राजा वीरेन्द्रले रोक्दा हल्लीखल्ली मात्र 0Comments वसन्तराज कुँवर -- बन्दका कारणले त्यस दिन पनि घरमै बस्न बाध्य हुनुपर्‍यो। बेलुकीपख एकजना साथी लिएर टहल्न हिँडेँ। पैदल बुढानीलकण्ठ क्षेत्रतिर हिँड्दै गर्दा एउटा सानो बच्चाले बाटो छेक्यो। ऊ निक्कै सानो भएकोले बोलीसमेत उसको तोते नै थियो। नाकबाट बगेको सिंगान पनि ऊ आफैं राम्ररी पुछ्न सक्ने स्थितिमा थिएन। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको घरअगाडि उसले हामी दुईलाई रोक्यो र फुर्ती साथ दायाँ हात अगाडि बढाउँदै भन्यो, 'पैसा दिनुहोस्!' पहिला त मैले उसले के भन्दै छ भन्ने पनि बुझिनँ, किनकि उसको बोली पनि प्रस्ट भइसकेको थिएन र आवाज पनि निकै सानो थियो। उसलाई वास्ता नगरेर म माथितिर लागेँ तर उसले हामीलाई छाडेन। हाम्रो पाइला पछ्याउन उसले आफ्नो हिँडाइको गति बढायो। मैले रोकिएर निहुरिँदै उसको आँखानजिकै मुख लागेर चेताउने भावमा सोधेँ, 'नचिनेको मानिससँग पैसा माग्न हुन्छ?' उसले दुवै हात कम्मरमा राखेर बढो आत्मविश्वासका साथ भन्यो, 'हुन्छ'। मैले सोधेँ, 'कसरी हुन्छ?' उसले तत्कालै भन्यो, 'दिनुपर्छ नि!' मैले सोधेँ, 'तिमीलाई पैसा किन चाहियो?' उसले भन्यो, 'चकलेट खान।' अनि मैले सोधेँ, 'मैले चकलेट किनेर तिमीलाई दिए हुन्छ?' उसले भन्यो, 'हुँदैन, पैसै चाहिन्छ, अहिले त मलाई भोक लागेको छैन।' उसको यो भनाइले मलाई बेस्सरी हँसायो। टहलिने अभिप्रायले निस्केकोले मसँग पनि त्यतिबेला साथमा एक रुपैयाँ पनि थिएन तर उसले हामीलाई छाडेन। ऊ बारबार त्यही दोहोर्‍याउँदै थियो कि हामीले पैसा दिनैपर्छ। अन्त्यमा मसँग हिँड्ने साथीसँग पैसा रहेछ, एउटा चटलेट किनिदिएपछि मात्र हामीले मुक्ति पायौँ। छुट्टिने बेलामा मैले सोधेँ, 'तिमीलाई अरूले पनि पैसा दिन्छन्?' उसले गर्वसाथ भन्यो, 'दिनुपर्छ नि!' केही दिनअघि अमेरिका जाँदै गर्दा कतारको दोहामा झन्डै पाँच घन्टा ट्रान्जिट पर्‍यो। त्यहाँ मेरो भेट हवाईविभागका पूर्वनिर्देशकसँग भयो। उहाँ अहिले सुडानको डाफरस्थित संयुक्त राष्ट्रसङ्घको विमानस्थल प्रमुखका रूपमा कार्यरत हुनुहुँदोरहेछ। उहाँले नेपालको एयरपोर्टमा पानीसमेत नभएकोमा दुःख मनाउ गर्नुभयो। हामी नेपालको एयरपोर्ट र दोहाको एयरपोर्टबीच तुलना गर्दै चर्चा गर्न थाल्यौँ, त्यत्तिकैमा थप दुईजना नेपाली पनि हामी बसेकै मेचनजिक रहेको खाली मेचमा बस्न आइपुगे। उनीहरू श्रमिकका रूपमा सुडानको डाफरमै जान लागेका रहेछन्। एक झापाका र अर्को पाँचथरका भनेझैं लाग्यो। उनीहरू नयाँ देशमा जान लागेको हुँदा मान्छे लिन आएनन् भने त्यहाँ आपतमा परिन्छ कि भनी चिन्तित रहेछन्। मैले डाफरमै यूएन एयरपोर्ट प्रमुख रहेका साथी देखाउँदै भनेँ, 'अब किन पिर गर्ने, सर नै सँगै भएपछि?' त्यसपछि ती दुवै नेपाली भाइको मुहारमा अलि उज्यालोपन देखियो। उनीहरू सामान हाम्रोनजिक राखी एकैछिनमा निकै झ्याम्मिए। हाम्रो अघिदेखि त्रिभुवन विमानस्थलकै कुरो भइरहेको थियो। नेपालको विमानस्थलको कुरो आउनेबित्तिकै ती दुपै निकै आक्रोसित भए। उनीहरूको आक्रोश इमिगे्रसनसँग रहेछ। भएछ के भने साउदी अरेबियामा काम गर्ने यी दुई नेपालीले देखाएको अनुशासन र कर्तव्यपरायणता देखेर एक अन्तर्राष्ट्रिय कम्पनी निकै प्रभावित भएको हरेछ। उनीहरू निकै वर्ष अरबमा काम गरेपछि अब देशमै बस्ने निर्णय गरी नेपाल फर्किएका छन्। त्यो उनीहरूले काम गरेको कम्पनीले सुडानको डाफरमा केही काम सुरु गरेको रहेछ र यी दुई नेपालीलाई रामै्र तलब सुविधा दिएर घरमै पत्र लेखी बोलाएको रहेछ। दुवै नेपालीले त्यहाँ काम गर्न मञ्जुर गरेपछि उतैबाट भिसा टिकट पनि आएछ। दुवै नेपाली पूर्वबाट घरमा टीकाटालो गरी काठमाडौं लजमा बसेछन् र भोलिपल्ट डाफर जान त्रिभुवन विमानस्थल पुगेछन्। लज छोडेर विमानस्थलको एयरलाइन्स काउन्टर पार गरी इमिगे्रसनमा पुगेपछि सुडानको भिसा ठीक नभएको कुरा उठाई तपाईंहरू जान पाउनहुन्न भनी उनीहरूलाई कडा निर्देशन आएछ। दुवैले आँखभरि आँसु पारी आफ्ना भिसा ठीक भएको बताएछन्। निकैबेर रोकेपछि एक कर्मचारीले शौचालयमा आउनु भनी बोलाएछ। दुवै शौचालय पुगी त्यस व्यक्तिलाई भेट्दा उसले दश हजार दिए सब कुरा मिल्ने बताएछ। उनीहरूसँग दश हजार रहेनछ। डलर भए पनि चल्छ भन्ने प्रस्ताव आएछ। दिनै नपर्ने कुरामा हामीलाई किन पैसा माग्ने? भनी अलि कड्किएपछि त्यो व्यक्ति ल त घर फर्कनु भन्दै झन् कड्केर हिँडेछ। उनीहरू फेरि काउन्टर पुग्दा त्यहाँका चार नम्बर काउन्टर बस्ने अधिकारीले यो पत्र लिएर आउनु अहिले जान पाउनुहुन्न भनी फर्काइदिएछ। दुःख, आक्रोश, पीडा र आँसुबीच ती दुई नेपाली पुनः नयाँ लज खोज्न हिँडेछन्। फेरि काम गरेको ठाउँमा पत्र लेखिमागेको कागज पठाइदिन अनुरोध गरेछन्। यसका लागि सात दिन लागेछ। टिकट पनि परिवर्तन गर्दा खर्च भएछ। विदेश लैजान साटेको पाँच सय डलर मात्र भएको हुँदा घरबाटै पैसा मगाउनुपरेछ। एक हप्तापछि सम्पूर्ण कागज मिलाई विमानस्थल जाँदा फेरि इमिगे्रसनले त्यो कागज पनि काम नलाग्ने बताएछ। उनीहरूको आँखाभरि आँसु झरेछ। फेरि पासपोर्ट डेक्समा राखी जान पाइन्न भनिएछ। फेरि अघिल्लो हप्ताजस्तै गरी एक कर्मचारीले शौचालयमै बोलाएछ र फेरि दश हजार मागिएछ। त्यसै पनि एक हप्तासम्म लजमा बस्दा निकै गरिब र थकित भइसकेका ती नेपाली तत्काल उड्न चाहन्थे। शौचालयमा अन्तमा पाँच–पाँच हजारमा कुरा मिलेछ र जनही पाँच हजार तिरी तिनले इमिगे्रसन पार गर्ने सौभाग्य पाएछन्। पैसा बुझाइसकेपछि जब तिनले 'सबै कागज भएपछि पनि तपार्इंहरू किन पैसा माग्नुहुन्छ?' भनी सोध्ने साहस गरेछन्। तब ती कर्मचारीले भनेछन्, 'दिनुपर्‍यो नि कमाउने ठाउँमा जानलाई!' दोहामा उनीहरूले आफ्नाचाहिँ अनुभव हामीलाई सुनाइसके, जिन्दगीभर नेपाल नफर्किने प्रण गरे। हामीलाई पनि उनीहरूको कथाले औधी दुःखित बनायो। ती दुईमध्ये एउटाले भने, 'त्यो इमिगे्रसनको मान्छेलाई मैले बाहिर पाए भने चटक्कै छिनालिदिन्छु।' करिब पचास सालतिरको कुरा हो, नेपालका मेरा एक मित्रले चाइनिज कम्पनीसँग मिलेर काठमाडौं–हेटौंडा दु्रत मार्ग बनाउने प्रस्ताव सरकारमा लिएर गए। त्यो प्रोजेक्टमा तत्कालीन राजाका नातेदार कुमार खड्गविक्रम पनि हुनुहुन्थ्यो। त्यो प्रोजेक्ट सफल भएमा नेपाल र नेपालीलाई ज्यादै ठूलो फाइदा हुनेवाला थियो। जब त्यो प्रोजेक्ट तत्कालीन गिरिजा सरकारको यातायातमन्त्रीकहाँ पुग्यो उनले पहिल्यै यसरी प्रश्न गरे अरे, 'यसमा मलाई कति हुन्छ?' चाइनिज ठेकेदार काम गर्न तयार तर घुस दिन तयार नभएपछि मेरा साथीहरू मन्त्रीलाई नेपालको फाइदा देखाउँदै घुस नमागिदिन अनुरोध गर्न पुग्दा उनले ठाडै भनेछन्, 'दिनुपर्‍यो नि केही त, नत्र मैले किन गर्ने?' यो कुरा राजा वीरेन्द्रकहाँ पुगेछ। बीरेन्द्रले प्रधानमन्त्रीलाई यस्ता असल कुरामा पनि पैसा माग्न हुन्छ? भनेपछि केही हल्लीखल्ली भयो तर भित्री रूपमा प्रधानमन्त्री नै मिलेका हुँदा कसैमाथि कारबाही भएन र त्यो प्रोजेक्ट पनि तुहियो। आज यो मुलुकमा कर्मचारीको सरुवा, बढुवामा होस् संवैधानिक पदमा नियुक्ति गर्ने कुरामा होस्, लाइसेन्स दिनेदेखि रिन्यु गर्ने कुरामा होस्, ठेक्कपट्टा मिलाउने कुरामा होस्, खरिद–बिक्री मिलाउनेदेखि जग्गा पास गर्नेसम्म क्लब वा पार्टीलाई चन्दा माग्ने कुरामा होस्, हाहाकाकी पैसा माग्ने र किन माग्नुहुन्छ भन्दा 'दिनुपर्छ नि' भन्ने संस्कार विकास हुँदै छ। यसले देशको सुशासनलाई पातालमा पुर्‍याउनेछ भन्ने त बुझेकै हो तर पनि मलाई लाग्थ्यो– सायद नयाँ प्रस्तावले यो अभ्यासलाई परिवर्तन गर्नेछन्। तर, जब यही हप्ता मात्रै मैले तोतेबोली बोल्ने बालकले हाकाहाकी पैसा माग्दै 'दिनुपर्‍यो नि' भनी हक जताएको देखेँ, म डराउन थालेको छु। काम नगरी हाकाहाकी पैसा माग्ने अभ्यासले यो देशलाई कहाँ पुर्‍याउला? http://www.weeklynepal.com/ind...
_____ · Jun 23, 2012 8:14 AM · 3,134 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion