गौरवशाली इतिहासको शान Tuesday, 12 June 2012 11:18 दीपेश केसी (1 vote, average 5.00 out of 5) भारतमा छात्रवृत्तिमा अध्ययन गरिरहेका विदेशी विद्यार्थीहरूको एक समूहका साथ उत्तराखण्डको एक हप्ते शैक्षिक भ्रमणको अवसर मिल्दा त्यहाँको युद्ध संग्राहालयभित्र शुरुमै टाँगिएको संक्षिप्त इतिहासमा आँखा पर्‍यो। रानीखेतको कुमाऊ रेजिमेन्ट सेन्टरस्थित संग्राहालयमा गोर्खाहरूले सन् १७९१ मा अल्मोडा हुँदै पछि गडवालसम्म कब्जा जमाएको उल्लेख छ। सन् १८१६ मा अंग्रेजसँगको युद्धमा उक्त भू-भागबाट गोर्खा सैनिक हटेको घटनाको संक्षिप्त व्याख्या संग्राहालय हेर्न आउने जो कोहीको आँखामा पर्ने नै भयो। गोर्खा नाम देख्ने वित्तिकै केही विदेशी मित्रहरूले जिज्ञासा राखे। कुनैबेला उत्तराखण्ड नेपालको भू-भाग अन्तर्गत आएको थियो र यस्तो शक्ति र सामर्थ्यको आधार नेपाल एकीकरणको प्रारम्भ गर्ने पृथ्वीनारायण शाहले स्थापित गरेको सुनाउन पाउँदा गर्व लाग्यो। हाम्रा संग्राहालयमा गोर्खा सैनिकको इतिहास संरक्षित हुनु स्वाभाविक हो। तर, विदेशी भूमिमा रहेको संग्राहालयमा गौरवपूर्ण गाथा कायम रहनु नेपालीका लागि शानको विषय हो। पृथ्वीनारायण शाहको नेपाल एकीकरणसँगै शक्तिशाली बनेको गोर्खा सैनिकको गाथा हिमाञ्चल प्रदेशमा पनि सुन्न र देख्न पाइन्छ। जवाहरलाल नेहरूमा अध्ययन गरिरहेका हिमाञ्चलका एक मित्रसँग पहिलो परिचयमै उनले अझै गोर्खालीहरूले युद्ध जितेको इतिहास सम्बन्धित वस्तुहरू संरक्षित रहेको बताए। गौरवपूर्ण इतिहासले कुनैपनि देशको नागरिकलाई ओझिलो बनाउँछ। विदेशी भूमीहरूमा विजयका गाथाहरू संरक्षित हुनुको श्रेय पूर्खालाई जान्छ। संसारभर योद्धाका रूपमा अझै कहलिएका गोर्खाहरूले इतिहासको ब्याज अझै खाइरहेका छन्। हामी नेपालीहरू विगतको इतिहासलाई आफ्नो परिचयभित्र समेटिरहेका छौं। हामी जहाँ जान्छौं त्यहाँ लिखित या मौखिक इतिहासले ओझिलो विगतलाई जागृत गराइदिन्छ। एकाथरी इतिहासको गौरवलाई अतिरञ्जित पारेर बदनामीको तथ्यहीन आरोप लगाउन उद्धत छन्। वर्तमानको चश्मा लगाएर पूर्वाग्रही बन्ने र बनाउने दिशामा उन्मुख छन्। इतिहासलाई वर्तमानको चश्मा लगाएर हेर्ने हो भने संसारको कुनैपनि योद्धा वा नेता नायक नभई खलनायक दर्ज हुन्छ। आजसम्मको इतिहासमा सबैभन्दा बढी भू भाग जित्ने चेंगिज खाँ अत्याचारी ठहरिन्छन्। तेह्रौं शताब्दीमा विध्वंश मच्चाएका उनले जति व्यक्ति हत्या र बलात्कार आजसम्म विश्वमा कसैले गरेका छैनन्। मँगोलियाको घुमन्ते समाजमा जन्मे-हुर्केर विश्वको आधा भाग कब्जा जमाउनु सामान्य होइन। त्यसैले मँगोलियाली चेंगिज खाँलाई उच्च सम्मान गर्छन्। मँगोलियाका एक मित्रले चेंगिज खाँबारे सोध्ने वित्तिकै फुर्केर भनें, 'उनी त सँसार जित्ने हाम्रो बहादुर पूर्खा हुन्। बाँकी विश्वका लागि अत्याचारी भएपनि भूपेरिवेष्ठित देश मँगोलियाका लागि खाँ गौरव गर्न लायक महान योद्धा नै छन्।' मरभूमी र ठन्डी रहेको उक्त देशको आजसम्मको बलियो परिचय दिने श्रेय चेंगिज खाँलाई जान्छ। युद्धको युगमा उनले चालेका कदम ठिक बेठिकबारे बहस निरन्तर चलिरहेछ। अर्का विश्व विजेता अलेक्जेन्डर द ग्रेट ग्रीसका गौरव हुन्। यूरो कपमा ग्रीस खेलिरहँदा अलेक्जेन्डरले युद्धमा लगाउने गरेको टोपी समर्थकहरूले लिइरहेको दृश्य देखिन्थ्यो। ग्रीकहरूका लागि उनी गौरवशाली पुरुष हुन्। इतिहास अध्ययन गर्नेहरूका लागि अलेक्जान्डर आफै एउटा विषय छँदैछन्। ग्रीकलाई चिनाउने इतिहासकै धेरै चर्चित पात्रहरूमध्ये अलेक्जान्डरको नाम विशेष छ। इतिहासको घटनाक्रमले कुनैपनि देश र समाजलाई बलियो परिचय दिलाउने सामर्थ्य राख्छ। आजसम्म कुनै देश या समाजलाई दरिलो परिचय दिने विषय भनेको युद्ध या योद्धा नै हुन्। अंग्रेजहरू विश्वका अधिकांश भू-भागमा उपनिवेश खडा गरेको इतिहास बोकेर हिडिरहेका छन्। महारानी ऐलिजावेथले राज्यभिषेकको हिरक जयन्तीमा उपनिवेश खडा गरेका जति देशका राष्ट्रप्रमुखहरूलाई निम्तो दिएरै लण्डन बोलाइन्। फ्रान्सका नेपोलियन बोनापार्ट हुन् या रोमका मार्क एन्टोनी नै किन नहुन् उनीहरूले युद्धबाटै देशको गौरव बढाएका थिए। युद्धकालिन समयमा उनीहरूले बगाएका रगतको हिसाबकिताब गर्ने नभएका होइनन्, तर ती सबै ओझेलमा परेका छन्। विगतमा पाएको वीरता र विजयले योद्धाहरूको देश आफैमा सशक्त परिचय बन्ने गरेको छ। समय र घटनाक्रमले सँसारका देशहरूको सीमा र शक्तिमा फेरबदल आइसकेको छ। वर्तमानमा सैन्य दृष्टिले कमजोर भएपनि इतिहासको कालखण्डमा कायम राखेको दबदबाले कतिपय देशको नाम बलियो गरी स्थापित छ। मँगोलहरूलाई एकतावद्ध गरी चिनियाँ साम्राज्य सम्मलाई जित्ने चेगिजँ खाँले मँगोलियाको नामलाई विश्वभर स्थापित गराए। भूगोल खुम्चिएपनि र आर्थिक रुपमा विगतभन्दा तल झरेपनि विश्व इतिहासले मँगोलियालाई विशिष्ट स्थान दिएको छ। इतिहासमा लडिएका युद्ध हुन् या चालिएका उत्कृष्ट कदमहरूले नै किन नहुन् कुनैपनि देशलाई उचाई प्रदान गर्दछ। त्यसलाई संरक्षण गर्ने दायित्व भावी पीढींकै हो। हामीले हाम्रो इतिहासबाट ब्याज खाइरहेको तथ्य लुक्दैन। पूर्खाको बहादुरीले विश्वका विभिन्न देशमा रोजगारी मिलिरहेको छ। बेलायत, भारत र बहराइनमा गोर्खा सैनिकका जागिर गौरवशाली इतिहासकै उपज हो। सिंगापुर प्रहरीमा गोर्खाहरू छन्। चर्का कुरा गर्नेहरूले यसलाई जे जस्तो रङ दिएपनि रोजगारीका लागि अरबको मरभूमीमा जान घरखेत धीतो राख्ने अवस्थाबीच विवश युवाहरूको बाहुल्य रहेका देशमा गोर्खा भर्ती निकै आकर्षक अवसर हो। अर्कोतर्फ विदेशीहरूमाझ नेपाली भन्ने परिचय दिने वित्तिकै योद्धाहरूको देशको नागरिकको चिनारी कायम छ। बलिदानी र बहादुरीका साथ पूर्खाले दिलाएको गौरवशाली इतिहासलाई संरक्षण गर्न हामी स्वयं कत्तिको जिम्मेवार छौं भन्ने गम्भीर विषय हो। नेपाल एकीकरणको प्रारम्भकर्ता पृथ्वीनारायाण शाहको शालिकलाई तोड्नेदेखि जनाथभावी हिसावले रङ पोत्ने काम भए। अढाई सय वर्ष अगाडिको रिस पोख्नमात्र यसो गरिएको हो वा इतिहास मेट्ने नियतले यस्ता गतिविधिहरू भइहेका छन् भन्ने पनि गम्भीर विषय हो। पृथ्वीनारायण शाहलाई अत्याचारी र दमनकारीको संज्ञा दिनेहरू पनि नभएका होइनन्। संसारको कुनैपनि योद्धा हातमा फूल लिएर युद्ध लड्दैन र कुनैपनि देशको सीमा रगतविना कोरिएको छैन। यो वास्तविकतालाई पन्छाएर देशलाई एकीकरण गर्ने बहादुर योद्धालाई अत्याचारीमै सिमित राख्नखोज्नु महाअन्याय हो। पराजितहरूका संस्कृतिलाई सम्मान गर्ने महानता देखाउने योद्धा विश्वमा सायदै छन्। पृथ्वीनारायण शाहले देखाएको महानताको कदर गर्दा कतिपयलाई जातै जाने डर छ। इतिहासको गौरवशाली पक्षमा भएका केही नकारात्मक घटनालाई उछालेर कालो पोत्ने दुष्प्रयास भइरहेको छ। आफूलाई सबैभन्दा अग्रगामी ठान्ने उनीहरू इतिहासलाई वर्तमानको मात्र नभई विगतको आँखाले समेत नियाल्नुपर्छ भन्ने हेक्का राख्दैनन् या चाहँदैनन्। उनीहरूको नियत इतिहासको सत्यतथ्यलाई समाजसामु प्रस्तुत गर्नेभन्दा बंग्याउने र बदनाम गराउनमै देखिन्छ। हाम्रो दुई सय वर्ष अघिको इतिहास जति गर्व गर्न लायक छ त्यो आज छ कि छैन केलाएर हेर्न जरुरी छ। विगतमा जस्तो छरछिमेकमाथि धावा बोल्न सक्ने शक्ति हामीसँग छैन। हामी रक्षात्मक अवस्थामा खुम्चिएका छौं। सीमा विवाद समाधानका लागि राजनीतिक तहबाट दरिलो गरी आफूलाई प्रस्तुत गर्न सकेका छैनौं। आफ्नो समग्र वर्तमानलाई केलाउनु त कहाँ हो कहाँ उल्टै इतिहासको कालखण्डमा फलानो जातिले फलानोलाई युद्धकालिन समयमा दमन गरेको प्रसंग निकालेर एक अर्कामाथि घृणाभाव जगाउने नियतले कृयाकलापहरू भइरहेका छन्। राज्य संचालन गर्ने अवसर पाएर पनि देशमा रत्तिभर ऊर्जा भर्न नसकेकाहरूले लाजै नमानी एकीकरणकालिन शासक र तिनका क्रियाकलापको आलोचना गर्छन्। समाजको तल्लो एकाई र नागरिकसम्मले तिनै युद्धकालिन शासक र सिपाहीको योगदानले स्थापित गौरवशाली इतिहासको ब्याज खाइरहेका तथ्य जगजाहेर छ। कुनैपनि देशको राष्ट्रियता बलियो बनाउने एकाई इतिहास र विगतमा लडिएको युद्ध पनि हो। कोही गौरवशाली इतिहासमा कालो पोत्न चाहन्छ या नेपाल एकीकरणका लागि लडिएको युद्धलाई गलत ठहर्‍याउन चाहन्छ भने त्यो राष्ट्रभक्त हुनैसक्दैन। विदेशमा समेत संरक्षित गौरवशाली विगतलाई जर्बजस्ती तथ्यहीन ढंगले बंग्याएर व्याख्या गर्नेहरूप्रति सचेत हुनैपर्छ। http://nagariknews.com/opinion...
_____ · Jun 12, 2012 6:42 AM · 1,690 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion