कुरा मैथिल राईको

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

कुरा मैथिल राईको श्रवण मुकारुङ                                        प्रा.डा. नोवलकिशोर राईसहित हामी काठमाडौँवासी सात भाइ राईका लागि गएको २३ पुसमा बिहार दौडको सुयोग जुर्‍यो। नेपालको राजनीतिमा साह्रै प्रचलित दिल्ली दौड लाई विनिर्माण गरेर किन बिहार दौड बनाइयो भने नेताका जस्तै हामी संस्कृतिकर्मीका पनि कहीँ जानुमा स्वार्थ हुन्छन्। हाम्रो स्वार्थ थियो, अढाइ सय वर्षदेखि छुट्टिएका वन्धुहरूसँगको मिलन। नेपाल-भारत सिमाना जोगवनीदेखि करिब सय किलोमिटरभित्र बिहारको त्रिवेणीगञ्ज हाम्रो गन्तव्य थियो। काठमाडौँ विमानस्थलमा भेटिएका पत्रकार शरदराज गौतमसित गफिने क्रममा बिहारका रैथाने राईहरूको निम्तो मान्न हिँडेको बताइयो। बिहारमा केको रैथाने राई? उहाँ चकित! मैले दन्त्यकथा जस्तो इतिहासको निर्मम अंशलाई एक वाक्यमा सुनाएँ, “नेपाल एकीकरण अभियानताका पटके लडाईंमा गोर्खाली फौजसँग हारेपछि आत्मसमर्पण गर्न नसकेर कोशीमा हेलिँदै झ्रेका रे!” १२ः३० मा हामी विराटनगर 'र्लियौँ। त्यसपछिको दक्षिणी यात्रामा नेपाली कला, साहित्य र सङ्गीतका चर्चाहरू भए। बुद्धिसागर, तारा राई, झ्मक घिमिरे, मदन पुरस्कारका कुरा भए। अमर गुरुङको युरिक एसिड र बैरागी काइँलाका कान पनि कोट्टिए। हामीले भाडामा चढेको बलेरो र माधव नेपाल चढ्ने बलेरो, भट्टराईको मुस्ताङ र मलाई मापाको लाग्ने मार्फाका कुरा भए। यसरी करिब अढाइ घण्टा नितिशकुमारको नयाँ तर उबडखाबड सडक छिचोलेर बिहारको राई गाउँ पुग्दा ती त उहिल्यै मैथिल भइसकेका रहेछन्! उनीहरूको नाम र थरका बीचमा सिं घुसेछ। करिब ६०० किरातहरू भागलपुर, त्रिवेणीगञ्ज र पूर्णिया वरिपरिका मैथिलहरूसँग अनुकरणीय रूपमा मिलेर बसेका रहेछन्। थोरै नेपाली भाषामा व्यवहार गर्ने अनि मैथली, हिन्दी र अङ्ग्रेजी पढाउने बिहारका किरात राई दाजुभाइहरूसित हार्दिक भलाकुसारी भयो। भर्खर-भर्खर आफ्नो जाति, संस्कृति, इतिहास वा परिचय खोज्न जागृत भएका सोझा, विनम्र तर स्वप्नशील दाजुभाइहरूसितको भेट अविस्मरणीय रह्यो। पुनर्मिलनको अवसरमा २४ पुसमा आयोजित नेपाल-भारत साहित्यिक सांस्कृतिक सम्मेलन नाम दिइएको काव्य सम्मेलनको अध्यक्षता बिहारका अग्रज कवि सबोधकुमार सुधाकर ले गरे। स्थानीय कवि/सायरहरू ध्रुवनारायण सिं राई, सुरेन्द्र भारती, शम्भुनाथ अरुणाथ, रामचन्द्र मेहता, प्रा.डा. विनयकुमार चौधरी, डा. सान एहसान, विष्णु सिं राई लगायत तीन दर्जन स्रष्टाले साँझ् ७ बजेसम्मै आफूलाई व्यक्त गरे। यताका म र पदम राईले नेपाली कविताहरू सुनायौँ। पदमले त वान्तवा कविता पनि थपे। राति ९ देखि ११ बजेसम्म फेरि हामी बसेकै अतिथिगृहमा रात्रिकालीन महफिल जम्यो। महाकाव्य लेखिसकेका ध्रुवनारायण सिं राईको काव्यशक्ति त्यहाँ देखियो। काठमाडौँबाट गएका चतुरभक्त राईले देवकोटा, लेखनाथ, सिद्धिचरणदेखि शङ्कर लामिछानेसम्मका कविताहरू रमाइलो हिन्दीमा सुनाउँदा माहोल हास्यमय बन्यो। यसरी काव्यले हामीलाई जोड्यो। दुवैतिरका स्रष्टाहरूले यही मनन् गर्‍यौँ। र, सपना देख्न थाल्यौँ। २५ गते बिहान दफर्का गाउँ पुग्दा बान्तवा, चामलिङ र कोयु राईहरू भेटिए, जसको आदिथलो खोटाङ र भोजपुर हो। मैथिली घर, लवाई-खवाई र रहन-सहनमा मूलतः खेती किसानी गरेर बसेका उनीहरूसँग माछाकुमा (पितृ स्थान) राख्ने र मर्चा पार्ने किरात संस्कृति भने अझै बचेको रहेछ, खुशी लाग्यो। कुनै समयमा ४-५ हजार जनसङ्ख्यासँगै असीमित भूमि भएका, अङ्ग्रेजहरूसित उठबस गरेका, कोशीको बाढी, औलो र बिहारका डाँकू-लुटेरासित जुझदै बाँचेका तर समयसँगै महलबाट झुपडीमा झ्रेर चोटामा महात्मा गान्धीको तस्बिर राखेका अनि सगरमाथाको शिरतिर कालो बादल देख्दा सशङ्कित, त्रसित हुने यी बिहारवासी दाजुभाइहरूको धुकधुकी र मनोविज्ञानलाई हामीले केही हदसम्म पढ्यौँ। इतिहासका कतिपय प्रक्रिया विजेताका लागि समेत पीडापूर्ण हुन्छ भने पराजितहरूका हकमा न्यायपूर्ण हुने कुरै हुँदैन भन्ने भनाइ यहाँ लागू भयो। भविष्यमा यो भेटको के अर्थ निस्केला? मनभित्र कल्पँदै हामी २६ गते सखारै सगरमाथाको फेदीतिर फर्कियौँ। दार्जीलिङका प्रतिनिधि किरात राईहरू भने कन्चनजंघातिर सोझिए।

_____ · Jan 30, 2012 1:57 PM · 2,534 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all