राजा मर्दा मासुभात (स्मरण : दरबार हत्याकाण्ड) Friday, 01 June 2012 06:48 ऋषिकेश दाहाल 5 (6 votes, average 3.00 out of 5) रेडियो नेपालको नेटवर्क नै छैन। अल इन्डिया रेडियो पनि सुनिएन। सदरमुकाम मान्मा पुग्न चार घन्टा लाग्ने सुनाउँदै थिए घरवेटी। बिहान सात बजेतिर पाकिस्तानी रेडियोको फ्रिक्वेन्सी फेला पर्यो । धेरै त बुझिएन। 'नेपाल नरेशकी कत्लेआम' यस्तै सुनियो। २०५८ जेठ २० गते बिहान सबा सात बजे। २०५८ जेठ २० गते कालिकोट जिल्लामा माओवादी जन सरकार घोषणाको कार्यक्रम थियो। त्यसैको रिपोर्टिङ गर्न राजधानीदेखि सशस्त्र माओवादी र उनीहरुको मिलेसियाको सहयोगमा यहाँसम्म आइपुगिएको थियो। शेरपाटामा जन सरकार घोषणाका लागि भव्य तयारी थियो। तलदेखि मानिसहरुको लर्को लागिरहेको थियो। यो भव्य समारोह सुरुहुनुभन्दा अगाडि नै रेडियोबाट सुनिएको अस्पस्ट समाचारले हामीलाई अन्यौलमा पार्यो। 'कत्लेआम' सुन्नासाथ कृष्णज्वाला देवकोटा 'एक्साइटेड' भएका थिए। उनी उफ्रिए, 'गयो राजतन्त्र !' दीपक पाण्डे खुशी थिएनन्। 'अब सेना परिचालन हुनसक्छ। हामी फर्कनु बेस्,' पाण्डेको भनाई थियो। अघिल्लो राति दरबारमा गोली चलेको थियो। राजा वीरेन्द्रसहित एउटा वंश विनास भएको थियो। दुरको कालिकोटका गाउँमा पनि दरबार हत्याकाण्डको खबर डढेलो झै सल्कियो। आकाशतिर हेलिकप्टर देख्दा पनि मानिसहरु भयभित देखिन्थे। क्रान्तिका लागि हतियार बोक्नेहरु त झन अन्योल र त्रस्त थिए भने निमुखाको अनुहारमा त्रास देखिनु सामान्यै थियो। हतियार आफैमा शक्ति थियो र जोखिम पनि। यो गाउँसम्म हामी माओवादीका हतियारधारी लडाकुको घेरामा सुरक्षितरुपमा आइपुगेका थियौं। अब हामीलाई हतियारकै डर थियो। सेनाको। माओवादीको। कालिकोट जाँदा अछाम छिर्नुअघि कृष्णज्वाला देवकोटासँग दैलेखको तल्लो डुङ्गेश्वरमा चिया पाउरोटी खाँदै गर्दा पहिलोपटक दुई कम्ब्याटेन्ट हतियारसहित देखिए। भरुवा बन्दुक बोकेका दुई भर्भराउँदो उमेरका ठिटा देख्दा मन झसङ्ग भयो। यहाँसम्मको यात्रामा हतियारधारी थिएनन्, पिकनिक हिडेकोजस्तै थियो यात्रा। बन्दुक देखेपछि मन गरुङ्गो भयो। लाग्यो, सकियो देश। तर, बोल्न सकिएन। त्यसपछिका दिनमा बन्दुक, विस्फोट र गुरिल्ला शैलीमा रातविरात यात्रा तय गर्नु स्वभाविक बन्दै गयो। हतियारधारी पनि प्यारा लाग्न थाले। कालीकोटसम्मको यात्रा पूरा भयो। यात्रा पूरा भएपनि गन्तव्य मोडियो। दरबार हत्याकाण्ड भएको सीमित खबरबाहेक सुचनाको संसारबाट धेरै टाढा थियौं हामी। त्यसैले टोलीका अगुवा पाण्डेको 'सुरक्षित अवतरण' हुने धारणा हामी सबैलाई मान्य भयो। जनादेशका त्यतिखेरका सहयोगी दीपेन्द्र रोकाय चै हामीसँग फर्केनन्। समाचारका लागि गएकाहरु समाचारविमुख हुनु आफैमा दुखद् थियो। मुलधारको पत्रकारितामा रहेकाहरु दरबार हत्याकाण्डजस्तो ठूलो विषयको समाचारको नजिकसमेत नहुनु अर्को पीडा थियो। त्यसमाथि आफ्नै ज्यानको सुरक्षा खोज्नु स्वभाविक बन्यो। हामी पत्रकारहरु स्थानीय माओवादीकै घरमा थियौं, हत्याको अपुष्ट खबर सुन्दा। खानाको व्यवस्था त्यही घरमा मिलाइएको थियो। खसी काटिएको थियो -राजधानीबाट आएका पत्रकारको स्वागतमा। दैलेखका गाउँ गाउँमा माला र तोपको सलामी त पाएकै थियौं। लामवद्ध भएर मुठ्ठी कस्दै हात मिलाउनेमा बुढाबुढीदेखि केटाकेटीसम्म हुन्थे। लाग्थ्यो, यी सबै माओवादी हुन्। कालिकोटपछि जुम्ला पुग्ने र त्यहाँबाट राजधानी उड्ने योजना यही घरमा टुंगियो। हामीले मासु भात खाइरहँदा त्यही घरकी बुढी आमै नुहाउने तरखरमा थिइन्। 'राजा मर्यो। जुठो लाग्यो। आज बार्नुपर्छ,' उनले भनेको सुनेपछि मासु खल्लो लाग्यो। नखान पनि नमिल्ने खान पनि कठिन। अन्तत: राजा मरेको दिन मासुभातले पेट भर्नै पर्योय। विकल्प थिएन। पत्रकारको टोलीमा सबैभन्दा कान्छो मै थिएँ। खिलबहादुर भण्डारी र कृष्णज्वालाले मलाई बढी नै हौस्याउँथे। म हौसिन्थे पनि। तर, अब न उनीहरु हौस्याउन तयार थिए न म नै। दीपक पाण्डेको रफ्तारमा हिड्नु र अरुलाई पछाडि छोड्नु स्वभाविक भइसकेको थियो। जुन बाटो गयो त्यही बाटो फर्कनु हाम्रो वाध्यता थियो। माथ्लो डुङ्गेश्व रमा पुग्दा खोटो बोक्ने ट्रक पाइयो र पूरै चोपैचोपले भिजेर सुर्खेत झरियो। सुर्खेतपछि रात र दिन पूरै बस यात्रा। बाटामा मानिसहरु टाउको खौरँदै थिए। बसमा पनि उनीहरु किन कपाल नकाटेको भन्दै आक्रोसित भएर आउथे। पत्रकार भएर फाइदा लिएको एउटा महत्वपूर्ण घटना हो यो। नत्र राजमार्गमै कपाल मुण्डन हुन्थ्यो। कर्फ्युको बीचमा राजधानी टेकियो। राति २ बजे गोङ्गबु। कर्फ्यु भएकाले रात त्यही बित्यो। भोलिपल्ट अफिस पुगेँ। समाचारविहीन भएर। पत्रिका नपढेको धेरै दिन भइसकेको थियो। पल्टाउन थालेँ। नयाँ सडकक दैनिकको केही दिनअघि प्रमुख समाचार छापिएको रहेछ - बिहेको विषयमा युवराज दीपेन्द्र र राजा वीरेन्द्रबीच झगडा भयो। http://nagariknews.com/nagarik...
timi_mero_sathi · Jun 1, 2012 7:44 PM · 2,717 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion