यो काहानी हैन, एउटा दिनचर्या हो। बाल्टिमोर शहरको एउटा सानो टोलको दिनचर्या। आजकाल यो टोललाई फेसबुक टोल भनेर चिनिन्छ। प्राय सबै नेपालीहरुको बसोबास रहेको यस टोलको जनसंख्या करिब ५०० जती मात्र होला। अनलाइन फेसबुक चलाउनु कुनै नौलो कुरा हैन। प्राय सबैको घरमा कम्प्युटर हुन्छ, प्राय सबैको आजकाल फेसबुक खाता हुन्छ अनि सबैलाई फेसबुकमा कम्प्युटर मात्र नभै फोन बाट पनि अप्डेट गर्न मन लाग्छ। सबैको दैनिक गतिबिधी आजकाल फेसबुकबाट नै प्रस्ट देख्न, सुन्न र हेर्न समेत पाईन्छ। तर यो फेसबुक टोलको सामाजिक सन्जाल अलि अनौठो छ। यहाँ कम्प्युटर र फोनबाट नभै प्रतक्ष्य रुपमा फेसबुकिङ गरिन्छ। सायद एक्लै कोठाभित्र थुनिएर हातमा ल्याप्टप राखेर आफुलाई सामाजिक रुपमा कृयासिल बनाउनु भन्दा प्रतक्ष्य रुपमा लागिपरेर समाजमा केही परिवर्तन ल्याउने हिसाब ले यो "प्रतक्ष्य फेसबुकिङ" सुरु गरिएको हुनसक्छ। म पनि बसाइँ सरेर यही टोलमा आइपुगेँ। सरेको पहिलो रात नजिकैका साथीहरु अनि छिमेकीहरुलाई खाना खान नयाँ घरमा बोलाएँ , सबैजानासँग परिचय र चीनाजानी भयो, रात रमाइलो भयो। भोलिपल्ट सबेरै ढोका ढक्ढक्याको आवाज सुनेर ढोका खोल्दा ढोका बाहिर कार्डहरुको थुप्रो लागेको थियो। हरेक कार्डमा त्यो टोलको मान्छेको नाम, ठेगाना, फोटो छापिएको थियो अनि तल लेखिएको थियो " के म तपाईंको साथी बन्न सक्छु?" धेरै अपरिचित नामहरु थिए तर कतिपय अघिल्लो रात खाना खान आएकाहरु पनि थिए। मानौँ यो एक किसिम को अनौठो " फ्रेन्ड रिक्वेस्ट" थियो। सबै कार्डहरुमा जवाफ लेखेर मैले फिर्ता पोस्ट गरिदिएँ। तेसको दुई दिन बित्न नपाउँदै मेरो घरको ठेगानामा तिनै नयाँ साथीहरुको चिट्ठी आउन सुरु भयो। मानौँ त्यो घर नै एउटा "इन्बक्स" थियो। एकदिन घर बाहिर साथीहरुको ठुलै भीड जमेको देखें। बाटोमा एउटासाथीको ठुलो फोटो राखिएको थियो अनि अरु साथीहरु " कमेन्ट" गर्दै थिए। एउटाले दामी छ यार भन्थ्यो अनि अर्कोले वाह खत्रा फोटो आएछ भन्थ्यो, कोही कोही चै हेर्दै नहेरी ल ल मलाई त मन पर्यो भन्दै आफ्नो बाटो लाग्थे, सायद उनिहरु टाढैबाट " लाइक " गरिरहेका थिए। अली पर पुगें, त्यहाँ पनि बधाई दिनेहरुको लामो लाइन लगेको थियो। एक युगल जोडी अगाडि उभिएका थिए। मैले एक जानालाई सोधें के भएछ भनेर। "यिनिहरु आज भर्खर इन रिलेसन्सिप मा परिणत भएका रे"। मैले पनि बधाई दिएँ। एउटा घरमा अर्को साथी बिरामी भएछ, सब जाना उस्को घरमा गएर नजिकै राखेको सेतो बोर्डमा " गेट वेल सून " लेखिराखेका थिए। त्यो माहोल कुनै फेसबुक को वाल भन्दा काम थिएन। यसरी नै दिनचर्या चल्दै गयो। कसैले भित्तामा लेख्ने, कसैले बाटोमा फोटो झुन्ड्याउने, कसैले दौडेर आएर घोचेर जाने " पोक " गर्ने, कोइ भने झ्याल खोलेर चिच्यौने " फूटबल हेर्दैछु " भनेर , कोइ बाटो बाटै " म त फिलिम हेर्न जान लागेको" भनेर कराउने। सबैको स्ट्याटस प्रतक्ष्य सुन्न र हेर्न पाइन्थ्यो। ढोकाबाहिर टन्न चिट्ठीहरु आउन थाले " नोटिफिकेसन " को रुपमा। जिन्दगी कम्प्युटरमा सिमित नभै टोलभरी छरिएको थियो। कसैले घरका भित्ता भित्तामा म पनि भएको फोटो टाँसेर जान्थे, सायद " ट्याग " गर्ने यो भन्दा राम्रो उपाय थिएन। कसैले "पोकर" खेल्न बोलाउन थालए भने कसैले "फार्मभिल" बनाउन निम्तो दिन थाले । घोच्ने " पोक " गर्नेहरुको कमी थिएन। कहिलेकाही एक्लै हुँदा कुरा गर्न कोइ पाइएन भने बाटो म कोइ न कोइ भेटिन्थ्यो "च्याट" गर्न अन्लाईन फ्रेन्ड भेटिएको जस्तै। कोइ जतिबेला पनि गीत बजाउँथ्यो भने कोइ फूटबलको मात्र कुर गर्थ्यो, कोइ रातभरी फिलिमको कुरा मात्र गर्थ्यो। जिन्दगी कम्प्युटरको दुनियाँ भन्दा धेरै रमाइलो लाग्न थाल्यो। यो टोल साँच्चै नै एउटा नमुना फेसबुक टोल थियो। एकदिन एउटा ठुलै कलाकार टोलमा बसाइं सरे। सबैतिर उनको चियो चर्चो हुन थाल्यो। बिहान उठेर ढोका खोल्दा कुनै " नोटिफिकेसन " पनि देखिएन। बाटोमा कोइ पनि भेटिएन। सबैजना शान्त थिए। अलि पर एउटा मान्छे को पछाडि टोलका सबैजाजा पछी लागेर दौडेको देखें। छक्क पर्दै मैले एउटा साथीलाई सोधेँ। उसले भन्यो " हेत्तेरिका तिमीलाई यति पनि थाछैन? हामीले त यो कलाकारलाई फलो गरिरा"। हेर्दाहेर्दै फेसबुक टोल "Twitter" टोलमा पारीणत भएछ।
chattyaangg · Jul 12, 2012 6:51 PM · 2,798 views
Last edited: 20-Jul-12 10:48 AM
guchcha chor · Jul 13, 2012 7:43 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion