अशोक राईका नाममा... Wednesday, 13 June 2012 13:29 सइन्द्र राई 41 (9 votes, average 4.67 out of 5) मेरो काका र मामावीच मार्क्स, लेनिन, मदन भण्डारीसँगै अशोक राई र टंक राईसम्मको कुरा गर्नुहुन्थ्यो। म जन्मजात कांग्रेस भएपनि अशोक राईको भाषणलाई कण्ठ बनाएका काकाले बोलेका कुराले मनै छुन्थ्यो। काकाको बोलीभित्र डुब्दै जाँदा मतेरी सार्की भाईलाई झल्झली देख्थे। उमाथि काजीले गरेको अन्यायपूर्ण सामाजिक विभेद अन्त्य गर्न कम्युनिष्टको सिद्धान्तमा हिड्नुपर्छ भन्दा कपालमा रातो झण्डा बोकेर कुदुँझैं लाग्थ्यो। गाउँको साझा काम गर्दा एउटै लाइनमा बसेर सँगै खाना खाने मेरो प्रस्तावलाई लिएर एकदिन मामाले 'भाञ्जा कम्युनिष्ट भो' भनेर बाबालाई जिस्काएको सुनेथेँ। अशोक र टंक राई त्यसबेला खोटाङका एमाले नेता हुनुहुन्थ्यो। पछि साँसद र मन्त्री बन्नुभो। यी दुबैलाई साँसद बनाउन हाम्रा गाउँका एमालेका क्षेत्रीबाहुनले कांग्रेसका राईहरुको भक्कु कुटाई खाए। ती क्षेत्रीबाहुन यी दुई राई नेताहरुका लागि 'घाटी थाप्छौं' समेत भन्थे। म घरभित्रको एकतामा राजनीतिक झगडा हुँदा चिन्तित हुन्थेँ। यतिसम्म कि काकालाई बचाउन जाँदा बाबालाई समेत एमाले नजिक भएको आरोप लाग्यो। पार्टीबाट कार्बाही चाँहि भएन। कार्बाही गरेको भए 'बाबासँगै धेरै मानिस एमाले हुन्छन्' भन्ने कांग्रेसको बुझाईका कारण कारवाही नभएको हो। जे होस् चुनावको रौनकतासँगै झगडा र मतभेद सकिन्थ्यो। साकेला, देवाली, विहे, छेयर, ब्रतबन्ध जस्ता सामाजिक काममा सबै एक भएर जुट्थे। जातको आधारमा झगडा गरेको मैले कहिले सुनिन। राईको कारण क्षेत्री र क्षेत्रीको कारणले दलित पछि परेको भन्दा पनि घण्टौं धाएर खानेपानी ओसार्दा 'हामी पछि पर्यौं्' भनेर सामुहिक छलफल हुन्थ्यो। विकासका पूर्वाधारहरु गाउँमा नभएकाले हामी पछि परेका छौं भनेर मामा र काकाको बोलीमा बाबा पनि सही थाप्नुहुन्थ्यो। कुन पार्टीले कस्तो विकास गर्छ त्यसलाई भोट माग्ने आधार बनाइन्थो। पछि गाउँको विकास गाउँलेले नै गर्ने अहिलेको संघीयताको नजिकको रुप विकेन्द्रीकरण अन्तर्गत गाउँमै बजेट एमाले सरकारले ल्याएपछि पूरै गाउँ एमाले जस्तै भयो। बुढापाकालाई सामाजिक सम्मान स्वरुप बृद्धभत्ता पठाएर जागिरे बनाएपछि दशकौंको कांग्रेस राजनीति गरेका बुढाहरुले छोरा एमाले बन्दा पनि मन दुखाएनन्। पछि माओवादी बन्दुक बोकेर गाउँ आए। त्रासको राजनीतिसँगै 'एमाले नेताहरु भ्रष्ट भइसके' भने। त्यो बेला गाउँमा पनि माओवादीकै कुरा धेरैले सुने। एमालेको वर्गीय नारा कमजोर हुँदै गयो। माओवादीले एमाले र कांग्रेसका कार्यकर्तालाई एमाले/कांग्रेस भएकैले मारे, गाउँबाट बिस्थापित बनाए। बन्दुकवालासँग मेरो मनोविज्ञान नडराउने कुरै थिएन। बाबा-आमा कांग्रेस भएपनि उमेर, सिकाई र बुझाइसँगै एमाले भइसकेको म धेरथोर माओवादीबाट प्रभावित भए। मान्छे मारेपनि सामाजिक कुरिती, बिसंगती र अन्यायको बिरुद्ध माओवादी कार्यबाट प्रभावित थिए। मातेर झगडा गर्ने, बहुविवाह गरी महिला हिंसालाई बढवा दिने, जुवातास खेल्ने, गरिबहरुलाई पशु मान्ने जस्ता कार्यको बिरुद्धको माओवादी न्यायिक नीतिले मेरो अपरिपक्व मन माओवादीतिरै तानियो। त्यसमाथि नेपाल प्रहरी र सेनाले गाउँमै आएर कुटेपछि त्यो निरङ्कुशता बिरुद्ध लड्नुपर्छ भन्ने मेरो बुझाई रह्यो। माओवादीको धेरै कार्यक्रममा सहभागी भए। माओवादी फैलिदो आकारसँगै कम्युनिष्टको सर्वहारा वर्गीय जात छाडदै उच्च वर्ग विरुद्धको नारालाई जातसँग जोडेर पो संगठन बनाउन थाले। माथिल्लो घरकालाई तल्लो घरका क्षेत्रीका कारण पछि परेको भनी गलत बुझाउन माओवादी सफल भयो। गाउँका क्षेत्रीका कारण राईहरु पछि परेको भन्ने बुझाईकै कारण माओवादीले संविधानसभाको चुनाबमा भोट पाए। गाउँका मानिसहरूले कतिसम्म बुझेनन् भने राई बहुल हाम्रो गाउँमा राईले नेतृत्व गर्दै आएका थिए। त्यसपछि क्षेत्री, दलित, महिलाहरुले पनि नेतृत्व गरेको उदाहरण थिए जुन कुरालाई छायाँमा पार्न माओवादी सफल भयो। एउटै पँधेरो, वनजंगल, मेलापात र झरीबादल खेपेका फरक जातका छिमेकीकै आधारमा कसरी एकअर्काका बाधक भए मेरो चित्त बुझेन। पञ्चायतमा जन्मेर गणतन्त्रसम्मको उमेर पार गरेको बुझाईले मलाई माओवादीको जातीय उन्मुक्ति वकालत मन परेन। वर्गीय मुक्तिका लागि अन्तर्राष्ट्रिय जातीको नारा लगाउने कम्युनिष्ट पार्टी भएर भोट बढाउन एघार बर्षअघि माओवादीले थालेको जातीय मोर्चा निर्माणको परिणाम आज जननिर्वाचित निकाय संविधान नै नबनाई भङ्ग भएको छ। त्यही मार्गमा काकाको गुरु अशोक राई पनि लागेका छन् भन्दा हिजो वर्गीय आन्दोलनका क्रममा मदन भण्डारीसँगै खिचेको उनको फोटो झिकेर फालु कि जस्तो लागिरहेको छ। जुन फोटो अशोक राईको वर्गीय नाराबाट प्रभावित भएर मामाले ल्याएको बेला मैले चोरेर कोठामा टाँसेको थिए। पेशागत मर्यादाले आज म राजनीतिक संगठनमा नभए पनि हिजोका आदर्श पात्र अशोक राईको बोली कतै सुनिन्छ कि भन्ने प्रतिक्षामा हुन्थ्ये। त्यो लामो प्रतिक्षा संविधान जारी हुने अन्तिम समयमा सुनियो। तर, बोलीले मेरो आशामाथि चोट पुग्यो। नेपालमा जनजाति, दलित, मधेसी, महिला, सीमान्कृत र अल्पसंख्यकहरु पछि परेकै हो। राजनीतिक मुल प्रवाहमा आउन नसकेको तथ्याङ्क कतै छिपेको छैन, त्यो केन्द्रीकृत राज्यसत्ताले गरेको थियो र अन्त्य भइसक्यो। अहिले पाँच हजार रुपैयाँमा सञ्चालित आयोजनाको उपभोक्ता समितिलाई हेर्नुस् त कति समावेशी छन्। सामाजिक संरचना पनि उस्तै हिसावले निर्माण हुँदै गएको छ। यसलाई संस्थागत गर्न मात्रै सक्दा पनि सुन्दर भविष्य निर्माण हुने जग देखिन्छ। अशोक राईकै भाषामा बाहुनवादी पार्टीले ल्याएको 'गाउँ बनाउ' अभियानले गाउँ समावेशी र विभेदरहित बन्न सघाउँदैछ। यसो भनिरहँदा बाहुनक्षेत्रीलाई बोकेर जनजातिलाई दबाउन खोजिएको होइन। बाहुनक्षेत्री अभियान्ताहरुको डमरु पनि कुबेलाका बाजा नै हुन्। तातिएको फलामलाई पिट्दा आकार दिन्छ तर बढी पिट्दा आकार बिग्रने पनि सत्य हो। अहिले हिजोको जस्तो जातीय (कुनै जातीले अर्काे जातिलाई दबाइएको) संविधान र व्यवस्था नभई सबैको राष्ट्रिय राज्य निर्माण गर्ने बेला हो। हिजो निषेधमा परियो भन्दैमा पछि पारिएकाहरुले निषेधको नीति अपनाउनु सान्दर्भिक हुँदैन। भोलि उत्तर दिन सक्नेगरी आज बोल्नुपर्छ। हिजो अशोक राईकै कारण जनै चुडाएकाहरु, वर्गीय नाराकै आधारमा राईका कुटाई खाएकाहरुले आज बाहुनका कारण राई पछि परेको छ भन्ने उनकै भाषणले कति मन दुखाएका होलान्। अशोक राईले 'म राईकै कारणले साँसद/मन्त्री भएको, एमालेको उपाध्यक्ष भएको र बाहुनकै कारण प्रधानमन्त्री हुन नसकेको' भन्न मिल्छ? जातीय पहिचानका आधारमा प्रदेशको नामाकरण गर्दा आकाश खस्छ जस्तो लाग्दैन। तर, आम स्वीकार्य बनाउन सकिन्छ कि सकिदैन भन्ने हो। नेपालमा एकल जातीय पहिचानमा प्रदेश बनाउने कुरा कति मानिसले स्वीकार्छन्? भन्ने महत्वपुर्ण विषय हो। बाहुनडाडाँमा राईहरु बसेका छन्, माझकिराँती भनेर क्षेत्रीहरुले गर्व गरेकै छन्। फेरी धनबहादुर नाम राख्दैमा गरिब धनी हुँदैनन्, हुन पनि सक्दैनन्। तर, नाम राख्दैमा संसार जितिन्छ भन्ने अतिवादी अभियान्ताको पछि लाग्दै नेपालका ११८ वटा जातीले राज्य मागेपछि कहाँकहाँ दिने हो त्यसको तयारी जातीय अभियान्तामा हुनुपर्छ कि पर्दैन? नेपालमा एकल जातीय आधारमा निर्माण गर्न खोजिएको १४ प्रदेशका चौध जातिबीच जनमत संग्रह गराउँदा क्षेत्रीबाहुन र कतै राज्य नपाएकाबाहेक काठमाडौं र पश्चिममा राज्य पाएका खोटाङका १५ प्रतिशत नेवार, तामाङ र मगरले किराँत प्रदेशमा मत दिन्छन् त? यता पनि सोच्नुपर्छ। फेरी जनजाति, बाहुनक्षेत्री, दलितको पार्टी बन्न थाल्यो भने देशमा कस्तो स्थिती आउला? जनजातिभित्र राई, गुरुङ, मगर, तामाङ, शेर्पाको पार्टी बन्दैन भन्ने के आधार? राईभित्र चामलीङ, वान्तवा, थुलुङ, वाम्बुलेको पार्टी? चामलीङभित्र होराछा, बिराछा, नाम्रछाको पार्टी बन्दैन भन्ने के आधार? यसरी जातकै आधारमा लड्ने हो भने नेपालको भविष्य के होला? Last edited: 13-Jun-12 08:15 AM
_____ · Jun 13, 2012 7:26 AM · 4,272 views
sarai ramro lekha lagyo thanks sathi. ahile desh sarai sambhedhan abastha maa chha yastai lekha marphat janata lai aware garai rahanu parchha aafu le sakeko !! thanks!!
jhilkeJetho · Jun 13, 2012 10:33 AM
"हिजो अशोक राईकै कारण जनै चुडाएकाहरु, वर्गीय नाराकै आधारमा राईका कुटाई खाएकाहरुले आज बाहुनका कारण राई पछि परेको छ भन्ने उनकै भाषणले कति मन दुखाएका होलान्" अशोक राइ जी तपाइँ त पहिले देखि भासन गरेर बाउन को पहिचान नस्ट गर्ने गर्नु भा रेछ. तपाइको भासन सुनेर बिचार बाउन हरुले जनै चुडालेरा फालेछां. अब भन्नुस त बाउन ले जनै चुडाले पछी बाउन को पहिचान बाकी रहन्छ त ? आफ्फु चाहि पहिले देखि अर्को को पहिचान बिगार्दै हिड्ने. चुनाब जित्न लाई सोजः साझा बाउन छेत्री लाई राइ को लात खुवाउने, चुनाब जितेर आएपछि आफ्नो जातिय पहिचान को राजनीति गर्नी, हैन तपाई लाई सरम लाग्दैन भन्या ? आफु लाई भोट दिने, आफ्नो लागि चुटाइ खाने हरु को त प्रतिनिधित्व गर्न पर्छ नि तपाइले त्यो पानि गर्न सक्नु भएन. बिदेसी ले डलर बर्साउने बित्तिकै न बिचार, न पार्टी, न आफुलाई भोट दिने व्यक्ति, न आफ्नो लागि चुटाइ खाने व्यक्ति सबै बिर्सना भो होइन? अनी तपाइँ कसरि कमुनिस्ट ? संसार का मजदुर एक हौ, माओ ले संसार का किसान एक हौ भन्या थे क्यारे , भन्ने विचार भाको मान्छे आफ्नै गाउ को आफ्नो लागि चुटाइ खाने, आफ्नो भासण सुनेर जनै चुडालेर फाल्ने हरु कै प्रतिनिधित्वो गर्न सक्नु भएन जातिवादी राजनीति गर्न को बेफाइदा देख्न भो त अर्को जात ले त मन परायेना परायेना आफ्नै जात का असल मान्छे ले समेत तपाई लाई विश्वास गर्न छोडे. सबै जनजाती लाई उचालेर सम्भिधान सभा कब्जा गरेर देश खत्तम पर्ने निच कार्य मा लागेर पार्टी फुटाउन तम्सिना भा थ्यो. चुनाब को घोसना गरि दिएपछि हाबा फुस्स होइन त ? येस्तई हो भने अब एमाले ले तपाइलाई सभासद बनाउला? तागत छ भने हाका हाकी जातिय राजनीति गर्नुस, पार्टी खोल्नुस, चुनाब लड़नुस, होइन भने भेडा को खोल ओडेको ब्वासो बाहेक केहि होइन तपाइँ तपाइँ समाधान होइन समस्या हो, नेपाल/ नेपाली लाइ तपाइँ जस्तो समस्या होइन समाधान चाहिएको छ Last edited: 13-Jun-12 04:49 PM
_____ · Jun 13, 2012 4:44 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion