मिती र तिथी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

भाग १     "वोइ दिपिका, तँ खास जन्मेको चै कहिले भन्त? आफुले एउटा भन्छेस, फेरी ड्राइभर लाइसन्स मा अर्कै छ। बाबा मामुको फोन आउछ फेरी "Happy Birthday, छोरी" भन्दै अर्कै दिन, खास त जन्मेको चाइ एक्ज्याक्ट कहिले हो त्यो भन्त मलाई"---सारीकाले दिक्क मान्दै सोधेको थीइ मलाई एक चोटि।    "खोइ मलाई के था? एक्ज्याक्ट जन्म्या धरी याद हुने भईदेको भए त मेरो स्मरण शक्ती को बयान जताततै सुनिहाल्थिस नि। जा न गएर हाम्रो टोलको भैरब दाइलाई सोध। उनको कालो गाई ब्या दिन जन्म्या हो म।" ठट्टा गरेको पनि राम्रो सँग नबुझ्ने सारीकालाई जिस्काउन रमाइलो लाग्थ्यो मलाई।    उस्लाई त जे भन्दे नि भएको थ्यो। आफ्नो साथी, जसरी जिस्काइदेनी भयो। तर मेरो लागि आफ्नै जन्मदिन पनि जटिल समस्या भएर धेरै चोटि उभीसकेकोथ्यो र अझै छ। यो समस्या एकाएक अहिले देखिएको कहाँ हो र? जन्मन त स्वस्थानी सांगे पुर्णिमा को दिन जन्मेको थिएँ। दुई बर्ष पनि राम्रो सँग पुरा नभइ आमालाई हतार भयो मलाई स्कुल राख्न । शब्दहरु टिप्नलाई मैना चरी जस्तो थिएँ रे फेरी हजुरबुवा सँग ग्रह साह्रै मिल्ने आफ्नो। अरु नाती नातिना चले भने "बाँदर मरेर जन्मेका भुराहरु कती चल्न सक्छन" भन्ने बुवाले मैले चल्दा चै उल्टो "पुर्ने को दिन जन्मेकी मेरी नातिनी कती टाठी छे" भन्नु हुन्थ्यो रे। सधैं पाएसम्म र मिलेसम्म बुवा सगै धुनुमुनु खेलेर बस्ने हुँदा बुवाका शब्दहरु पनि पुटुपुटु टिप्न थालेछु। आठ महिनाको उमेर देखी बोल्न सुरु गरेको म, दुई बर्ष सम्ममा त कुराको भकारी मात्र नभएर बुवा सँगै भाका हालेर गीत पनि गाउन थाल्ने भएपछी बाबा आमाले नजिकैको स्कुलमा नर्सरिमा भर्ना गरिदिनु भएछ।    दार्जलिङबाट भर्खर सरेका दम्पतिले खोलेको त्यो नयाँ स्कुलमा नर्सरिमा जम्मा ५ जना थियौ। अरु बच्चाहरु आफ्नो आमा बाबाले छोडेर जाँदा डाँको छोडेर रुन्थे रे म चै खेल्न पाइहालिन्छ किन यस्तो अलाप र बिलाप गरेको होला भनेर उनिहरुलाई हेरेर बस्थे रे। तेइ उमेर देखी नै स्कुलमा रमाइलो मान्न थालेको थिएँ रे। न त म पहिलो दिन रोएँ रे न त दोश्रो नै। घर नजिकै स्कुल थ्यो रमाइलोमै सकाएछु नर्सरी।   क्लास उक्लिने बेला भयो। जानु पर्ने त लोवर के जि मा थ्यो तर बाबाहरुकै पढाई त सिधै ३-४ कक्षा बाट सुरु गर्दिनु भएको बुवालाई मेरो लोवर के जि र अप्पर के जि चित्त बुझेनछ। " बाबु, अहिले अप्पर र खप्पर गर्न थालिस भने छोरीले ३० बर्षाँनी SLC दिन्न। खुरुक्क १ मा हाल्दे, सकिन भने झार्लास" भन्नु भएछ। बुवाले त आफुले जे गरेको तेइ भन्नु भयो तर ३ वटा बिषयमा स्नातकोत्तर गर्नु भएको मेरो बाबाले पनि खुरुक्क लगेर १ मा भर्ना गर्दिनु भएछ।   अंक नसिकेको बच्चालाई जोड घटाऊ गर्नु पर्‍यो, शब्द चिन्न सुरु मात्र गरेकोलाई वाक्य बनाउनु पर्‍यो, सजिलो त के हुन्थ्यो? स्कुल को पढाईले नपुगेर आमाले घरमा रटाउन थाल्नु भएछ। तेइ उमेर देखी संघर्ष गर्न सुरु भएको रहेछ। तीन महिना जतिमा धेरै नै प्रगति देखाएछु, क्लास झार्न नपर्ने भयो।    खुरुखुरु पढ्दै क्लास उक्लदै थिएँ। दुई क्लास देखी क्लास टप गर्न थालेको ४ क्लास सम्म क्लास टपर नै रहेँ। तर घरमा त्यतिले आमा र मामाको चित्त बुझेन। पुष माघ को बिदामा मामाघर गएको थिएँ एक महिनालाई। मामाको छोरा सुबिन दाई ५ क्लास सकेर छ मा जान लाग्नु भएकोथ्यो। मामाले त्यो दुई महिनाको छुट्टी पनि कुर्न नसकेर छ क्लासको किताब किन्दिसक्नु भएछ। मामा उस्तै आफ्नो फेरी।     मामाघरमा आफ्नो कुरा मिल्ने साथी भनेकोनै तेइ एकजना दाई, उही नै किताब लिएर पढ्न बसेपछी मैले नि के गर्नु? उही सग पढ्न लागे। पढ्नु त उस्कै पुरानो ५ को किताब पर्नेथ्यो तर उस्ले नयाँ छ क्लासको किताब पढ्दा आफुलाई उस्को पुरानो ५ को किताब पढ्न के मन लाग्थ्यो? अझ तेस माथि उस्ले तुजुक देखाउथ्यो "यो त मैले उहिले पढेको, तँ यो बल्ल पढ्ने?" भनेर।    सिधासिधी हार मानिहाल्न मन ले मानेन। उही सग बसेर कनी कुथी भएनी छ कै किताब पढ्न थालेँ। मामाले बेला बेलामा जाँच लिनु हुन्थ्यो। सुबिन दाई अलि भुस्कोल पढ्नमा सानै देखी। ध्यान खाली पढ्न भन्दा कमिक्स् को नागराज, कुन कमिक्स सबै भन्दा महङो, साइकल को हावा कसरी फुस्काउने, रेस्लिङ्मा कस्ले कस्तो लक लगाएर पछार्छ तेस्ता कुरामा बढी हुन्थ्यो। पढाईमा मामाले दाई भन्दा म नै बढी तेजिलो देख्नु भएछ, कुरा आमाकाँ पुग्न बेरै लागेन।     बाबा जागिरको सिलसिलामा बाहिर जिल्लामा हुनुहुन्थ्यो, आमाले खुरुक्क प्रिन्सिपल सँग कुरा गरेर पाँचै नपढाइ छ को एक्स्प्रेस बसमा चडाइदिनु भयो। छ क्लास मेरो लागि सजिलो भएन। धेरै कुराहरुमा अन्य साथीहरुले भन्दा मैले बढी मेहनत गर्नु पर्थ्यो। जाँचहरु पनि पहिले पहिले भन्दा धेरै नै छिटो आएको जस्तो लाग्थ्यो। सधैं पढाईमा राम्रो भनेर चिनिएको विद्यार्थीलाई पहिलो दोश्रो त के दसौ भित्र पनि नपर्दा आत्मग्लानि हुन्थ्यो। पढाइको बिषय लिएर कहिले पिर गर्न नपरेको मेरो बाबा र आमालाई कता कता मनमा घोच्न थालेछ र आफुले गरेको गल्ती सेतो पर्दा झै टड्कारै देख्नु भएछ।   क्लासमा राम्रो गर्न नसक्दा रिजल्ट आउने दिन त झन बढी दिक्क लाग्थ्यो। पहिले पहिले त्यो दिनमा आफु उत्साहित हुने गरेको सम्झेर दुखी हुन्थेँ। तलै हार मान्यौ भने त माथि चड्ने खुड्किलो नि बन्द भईहाल्छ नि भनेर बाबाले नै उल्टो सम्झाउनुहुन्थ्यो। हरेक बिषयमा थोरै अंक देख्दा साह्रै मन दुख्थ्यो। सबैले हेपेझै लाग्थ्यो। कच्ची बाटोमा लठ्ठिले साइकल को टायर गुडा जस्तो लगलग गर्दै गूड्यो त्यो बर्ष आफ्नो पढाई।    एक चोटि नेपाली पढाउने सर ले "भगवान नमान्नेलाई नास्तिक भन्छन भने मान्नेलाई के भन्छन?" भनेर सोध्नु भयो मलाई, मैले भन्न सकिन। सबैको सामु "यही ताल हो भने तिमी यही क्लास मा फेरी बस्छौ" भनेर प्याच्च भन्नु भयो। एउटा जाबो नास्तिक र आस्तिक भन्न नजान्दैमा क्लास नै नउक्लिने त के हुन्थ्यो होला र? तर त्यो बेलामा सिधा अरुलाई हेर्ने आँट म मा भएन। मुटुमा सिन्का बिजे झैँ भयो। बिजेको त्यो सिन्कालाई निकाल्न मैले सिन्काले नै आफ्नो घाऊ खोतल्नु पर्थ्यो। त्यो बुझ्न पनि बेर लागेन।    "इख नभएको मान्छे र बिख नभएको सर्प काम छैन बुझिस्? " भनेर बुवाले फुपु SLC मा फेल हुँदा कुर्ली कुर्ली भन्नु भएको मेरो त्यो बाल मस्तिस्कमा गहिरो छाप परेकोथ्यो। इखालु म सानै देखी थिएँ। मेहनत जारी नै रह्यो। क्लास मा दोश्रो सम्म धेरै चोटि भएँ तर १० क्लास सम्म नै फेरी टपर भने हुन सकिन। अब बाबा आमाले गल्ती नदोहोर्याउने प्रण गरिसक्नु भएकोथ्यो।    जती हुनु गल्ती पहिले भईसकेको रहेछ। त्यसरी हुँदो न खाँदो को दु:ख पाएर पढाई हुइक्याउने हुँदा १० कक्षा मा पुग्दा १४ बर्ष पनि लागिसकेको थीइन। आफुलाई त केहि पिर परेको थिएन तर एक्कासी स्कुलको अकाउन्टेन्ट नकुल सरले बोलाएर SLC दिन तिम्रो उमेर पुगेन भन्दा पो छाँगा बाट खसे झैँ भएँ।     बाबा काठमाडौंमा हुनुहुन्नथ्यो र आमा पनि बाबा सँगै जानु भएकोथ्यो। नौ र दस क्लासमा म हस्टेल मै बस्थेँ। अब SLC दिन नपाउने भएँ भनेर म तर्सेको देखेर नकुल सरले ले हत्तपत्त मलाई अब फर्म भर्दा २ बर्ष बढाउन पर्छ अरु त केही हुन्न भन्नु भयो। एक दिन मै २ बर्ष बढ्दा आफु नि दङ परे।त्यो उमेरै नै त्यस्तो। जती बढ्यो उती रमाइलो लाग्ने। जन्मदिने आमाले नै थाहा नपाई मेरो २ बर्ष बढ्यो। जन्म साल, दिन, बार, तिथी सबै उनैले राखेर नयाँ न्वारन गरिदिए।   पछी बाबालाई उहाँ नभाबेलामा मेरो फेरी न्वारन भयो भने जस्को हल्का भान बाबालाई पहिले नै परीसकेको रहेछ।     "साल बढाएपनी बेबकुफ ले दिन त त्यही Jan 31st नै राख्न पर्ने नि, अब पछी सम्म गाह्रो हुन्छ", बाबाले भन्नु हुँदा, उमेरै त बढीसकेपछी जाबो त्यो गते त जुनसुकै भएनी के फरक पर्छ र जस्तो लागेको थ्यो। आफुले जती जानेको कसैले छैन जस्तो गर्ने उमेर, खुकुरी भन्दा कर्दा बढी लाग्ने उमेर, बाबाले भन्नु भएको के बुझ्नु मैले? हुन पनि गते को महत्व नै कहिले भएन। पुर्णिमा तिथी भनेर जन्मदिन मनाउन सधैं तिथी कुर्नुहुन्थ्यो घरमा। त्यो तिथी फेरी मनलाग्दी गरेर आउथ्यो। कहिले पुषमा पर्याछ कहिले माघ मा। कती चोटि त फाल्गुनमा नि परेको हुन्थ्यो। साथीहरु को जन्मदिन हरेक बर्ष त्यही गते आउथ्यो आफ्नो चै महिना नै एउटै परे पनि धन्य ।हरेक बर्ष मेरो जन्मदिन कहिले छ यो बर्ष भनेर कि बाबा आमालाई सोध्न पर्ने कि त नयाँ बर्षको क्यालेन्डर आयो कि खोज्न पर्ने।    "असत्तीहरुले त्यसरी पुर्नेमा जन्मेको मान्छेलाई चतुर्दशिमा पुराइदेछन। पुर्ने सम्म नि कुर्न नसकेका कालहरु",उता हजुरबुवा उर्लेर सम्हाल्न गाह्रो। बुवालाई त्यो कागजि जन्ममिती मा नि तिथी मिलाएनन् भन्ने पिर।     क्रमश: Last edited: 17-Feb-12 10:06 AM

Dipika02 · Feb 17, 2012 9:57 AM · 51,673 views

39 Replies · Showing 21 - 39
Page 2 of 2

@ serial   "परेको म बेहोरुला " लौ न बौचा, के पर्न सक्छ र त्यस्तो सहयोग को लागि तिम्रो ढोका ढक्ढकाउन? खुसुक्क भन त मलाई अहिले नै।     @ rahulvai "को हो प्रसंशा भनेर नसोध्नु नि फेरी "--- सोध्दिन ठुल्दाइ सोध्दिन। अस्तिन हजुरको घरमा आउदा म:म को अचार बनाउने उही त हो नि। मैले पनि चिनेको छु नि दाई।   @ Nepal ko chora   यती भाग सम्म त आफ्नै दिन हरु सम्झियौ। अब पनि अर्को भाग पढेर पनि तेइ भन्यौ भने चै मै झस्किन्छु है नेप्चु।       @ bhakte dai   भने पछि हजुरको पनि हाम्रै जस्तो स्थिति रहेछ भक्ते दाई। प्रशंसाका शब्दहरुको लागि धन्यवाद।       @ taatopaani   लेखाइ बग्न त तातो पानी मै बगेको होला नि है ? चिसो पानी आफुलाई नि खाने पानी बाहेक अरु त पटक्कै मन पर्दैन। लेखाइ मन पराइदिनु भएको मा धन्यवाद।  

Dipika02 · Feb 24, 2012 12:44 PM

अन्तिम भाग सम्झन त सम्झेँ तर बुढीलाई पो के भन्ने? उु त्याँ चस्मा नाक को डाँडी बाटै तल झरिसक्दा नि मत्लब नगरेर आफु झुक्केको हो कि भनेर एकचित्तले मेरो फाइल खोजिराथी।   "Oh god! Is it already Oct 5th today? I completely forgot about it"---- अब चै बुढीले मार्ने भई भनेर आफ्नो गल्ती सुधारन लागेँ।   "Yes, you did"---- ठस्स पर्दै त्यो बलून र चक्लेट फेरि मै तिर धकाल्दै धोत्रे स्वरमा भनी। पहिला कती उत्साहले राखिदेकी थीइ होली बिचरीले मेरो टेबलमा। तैले यो किन राख्द्या मेरो टेबल मा भनेर उल्टो सोध्न गएपछी नरिसावस पनि कसरी? अब केही बोले भने चै बुढीले उचालेर पछार्न बेर लाँउदिन भनेर ङिच्च दात देखाउदै "Thank you so much" भनेर सुरुक्क निस्किएँ। आफ्नो टेबल मा तेत्रो फुकेको बलून राखेपछी "Oh! today is your birthday?" भन्दै जन्मदिनको शुभकामना दिनेहरु पनि कम भएनन्। तिनिहरुलाई "ए होइन होइन, मेरो जन्मदिन त तीन महिनामा आउँदैछ। यो त नकुल सर ले फर्म भर्दा राखिदेको" भन्न भएन। शुभकामना लिदैँ बसे।   पछी advisor को मद्धतले robot फेरी मच्चिन थाल्यो। सेमेस्टर सँगै पढाई सकियो। कलेक्सन को काम छोडेर आफ्नै बिषय सम्बन्धी काम गर्न थालियो। तर यो जन्मदिनको सेरोफेरो भने उस्तै नै रह्यो। सक्कली जन्मदिन केबल साथी भाईका लागि भए। अझ तिथीले त बुवा सँगै आफ्नो अस्तित्व नै लगेको जस्तो लाग्थ्यो। आफ्नो परिवारलाई बाहेक अरुलाई त याद नि हुँदैनथ्यो।   काममा आफ्नो जन्मदिन सधैं Oct 5th मा आउन थाल्यो। सुरु सुरुमा त HR ले एउटा केक ल्याएर दिन्थी। पछी हाकिम र टिम मिलेर लन्चमा लान थाले। हाकिम ले चै बिहानको ब्रेक्फास्ट पनि ख्वाउन थालेकोथ्यो। हुन त नख्वाओस पनि कसरी? काम लगाउन लाई शनिबार र आईतवार धरी छोड्दैन। उ आफु नि काम गर्न राक्षस नै जस्तो थ्यो र अझै छ। बिहान सातै बजे आइसकेको हुन्छ अफिस। बेलुका छ बजे सम्म नि उस्को घर जाने सुर सार हुन्न। अरु ले पनि तेस्तै गह्रोस भन्ने सोच्छ। उस्को पो श्रीमतीले बाल बच्चा पनि लिएर उस्लाई छोडेर गैहाली। अर्को एउटा केटी सँग कुरा छिन्ने प्रकृया चै सकेर सँगै बस्थ्यो। त्यो केटीलाई मन पर्ने भएर सुगा, कुकुर, बिरालो सबै पालेर घरै चिडियाखान जस्तो बनाएर बसेकोथ्यो। त्यो केटीले नि दुई बर्ष जती त झेलिछे। पछी उु घरमा नभएको बेलामा उस्का सबै समान उठाएर हिन्दिछे। सुगा एउटा छोडिछे बाँकी चै उस्का लुगा धरी लगि भनेर सुनाउन आइपुगेकोथ्यो हामीलाई। अब त्यो सुन्य घर मा उु आउछ भनेर कुर्ने कोही छैन अनी जती खेर गएनी भयो। सबैको त्यस्तो कहाँ हुन्छ र?     यही जन्मदिन सँगै मान्छेका जीवनचक्र पनि घुम्ने रहेछ। जती जन्मदिन आयो उती उमेरको खुड्किलो चड्नु को साथै कर्तब्य को बोझ पनि काँधमा थपिने रहेछ। पढाई सकियो, काम सुरु भयो, घरमा बिहेको कुरा हुनथाल्यो। बाबा आमा को घर छोडेपछी एक स्वतन्र जीवन बाँचिराखेको मान्छेलाई अर्को बन्धनमा बाँधिन एक किसिम को छुट्टै डर हुने रहेछ। बिहे नै भनेपछी त बाँकी जिन्दगी उही सँग बिताउन सक्छु भन्ने विश्वाश आफुलाई पूर्ण रूपमा हुन पर्‍यो। मन मिल्न पर्‍यो। मान्छे चिन्न पर्‍यो। बिहे गरी सकेपछी चिन्छु भन्न लाग्दा मान्छे चिन्न ढिलो होला भन्ने डर। बिहेको प्रस्ताब हरुमा मैले अनिल लाई छाने। उहाँको बानिहरु सँग परीचित हुन र आफ्नो बानिहरु सँग उहाँलाई परिचय गराउन लग्भग १ बर्ष लाग्यो। एक अर्का सँग जीवन बिताउन सक्छौ भन्ने पुरा विश्वाश भएपछी बिहे भयो।   "बिहे भन्दैमा सिङ पुच्छर पलाउने कहाँ हो र?" भनेर आमाले भन्नु भएकोथ्यो, जीवन प्रकृया उस्तै रह्यो। उल्टो आफ्नो काँधको अधा बोझ अनिल मा राखिदिएँ। हाँसी हाँसी स्विकार्नु भयो। जीवन को रथ हुन पनि दुई पाङ्रा को सन्तुल भएमा मात्रै सहज सँग गूड्ने रहेछ। कहिले काही काम को भार सँगै दिनभरीको थकानले गह्रौ भएको टाउको र थकित आँखाहरु लिएर घर भित्र छिर्दा अनिल को हसिलो अनुहार ढोका मै पाउथेँ। उहाँले एकचोटि आफ्नो अङालोमा बाँधेर मायालु स्वरमा "थाक्यौ नानु?" भनेर सोध्दा त्यो सारा थकान एक पल मै तितर बितर हुन्थे। स्वर्ग पनि धर्तिमै छ कि झैँ लाग्थ्यो। दुबै जना को बिषय र काम को क्षेत्र एकै हुँदा सहयोग पाउनु का साथ साथै उहाँको भाले अस्तित्व लाई ठोस् नपरोस भन्ने कुरा पनि मैले सोच्न पर्थ्यो। कहिले काही जुझ्न नसकिने परिस्थिती आइपर्दा सम्झौता हामी दुबइले गर्नै पर्थ्यो। समग्रहमा भन्नु पर्दा हाँसो र खुशी को परीधिमा जीवन अल्झिन थाल्यो।   जीवनको पानामा नयाँ अध्याय सुरु भयो। मेरो गर्भमा हाम्रो सन्तान ले बास लिएको करिब नबौं हप्ता भैसकेको रहेछ। खुशी को सिमाना रहेन। मैले नै थाहा नपाई मेरो शरीर भित्र अर्को सानो भ्रुण को मुटु धड्किदै रहेछ। अचम्म लाग्यो। एक प्राण भित्र जिवित अर्को त्यो सानो प्राण प्रति को माया उम्लिएर आयो। पहिलो चोटि उस्को ढुक्ढुकी सुन्दा अनिल ले आफ्नो भावनाहरुलाई काबुमा राख्न सक्नु भएन। गह भरी आशु पार्नु भयो। उहाँलाई भेटेदेखी पहिलो चोटि उहाको गह मा मैले देखेको त्यो आशु मलाई झन प्यारो लाग्यो। उहाँलाई हेरिराखेँ। बात्सल्य प्रेम जताततै बाट छचल्किराथ्यो।   परिवारको नयाँ सदस्य को आगमन कहिले हुन्छ थाहा पाउन हामीलाई आतुर भईराखेकोथ्यो।   डाक्टर ले चार्ट हेरी र भनी," Your baby is due on Jan 31st". मलाई आफ्नो कान को नै विश्वाश लागेन एक्छिन त।   "OMG, I was born on the same day"------ मुख सम्म आइसकेकोथ्यो धन्न सम्झिहाले डाक्टर को अगाडि मेरो नक्कली जन्ममिती पेस गरिएको छ भनेर।   सुन्न त अरुको पनि सुनेको थिएँ आमा र सन्तान को जन्मदिन एउटै गते परेको तर आफ्नै पर्दा विश्वाश गर्नै गाह्रो भयो। आफ्नो जन्मदिन सम्झिए। बाबा आमालाई सम्झिएँ। तिथी पनि एउटै परेछ कि जान्न कौतुहलता मनमा जाग्यो। बुवालाई सम्झिएँ। उहाको सम्झना मानसपटल मा झन झन बढ्न थाल्यो।   "नानु, के भयो?"---- अनिल ले बिस्तार आफ्नो छातीमा मलाई टास्दै सोध्नु भयो।   आशुको नुनिलो स्वाद जिब्रो ले बल्ल अनुभव गर्‍यो। हर्षको आशु थ्यो त्यो, मिठो लाग्यो।     समाप्त   Last edited: 24-Feb-12 03:24 PM

Dipika02 · Feb 24, 2012 12:53 PM

Mind blowing....your story is wonderful and heart touching...plz do not stop writing..

bhustigre · Feb 24, 2012 2:39 PM

ल झक्कस सँग नै सक्यो यो कथा ह्याप्पी एन्डिङ त जहिले नि रमाइलो लाग्छ अब साथी ले कथा कती राम्रो लेख्छ भनेर भनी राख्नु त पर्दैन नि हैन थाहा भाकै कुरा हो तिम्रो परिवार मा आउन लाको नयाँ सदस्य ले अझै तिम्रो जीवन मा नयाँ खुशी र उमङ्ग ल्यावोस - एही छ शुभकामना

serial · Feb 24, 2012 3:03 PM

 नयाँ बर्षसंगै नयाँ खुसि आउँन लागेको (अहिले त आइसकेको हुनु पर्छ ) शुभकामना (सत्य घटनामा आधारित कथा भए )  जे होस् कथा सार्है राम्रो गयो !! अरु पनि पस्किदै गर्नुहोला !!

bhakte dai · Feb 24, 2012 5:13 PM

 साह्रै मार्मिक तथा स्वच्छ लेखाइ। प्रस्तुती झन बेमिसाल।  आगामी दिनहरुमा पनि यस्तै कथाहरु पढ्न पाइयोस।  लेखाइलाई निरन्तरता दिनु होला।  नानीलाई धेरै धेरै शुभकामना।

taatopaani · Feb 26, 2012 4:55 PM

Padhiyo ni khub ramaileri padhiyo ni

Dukhe · Feb 27, 2012 9:40 AM

@ bhustigre   प्रशंसा र प्रेरणा का लागि धन्यवाद भुस्तिग्रे ज्यु।     @ serial   साथी, परिवार मा आएको नयाँ सदस्य ले अब त तिमीलाई "दर्शन बौचा अंकल" भन्ने नै बेला भईसक्यो तिमी चै आउन लागेको भन्दै बस अब :) प्रेरणा को लागि धन्यवाद बौचा।     @ bhakte dai   लेख्न प्रोत्साहन गर्नु भएको मा र शुभकामना को लागि धन्यवाद भक्ते दाई।     @ taatopaani   प्रतिकृया र प्रेरणा को लागि धन्यवाद तातोपानी ज्यु।     @ Dukhe   प्रतिकृया पनि तेस्तै रमाइलो सँग पढियो नि दुखे ज्यु। धन्यवाद।     मिती र तिथी पढ्न आफ्नो समय खर्च गर्नु भएको मा namit_thapa, बिस्टे, mulmiz र ranipari लाई धन्यवाद। चार भागमा एउटा जीवन चक्र नै समेटेको हुँदा गुण स्तर मा कमी हुने पुगेको भए क्षमा माग्छु। गहिराइमा समुन्द्र जस्तो र उचाइमा आकाश जस्तो हाम्रो नेपाली साहित्यको भण्डार को सतह पनि मैले कोट्याउन सकेको छैन। यदी मेरो लेखाइले पाठकहरुलाई सुरु देखी अन्त्य सम्म बाध्न सक्यो भने आफु सफल भएको मान्दछु। धन्यवाद।    

Dipika02 · Feb 27, 2012 10:43 AM

भयौ भयौ सफल हुनु भयौ, त्यो इस्कुतरले चढ्न  नसकेको उकालो हजुरको तिथि मितिले चढ्यो

Mulmiz · Feb 27, 2012 10:53 AM

अब हाम्लाई के था त - अब येसो खबर सबर गरेको भे पो थाहा हुन्छ - हराउन नि बर्षौ हराइदिने - अनि तर ढिलै भएपनि बधाई छ

serial · Feb 27, 2012 10:54 AM

पढ्न त अस्ति नै पढेको हतारमा अफिस छुट्ने बेलामा , त्यै भएर टिप्पणी उठाउन सकिन. आज फेरी फुर्सदिलो अफिसमा बसेर पढेर टिप्पणी उठाएको छु  . जीवन्त प्रस्तुति, सरल तर सलल प्रस्तुति .  माथि लेखीए बमोजिम सदर .... दस्तखत राहुल भाइ

rahulvai · Feb 27, 2012 11:08 AM

 Hats off  to your writing my friend. You should not stop writing.   

kancha01 · Feb 27, 2012 5:19 PM

अन्तिम भाग पनि पढियो, जिबन को उकाली र ओरालीसंग फेरी एक पटक अवगत भयो| कथामा हास्य ब्यङ्ग अनि गम्भीरता को राम्रो मिश्रण छ| लेखाइ को त के कुरा गराई भो र? अकबरी सुनलाई कसी लगाउनै पर्दैन| लेख्दै गर, पढ्ने जिम्मा हाम्रो भो| 

Nepal Ko Chora · Feb 27, 2012 5:29 PM

लौ दिपिका नानी अन्तिम भाग पनि पढी भ्याएँ, रमाइलो लाग्यो । शायद मैले दिपिकाले लेखेको यो भन्दा अघि पढेको थिइन होला, असाध्यै राम्रो लाग्यो लेखेन शैली!

Geology Tiger · Feb 27, 2012 5:46 PM

एकै गाँसमा पढियो। आमाले पकाको खाना जस्तै लाग्यो। मिठो!

nakkali keti · Feb 28, 2012 11:05 AM

@ mulmiz   त्यो स्कुटर ले त न मैतिदेवी को उकालो चड्न सक्यो न त सोह्र खुट्टेकै। नामै मैले त बाख्रा राखिदेको थिएँ। उक्लिने र ओर्लिने ले गर्दा बरु हिंडेको भए नि तेती थाकिन्नथ्यो होला तर तेस्ले थकित नै बनाउथ्यो। तेस्ले उक्लन सक्ने उकालो चडेको भए त मुल्मी अब मैले साहित्यको बार्हखरी नै सिक्नु पर्छ पहिले त, वाक्य लेख्ने त अर्को जुनिमा नि सकिन्थ्यो कि सकिन्नथ्यो कुन्नी? :) पढेर आफ्नो प्रतिकृया दिनु भयो खुशी लाग्यो।     @ serial   बौचा, सबै समय र परिस्थितीले गर्दा हो। म चौतारीमा आइराखेको भए अबस्य भन्थे तर समय नै तेस्तैथ्यो। मलाई बेला बेलै सम्झिने साथीहरुलाई मैले भनिसकेको छु। तिमीले सम्झेनौ नि त साथी :(     @ rahulvai   ठुल्दाई हजुरको प्रेरणा पाएको मैले यो साझामा आएको पहिलो दिन देखी नै हो। आज जे जती लेख्न सके हजुरको प्रेरणाकै नतिजा हो। यो म निर्धक्क सँग भन्न सक्छु। बामे सर्दै गरेको मान्छेलाई ताते ताते गर्दै यती सम्म हिंड्न सिकाउनु भएको मा धन्यवाद ठुल्दाई। Please log in to subscribe to rahulvai's postings.   @ kancha01   धन्यवाद कान्छा। टोपी नै झुकाएर बयान गर्देको भन्या? साथी हुनु त कान्छा जस्तो :) तर के गर्ने विकडेज मा तास खेल्न बोलाएर विकेन्डमा बेपत्ता हुन्छ र पो त  ;-)     @ Nepal ko chora   नेप्चु, मैले धेरै शब्दहरु तिमी सँग पनि सिकेको छु। साहित्य मा तिम्रो ज्ञान कती छ मैले राम्रो सँग बुझेको छु। सधैं लेख्न प्रोत्साहन गर्ने तिमी पनि एक जना हौ। धन्यवाद साथी।   @ Geology Tiger   आफु जस्को प्रसंशक छु उहाले नै आफ्नो लेखाइ को प्रसंशा गर्दा खुशी झन दुई को गुना ले नै बढ्ने रहेछ। यो कथामा सुरु देखी मलाई प्रोत्साहन गर्नु भएकोमा धन्यवाद जिते दाई।     @nakkali keti   प्रतिकृया को लागि धन्यवाद। आमाको हात को खाना सँगै दाँजेकोमा खुशी लाग्यो। म त है, एक गाँस मुख मा हाल्दा ४ भाग नै पढ्या भन्या हो कि भनेर कल्पना पनि गर्न थालिसकेको थिएँ :) आफ्नो जीवनको केही पल मेरो लेखाइमा खर्चिनु भएको सबै पाठकहरुलाई धन्यवाद। अब चै यो धागो बाट बिदा लिन्छु। दिपिका  

Dipika02 · Feb 28, 2012 1:17 PM

ओहो! यता के के भैसकेछ, आफ्नो साझा चिहाऊने तिथी मिती नमिलेर बेहाल!   एक त दिपीकाको साझामा फिर्ती सवारी नै गजबको, त्यसमाथी तात्तातो कथा झनै गजबको अझ त्यसमाथी यस्तो बेलामा आईपुगेछु कि, कथा पूर्ण भएको बेला! ल पढ्न बसेँ है?

Birkhe_Maila · Feb 28, 2012 1:27 PM

मलाई एस्तो :( अनुहार देखाएर त्यसै बिदा लिन पाइन्छ

serial · Feb 28, 2012 1:29 PM

दिपिका-जी,  सारै मीठो कथा.... पहिलो पटक पढेको तपाइको लेख है सारै मन छोयो.......झल् झल् आफ्नो हजुरबुवा-आमा(जसलाई मा बुवा र आमा भन्छु)लाई सम्झिए जो अझै पनि कहिले आउछस ठुले तँलाई नदेखी मर्ने भैयो कि क्या हो भन्नुहुन्छ आफ्नो चाहि पहिले पैसोले साथ् दिएन अहिले कामले मिल्दैन जान ..... अनि मेरो नि जन्मदिन तिथि पनि गनेर ४ वटा छन् भन्या हेहेहे ..... एकदमै घतलाग्दो ........ लेख्दै गर्नुस है , अझै पढ्न पाम

ThahaChaena · Apr 4, 2012 5:42 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all