संघीयता र आमाको मृत्यू -फुर्पा तामाङ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

संघीयता र आमाको मृत्यू Monday, 25 June 2012 18:25 फुर्पा तामाङ   14   (1 vote, average 5.00 out of 5) गत जेठ ११ गते बिहान करिब १०:३० बजेको समयमा मेरी आमा न्हीमा ल्हामु तामाङले ७२ वर्षको उमेरमा हामी सबैलाई छोडेर यो धर्तीबाट बिदा लिनुभयो। म आमाको आत्माको चीर शान्तिको कामना गर्दछु। केही महिना अघिदेखि उहाँको उपचार नेपाल मेडिकल कलेज जोरपाटीमा भइरहेको थियो। उहाँलाई मृगौला, हड्डी खिइने र रक्तचाप रोग देखिएको थियो। मृत्यू पश्चात हामी बौद्धमार्गीहरुको केही धार्मिक विधि पूरा गरेर मात्र जलाउन लैजाने परम्परा छ। जसअनुसार आमाको लाश अस्पतालबाट बुझेपछि आमाको भाइ (मामा) ले दिदीको लाशलाई मेरो घरमा लगेर रातभरि पूजा गरेरमात्र भोलि स्वयम्भूमा जलाउन लैजाने भन्नुभयो। हामी तामाङ समुदायमा बाबुको मृत्यू हुँदा दाजुभाइको हम लाग्छ र आमाकोमा मामाको। उहाँको प्रस्तावलाई कसैले नाइँ भन्नै सकेन। त्यसपछि अस्पतालमा जम्मा भएका आफन्तहरुले आमाको लाशलाई गाडीमा राखेर मामाघर आरुबारी लगियो। मेरा कान्छा काका र अन्य तीनजना गाउँका लामाहरु पनि आइपुगेछन्। मृत्यू संस्कारमा अनिवार्य मानिएको कुलघरको ३-४ जना ज्वाईँहरु पनि आइपुगेछन्। मामाले भन्नुभएझैँ लामा र केही महिलाहरु बोलाई रातभरि नौनीको बत्ती (क्षेमी), धूप बालेर ङोवा, मोलाम र छो गरेँ। मामा आफैँ पनि सानोभार्खु गाउँको प्रमुख लामा भएको हुनाले पूजा कार्य गर्न सजिलो भयो। आमाको लाशमा अन्तिम श्रद्धान्जली चढाउन तत्काल खबर पाए जतिका आफन्तहरु ओइरिए। सबैले आमाको पार्थिव शरीरलाई ढोग्दै त्यस माथि बाक्लो हुनेगरि खादा चढाए। यी त थिए मेरा आफ्नै समुदायका मानिसहरु। केही बेरपछि मेरो र दाइको मोबाइलमा घन्टी बज्न थाल्यो। गैर समुदाय (जातजाति) का साथीभाइहरुले आमाको मृत्यूको खबर सुनेछन्। उहाँहरु पनि त्यसरी नै आउन थाले र आमाको लाशलाई ढोग्दै खादा चढाए। आए जति सबैले समवेदना व्यक्त गर्दै कति त हामीसँगसँगै रोए पनि। यो क्रम भोलिपल्ट १२ गते विहान ८ बजे सम्म चलिरह्यो। आमाको लाशलाई एउटा मिनिटाटामा सजाएर राखियो। लाश बोक्ने टाटा अघिपछि गरेर १५-१६ वटा जीप, कार, भ्यानहरु थिए। हाम्रो परिवार लाश बोक्ने गाडीमै आमासँगै बस्यौँ। किनभने आमाको त्यो मृत शरीरले हामीलाई केही घण्टापछि नै छोड्ने कुरा निश्चित थियो। आरुबारीदेखि जोरपाटी चोक सम्म मानीमन्त्र गीत गाउनेको लामा र महिलाहरुको लामो ताँती थियो। घरघरबाट मानिसहरु बाहिर कौसी र सडक छेउमा निस्किएर आमाको लाशलाई हेर्दै टाढैबाट ढोग्ने र मोलाम (मन्त्र) गरेको देखिन्थे। जोरपाटी चोकमा पुगेपछि मानी मन्त्रगीत गाउनेहरु पनि गाडीमा चढे। चावहिल चोकमा पुगेपछि गाडी जाममा पर्यो। मैले टाउको उठाएर यताउति हेरेँ। आमाको लाश बोकेको गाडी देखेपछि सडकमा खटेका ट्राफिक प्रहरीले लाशतिर हेरेर ढोगेको देखेँ। त्यसरीनै अन्य मानिसहरुले पनि लाश बोकेको गाडी नजिक आउन साथ एकछिन टक्क उभिएर ढोग्दो रहेछ। मलाई अचम्म लाग्यो। मेरो लागि यो कुरा नौलो थियो। ती मानिसहरुको अनुहार हेर्दैमा खस, बाहुन समुदाय वा हिन्दु भनेर चिन्न मलाई गाह्रो भएन। गाडी चाबहिलबाट बढेर महाराजगन्ज, बालाजु, वनस्थली हुँदै स्वयम्भू भगवानपाउ, किमडोल, बुद्धपार्क भएर आनन्दकुटी विहारको उत्तरको स्वयम्भू मन्दिरको फेदमा गएर रोकियो। त्यहीँको चिहानमा आमाको अन्त्यष्टि गर्ने सइत लामाले जुराएको थियो। त्यस ठाउँमा पुग्दा सम्म कम्तिमा पनि दुई तीन सय जनाले आमाको लाशलाई ढोगे होलान्। म, गम खाएँ। जिल्ल भएँ। मनमनै लाग्यो, नेपाली समाजमा बालक जन्मेको सुनेपछि खुसी हुने र मरेको लाश देखेपछि एककिसिमले सम्मान गर्ने परम्परा रहेछ। कति राम्रो सुसंस्कृति हाम्रो। कति राम्रो हृदयदेखिको सद्भाव र सहिष्णुता हामी नेपालीमा। त्यसैले जिउँदाको जन्ती र मर्दाको मलामी भनेको रहेछ। मैले मनमनै ती सम्पूर्ण व्यक्ति जसले आमालाई ढोगेँ, तिनीहरुलाई धन्यवाद दिएँ। कम्तिमा नेपालीबीचको सद्भावको त्यान्द्रो चुँडिएको रहेनछ। धन्य ती बाबुआमाहरु जसले एकआपसमा मरेपछि पनि गर्नु पर्ने सामाजिक, जातीय र धार्मिक सद्भावको शिक्षा आफ्ना सन्तानलाई दिएका रहेछन्। अनि मलाई डर लागिरहेको थियो कि कतै जेठ १४ पछि जातीय सद्भाव बिथोल्ने संविधान बन्यो भने के अन्य समुदायका जातजातिले एउटा तामाङको लाश बोकेर ल्याउँदा बाटैमा ढोग्लान्? आफ्नो भन्दा फरक समुदायको जिउँदो मानिस देख्दैमा ढुंगा हानेर मार्न खोज्ने नव संस्कृति निर्माणको गर्ने संघीयता बरु नआएकै जाती। http://nagariknews.com/nagarik...

_____ · Jun 25, 2012 10:01 AM · 3,988 views

2 Replies

 बडा मार्मिक  लेख राख्नु भयो धर्केजी ले . मूल प्रश्न जनजातीको डलरीय  ठेक्का लिने आङ्ग काजी, लेखी, पदम रत्न र मल्ल छु सुन्दर तथा तिनका माइ बाप् पुकदाले बुझ पचाएर बसे छन् र  द्वन्द को स्थिति सिर्जना भएको छ . 

rahulvai · Jun 25, 2012 10:12 AM

Furpa Ji, you are a good nepali, i respect your views.

stopthewar · Jun 25, 2012 10:33 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all