बिहारमा खम्बुवानका सन्तान नेपाल एकीकरण अभियानताका गोर्खाली फौजसँगको हारपछि आत्मसमर्पणको साटो पलायन रोजेका खोटाङ र भोजपुरका किरातीहरू बिहारको सुपौलमा चौरासी जमिनदारका रूपमा परिचित छन्। डम्बरकृष्ण श्रेष्ठ, त्रिवेणीगञ्ज, सुपौल, बिहारमा डम्बरकृष्ण श्रेष्ठ मैथिल किरात परिवारः सुपौलको त्रिवेणीगञ्जस्थित आफ्नै घरमा ध्रुवनारायणसिंह राई, उनकी श्रीमती मालती तथा छोरीहरु अलका र अनामिका (दायाँ)। निस्पट्ट अँध्यारो रात, चकमन्न हतुवा गढी दरबार। राजा अटलसिंह राई खोपीमा घुरिरहेका थिए, सिरानी मुनिबाट खुकुरीको बिँडले बाहिर चियाइरहेको थियो। आधा जति रित्तिएको तीनपानेको कठुवा (काठको भाँडो) र चाँदीको कचौरा ओछ्यानछेउमा थियो। २५० वर्षअघिको त्यो दुर्भाग्यपूर्ण रातमा हाल दक्षिणी भोजपुरको रानीवास गाविसमा पर्ने डाँडाको हतुवा गढीमा गोर्खाली हमला हुँदैछ भन्ने सुईंकोसम्म थिएन, अटलसिंहलाई। त्यसअघिको इतिहासबारे अटलसिंहको नवौं या दशौं पुस्ताकी बुहारी सुखमाया देवी राईले भनेकी छन्: “हमरुलाई हमरको सासूले भनेको, सासूलाई उसको सासूले र उसको सासूलाई उसको सासूले भनेको, अटलसिंहको ठूलो घर थियो। यो कुरा थाहा भएपछि पश्चिमको राजाले एउटा बाभन (बाहुन) पठायो। बाभनले हाम्रो राजाले तिमीलाई भेट्न बोलाएको छ भनेर खबर सुनायो। अटलसिंहले जा, तेरो राजालाई नै पठा भनेर बाभनलाई बिदा गर्‍यो। अनि लडाईं भयो रे! त्यस राजाको सेना धेरै थियो। अटलसिंह भाग्यो, सेनाले खेदायो। भाग्दै जान्छ रे, पछि-पछि ढोल बजाउँदै खेदाउँछ रे! यसरी भाग्दाभाग्दै यता आइपुगेको। हमरुलाई श्रीहाङ पाछा भन्छ। पहिला जातको राजा पनि भन्थे। हमरको घरलाई हवेली भन्थे, न्यौतामा १२ सुपारी दिन्थे।” माथिका दुवै प्रसङ्ग हाल त्रिभुवन विश्वविद्यालयमा सह-प्राध्यापक रहेका डा. विष्णुसिंह राईले लेखेको पुस्तक खम्बुवानबाट हराएका सन्तानहरू बाट उद्धृत हुन्। डा. राईले भारतको बिहारमा शुरुमा ठूल्ठूला जमिनदारी सम्हालेका ४/५ हजार राई रहेकोमा अहिले यो सङ्ख्या साढे पाँच सय जति भएको अनुमान गरेका छन्। उत्तरी बिहारको सुपौल र मधेपुरा जिल्लाका गोनाहा, बाजितपुर, लरहनिया, डपरखा लगायत ९ ग्राम पञ्चायतका १५ भन्दा बढी गाउँमा किरात-राईहरू छन्। नेपाल एकीकरणको क्रममा गोर्खालीहरूले काठमाडौं पूर्वको अभियान थालेपछि माझ्किरातका खोटाङ, भोजपुर र उदयपुरका थुम-थुममा भीषण लडाईं भएका थिए। बन्दुक-बारुदको प्रयोग थालिसकेका ठूलो र सङ्गठित गोर्खाली फौजसँग खुकुरी, धनु र [Disallowed String for - inappropriate]ली चलाउने असङ्गठित किरातीहरूको पराजय निश्चित भयो। पराजयपछि आत्मसमर्पण नगरेका हलेसीदेखि हतुवासम्मका चाम्लिङ, पुमा, सुनुवार, वान्तवा, कोयु, साम्पाङ र थुलुङ थरका किरात राजा/मुखियाहरू अटलसिंहकै अघिपछि लागेर कोशी नदी पछ्याउँदै बिहार झ्रेका थिए। उनीहरूको साथमा केही बाहुन, गुरुङ, दर्जी र विश्वकर्मा परिवार पनि थिए। गोनाहा ग्राम पञ्चायतका पूर्व मुखिया रामेश्वरसिंह चाम्लिङ राई (७१) ले बिहारमा आफूहरू १० औं पुस्ताको राई भएको हिमाल लाई बताए। किरात नश्ल, संस्कार मैथिल नश्ल मात्र बाँकीः गोनाह ग्राम पञ्चायतका पूर्व मुखिया रामेश्वरसिंह चाम्लिङ राई। नेपाल र भारत बन्नुअगावै बिहारमा बस्ती बसाएका राईहरूले आज पनि माछाकुमा (पितृ स्थान) राख्ने, मर्चा, जाँड र तीनपाने बनाएर खाने चलन छाडेका छैनन्। नेपालका राईहरूकै अनुहार छ उनीहरूको। र पनि, उनीहरूको रहन-सहन, खानपिन, चाड-उत्सव, जन्मिँदा-मर्दाको संस्कार मैलिमय (हिन्दू) छ। बिहेवारी मैथिल विधिबाट हुन्छ। मैथिल शैलीका हरेक घरका आँगनमा तुलसीको मठ देखिन्छ। सुँगुर-बङ्गुर छाडेर माछा र रोटीको पारखी बनेका छन्। उधौली-उभौलीमा माछाकुमामा चोखोनितो त गर्छन्, तर साकेला (साकेवा, सान्केवा) चाडबारे थाहा छैन। कसैकसैले चुल्हा र माछाकुमामा पितृहरूलाई भाले, अदुवा र रक्सी चढाउँछन्। नयाँ बाली पूर्वजहरूलाई चढाउँछन्। कुनै समयमा वैवाहिक सम्बन्ध स्थापित गर्ने स्थानीय राजपुतहरूको प्रस्तावलाई अस्वीकार गरेका बिहारी राईहरूले स्वजातीय भन्दा बाहिर बिहेवारी गरेको अपवाद विरलै भेटिन्छ। अढाइ शताब्दीबाट मैथिलहरूको बीचमा रहेका उनीहरू ६०/७० वर्षअघिसम्म आफ्नै भाषा बोल्थे। अहिले घरमा नेपाली र बाहिर मैथिल वा हिन्दी बोल्छन्। उनीहरूको नेपाली पनि अब त अनौठो भइसकेको छ। जस्तो, हामी- हमर, गाडी रोक- गाडी ठाडो गर, पानी रोकियो- पानी निको भयो आदि। “हिन्दू संस्कृतिमा आधारित भारतीय संस्कार छ, हाम्रो”, पूर्व मुखिया रामेश्वरसिंह भन्छन्, “मरेकालाई गाड्दैनौं जलाउँछौं, क्रियाकर्ममा बाहुन बोलाउँछौं। उधौली-उभौली सुनेका छौं तर त्यसमा के हुन्छ थाहा छैन। हाम्रो त राई नश्ल मात्रै बाँकी छ, बाँकी सब मैथिल भइसक्यो।” कुनै जमानामा अङ्ग्रेज शासकहरूसित उठबस गरेका र आँखाले नभ्याउने जमिनको स्वामी बनेका राईहरू स्थानीय कर उठाउँथे। सन् १९३० सम्म बिहारका किराती महिलाहरू काम गर्दैनथे, राजसी ठाँट थियो। अङ्ग्रेजहरूसँगको सम्बन्ध र जमिनदारीका कारण भारतीय स्वतन्त्रता सङ्ग्राममा यहाँका राईहरूको संलग्नता रहेन। सन् १९६२ मा चीनसँग लडाईं हुँदा भने भारत सरकारलाई मन खोलेर नगद-जिन्सी सहयोग गरेका थिए। डा. राईको पुस्तकका अनुसार, अटलसिंहका पनाति होरिलसिंह चौतरिया र राजनसिंह चौतरिया पछि बिहारका राईहरूले आफ्नो पुर्ख्यौली थातथलोलाई पूर्ण रूपमा बिर्सेर मैथिल संस्कृति अपनाए। त्यसयता उनीहरूले वैद्यनाथसिंह, दिनदयालसिंह, प्रियवर्तनारायणसिंह, दुखवरसिंह, उषा रानी, सुधा रानी, मुन्निसिंह जस्ता नामहरू राख्न थाले। ३१ वर्षदेखि त्रिवेणीगज्ज हाईस्कूलमा शिक्षक रहेका ध्रुवनारायणसिंह राई (५८) गौरवशाली पुर्खाका सन्तानहरू समयसँगै छिन्नभिन्न हुन लागेको बताउँछन्। आउँदो महिनादेखि प्रधानाध्यापक हुन लागेका हिन्दी र अङ्ग्रेजीमा स्नातकोत्तर उनले पछिल्लो समयमा भने आफ्नो संस्कृति र नेपालसँग नजिक हुन थालेको बताए। हिन्दी र मैथिलीका प्रतिष्ठित कवि समेत रहेका उनले त्रिवेणीगन्जस्थित निवासमा हिमाल प्रतिनिधिसँग भने, “मेरा पिताजीका हजुरबा हर्कलालसिंह र उहाँका पनि बाजेहरूले सुनाउँदै आएको नेपालको कथा अब त धेरै धुमिल भइसक्यो।” हरेक दिन तुलसीको मठमा जल चढाएर पूजा गर्ने कवि पत्नी मालती राई (५०) ले आफ्ना पाँचै छोरीको विवाह नेपालका राईहरूसँग गराउन चाहेको बताइन्। यो दम्पतीले ठूली छोरी माधवीलाई धरान, माइली अनुपमालाई इटहरी र काइँली अनामिकालाई सिरहाका सजातीय वरसँग विवाह गराइदिएका छन्। गहिरो मैथिल प्रभावमा परेको बिहारका राई परिवारमा प्रेम वा भागी विवाहले प्रश्रय पाएको छैन, अझ्ैसम्म अभिभावकको रोजाइ र प्रबन्धबाटै विवाहहरू हुने गरेका छन्। कवि ध्रुवनारायण नेपालतिरको पारिवारिक सम्बन्ध बढ्दै जाँदा नातिनातिनाको पालासम्ममा परिवारमा किरात संस्कारले फेरि ठाउँ पाउने आशामा छन्। लामो समयसम्म आफ्नो उद्गमभूमिप्रति बेखबर बिहारका राईहरू आफ्नो जाति, संस्कृति, इतिहास र सिङ्गो परिचय खोज्न जागृत भएको उनको अनुभव छ। साथै, मैथिलहरूसँग मिलेर बसेको इतिहास र मैथिल संस्कृतिप्रति पनि उनको गर्व छ। ३० वर्षअघि नेपाल र पहाड हेर्न श्रीमतीसँग धनकुटाको हिलेसम्म उक्लेका ध्रुवनारायण भन्छन्, “हाम्रा तन्नेरीहरूमा नेपाल र त्यहाँको आफ्नो जातीय संस्कृति जान्ने-बुझने चाहना देखिँदैछ।” स्नातकमा अध्ययनरत डफरखाकी सारिकासिंह राई (२२)ले इतिहास जान्ने मन भए पनि पुर्खा, मूल संस्कृति र भाषाबारे बुबाआमा नै अनभिज्ञ रहेकाले कठिन भएको बताइन्। दुई चार दिन धरान र काठमाडौं घुम्दा आफ्नो नेपाली लवजमा अलिअलि सुधार आएको उनले सुनाइन्। ६ वर्षअघि मोरङ थलाहाकी हिमा राईलाई जीवनसँगिनी बनाएका डफरखाकै भोलाप्रसादसिंह मुकारुङ (३५) ले बिहेपछि मात्र नेपालको किरात संस्कारबारे थाहा पाएको बताए। उनी पनि आफ्ना दुई छोरीको घरजम नेपालमै गराउन चाहन्छन्। तर, दुलही भएर नेपाल आएका हुन् या बिहार गएका, स्थानीय संस्कृतिका कारण समाजमा घुलमिल हुन निकै गाह्रो पर्ने गरेको छ। हिमा भन्छिन्, “बोली-चाली नमिल्दा शुरुमा त मन अडाउनै गाह्रो भयो।” नयाँ पुस्तालाई आफ्नो जातीय जरो देखाउन कवि तथा शिक्षक ध्रुवनारायणसिंहको पहलमा त्रिवेणीगञ्जमा २४ पुसमा नेपाल-भारत साहित्यिक सांस्कृतिक सम्मेलन नै आयोजना गरियो, जसमा नेपाल, दार्जीलिङ र सिक्किमका राईहरू आमन्त्रित थिए। सोही सम्मेलनको अवसरमा १० वर्षपछि जन्मथलो पुगेका सह-प्राध्यापक डा. राईले बिहारको विकासले राई समुदायमा पनि निकै परिवर्तन ल्याएको र नेपालतिरको पारिवारिक सम्बन्धहरू बढेको बताए। अर्का सहभागी प्रा.डा. नोवलकिशोर राई भन्छन्, “सुपौलका राईहरूमध्ये कतिले आफू किरात हुँ भन्ने पनि बिर्सेका रहेछन्, उनीहरूको मातृभाषा मैथिल भइसकेको रहेछ।” जमिनदारी शान हिमाल प्रतिनिधि गएको फागुन दोस्रो साता गोनाहा ग्राम पञ्चायतका पूर्व मुखिया रामेश्वरसिंह चाम्लिङको घर पुग्दा उनी आँगनसँगैको बैठक कक्षमा गाउँलेहरूका बीच कचहरीको तयारी गर्दै थिए। कोशी नदीले सिंचेको यो भेगमा अझै कायम राईहरूको जमिनदारी शानको सङ्केत हो, यो। त्यहाँका राईहरूमध्ये कतिपयसँग अझ्ै पनि ६० बिघासम्म जग्गा छ र उनीहरूको जीविकाको मुख्य माध्यम कृषि नै हो। जग्गावाल राई घरमूलीहरू अझ्ै पनि खेतमा काम गर्दैनन्। खेतीका लागि अरूहरूले मजदुरी गर्छन्। १६ फागुनको मध्यान्हमा बाजितपुरको खेतमा चरा धपाउँदै गरेका जयदेवसिंह (६५) र उनकी श्रीमती रमादेवीसिंह राई (६०) ले आफूहरू जमिनदार परिवारका भएकाले काममा रेखदेख मात्र गर्ने गरेको बताए। शुरुमा असीमित भूमि भए पनि तीनपाने (मदिरा)मा मस्त हुने बानी र स्थानीय राजपुत जमिनदारहरूको चलाखीका कारण अहिले धेरै राईसँग ज्यादै कम मात्र खेत बाँकी रहेको रहेछ। बिहारमा जमिनदारको रूपमा डफरखाका पुरनसिंह वान्तवा राईको ठूलो ख्याति छ। १४ सय बिघा जग्गाका मालिक पुरनसिंह राई शिक्षा र समाजसेवाको क्षेत्रमा पनि धेरै नामी थिए। सन् १८८० को भदौमा कोशी नदीले ल्याएको विनाशमा पुरनले उद्धारका लागि डुङ्गा परिचालन गरेर मानिसहरूलाई अन्नको व्यवस्था गरेपछि भागलपुर (अहिले सुपौल) का तत्कालीन अङ्ग्रेज कलेक्टर विलियमले घरैमा आएर उनको सम्मान गरेका थिए। सन् १८९८ मा सुपौल सब-डिभिजनको पहिलो हाईस्कूल स्थापनामा पनि पुरनसिंहको महत्वपूर्ण योगदान रह्यो। अहिले पनि उनका सन्ततिसँग प्रति परिवार ५० बिघासम्म जमिन छ। पुरनसिंहका एक जनाति अमरकुमारसिंह आफूले थाहा पाउँदासम्म पनि नेपालको मोरङ र बिहारमा गरेर ७०० बिघा जमिन रहेको बताउँछन्। उनी भन्छन्, “तर, बाजे (कुँवर सिंह) बितेपछि रेखदेख भएन, उताको जमिन उताकाहरूले नै खाइदिए यता पनि हदबन्दी र बाँडेर, खाएर सिद्धियो।” डफरखामा प्रद्युम्नसिंह (७१) र लीलारामसिंह (६८) दाजुभाइको पनि ५० बिघा जमिन छ। “जाँड-रक्सी खाएर बस्ने सुरो जात राईहरूको थोरबहुत जमिनदारी शानमान अझ्ै कायम छ, रोपाइँ-कटाइ-पिसाइ सबै अरूले नै गर्छन्”, कवि तथा शिक्षक ध्रुवनारायणसिंह भन्छन्, “तर, समयक्रमसँगै अन्य समुदायका मानिसहरू शिक्षा र धन दुवैमा अगाडि आएकाले राईहरू सीमान्तकृत हुने अवस्था छ।” कर्मथलो नेपाल बिहारका राईहरूमध्ये विशेष गरी शिक्षण पेशा रोजेकाहरूले नेेपाललाई कर्मथलो बनाएका छन्। पढ्न र पढाउन नेपाल आएर यतै विवाह गरेपछि बिहार नफर्कनेमा संभवतः प्रा.डा. शम्भुनारायण सुधांशु पहिलो बिहारी राई हुन्। २०२२ सालमा सुपौलको बाजितपुरबाट आएका सुधांशु त्रिविमा ३० वर्ष प्राध्यापन गरेर अहिले विराटनगर-१३ मा सेवा निवृत्त जीवन बिताइरहेका छन्। बाजितपुरकै माधवसिंह राई र भानुप्रतापसिंह राई सुधांशु का छिमेकी छन्। माधवसिंह जुट विकास कम्पनी र भानुप्रताप शिक्षक काम गर्दागर्दै नेपालको स्थायी नागरिक भएका हुन्। विराट साइन्स क्याम्पस र नेशनल एकेडेमी साइन्स एण्ड कमर्स कलेजका संस्थापक प्रमुख रहेका प्रा.डा. सुधांशु २०६० मा महेन्द्र मोरङ क्याम्पस विराटनगरबाट सेवा निवृत्त भएपछि धनगढीस्थित नेशनल एकेडेमी अफ साइन्स कलेजका पनि भए, दुई वर्ष। त्रिवि अङ्ग्रेजी विभागका सह-प्राध्यापक डा. विष्णुसिंह राई पहिलो पटक २०३४ सालमा शिक्षक बनेर धनकुटा आएका थिए। २०४१ सालमा काठमाडौं पसेका उनी अहिले कीर्तिपुरका स्थायी बासिन्दा हुन्। डफरखाका ज्ञानप्रसाद चाम्लिङ काठमाडौंमै अग्नि इन्कर्पोरेटको मार्केटिङ विभागमा छन्। खोटाङको बाकसिलामा जागेश्वरसिंह राई र धनकुटाको चुङवाङमा खड्गनारायणसिंह राईले पढाइरहेका छन्। कमल रिमालको सहयोगमा अतीतदेखि वर्तमानसम्म आफ्नो खेतीमा अन्य समुदायलाई काममा लगाउँदै बाजितपुरका जयदेवसिंह राई। खम्बुवानबाट हराएका सन्तानहरू नामक पुस्तकका अनुसार, अङ्ग्रेजको फौजी सहयोग लिएर फर्कने विचारमा रहेका हतुवाका राजा अटलसिंह सन् १७७२/७३ तिर बिहार झ्रेको हुनुपर्छ। तर, अटलसिंह बिहार पुगेकोमा भने शङ्कै छ, किनभने उनी सख्त घाइते थिए। उनको छोरा टेकवीरसिंहको जीवन युद्ध सहायताका लागि अङ्ग्रेजकहाँ धाउँदैमा बित्यो। शरणमा आएका राईहरूलाई गोर्खाली विरुद्ध प्रयोग गर्न सकिने एउटा गतिलो कार्डको रूपमा हेरेका अङ्ग्रेजहरूले भने चाहेजति जमिनदारी, रैती र राजनीतिक सुरक्षा मात्र दियो, सैनिक सहायता कहिल्यै दिएन। टेकवीरसिंहका छोरा गुमानसिंहले पनि बिहारको उब्जाउ मैदानलाई कहिल्यै आफ्नो भूमि ठानेनन्। अङ्ग्रेजहरूको भुलभुलैयाले उनलाई रिसाहा बनायो, जुन स्थानीय गरिब रैतीहरू माथि पोखिन्थ्यो। उनले सनक र रक्सीमा जीवन व्यतीत गरे। उनीपछि जातका राजा भएका राजनसिंह (१८३०-१८८०) ले क्षेत्रिनी भित्र्याएपछि राई समुदाय क्षुब्ध बने। नेपालमै हिन्दू प्रभावमा परेका उनीहरू मैथिल संस्कृतिमा चुर्लुम्म डुबे। त्यो बेलासम्ममा सबै राई घराना र परिवारले आफूहरूलाई चौरासी राई भन्न थालेका थिए। राईहरूले आफ्नो जमिन र लडाकू ख्याति कसरी गुमाउँदै गए भन्ने कुरा सादरसिंह चाम्लिङ (१८३५-१८९०) र अचलसिंह चाम्लिङ (१९०५-१९८०) को प्रसङ्गले बुझाउँछ। सादरसिंहको १४४८ बिघा जमिनमा स्थानीय जमिनदार वनवारी बाबुले दाबी गरेपछि लडाईंको स्थिति आयो। वनवारीले पश्चिम बिहारका छपरादेखि र बलियासम्मका लठैत झिकाए भने सादरसिंहका लागि चौरासी राईहरू लछमिनिया खोला किनारमा भेला भए। जब लडाईं शुरु भयो, लौरो घुमाउने लठैतहरू धनुकाँड र [Disallowed String for - inappropriate]लीका मट्याङ्ग्राको निशाना बने। यसबाट सादरसिंहको जमिनदारी त जोगियो नै, चौरासीका राईहरूको लडाकूपन पनि एक प्रकारको आतङ्क बनेर पुनः स्थापित भयो। त्यसपछि वनवारीले अदालतमा भएभरका नक्कली फौजदारी र देवानी मुद्दाहरू दर्ता गराए, जुन रक्सीमा मस्त भएर बस्ने सादरसिंहले थाहै पाएनन्। जति बेला थाहा पाए, त्यस बेलासम्म मुद्दाहरू उनलाई १४ वर्ष जेलमा राखेर सुकुम्बासी बनाउने चरणमा पुगिसकेको थियो। त्यसपछि, सुपौलमा डर र सम्मानका साथ हेरिने अचलसिंहको पारिवारिक झ्गडाले चौरासीका राईहरूलाई झ्नै कमजोर बनायो। बीसौं गाउँमा मालिक र बुढुवा भनेर पुकारिने अचलसिंह विरुद्ध उनकै दुई भाइ र भतिजहरूले अंश मुद्दा हालेपछि पूरै चौरासी दुई पक्षमा विभाजित भयो। सादरसिंहको पालामा जस्तै अचलसिंहले आफ्ना पक्षका केही राईसहित स्थानीय मधेशीहरूलाई खेतमा तैनाथ गरे। तर, धान उठाउन चाहने राईहरूको जमातसँग न [Disallowed String for - inappropriate]ली थिए न त पहिलाको जस्तो प्रतिबद्धता नै। चौरासीका राईहरूले पुर्ख्यौली युद्धकौशल गुमाइसकेको देखियो। यो घटनासँगै बिहारका राईहरूको पहिलो सङ्गठित संस्था गोर्खा परिषद्को पनि मृत्यु भयो। १९६९ मा शम्भुनारायणसिंह सुधांशु ले चौरासीका राईहरूलाई पाइलो नामको पत्रिकामार्फत आफ्नो संस्कृति र गौरवपूर्ण विगत सम्झ्ाउने प्रयास थालेकोमा पछि उनी आफैं नेपाल पसे। चौरासीका पठित युवकहरूले १९७६ मा प्रगतिशील राई समाज खोले, तर त्यो पनि पाँचै वर्षमा धरासायी भयो। यसबारे डा. राई लेख्छन्, “समाजको सात सदस्यीय कार्यसमितिमा दुई जनाबाहेक सबै स्नातक थिए। उनीहरूले जागिर पाएपछि समाजको लागि समय रहेन।” राई समुदायका एक मात्र राजनीतिज्ञ विक्रमसिंह चाम्लिङ (१९३५-१९७६) फल खाने बेलामा खेतीकिसानीमा फर्कंदा चौरासीका राईहरूको राजनीतिक पहुँच सधैंका लागि हराएको निचोड डा. राईको छ। हुन पनि, समाजवादी पार्टीका तर्फबाट तत्कालीन त्रिवेणीगञ्ज अञ्चल सचिव भएका र पटक-पटक जेल परेका विक्रमसिंह विधानसभा निर्वाचनताका पिताको मृत्यु भएर घर आएपछि कहिल्यै राजनीतिमा फर्केनन्। राजनीतिमा सहकर्मी कर्पुरी ठाकुर बिहारको मुख्यमन्त्री र अनुपलाल यादव मन्त्री हुँदा विक्रमसिंह खेतीमा मस्त भए। गैर-कृषि पेशामा जम्दै नयाँ पुस्ताः आफ्नै ग्यारेजमा विदुरसिंह नेपालका राईहरू सैनिक पेशामा जमे पनि जमिनदारीमा रमेका बिहारका राईमध्ये जम्मा तीन जना (हवल्दारसिंह वान्तवा, मोसाहेवसिंह चाम्लिङ र राम बेचनसिंह पुमा) ले सेना र प्रहरीमा जागिर खाए, त्यो पनि सन् १९५० अघि। समय क्रमसँगै जमिनदारी गुम्दै गएकाले नयाँ पुस्ता भने अहिले अन्य पेशा-व्यवसायमा लाग्न थालेका छन्। त्रिवेणीगञ्ज बजारको पश्चिम छेउमा देखिएको चाम्लिङ मोबाइल स्टोर उनीहरूको आर्थिक गतिविधि गाउँदेखि बजारतिर सर्न थालेको सङ्केत हो। यो बजारमा जयन्तसिंह राईले मोबाइल पसल, विष्णुसिंहले ट्रयाक्टर पार्टस्, विदुरसिंहले मोटर ग्यारेज, चित्तरञ्जनसिंह राईले प्रिन्टिङ प्रेस र नवलभाष्कर राईले बोर्डिङ स्कूल चलाएका छन्। प्रिन्टिङ प्रेससँगै मोबाइल मर्मत पसल समेत चलाइरहेका चित्तरञ्जन (३६) जागिर नपाएपछि व्यवसाय शुरु गरेको बताउँछन्। पढालेखा राईहरू स्वाभाविक रूपमा खेती छाडी जागिर रुचाउँछन्, तर कठिन प्रतिस्पर्धा गर्नुपर्ने सरकारी सेवामा उनीहरूको राजनीतिक पहुँच नहुँदा अन्य व्यवसायमा लागेका छन्। स्कूल सञ्चालक नवलभाष्करा छापाखाना सञ्चालक चित्तरञ्जन। बाजितपुरका नवलभाष्करसिंह राई (२६)ले पनि त्रिवेणीगञ्जमै १-५ कक्षासम्मको अपोलो एकेडेमी आवासीय बोर्डिङ स्कूल चलाएका छन्। आठ शिक्षक रहेको उनको स्कूलका १०० विद्यार्थीमध्ये चार जना नेपालीभाषी छन्। पढेर बेरोजगार रहेका आफ्नै भाइ देव र आफन्तहरू समलबहादुर राई, राणाकुमार राई र भुपेन राईलाई शिक्षक नियुक्त गरेका नवलले आकर्षक रोजगारी समेत सिर्जना गर्न सकिने हुनाले स्कूल चलाएको बताए। साहित्य र सङ्गीत मैथिल, हिन्दी र अङ्ग्रेजीमा कलम चलाउने ध्रुवनारायणसिंह राई (हे.तस्बिर) को अंगुठा बोलता है खण्डकाव्य (१९९७) र फेस द मिरर (२००३) निबन्ध सङ्ग्रह प्रकाशित छन् भने हिन्दी महाकाव्य द्वापर गाथा प्रकाशोन्मुख छ। प्रगतिशील लेखक संघ, सुपौलका अध्यक्ष समेत रहिसकेका उनका असङ्ख्य फुटकर निबन्ध, कविता, गीत, गजल, लघुकथा प्रकाशित छन्। बिहारको सम्मानित साहित्यकारमा गनिने उनले निराला, जनतरङ्ग लगायतका साहित्यिक पत्रिकाको सम्पादन समेत गरेका छन्। नयाँ पुस्ताका राईहरू भने साहित्यमा उति सारो उत्साहित देखिँदैनन्। ध्रुवनारायण अघि हलधरप्रसादसिंह इन्दुले साहित्य र सङ्गीतमा ख्याति कमाएका थिए। हिन्दी साहित्यमा एमए र सङ्गीतमा विम्युज उनी मधेपुराको आरकेबीए हाईस्कूलका संस्थापक प्रधानाध्यापक पनि हुन्। उनका रचनाहरू आगराबाट निस्कने सरस्वती संवाद र पटनाको अवान्तिका मा प्रकाशित हुन्थे। बिहारको सङ्गीतमा ख्याति कमाउने अन्य राई कलाकारमा अधिकलालसिंह फूलमोछा र गोपालसिंह डालोहोंछा पनि हुन्। इलाहावाद विश्वविद्यालयबाट सङ्गीतमा स्नातक अधिकलाल आफ्नो समयका नामी तबलावादक थिए। २०५३ सालमा श्री पशुपतिनाथ सङ्गीतकला प्रतिष्ठान, काठमाडौंबाट समेत सम्मानित गोपालसिंह जनस्तरमा भिजेका कलाकार थिए। तबला, हार्मोनियम, भ्वाईलिन लगायतका वाद्ययन्त्रमा सिद्धहस्त उनी राम्रा शास्त्रीय गायक थिए। उनी मैथिलीका झुला, कजरी, फगुवा लगायत महाकवि विद्यापति रचित गीतहरू गाउँथे। दुई दशकदेखि विराटनगरमा साधना सङ्गीतालय चलाइरहेका सङ्गीत गुरु कुशेश्वर पनि बिहारकै राई हुन्। बिहार चटगाउँका विनोदसिंह राईले धरानमा सुर साँझ् सङ्गीत विद्यालय चलाएको एक दशक भइसक्यो। पूर्वाञ्चलव्यापी सङ्गीत आइडलको आयोजना गर्ने धरानकै सरगम सङ्गीत विद्यालय सञ्चालक ओमप्रकाश राई पनि चटगाउँकै हुन्। दीपक लिम्बु, प्राश्ना शाक्य, विष्णु चेम्जोङ, झुमा वनेम आदि उनका चेलाचेली नेपाली सङ्गीत क्षेत्रमा जमिसकेका छन्। २० वर्षमा तीन पटक मात्र बिहारको आफ्नो जन्मथलो पुगेका ओम भन्छन्, “बिहारमा जन्मे पनि पुर्खाको थलोमै खुशी छु।” प्रकाशित मिति: १-१५ चैत २०६८ http://www.himalkhabar.com/new...
_____ · Apr 13, 2012 5:45 AM · 2,499 views
Nice article. Ancestral root is one of the most valueable assets. I am not a hater and racist but this article has disqualified the logic of " Chhetri-bahun le janajati ko bhasa, dharma, sanskriti nasta garidiye" and other similar allegations [MERO EKJANA RAI SATHI LE MERO MUKH MAI BHANEKO KURA HO YO]. Bihar ma ta chhetri bahun thiyenan hola ni haina? Yo lekh ko aadhar ma bihari rai haru bhanda nepali rai haru aafno dharma, sanskriti, bhasa ko jagerna garna safal raheka chhan bhanne kura prasta huncha. Nepal ma uniharuko sanskriti jivit raheko chha. Chhetri ra bahun lai harek jayaj- najayaj kura ko taro banaune atibadi mitra harule bujhna jaruri cha ki jun sukai samaj ma pani sanskritik adan pradan (acculturation) huncha bhanera. Ma chhetri ko chhoro bhae pani rai haruko chandi nach ma kati patak samel bhaeko chu. Nepali samaj ko ekata kayam rahos !! Jay Nepal
NALAPANI · Apr 13, 2012 12:19 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion