माओवादीको कब्जामा १०० दिन’

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

माओवादीको कब्जामा १०० दिन’ 5   - नारायण सुवेदी एक कप्टेरो ढोकाको प्वालबाट बाहिरको उज्यालो देखियो । माथिल्लो तलामा बच्चा रोएको, हप्कीदप्की अनि गनगन गरेको सुनियो । को बस्दो रहेछ त्यहाँ ? घरबूढी दुवै ढोका उघारेर बाहिर निस्किन् । छापामारमध्येको पाको चाँहि बन्दुक समातेर बसिरहेको रहेछ ! साँघुरो दलानमा अरू दुई छापामार डल्लो परेर घुरिरहेका रहेछन् । उठेर काम के छ र ! फेरि अनुहार छोपेर सुत्ने प्रयत्नमा लागेँ । तर निद्रा के आउँथ्यो ! आप्फ्नो बन्दी जीवनको भविष्य, आफन्तलाई कस्तो भइरहेको होला भन्ने चिन्ता र ‘सम्पर्क कामरेड’ आज त पक्कै आउलान् भन्ने आशाले आँखा झिमिक्क हुन दिएन । बाहिर झलमल्ल घाम लागेपछि उठेँ । उठ्नेबित्तिकै चर्पी जाने बानी छ । पाको माओवादीको निर्देशनमा म अलि परै झोप्रो जस्तोमा पुगेँ । बन्दुक समातेरै ऊ अलि ओझेलमा उभियो । गिलासमा पानी लिएर गएको, हात धुन पनि पुगेन । फर्केपछि उसले जर्किनमा पानी ल्याइदियो । हातमुख धोएँ । साबुन हुने कुरो पनि भएन, भए पनि मैले पाउने कुरो भएन । लुङ्गीले हातमुख पुछेँ । भित्रै बस्न भने ! गएर ओछयानमा बसेँ । साबिकअनुसार भगवान् गणेश, भगवती तथा भगवान् शिवको स्मरण गर्दै मनमनै स्तुति पाठ गरेँ । म आँखा चिम्लेर मौन बसेको देखेर त्यो पाकोले खूब ध्यान दिएर हेरिरहृयो । बिहानै चिया खाने मेरो बानी छ । घरतिर हुँदा दिनभरिमा न्यूनतम सात-आठ कप रित्त्याउँथेँ । अहिले पनि असाध्यै तलतल लागेर आयो । पानीको जर्किन र एक अँगालो दाउरा लिएर बूढी भित्र पसिन् । “राति नामररी सुत्यु ?” उनले सोधिन् । “अँ बोई । पहिले त निद्रा लाग्यो ! पछि त के चिलायो, केले टोक्यो, कन्याएको कन्यायै !” उनी हाँसिन्, चाउरी परेको अनुहारमाझ थोतो गिजा र एक-दुई पहेँलिएका दाँतहरू देखाउँदै । “उप्पे छ क्या, उप्पे ! रातभरि सुत्न दिन्न । हामी ता दिनभरिको कामले थाकिन्चम्, हट -त्यसपछि) सुतिजान्चम् । तिमी ता के गरी सुत्दा हौ र !” “औषधि छर्दैनौ बोई ? औषधि पाइन्छ, उपियाँ-उडुस मार्ने ।” “केले किन्ने नाति, पैसा चैन ।” बूढीले निराशापूर्ण स्वरमा भनिन् । “छोराहरू छैनन् बोई ? म त कोही देख्दिनँ त ?” “चन् बो -पो) नाति । जेठो छोरो छुट्टेर उपलताल -माथिल्लो तला) मा बस्च । उसका स्वास्नी, छुराछुरी त्यैँ बस्चन् । अर्को छोरो लाउर गा’ हो, दश वर्ष भैयो, की (केही) खबर आन्न । यै लाटी छुरी र म मात्रै चम् तो नाति ।” उनले दीर्घ निःश्वास लिइन् । “अनि बूढा नि बोई ?” “उहिल्यै मरेको बो । लाटी स्यानस्यानी थी ! यो घर बनाञु! हट नामररी बस्न बनि -पनि) नपार मरिगो नाति ।” आमा-छोरी डोको, नाम्लो र कोदालो बोकेर मकै खन्न, पिँडालु गोड्न भनेर बाहिर निक्लिए । छापामारहरूले पनि उठेर आ-आˆना कम्बल पटयाए र झ्ोलामा राखे । जर्किनको पानीले हातमुख धोए ! कपाल भिजाए । एउटाले झ्ोलाबाट ऐना र काइँयो झ्क्यो । सबैले पालैपालो कोरे ! चिसो कपाल लर्काए । यतिखेर बन्दुक कालो चाहिँको हातमा रहेछ । एक छिनको खासखुसपछि शायद पाको चाहिँ कतै जान लाग्यो । मैले फेरि भनेँ, “बाबु ! सम्पर्क कामरेड आए-नआएको खबर ल्याउनुस् है ।” … … म बाहिर निस्केर घाममा बसिरहेको थिएँ । राप्तीसमेत तीनै जना छापामार र शुरूमा मलाई यहाँ ल्याउने व्यक्ति पनि बाहिरै थिए । एकाएक पारि त्यही रूखमुन्तिर पाँच-सात मान्छे देखिए । यताका राप्तीहरू केही सतर्क भए । तिनीहरू अस्ति हामी झ्रेको बाटो नभई अर्कै बाटो तल झरे र हाम्रो नजिक आउँदै गरे । मैले नियालेँ- अगाडि कामरेड शक्तिमान, उनको पछि तारा, अर्को उनीसँग अस्ति आएको व्यक्ति, फगाम गाउँको जनसमिति प्रमुख, गजुल गाविसको हाम्रै वडाको जनसमिति सदस्य बिजुली । एउटा पाको मान्छे र चौध-पन्ध्र वर्षको केटो पनि त्यो समूहमा थिए । शक्तिमानलाई देखेपछि म खुशी भएँ । उनी मसँग राम्ररी परिचित छु । उनी गजुलको हाम्रो विद्यालयमा २०४० सालदेखि २०४९ सालसम्म शिक्षक थिए । २०५२ साल फागुन १ मा ‘जनयुद्ध’ घोषणा भएलगत्तै उनी भूमिगत भएका हुन् । उनी भूमिगत हुनुको पछाडि राजनीतिक प्रतिशोधका कारण सृजित झूटा मुद्दाहरू पनि जिम्मेदार थिए । त्यसपछि एक पटकबाहेक उनीसँग मेरो भेट भएको थिएन । यो अवधिमा उनी जिल्लास्तरको कमिटीमा गइसकेका छन् भन्ने सुनिन्थ्यो । उनी माओवादीले ठाउँठाउँ सञ्चालन गर्ने ‘शिक्षकहरूको लागि प्रशिक्षण गोष्ठीहरू’ मा प्रशिक्षक हुन्थे रे र आफू जिल्लाको शिक्षा प्रमुख भएको जानकारी दिन्थे रे । कामरेड शक्तिमान र मबीच नमस्कार आदान-प्रदान भयो । हात मिलायौँ । “अहो सर ! धेरै पछि भेट भयो, हगि ?” उनले भने, “पोहोर तपाईंकै घरमा भेटिएका हौँ, हैन ?” उनी गम्भीर देखिए ! गफगाफ धेरै नगर्ने मनस्थितिमा भएझैँ । कालो सर्ट, कालो प्यान्ट र काँधमा हल्का झोला झुन्डयाएका उनी मसँग हाँस्न पनि गाह्रो मानिरहेको अनुभव गरेँ । म अहिले उनीहरूको पार्टीको कैदी भएकोले हो कि ! जेसुकै होस्, सम्पर्क वा जिम्मेदार कामरेड पक्कै यिनै हुन्, आजै फुर्सद पाउँछु भन्ने आशा र आकाङ्क्षा मभित्र अङ्कुराउन थाले । उनको उपस्थितिमा सबै मौन र सतर्क भए । तारा पनि गहुँको नलको गुन्द्री ल्याएर आँगनमा ओछयाई छेउमा उभिए । “आउनुस्, बस्नुस् ।” शक्तिमानले गुन्द्रीमा आफू बस्दै भने । म छेउमा बसेँ । मेरो छेउमा तारा बसे र झोलाबाट हृवाइट पेपर, डटपेन झ्किेर लेख्न तयार भए । अरूहरू आँगनको डिलमा हाम्रो सामुन्ने बसे । “नारायणजी ! “ शक्तिमान पहिलेपहिले मलाई ‘सर’ अथवा ‘हेडसर’ भन्थे । आज नामै किटेको सुन्दा लाग्यो- म पुरानो साथी होइन, माओवादी कामरेडको अगाडि छु ! उनी पनि पुरानो हेडसरसँग होइन, आˆनो पार्टीको बन्दीसँग वार्ता गर्दै छन् । मेरा आशा र आकाङ्क्षाहरू तत्काल भत्किए । विचार गरेँ- अब मैले Åदयले स्वीकार गरेको सत्य र तथ्य बोल्नुपर्छ, भलै मर्न किन नपरोस् । “म तपाईंसँग सम्पर्क गर्न पार्टीबाट खटिएर आएको छु । अब तपाईंको बयान शुरू हुन्छ । तपाईं हाम्रो पार्टीको गिरˆतारीमा परेको जानकारी हामीले अस्ति नै पाएका थियौँ । तर म निकै टाढा थिएँ, आउनै दुई दिन लाग्यो ।” यति भनेर शक्तिमानले तारातिर हेरेर सोधे, “ठीक भयो ?” ताराले स्वीकृतिसूचक टाउको हल्लाएपछि शक्तिमान मतिर सोझिए । “तपाईं नारायण सुवेदी हो ?” “हजुर, हो ।” “तपाईं हाम्रो पार्टीको गिरˆतारीमा कहिले पर्नुभएको हो ?” “२०५९ साल वैशाख २९ गते आइतबार, साँझ साढे सात बजेतिर ।” “तपाईंलाई गिरˆतारीको जानकारी कसले दियो ? कहाँबाट पाउनुभयो ?” “ताराबाट ।” “त्यसअघि कहाँ हुनुहुन्थ्यो ?” “म २०५९ साल वैशाख ३ गते नेपालगन्ज गएको थिएँ । ९ गतेसम्म रेडक्रस सोसाइटीको क्षेत्रीय गोष्ठी थियो । त्यसपछि तपाईंहरूको पार्टीले गरेको पाँचदिने बन्दका कारण तत्काल र्फकन सकिएन । त्यसैले म र भिनाजु चिन्तामणि बर्दियाको गुलरिया गयौँ । भान्जा विष्णुको बिहे गर्नु थियो, त्यही काममा अलमलियौँ । २६ गते बल्ल नेपालगन्जमा बिहेको काम सकियो । २७ गते भालुवाङ आयौँ । २८ गते घर आइपुगेँ । २९ गते तपाईंहरूले अपहरण गरिहाल्नुभयो ।” “तपाईं आफू बन्दी छु भन्ने कहिले थाहा पाउनुभयो ?” “दोस्रो दिन बिहान आठ-नौ बजेतिर मात्रै थाहा पाएँ ।” “तपाईं किन बन्दी बनाइनुभयो, थाहा छ ?” “खै के थाहा ! म माओवादीको लेभी तिर्दिनँ, मलाई यो पार्टीको हत्या-हिंसाको नीति मन पर्दैन । मैले पोहोर चैत २९ गते लिवाङमा माओवादीविरुद्ध भाषण गरेको थिएँ । त्यही भएर त होला ।” “गुम्चालको मानसिंह रोकालाई चिन्नुहुन्छ ?” “गुम्चालका पहिलेका हेडमास्टर ? चिन्छु ।” “उसलाई हाम्रो पार्टीले सफाया गरिसक्यो । उसको किन सफाया भयो, थाहा छ ?” “खै, के थाहा ! नेपालगन्ज जाने दिन मैले सुलीचौरमा सुनेको थिएँ, माओवादीले मानसिंहलाई खुकुरीले काटेर मारे भन्ने ।” “पाटे गुम्चालमा सेनाले हाम्रा साथीहरू र धेरै जनता मारेको पनि त सुन्नुभयो होला । अँ, ऊसित तपाईंको कस्तो सम्बन्ध थियो ?” “मानसिंह र मैले छ-सात कक्षा एउटै स्कुलमा पढेका हौँ । म फस्र्ट हुन्थेँ, उनी सेकेन्ड । यसैले उनी मलाई त्यही बेलादेखि मन पराउँदैनथे । आठ कक्षामा पढ्न उनी लिवाङ गएÙ त्यताबाट भागेर इन्डिया गए । उतैबाट बीए पास गरेर आएपछि उनी गुम्चाल निमाविको प्रधानाध्यापक भएका थिए । यसरी पेशागत हिसाबले हामी एकै हौँ । उनी पनि मझैँ शिक्षक सङ्घमा आबद्ध थिए । तर उनले मलाई कहिल्यै सकारात्मक दृष्टिकोणले हेरेको जस्तो लाग्दैन । म शिक्षक सङ्घको अध्यक्ष भएको पनि उनलाई मन परेको थिएन ।” “पछिल्लो पटक कहिले कहाँ तपाईं र मानसिंहको भेट भएको थियो ?” “२०५७ सालमा शिक्षक सङ्घको जिल्ला अधिवेशनपछि म र उनीबीच गएको चैत २५-२६ गतेतिर लिवाङमा भेट भएको थियो । उनको छोरा एसएलसी दिँदै रहेछ, उसैसँग लिवाङमा रहेछन् ।” यी प्रश्नहरूको उत्तर दिँदा म शक्तिमान र मानसिंहको विगत सम्झिरहेको थिएँ । दुवैका गाउँ एउटै लेकको पाखामा वर्तिर-पर्तिर पर्छन् । दुवै भारतबाट बीए पास, दुवै आ-आˆनो गाउँका निमाविका प्रधानाध्यापक । तर दुवैले एकअर्कालाई मन पराउँदैनथे । शायद दुवैमा तीव्र अहंवादी टक्कर थियो । शक्तिमान माविस्तरमा गएपछि मानसिंहको डाह अरू बढयो । बहुदलपछि शक्तिमान जनमोर्चामा गए ! मानसिंह तत्कालै नेपाली काङ्ग्रेसमा लागे । यसले दुवैबीच वैमनस्य अरू बढायो । शक्तिमान बोल्न, सङ्गठन गर्न, तर्क-वितर्क गर्न र लडभिड गर्न मानसिंहभन्दा तगडा थिए । मानसिंह अगाडि कसैको विरोध गर्न सक्दैनथे, पिठयँूपछाडि कसैलाई गन्दैनथे । दुवै एकअर्काबारे पूर्ण जानकार थिए । शक्तिमानले मानसिंहबारे किन सोधेका होलान् भनेर म आश्चर्य मानिरहेको थिएँ । “तिलक परियार भन्ने शिक्षकलाई चिन्नुहुन्छ ?” “तिलक केसी ? हाम्रो सङ्घको पुरानो अध्यक्ष ?” “होइन, लिवाङको तिलक परियार । केही दिनपहिले त्यसलाई पनि हाम्रो पार्टीले रेउघामा सफाया गरेको थियो ।” “ए अँ, सुनेको थिएँ । तिलक परियार पनि हाम्रै शिक्षक सङ्घका सदस्य थिए ! तर व्यक्तिगत रूपमा म उनलाई चिन्दिनँ । सामूहिक बैठक वा भेलामा देखेको भए बेग्लै कुरा !” “तपाईंले हाम्रो पार्टीको विरुद्ध किन भाषण गर्नुभयो ?” “हेर्नुस्, पहिले नै भनिसकेँ, मलाई हिंसा, हत्या र आतङ्कको राजनीति मन पर्दैन । त्यस्तै देखेर २०४९ सालमा मैले चित्त नबुझ्ेर संयुक्त जनमोर्चा छोडेको थिएँ । यसै कारणले मैले भाषण गरेको हुँ । भाषण गर्ने म मात्र थिइनँ, कुलानन्द गिरी सरसहित अन्य पनि थिए । अर्को कुरा, हामीलाई भाषण गर्नुपर्छ भनेर प्रमुख जिल्ला अधिकारी -सीडीओ) को कार्यालयबाट चिठी आएको थियो । प्रशासकले पनि भनेपछि मैले माओवादीको विरोधमा बोलेको थिएँ ।” “सीडीओले भनेपछि बोल्नैपर्छ ? हाम्रो पार्टीको नीतिनियम नबुझेर त्यसै असत्य भाषण गर्नु हुन्छ ?” उनी अलि रिसाए । “यहाँ तपाईंहरूले जे भन्नुहुन्छ म त्यही गर्न बाध्य भए जस्तै सेना, प्रहरी र प्रशासनको अगाडि पनि हाम्रो केही लाग्दैन ।” “पुलिस र सेनाले गलत कुरा भन्न पठाए पनि भन्नुहुन्छ ? भन्नैपर्ने कर हुन्छ ?” उनी अझ उत्तेजित भए । “हेर्नुस् सर । बन्दुकको अगाडि कसैको केही लाग्दैन रहेछ । अर्को कुरा, मलाई माओवादीको आतङ्क, हत्या, हिंसा पटक्कै मन पर्दैन । यसैले भाषण गरेँ ।” मेरो जवाफले उनी आवेशमा आएको अघि नै अनुमान गरेको थिएँ ! तर म निर्भीक भएर बोल्दै रहेँ । नबिराउनु नडराउनु Û हृदयले खामेको सही र सत्य कुरा बोल्दा मारिएँ भने पनि कम्तीमा आत्मालाई सन्तोष त होला भन्ने लागिरहृयो । “कुलानन्दले के भने नि ?” “उनले पनि विरोधै गरे । त्यस दिन भाषण गर्ने वीणा मल्ल, लिवाङका हरिप्रसाद आचार्य, सल्यानका सांसद प्रकाश ज्वाला सबैले विरोधै गरे । तर मेरो भाषण चर्को थियो भन्ने कुरा मान्दछु । कुलानन्दले पनि तत्कालै बढी चर्को भयो भनेका थिए ।” “हेर्नुस् नारायणजी, तपाईंहरू निम्न पूँजीवादी चिन्तनले ग्रस्त अवसरवादी प्रवृत्तिका मान्छे हुनुहुन्छ । जता बलियो उतै ढलियो ! शक्तिको अगाडि झ्ुक्ने, तर औसर आएको बेलामा घोर क्रान्तिकारी बन्ने र आˆनै स्वार्थसिद्धिको पछि लाग्ने ! तपाईंहरूको यो वर्गीय स्वभाव हामीलाई थाहै छ । आफूलाई रोल्पा जिल्लाकै तथाकथित बुद्धिजीवी ठान्ने, बुर्जुवावादी शिक्षाको डिग्रीधारी तपाईं, कुलानन्दहरू भनेका हिलो माटो हुनुहुन्छ । हिलो माटो भनेको गिलो माटो । गिलो माटोले जग बनाउन सकिन्न ! गारो लगायो भने पनि गारो नै ढल्छ ।” उनले वर्गीय विश्लेषण गर्दै लामो भाषण छाँटे । मैले चुपचाप सुन्दै गएँ । अन्त्यमा उनले भने, “तपाईंहरू मृत्युदेखि डराउनुहुन्छ र जता बाँच्न पाइन्छ भन्ने देख्नुहुन्छ, त्यतैतिर लुसुक्क छिर्नुहुन्छ । औसरवादी प्रवृत्ति … !” मलाई चित्त बुझेन र बीचैमा बोलिहालेँ, “हैन सर, मान्छे होस् वा अन्य कुनै पनि प्राणी, जीवन सबैको लागि सबभन्दा महत्त्वपूर्ण कुरा हो । तपाईंहरू भूमिगत बस्नुको उद्देश्य जीवन रक्षा नै त हो नि ! मरेपछि जे व्यवस्था आए पनि के मतलब ?” उनी फेरि आवेशमा आए । “हामीहरू जनताको मुक्तिको लागि बाँच्छौँ, बुझनुभो नारायणजी ? हामी तपाईंहरू जस्तो आˆनै स्वार्थको लागि मात्र बाँच्दैनौँ । हामी संसारलाई परिवर्तन गर्ने लक्ष्य लिएर युद्ध क्षेत्रमा डटेका छौँ । तर समग्र राष्ट्र र आम जनताको मुक्ति र पूर्ण प्रजातन्त्र प्राप्तिको लागि बाँच्छौँ । हामी मर्दैनौँ ! हामीले मृत्युलाई जितिसकेका छौँ । हामी लड्दालड्दै शहादत प्राप्त गर्छौं ! तपाईंहरू कुकुर मरे जस्तो मर्नुहुन्छ । हाम्रो मृत्यु मृत्यु होइन, शहादत हो । तपाईंहरूको मनमा हरघडी मौतको डर हुन्छ ! जीवनमा ठक्कर खाँदै हजारौँ पटक कुत्ताको मौत मर्नुहुन्छ । यो प्रतिक्रियावादी शासन-सत्ताका ताबेदारहरूको मृत्यु हुन्छ । तर हामीहरू शहीद बन्छौँ । हाम्रो मृत्यु सगरमाथाभन्दा उचो र गह्रौँ हुन्छ, बुझनुभो ?” मैले निकै बेर यी र यस्तै कुराहरू सुनिरहेँ । हामी कथित निम्न पूँजीजीवी वर्गका मानिसहरूको चिन्तन यस्तै हुँदो होला । तर यस्तो भाषण दिने र यस्तो वर्ग विश्लेषण गर्दै नेतृत्व गर्ने नेताहरू आफूलाई सर्वहारा भन्छन्, तर वास्तविक रूपमा उनीहरू जन्मे-हुर्के-बढेको वर्ग कुन चाहिँ रहेछ, भ्रम मात्र दिने यो कुन वर्ग रहेछ भन्ने सोच्दै रहेँ । (सुवेदीको कृति ‘माओवादीको कब्जामा १०० दिन’बाट ।)

_____ · Jun 9, 2012 6:41 AM · 2,835 views

1 Reply

 Where is this SHAKTIMAAN now? He must have been a neo-capitalist now like his master Prachande.

NALAPANI · Jun 9, 2012 9:19 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all