभाजन हो। विभाजनले कहिल्यै पनि एकता र विकास सम्भव छैन। यो मृत्युको खाडल हो। हो हामी सबैलाई आफ्ना भाषा, संस्कृति आदि प्यारो लाग्छ। तर अहिलेको विश्वव्यापीकरण र पश्चिमीकरणको जमानामा त्यो हामीले बचाएर बच्छ? अवश्य बच्दैन। हाम्रा माता पिता हाम्रा लागि कति प्यारा हुन्छन् तर तिनलाई दागबत्ती दिने काम पनि छोराछोरीबाट नै हुन्छ। त्यस्तै हो हाम्रा परम्परा पनि। प्यारो छ तर त्यसलाई बचाउन सकिँदैन। त्यसैले त्यसकै निम्ति देशलाई विभाजन गर्ने काम कालीदाशको जस्तै मूर्खतापूर्ण काम हो। विभाजन होइन, एकता रोजौं। मेरो मान्यता यही हो। मेरो भनाई र असहमति यही हो। त्यसैले म संघीयताको विरोधी होइन, विभाजनको विरोधी हुँ। विभिन्न देशको इतिहास अध्ययनबाट के देखिन्छ भने एकात्मक देशलाई संघीयताको नाममा विभाजन गर्ने तर्क गरिन्छ भने पहिचानका आधारमा मात्र गर्नुपर्ने हुन्छ, जसले अन्ततः अलग राष्ट्र हुँदै अलग राज्य निर्माण गर्नेतर्फ लैजान्छ। एकात्मक राज्यलाई पहिचानको नामम्ाा विभाजन गर्नु भनेको अन्ततोगत्वा देशलाई विभाजन गर्नु हो। यस हिसाबले हेर्दा हामीले जसलाई संघीयता भनेका छौं, त्यो संघीयता होइन, विभाजन हो। अर्थात् त्यो उल्टो संघीयता अर्थात् उसंघीयता हो। उल्टो संघीयताले कहिल्यै पनि गन्तव्यमा लैजाँदैन, उल्टो बाटोतर्फ लैजान्छ। सुल्टो अर्थात् इकाईहरु जोडिने संघीयताले एकता र सद्भाव ल्याउँछ भने उसंघीयताले घृणा। घृणाको बिऊ रोप्ने उसंघीयता अहिलेको आवश्यकता होइन। एकात्म्ाक राज्यलाई विभाजन गर्ने संघीयता उसंघीयता हो। यसले विभाजनकारीलाई सहयोग गर्छ, एकताकारीलाई होइन। संघीयतारुपी श्रीखण्डलाई खुर्पाको बींड नबनाऔं। अहिलेको विश्वव्यापीकरणको जमानामा उसंघीयताले भाषा, संस्कृतिको रक्षा गर्न सक्दैन र आर्थिक उन्नति पनि हुँदैन। ठूलाठूला माछा खाने विश्वव्यापीकरणले साना माछा सहजै निल्छ र निलिरहेको छ। यसमा भ्रम नराखे हुन्छ। संघीयता विरोधी र समर्थकको कुरा गर्दा अमेरिकी इतिहास पनि एक पटक सम्झनु आवश्यक हुन्छ। अमेरिकी संविधान निर्माणको समयमा ठूलो वाकयुद्ध चलेको थियो हेमिल्टन-एडम्स टोली र जेफर्सन-मेडिसन टोलीबिच। हेमिल्टनहरु केन्द्र बलियो हुनुपर्छ भन्थे भने जेफर्सनहरु केन्द्रलाई समन्वयकारीमात्र बनाउनुपर्छ भन्थे। ती दुई समूहमध्ये हेमिल्टनको टोली जो केन्द्रलाई बलियो बनाउनुपर्छ भन्थ्यो, त्यसलाई फेडरलिस्ट अर्थात् संघीयतावादी भनिन्थ्यो भने जेफसर््ानको टोली जो केन्द्रलाई समन्वयकारी मात्र बनाउन चाहन्थ्यो त्यसलाई एन्टिफेडरलिस्ट अर्थात् संघीयता विरोधी भनेर चिनिन्थ्यो। १७७६ देखि १७८९ सम्म चलेको महासंघीय ढाँचाको असफलताले गर्दा सन् १७८९ मा बनेको संविधानले केन्द्रलाई बलियो बनायो र एक हिसाबले फेडरलिस्टहरुको नैतिक विजय भयो।  पछिल्ला वर्षमा केन्द्रलाई अझै बढी अधिकार दिन थालियो, जसले गर्दा आज सशक्त अमेरिका हाम्रो सामु उपस्थित छ। संघीयतावादीहरुको लडाइँका कारण बलियो केन्द्र भएको एकाकार सशक्त अमेरिका बनेको थिएन भने सन् १८६१ को गृहयुद्धमा छुटि्टएको अमेरिका जोडिँदैनथ्यो र आजको सबल अमेरिका पनि हुँदैनथ्यो। त्यसैले केन्द्रलाई बलियो बनाउनुपर्छ भन्ने संघीयता विरोधी होइन, संघीयतावादी हो। यस अर्थमा म संघीयतावादी हुँ। यसको अर्थ तल्ला निकायलाई कमजोर बनाउनुपर्छ भन्ने होइन। नीति निर्माणमा केन्द्रीयता र कार्यान्वयनमा क्षेत्रीयता/स्थानीयता मेरो मान्यता हो। त्यसो भएमा मात्र हाम्रो देशका साथै हाम्रा भाषा, संस्कृति आदि जोगिन सक्छ र हामी पनि समृद्धितर्फ जान सक्छौं। http://www.nagariknews.com.np/

_____ · Jul 18, 2012 2:57 PM · 2,324 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all