तामिल, हुतु र तुत्सीहरूको खोजी _ भरत दाहाल

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

तामिल, हुतु र तुत्सीहरूको खोजी _ भरत दाहाल यिनीहरू उत्पीडित जातिको मनोविज्ञानलाई प्रतिक्रियावादी ऊर्जाका रुपमा उपयोग गर्न चाहन्छन् तर उत्पीडनको मूललाई बन्द गर्न चाहँदैनन्। संसारभरिका आदिवासी, जनजातिहरूको अस्तित्वमाथि धावा बोल्दै आएको शक्ति यिनीहरूको मालिक साम्राज्यवाद–विस्तारवाद हो। तर नेपालभित्रको जातीय उत्पीडनको कारकतत्व यहाँको अर्को समुदायलाई देखाएर यिनीहरूले आफ्नो मालिकको अतिक्रमणकारी अत्याचारी रणनीतिको बचाउ गरिरहेका छन्। यिनीहरूले आदिवासी, जनजाति समुदायलाई, १० वर्षको युद्धमा उत्पीडित वर्गलाई गरे झैं, अधिकारको घाँस देखाएर बलिको बोका बनाउन चाहन्छन् तर वास्तविक अधिकार हस्तान्तरण गर्न चाहँदैनन्। नेपालका आदिवासी/जनजातिहरूको जन्मदेखि मृत्युसम्म अभिन्न रुपले जोडिएका नदिनाला, वनजंगल, जडिबुटी, खोलापानी, खानी सबैमा यिनीहरूको मालिक भारतीय विस्तारवादले कब्जा गरेको छ। प्राकृतिक स्रोत साधन विदेशीहरूलाई निरन्तर रुपमा दान गरेर यिनीहरूले गर्दैछन् आदिवासी/जनजाति अधिकारका कुरा। यिनीहरूले विश्वभरिका आदिवासी/जनजातिहरूको जीवन प्रणालीलाई दासत्वमा बदल्ने शक्तिहरूबाट उत्पीडित समुदायलाई मुक्त गर्न चाहँदैनन्। उत्तर अमेरिकाका रेड इन्डियनहरू, मध्यअमेरिकाका अज्देकहरू, अफ्रिकाका पिग्मी र हुतुहरू, जापानका आइनूहरू, भारतका नागा, संथाल र द्रबिडहरू, न्यूजिल्यान्डका माओरीहरू, ग्रिनल्यान्डका स्कीभोहरू, क्यानडाका इनुईटहरू आदि सबैलाई उपनिवेश बनाएर लुट मच्चाउने शक्ति भनेका साम्राज्यवादी–विस्तारवादीहरू नै हुन्। तर यिनीहरूले तिनै साम्राज्यवादीहरूलाई गुरु थापेर देखाउँदैछन् 'जातीय मुक्ति' को पाखण्ड। यिनीहरू आदिवासी/जनजातिहरूको संस्कृति र सभ्यतालाई संरक्षण गर्ने पक्षमा छैनन्। आदिवासी/जनजाति समुदायको गरिबीलाई डलरले किनेर यो समुदायको सिंगो संस्कृतिलाई 'इशाइकरण' गर्ने साम्राज्यवादीहरूको काखमा सुतेर पैसाको लालचामा यिनीहरूले गर्दैछन् आदिवासी/जनजातिहरूको पहिचानको गँजडी गफ। यिनीहरू आदिवासी/जनजाति आन्दोलनलाई दिग्भ्रमित पार्न र आन्दोलनको चरित्रलाई प्रतिक्रियावादीकरण गर्न चाहन्छन्। विश्वभरिकै जातीय आन्दोलनको मुख्य शत्रुका रुपमा रहेको साम्राज्यवादका बारेमा एक शब्द उच्चारण नगरेर यिनीहरूले नेपालका आदिवासी/जनजातिहरूलाई त्यसको पुच्छर (आफूजस्तै) बनाउन भरसक कोसिस गर्दै आएका छन् तर यिनीहरूले गर्दैछन् नवऔपनिवेशिक शोषण उत्पीडनबाट आदिवासी/जनजातिहरूलाई स्वतन्त्र बनाउने चटके अभिनय। यिनीहरू नवऔपनिवेशिक राज्यसत्ताको शासक बनेर रस चुसिरहेका छन्। यही राज्य संरचनाको सदस्य बनेर आदिवासी/जनजातिहरूमाथि उत्पीडन गरिरहेका छन्। साम्राज्यवाद–विस्तारवादको दलालका रुपमा त्यसको निर्देशनमा आदिवासी/जनजातिको जीवनका अंगका रुपमा रहेका प्राकृतिक स्रोत साधनरु धमाधम विदेशीलाई बुझाएर लुट मच्चाइरहेका छन् तर यिनीहरूले नै आफूलाई यो समुदायको 'भाग्य विधाता' भएको जाली तमसुक पाठ गरिरहेका छन्। यिनीहरू तिनै व्यक्ति हुन्, जसले उत्पीडित वर्गको रगतलाई दुरुपयोग गरी आफ्नो क्षुद्र आकांक्षा पूरा गर्नका लागि 'क्रान्ति'को नाटक देखाए। यिनीहरूले आफूसँग भएको 'लडाकु'हरूलाई विसर्जन गर्ने घृणित योजनालाई 'समायोजन'को नक्कली नाम दिए। यिनीहरूले कुर्सी र सत्ताको बार्गेनिङका लागि बनाइएका अस्थायी हतियारहरूलाई 'जनसत्ता'को नाम दिएर दुनियाँलाई उल्लु बनाए। यिनीहरूले सर्वहारा नैतिकता र सम्पत्तिको पार्टीकरणको चटकमा नेपालीहरूका आँखा छल्दै अर्बौ रकमको सम्पत्ति कुम्ल्याए। यिनीहरूले दरबार हत्याकाण्डका योजनाकारहरूलाई जोगाउन त्यसमा बबुरो ज्ञानेन्द्रको एकलौटी हात रहेको बनिबनाउ रुपमा दिइएको वक्तव्य वाचन गरे। यिनीहरूले नै यहाँका उत्पीडित समुदायलाई घाँस देखाउँदै बीच सडकमा ल्याए। संविधानसभा विघटन गरिदिए। यिनीहरू जे बोल्छन्, पेटमा यसको विपरीत प्रकारको पापको पिण्ड बोकेका हुन्छन्। 'यिनीहरू' अर्थात् पुष्पकल दाहाल र बाबुरामलाई अब नेपालमा तामिल, हुतु र तुत्सीहरू चाहिएको छ। किनभने यिनीहरूको छली अवतारलाई उत्पीडित वर्गले १० वर्षको अवधिमा देखिसकेको छ। वर्गको नाममा अब यिनीहरूको साँझ–बिहानको छाक टर्ने अवस्था छैन। उत्पीडित वर्गलाई प्रयोगशाला बनाएर यिनीहरूले दरबार हत्याकाण्डको मतियार बनेर र १२ बुँदे समझदारी गरेर देशभित्रका दुवै सशस्त्र शक्तिकेन्द्रहरू (राज्यको सेना र माओवादी सेना)लाई नेतृत्वविहीन बनाउन वा विसर्जन गर्न यिनीहरूले मालिकको राम्रै सेवा गरिसकेका छन्। यिनीहरूलाई प्रयोग गरेर यिनको एउटा मालिकले नेपालको तराईलाई उत्तरपूर्वी श्रीलंका बनाउन खोजिरहेको वास्तविकता नेपालीहरूले बुझेका छन्। यिनीहरूलाई प्रयोग गरेर अर्कोथरि मालिकहरूले नेपाललाई रुवान्डा, बुरुन्डी र सोमालिया बनाउन खोजिरहेको तथ्यका संकेतहरू पनि स्पष्ट रुपमा बाहिर आइसकेका छन्। खाएको नूनको पैंचो तिर्नुपर्ने कुरामा सचेत रहेका यिनीहरूको मनसाय भनेको विश्वका महाशक्ति राष्ट्रहरूको रणनीतिको एउटा अंगका रुपमा नेपाललाई दोस्रो विश्वयुद्धकालीन प्यालेस्टाइन बनाउनु हो भन्ने यथार्थ पनि घटनाक्रमहरूले खोल्दै लगेका छन्। धेरै गहिरो ज्ञान नभए पनि नेपालीहरूलाई के कुरा थाहा छ भने यिनीहरूको मालिक भारतीय विस्तारवादले 'जातीय मुक्ति'को रंगीन सपना देखाएर युद्धका लागि संगठित गरेका र नर्वेले छाता ओढाएर ओत दिएका प्रभाकरण लाश बन्दा वा श्रीलंकामा दशौं हजार निरपराध तामिल नागरिकहरूको एक चिहान हुँदा साम्राज्यवादीहरूले कठै पनि भनेनन्। सोभियत समाजवादको प्रभावको विनासका लागि आफैंले उठाएका सद्दाम हुसेनदेखि विन लादेन सम्मलाई आफैंले मार्ने पश्चिमी साम्राज्यवादले उनीहरूको ज्यान लिँदा र रुसका विरुद्ध अफगानिस्तानमा २ दशकसम्म अमेरिकाको पक्षमा रगत दिने अफगानीहरूको दैनिक सयको दरले आफैंले सफाया गरिरहेको अमेरिकी साम्राज्यवादले पहिले उनीहरूले लगाएको गुनको 'गु' पनि स्मरण गरेन। चेकोस्लोभाकिया र युगोस्लाभियादेखि सुडानसम्मको विभाजनमा होस् वा एकै हप्तामा पाँच लाखको नरसंहार भएको रुवान्डा र बुरुन्डीका हुतु र तुत्सी आदिवासीहरूको मृत्युको कथा होस्, साम्राज्यवादले कसैप्रति एक कौडी बराबरको मानवीयता नराखिकन प्रयोग गर्योी, घुस्यो र सबैलाई बर्बाद पार्योव। बर्बादीलाई आफ्नो घरभित्रसम्म बोकेर लैजाने पुष्पकमल र बाबुरामजस्ता घोडाहरू युगोस्लाभिया, चेकोस्लोभाकिया, सुडान, रुवान्डा, बुरुन्डी, इराक, अफगानमा पनि थिए। धेरै टाढाको कुरा नगरौं, भारतको बंगाल र छत्तिसगढभित्र बस्दै आएका आदिवासीहरूको जमिन, जंगल र पानी बहुराष्ट्रिय कम्पनीहरूको हातमा सुम्पेर दिल्ली र पश्चिमी बहुराष्ट्रिय कम्पनीहरूको घोडाका रुपमा काम गर्दै र त्यहाँका आदिवासीहरूको संहार गर्दै आएका पुष्पकमल र बाबुरामजस्तै अनुहारका 'मार्क्सवादी'हरू पश्चिम बंगालमै छन्। यिनीहरूले पनि आदिवासी मुक्तिको नारामा सत्तामा पुगेर तिनीहरूको जीवनमा बहुराष्ट्रिय कम्पनीहरूको जुवा लादेका थिए। पुष्पकमल र बाबुराम आदिवासी/जनजातिवादी हुन्थे भने सर्वप्रथम तिनीहरूले विदेशीहरूले हडपेका प्राकृतिक स्रोत साधन आदिवासी/जनजाति समुदायको अधिकारमा फर्काउने कुरा गर्थे। पुष्पकमल र बाबुराम आदिवासी/जनजातिवादी हुन्थे भने तिनीहरूको सरकारले एउटा जमिन्दारको नाममा तीन सय विघा जमिन राख्न पाउने निर्णय गर्नुको बदला हदबन्दी लगाएर जमिनमा आदिवासीहरूको जन्मसिद्ध अधिकारलाई सुरक्षित गर्थे। पुष्पकमल र बाबुराम आदिवासी/जनजातिवादी हुन्थे भने तिनीहरूले भूमण्डलीकरण र उदारीकरणलाई भित्र्याएर आदिवासी/जनजाति इलाका चौपट पार्नुको साटो साम्राज्यवादको अतिक्रमणबाट यो समुदायको सुरक्षा गर्ने नीति बनाउँथे। पुष्पकमल र बाबुराम आदिवासी/जनजातिवादी हुन्थे भने आदिवासीहरूको एसियाकै दमनकर्ता दिल्लीको निर्देशनमा आदिवासी/जनजाति बाहुल्यताको संविधानसभा विघटन गर्दैनथे। यो पुष्पकमल र बाबुराममाथिको आरोप होइन, इतिहासको यथार्थ हो। नेपालको आदिवासी/जनजाति समाज उनीहरूका लागि दोस्रो प्रयोगशाला हो। जसरी उनीहरूले २०५२ सालमा शेरबहादुर देउवालाई 'युद्ध'को धम्की दिएर १० वर्षसम्म मस्तसँग गरिबका रगतमा खेले, त्यसैगरी यही असार १ गते उनीहरूले आफ्नो कुरा नमाने 'महाभारत युद्ध' सुरु गर्ने धम्की दिएका छन्। यो धम्कीमा दम छ। किनभने उनीहरूलाई देशभित्र युद्ध गर्ने तालिम र निर्देशन दिइएको छ। उनीहरू कालापानी र सुस्तामा महाभारत युद्ध लड्ने कुरा गर्दैनन् किनकि उनीहरूलाई देशभक्तहरूका विरुद्ध लड्न खटाइएको छ। उनीहरूले राष्ट्रियताको कुरा गर्नेहरूसँग महाभारत युद्ध लडेर प्राकृतिक स्रोत सम्पदा मालिकको हातमा बुझाउन जानेका छन्। उनीहरूले बाबुको किरियामा बसेका किरियापुत्रीहरूसँग युद्ध गर्न छापामारहरू पठाएर मन्दिरमा गाइका आन्द्रा चढाउने पश्चिमी कला उहिल्यै प्रयोग गरेका थिए। यी क्रिश्चियनहरूको मिशन अझै सकिएको छैन। उनीहरूले आलो र तातो रगत भएका आदिवासी/जनजातिहरूको गठिलो शरीर देखेर ब्वाँसालेझैं मुखबाट र्याहल चुहाइरहेका छन्। राम्रो काम गर्दा नराम्रो हुन गएको भए मानिसले गल्ती कमजोरीप्रति पश्चाताप गर्छ। यिनीहरूले पनि राम्रो नियतले काम गर्दा बिग्रेको भए इतिहासप्रति क्षमायाचना गर्थे। तर यिनीहरूलाई २० हजार नेपाली मारेकोमा पनि गर्व छ। ती मानिसहरू जुन उद्देश्यका लागि भनि मराइएका थिए तिनीहरूको पराक्रममा लात हान्दा पनि गर्व छ। १० वर्षसम्म जंगलबास गराएर जीवनको मूल्यवान समय आफ्नो सेवामा लगाइएकाहरूलाई सडकमा उत्तानो पार्दा पनि गर्व छ। क्रान्तिको आधारभूत शत्रु भनि तिनैहरूबाट घोषित गरिएको साम्राज्यवाद–विस्तारवादको ढोकामा पुच्छर हल्लाउँदै चौविस घण्टा पहरेदारी गर्दा पनि गर्व छ र गर्व छ हिजोका अपराधहरूप्रति किंचित आत्मग्लानीको अनुभूति पनि नगरी महाभारत युद्धको ध्वाँस देखाउँदा पनि। त्यसैले साम्राज्यवाद–विस्तारवादको इन्जेक्सन पाएर रुखभरि फैलिएका यी ऐजेरुहरू त्यो दिन लल्याकलुलुक हुँदै सुकेर मर्नेछन्, जुन दिन नेपाली भूमिभित्र साम्राज्यवाद–विस्तारवादको हावा फुस्किन सुरु गर्ने छ। बुझ्नेलाई इशारा काफी छ। मानिसको सभ्यता उसको हाउभाउ हेरेरै थाहा हुन्छ। सुँगुरलाई घिउ रुच्दैन भन्ने थाहा हुँदाहुँदै त्यसलाई चिल्लो पकवान टक्र्याउनु मुर्खता हो। यस्तै पुष्पकमल र बाबुरामलाई जनताका 'प्रतिनिधि' ठान्ने र इतिहासका यस्ता बर्बर अध्याय देखेर पनि शिक्षा लिन नसक्ने हो भने तामिल, हुतु र तुत्सीको नियति झेल्न तयार हुनुपर्छ। http://www.weeklynepal.com/ind...

_____ · Jun 19, 2012 5:52 PM · 1,439 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all