काठमाडौ, वैशाख ११ - काठमाडौं महानगरपालिकामा बिनाप्रतिस्पर्धा अधिकांश कर्मचारी आफन्तको भनसुनमा स्थायी भएको भेटिएको छ । कार्यरत ६ सयभन्दा बढी कर्मचारी दलका नेता, महानगरकै कर्मचारीका आफन्त रहेको उनीहरूको व्यक्तिगत विवरणले देखाएको छ । नेताहरूले आफ्ना साला, श्रीमती, भाइ, भतिजासम्मलाई महानगरको स्थायी जागिरे बनाएका छन् । महानगरका कार्यकारी प्रमुख केदारबहादुर अधिकारीले आफन्तले जागिर पाउनै नहुने भन्ने कतै नरहेको बताए । 'जिम्मेवारीअनुसारको काम पूरा गरे कि गरेनन् त्यो महत्त्वपूर्ण कुरा हो,' उनले भने, 'आफन्त नै भए भनेर आलोचना गर्नु हुँदैन ।' महानगर स्रोतले दिएको जानकारीअनुसार एमालेका वामदेव गौतमदेखि कांग्रेसका रामचन्द्र पौडेलसम्मले आफन्तलाई स्थायी बनाएका छन् । गौतमले साला सोमबहादुर रानालाई (कम्प्युटर अपरेटर) बनाएका छन् । एमाले सभासद अग्नि खरेलकी श्रीमती सुमित्रा कडरिया -खरिदार) छिन् भने एमाले सभासद रवीन्द्र अधिकारीकी श्रीमती सीता ढकाल -नासु) पदमा कार्यरत छिन् । एमाले नेता अजम्बर काङबाङकी श्रीमती कुमारी राई (शाखा अधिकृत) र कांग्रेस नेता रामचन्द्र पौडेलका आफन्त शेषकान्त अधिकारी (नासु) छन् । पौडेल स्थानीय विकासमन्त्री हुँदा पन्ध्र जनाभन्दा बढी आफ्ना नातेदारलाई उनले विभिन्न तहमा नियुक्त गरेका थिए । सर्वज्ञ पौडेल (नासु) र ओमप्रकाश पौडेल (नासु) नेता पौडेलका दाइका छोरा हुन् । एमाले नेता डीबी कार्कीकी श्रीमती विमलादेवी कार्की (नासु), पूर्वसचिव उदयराज सोतीकी नातेदार सरु सोती (नासु), एमाले नेता वेदराज पौडेलकी श्रीमती देवकुमारी ज्ञवाली (नासु) र कांग्रेस महामन्त्री प्रकाशमानसिंहका नातेदार इन्द्रमानसिंह (अधिकृत) छन् । कांग्रेस नेता गोविन्दराज जोशीका नातेदार देवराज जोशी (खरिदार) र माओवादी नेता राममान श्रेष्ठका छोरा रविनमान श्रेष्ठ (अधिकृत) छन् । २०४६ अघिसम्म महानगरमा जम्मा ६ सय ४५ जना कर्मचारी थिए । स्थानीय निकायको चुनावपछि मेयर पीएल सिंहको पालामा सात सय र मेयर केशव स्थापितको पालामा आठ सयभन्दा बढी कर्मचारी नियुक्त गरिएको महानगरको तथ्याङ्कमा उल्लेख छ । त्यो अनुपात बढ्दै गएपछि २०५३ सम्म मेयर स्थापित र सिंहले करिब तीन हजारको हाराहारीमा राजनीतिक नियुक्ति गरे । नेताका नातेदारमात्र नभई महानगर कर्मचारीका सालासाली, श्रीमती र नातेदारले पनि जागिरको अवसर पाए । महानगरका पूर्वउपमेयर नवीन्द्रराज जोशीले जागिर खान जुनसुकैको नाता भए पनि फरक नपर्ने बताए । 'कसैले फलानाको श्रीमती, सालासाली भनेर जिम्मेवारी पूरा गर्दैन भने राजीनामा दिनुपर्छ वा कारबाही गर्नुपर्छ,' उनले भने, 'आफन्तको पदलाई दुरुपयोग गरेर रवाफ देखाउन पाइन्न ।' वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद थपलियाकी श्रीमती पार्वती थपलिया (नासु), नासु चन्द्रगोपालकी श्रीमती जयन्ती श्रेष्ठ (अधिकृत), शाखा अधिकृत युवराज खनालकी श्रीमती गीता खनाल (नासु) छन् । त्यसैगरी विभागीय प्रमुख गम्भीरलाल श्रेष्ठकी श्रीमती सुलोचना श्रेष्ठ (अधिकृत), महानगरका पूर्व सल्लाहकार भूषण तुलाधरकी श्रीमती श्रृजु प्रधान (शाखा अधिकृत) र शाखा अधिकृत युवराज खनालका भानिज सुदर्शन भट्टराई (नासु) छन् । पूर्वविभागीय प्रमुख सहदेव श्रेष्ठकी छोरी सुष्मा श्रेष्ठ -खरिदार), विभागीय प्रमुख बद्रीबहादुर खड्काका छोरा (नासु) र शाखा अधिकृत रामप्रसाद पौडेलकी श्रीमती (नासु) मा कार्यरत छन् । पूर्वविभागीय प्रमुख रामशरण हुमागाईकी बहिनी गंगा हुमागाईँ (नासु), उनकै साली सरस्वती आचार्य (नासु), इन्जिनियर रवीन्द्र राईकी श्रीमती कविता राई (नासु), जनस्वास्थ्य विभागका प्रमुख डा. बाबुराम गौतमका भतिज कमल गौतम र उनकै नातेदार रेखा उपाध्याय त्यही विभागमा कार्यरत छन । जनस्वास्थ्यमा उनकै नातेदारको बाहुल्यता रहेको स्रोतले बतायो । आठ सय कुचीकारमध्ये पचास प्रतिशत त्यहींका कर्मचारीका नातेदार रहेका छन् । पूर्वस्थानीय प्रतिनिधिले पनि आफ्नी श्रीमती र नातेदारलाई महानगरको कर्मचारीमा नियुक्त गरेका छन् । चार सय प्रशासनिक कर्मचारीमध्ये तीन सय पहुँचका आधारमा जागिर खाएको महानगरका कर्मचारी बताउँछन् । स्रोतका अनुसार केहीले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा पनि जागिर खाएका छन् । प्रकाशित मिति: २०६९ वैशाख ११ ०९:१७ http://www.ekantipur.com/nep/2...
_____ · Apr 23, 2012 5:02 PM · 1,687 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion