घर्ती को पनि अर्ति लिन पर्छ भन्छन नेपाली हरु, समबेसी भन्ने हरुले चुपचाप समाबेसी गरे हुन्न, झगडा गर्ने पर्छ. अलि समय लाग्ला तेत्ति त हो नि समावेशीका सूत्राधार राजा वीरेन्द्र सन्दर्भ: दरबार हत्याकाण्डको ११ वर्ष टीका धमला ४ जब-जब जेठ १९ गते नजिक आउँछ, राजा वीरेन्द्रको सम्झनाले पङ्क्तिकारलाई बेचैन बनाउँछ । अब त सम्झेर नै के छ र भनेर बिर्सन खोज्छु, झनै मन भड्किन्छ, तड्पिन्छ । आज त्यो हृदयविदारक घटना भएको एक दशकभन्दा बढी भइसक्यो । तैपनि नेपालीका मुटुको स्पन्दनमा विराजित राजा वीरेन्द्रलाई नेपाल र नेपालीले बिर्सनसकेका छैनन् । अविच्छिन्न रुपमा बीस वर्षसम्म उहाँसँग रहँदाका केही अविस्मरणीय घटनालाई पाठकसमक्ष प्रस्तुत गरेर भारी मन हलुका पार्ने प्रयत्न गर्दैछु । राजा वीरेन्द्रसँग बीस वर्षको दौरानमा नेपालको कुनाकाप्चामा पुगेको र पैंतीस/चालीसपटक विदेश भ्रमण गरेको सम्झँदा सपनाजस्तो लाग्छ । अमेरिकाको हवाइट्हाउसमा सम्मिलित स्टेट ब्याङक्वेटदेखि लिएर बर्दियाको सिकारमा उहाँबाट निसाना लगाइएको घाइते बँदेल खोज्दा दिनभरि भोकभोकै बर्दियाको जंगल हात्तीमा घुम्दाको स्मरण गर्दा आज अचम्म लाग्छ । एउटा लेखबाट मात्र उहाँसँगको दुई दशकको सामिप्यको अनुभव समेट्न खोज्नु त के सम्भव होला र ? तर एउटा सम्झनाको दीयो भने अवश्य नै बाल्न सकिन्छ कि जस्तो लाग्छ । एक्काइसौं शताब्दीको हाम्रो अवस्था देख्दा भने उहाँको सम्झना नेपालीको घर-घरमा अझ मन-मनमा हुनथालेको छ । अहिले नेपालको सिमाना लुटिएको छ, बिभिन्न पार्टीका नेतृत्व वर्ग मौन छन् । अनेकतामा एकता भएर बसेका नेपाली समाजको सद्भाव खलबलिएको छ । नेपालका राष्ट्रिय विभूतिहरू अपमानित भएका छन्, सालिकहरू कुटिएका छन्, धर्म लुटिएको छ । हुँदा-हुँदा नेपालको राष्ट्रिय पोसाक कुन हो भनेर सोध्दा आधिकारिक उत्तर पाउने अवस्था छैन । आज मैथिली पनि नेपाली, भोजपुरी पनि नेपाली, मधेसी पनि नेपाली, हिमाली पनि नेपाली भन्नसक्ने अवस्था क्षीण हुँदै गएको छ, किन ? नेतृत्वकै असक्षमताले हैन ? राजा वीरेन्द्रको नेतृत्वकालमा नेपाल र नेपालीले आन्तरिक, क्षेत्रीय र अन्तर्राष्ट्रिय रुपमा कहिल्यै पनि टुहुरो हुनपरेन । उहाँको शासनकालमा क्षेत्रीय रुपमा सिक्किम भारतमा विलय, नयाँ राष्ट्र बंगलादेशको सिर्जना भएकै हो । आन्तरिक रुपमा २०३६, ०४२ साल र ०४६ सालमा राजनीतिक उतार-चढाव भएकै हो । जस्तोसुकै अवस्थामा एकआपसमा भिन्नता भए पनि राजा वीरेन्द्रको पहलमा बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमानसिंह, मनमोहन अधिकारीजस्ता नेतृत्वहरूसँग आपसमै छलफल गरेर यही नेपालको भूमिबाटै यही नेपालीकै सामुबाट नेपाल र नेपालीको संरचना नविगारी कसैलाई पनि काखापाखा नगरी निकास निस्किएको हैन र ? नेपाल र नेपालीलाई चिनाउने कुराहरूप्रति राजा वीरेन्द्रको संवेदनशीलता यस्तो थियो कि उहाँसँग नजिक रहेका जोकोहीलाई थाहा छ । एकपटक भारत भ्रमणको बेला बैङलोरमा एकदिन सबैले टोपी लगाउने भन्ने भएको थियो र त्यसदिन एउटा मन्दिर अगाडि भ्रमणमा सम्मिलित नेपालीहरूको मात्र फोटो खिच्न लाग्दा राजा वीरेन्द्रको नजिकको नाता पर्ने भ्रमण दलका एक सदस्यले टोपी नलगाउनुभएको हुँदा उहाँलाई राजाबाट ग्रुप फोटो खिच्न मनाही भयो । उहाँ त्यसबेला ज्यादै चिन्तित हुनुभयो र हामी सबै राजा वीरेन्द्रको टोपीप्रतिको त्यो माया देखेर छक्क पर्‍यौं । आज त्यो टोपीको इज्जत नेपाली मूलका इन्डियन आइडल प्रशान्त तामाङकी आमाले मुम्वईमा आफ्नो छोराको स्वागत समारोहमा ढाकाको टोपी लगाइदिएर इज्जत बढाइदिएकी छन् । त्यस्तै नेपाली दौरा-सुरुवाल र गुन्यू-चोलीको इज्जत आज दार्जिलिङ र सिक्किमका नेपाली मूलका दाजुभाइ र दिदीबहिनीले जोगाइदिएका छन् । नेपालमा आजभोलि दौरा-सुरुवाल र टोपी रोएर बसेको छ । केही ठूला राजनीतिक पार्टीका नेताले त दौरा-सुरुवालसँग पानी बाराबारजस्तै अवस्था खडा गरिदिनुभएको छ । उहाँहरूलाई घान्द्रुकमा गुरुङ भेषमा देखियो, जनकपुरमा मैथिली भेषमा देखियो । यसमा कसैलाई पनि आपत्ति छैन र त्यो पनि हामी नेपालीकै भेषभूषा हो र त्यसमा सबै नेपालीले गर्व गर्नैपर्छ । यसको अलावा मेची-महाकालीभित्र रहेका हामी सबै जनजातिहरूको आआफ्नै भेषभूषा हामी सबै नेपालीको पहिचान हो र त्यो सांस्कृतिक धरोहर हामी सबै नेपालीले बचाएर राख्नुपर्छ । त्यस्तैगरी दौरा-सुरुवालप्रति पानी बाराबार गरिएको जस्तो देखिने नेताज्यूहरूले दौरा-सुरुवाल, कोट, ढाकाटोपी पनि लगाइदिनुभए उहाँहरूको केही बिग्रने छैन । उहाँहरूको सञ्चारमाध्यममा राम्रै प्रचार-प्रसार हुनेछ र दौरा-सुरुवालप्रति माया हुनेहरूले यिनीहरू पनि हाम्रा नेता हुन् भन्न पाउँथे कि ? राजा वीरेन्द्रमा नेपाल र नेपालीलाई पहिचान गराउने कुराहरूमा जति संवेदनशीलता थियो, त्यतिकै नेपाल र नेपालीको आर्थिक स्तर कसरी बढाउन सकिन्छ भन्ने सोच भएका राजासँग नेपालको आर्थिक विकासको साथसाथै राजनीतिक र सामाजिक विकास पनि साथसाथै हुनुपर्छ र यसमा सबै क्षेत्र, समुदाय, जातजाति, लिङ्ग सबैले समान अवसर पाउनुपर्छ भन्ने दृढ सोच थियो । आज नेपालमा संघीयताको कुरा उठेको छ, समावेशीको कुरा उठेको छ, यसमा सबै नेपालीले समान अवसर पाउनुपर्छ भन्ने कुरामा आआफूमै द्वन्द्वको अवस्था सिर्जना हुँदा के यसबाट कुनै नेपालीलाई फाइदा होला ? वा भाइ फुटे गँवार लुटे भन्ने प्रमाणित होला, यसमा राजा वीरेन्द्रको छुट्टै सोच थियो र बिस्तारै सुधार पनि भैराखेको थियो । संघीयताको नाममा के हामीले अरुहरूकै सिकोमात्र गर्नुपर्छ र ? हाम्रो आफ्नै माटो सुहाउँदो मोडल बनाएर जान सकिन्न र ? एउटा कुरा हामी सबै नेपालीहरूले र विशेषगरी नेतृत्व वर्गले बुझ्नैपर्छ कि हामीलाई आ-आफैंलाई मनपर्ने द्धन्द्धसहितको संघीयताको नाम चाहिएको हो कि सबै नेपालीले सामाजिक, आर्थिक, राजनीतिक समान अवसर पाउन सक्ने काम चाहिएको हो । आज छिमेकी देश चीनले आर्थिक विकासको जुन फड्को मारेको छ । यसमा विशेषगरी पश्चिमा राष्ट्रहरू चकित छन् । यसका बिभिन्न कारणमध्ये एक कारण हो, उच्च नेतृत्वको दीर्घकालीन सोच । उनीहरू भन्ने गर्छन्, हामी प्रजातन्त्र चाहन्छौं, तर आयातित प्रजातन्त्र होइन, आफ्नै माटो सुहाउँदो प्रजातन्त्र जसले गर्दा आफ्नो सामाजिक संरचना नखलबल्याई देशको समग्र विकास हुनसकोस् । यसै सन्दर्भमा डा. हेन्री किसिन्जरको 'प्रजातन्त्र जबर्जस्त कुनै पनि देशमा लाद्न खोज्नुहुन्न, बिस्तारै यसलाई फुल्न र फल्न दिनुपर्छ, अनिमात्र स्थायी हुन्छ' भन्ने भनाइ प्रासंगिक हुन्छ जस्तो लाग्छ । हुन पनि आजको यो भूमण्डलीकरण संसारमा नयाँ प्रजातान्त्रिक अभ्यास भैरहेको अधिकांश देशहरूमा देशभित्रकै गुट-उपगुट, जातजाति भाषाभाषीमा द्वन्द्व चर्किरहेको छ र बाह्य शक्तिले त्यसको फाइदा लिइरहेको छ । दक्षिण अपि|mका जहाँ सक्षम नेतृत्वले गर्दा केही हदसम्म राम्रो भएको छ । राजा वीरेन्द्रको पनि नेपालमा द्वन्द्वरहित प्रजातन्त्र स्थापना गराउने आफ्नै दीर्घकालीन सोच थियो । जस अनुसार सन् २००० सम्म नेपाललाई एसियाली स्तरमा पुर्‍याएर प्रजातन्त्रको लागि आवश्यक पर्ने न्यूनतम पूर्वाधार तयार गरी क्रमिक रुपमा देशमा प्रजातन्त्रको विकास गर्दै जाने यही सोचअनुसार राजा वीरेन्द्रबाट २०३८ सालमा सुदूर पश्चिमका नेपालीहरूलाई राज्यको केन्द्रबाट राम्ररी रेखदेख गर्न नसकेका महसुस भई सेती-महाकाली अञ्चललाई छुट्टै विकास क्षेत्र घोषणा गरी क्षेत्रीय रुपमै योजना तर्जुमा गरी विकासको काम त्यस क्षेत्रमा सुरु भएको थियो । त्यसैबेला धनगढीबाट दिपायलसम्म सडक लैजाने योजनाको साथै नेपालको सबै जिल्ला सदरमुकामसम्म मोटरबाटो पुर्‍याउने घोषणा पनि भयो । जसको फलस्वरुप आज नेपालको केही दुई-तीन जिल्लाबाहेक सबै जिल्ला सदरमुकाममा सडक पुगिसकेको छ । यो राजा वीरेन्द्रकै सोच थियो र विकास क्षेत्रको परिकल्पना संघीयताको एउटा द्धन्द्धरहितको परिकल्पना थियो । आज संघीयताको कुरा द्धन्द्धसहित आएको छ । के यसबाट हामी कुनै नेपालीलाई दीर्घकालीन लाभ होला त ? त्यस्तै आज नेपाली सेनामा समावेशीको कुरा पनि द्वन्द्वसहित आएको छ । राजा वीरेन्द्रको शासनकालमा उहाँको सोच जहिले पनि नेपालका सबै जातजातिले आ-आफ्नै इच्छाअनुसार हरेक क्षेत्रमा समान अवसर पाउनुपर्छ भन्ने थियो । त्यसै अनुरुप उहाँबाट हुने राजनीतिक नियुक्तिहरूमा सवै वर्ग तथा जातजातिहरू समेटिन्थ्यो । एकपटक ०४०-४१ सालतिर तराईका नेता गजेन्द्रनारायण सिंहले राजा वीरेन्द्रसँग तत्कालीन शाही नेपाली सेनामा तराई मूलका मानिस ज्यादै कम भएको कुरा राख्नुहुँदा राजा वीरेन्द्रबाट तुरुन्तै तत्कालीन प्रधानसेनापतिलाई तराईका जिल्लाबाट एक गुल्म तराई मूलका मानिसमात्र सेनामा भर्ना झिक्नु भन्ने आदेश भयो र सोही बमोजिम कार्यान्वयन पनि भयो । यस्तै भर्ना प्रवृत्ति अन्य पूर्व-पश्चिमका जिल्लाहरूबाट पनि बिभिन्न जातजातिहरू सेनामा भर्ना गरिएका थिए । चेपाङ जातिलाई पनि राजा वीरेन्द्रकै निर्देशनमा हेटौंडाको सुपारेटार ब्यारेकमा विशेष भर्ना गर्ने निर्देशनसहित कार्यान्वयन भएको थियो । के यो द्वन्द्वरहितको समावेशीको तरिका होइन र ? राजा वीरेन्द्रको शासनकालको सम्झना स्मरण गर्दा नेपाल र नेपालीप्रति समर्पित प्रजातन्त्रवादी राजाको रुपमा उहाँ राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा स्थापित भएको कुरा निर्विवाद छ । उहाँको सम्झना नेपालको इतिहासमा अटल रुपमा रहिरहनेछ । सबै नेपालीहरू एकढिक्का भएर शान्तिपूर्ण वातावरणमा बाँचुन् भन्ने पवित्र भावनाका धनी राजा वीरेन्द्रको सदिच्छालाई मूर्तरुप दिन आज हामीबीच देखिएको तेरो र मेरोको भावना त्यागी हामी र हाम्रो भन्न वाञ्छनीय भएको छ । यही नै राजा वीरेन्द्रप्रतिको सच्चा श्रद्धासुमन हुनेछ । लेखक नेपाली सेनाबाट अवकाशप्राप्त उपरथी हुन् ।
timi_mero_sathi · Jun 1, 2012 7:54 PM · 2,772 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion