सभासद्का चर्तिकला

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  कमला शर्मा, एमाले सभासद्का उद्दण्ड क्रियाकलाप संविधानसभाको पहिलो बैठक बसेकै दिनदेखि देखिन थालेको हो । १५ जेठ ०६५ मा बसेको पहिलो बैठकमै एमाले सभासद् कमला शर्माले कांग्रेस सभासद् पूर्णबहादुर खड्काको गालामा चप्पलले बजाइन् । सभामुख आसनको अगाडि बायाँतिर उभिएका खड्कालाई उनकै जिल्ला सुर्खेत-१ बाट चुनाव जितेकी शर्माले गालामा चप्पलले हिर्काइन् । बैठकमा एकछिन हल्लीखल्ली नै मच्चियो । शर्माले आफ्ना श्रीमान्को हत्यामा खड्काको संलग्नता रहेकाले चप्पलले हिर्काएको बताइन् । संविधानसभाको चुनावमा एमालेले शर्माका पति ऋषिराम अधिकारीलाई उम्मेदवार बनाएको थियो । चुनाव प्रचारकै क्रममा उनको गोली हानी हत्या गरिएपछि एमालेले कमलालाई उम्मेदवार बनाएको हो । राम्रो मत ल्याएर उनले चुनाव जितिन् । कांग्रेस सभासद् खड्काले आफ्ना श्रीमान्लाई गोली हान्न लगाएको कमलाको आरोप थियोे । गायत्री साह, जनता दल केही सभासद्ले सभासद् भएबापत पाइएको कूटनीतिक राहदानी बेच्नसमेत बाँकी राखेनन् । जनता दलकी सभासद् गायत्री तिनैमध्येकी एक हुन् । आफ्नो कूटनीतिक राहदानी बेचेको आरोपमा प्रहरी र अख्तियारले मुद्दा चलाएपछि अहिले उनी निलम्बित भएकी छिन् । प्रहरीले केही समय यही आरोपमा उनलाई हिरासतमा पनि राखेको थियो । पछि उनी धरौटीमा रिहा भइन् । बिपी यादव, मधेसी जनअधिकार फोरम नेपाल फोरम नेपालका केन्द्रीय सदस्य बिपी यादव आफूलाई पार्टीको प्र्रवक्तासमेत बताउँथे । पार्टीका तत्कालीन नेताहरू उपेन्द्र यादव र विजयकुमार गच्छदारबीचको विवादमा उनले सधैँ उपेन्द्रलाई साथ दिए । जनता दलकी गायत्री साहसँगै उनले पनि कूटनीतिक राहदानी बेचे । त्यही अभियोगमा प्रहरी र अख्तियारले मुद्दा चलाएपछि उनी पनि निलम्बनमा परे । केही समय प्रहरीले उनलाई हिरासतमा पनि राख्यो । त्यसअघि पनि उनले केेही सभासद्लाई तिब्बती धर्मगुरु दलाई लामा भेट्न लगेपछि विवादमा मुछिएका थिए । पदमा हुँदा सधैँ चर्चामा  आउन रुचाउने उनी अहिले गुमनाम छन् । नारदमुनी राना, एमाले कैलाली घर भएका एमाले सभासद् नारदमुनी राना पनि कूटनीतिक राहदानी बेच्नेमा दरिए । समानुपातिक कोटाबाट सभासद् बनेका उनी तराईका रैथाने राना थारू हुन् । रानालाई प्रहरीले राहदानी बेचेको आरोपमा गत २० असारमा -४ जुलाई ०११) मा अनामनगरस्थित डेराबाट पक्राउ गरेको थियो । केही दिन उनलाई हिरासतमा पनि राखियो । अदालतमा मुद्दा चल्दै गर्दा फरार भएका उनी अहिलेसम्म लुकेकै छन् ।  प्रहरीले काठमाडांै जिल्ला अदालतमा थुनछेक बहसका लागि लगेका वेला उनी त्यहीँबाट फरार भएका थिए । उनी अदालतबाटै भाग्न सफल हुनुमा कर्मचारीको समेत मिलेमतो रहेको आशंका गरिएको छ । अदालतमा मुद्दा चलेपछि संविधानसभा सचिवालयले उनलाई निलम्बन गरिसकेको छ । स्रोतका अनुसार रानालाई पक्राउ गर्ने तयारी प्रहरीले पहिले नै गरेकोे थियो । तर, त्यतिवेला सरकारमा रहेकोे एमालेले उनलाई जोगाउने भरपुर प्रयास गरेको थियो । डिबी कार्की -डोलबहादुर), एमाले एमाले सभासद् डिबी कार्कीलाई प्रहरीले घुस लिँदालिँदै पक्राउ गरेको हो । एक युवालाई इन्सपेक्टर बनाइदिने भन्दै एक लाख रुपैयाँ घुस लिँदै गर्दा अख्तियारकोे टोलीले २५ भदौ ०६७ मा उनलाई पक्राउ गरी मुद्दा चलाएको थियो । यही अभियोगमा उनी केही समय प्रहरी हिरासतमा समेत बसे । अदालतमा मुद्दा चलेपछि एमालेले पनि उनलाई कारबाही गर्‍यो भने संविधानसभा सचिवालयले पनि उनलाई सभासद्बाट निलम्बन गर्‍यो । उनी एमालेको अखिल नेपाल किसान महासंघको सचिव पनि थिए । कार्की पनि धरौटीमा रिहा भए । शारदा नेपाली, नेकपा माले पार्टीलाई लेबी धेरै बुझाउनु परेपछि घरखर्च चलाउन गार्‍हो भएको भन्दै नेकपा मालेकी सभासद् शारदा नेपालीले पटकपटक आत्महत्याको प्रयास गरिन् । एकपटक त नेपालगन्जमा रक्सीले मातेर वितण्डासमेत मच्चाइन् । मालेको समानुपातिक कोटामा सभासद् भएकी शारदाले पार्टी नेता सिपी मैनालीले मासिक तलबको अधिकांश रकम लेबीस्वरूप लिने गरेको आरोप नै लगाइन् । त्यही झोकमा उनले दुईपटक विष सेवन गरेर आत्महत्याको प्रयास गरिन् । घरमा श्रीमान्ले 'सभासद्कोे त्यत्रो तलब कहाँ हालिस् भनेर यातना दिने र पार्टीले धेरै लेबी माग्ने' गरेको गुनासो उनले त्यतिवेला सञ्चारमाध्यमसित गरेकी थिइन् । स्थायी घर बर्दिया भएकी शारदाले गत वर्षको २४ वैशाखमा नेपालगन्जमा रक्सीले मातेरसमेत ताण्डव गरिन् । आफूलाई श्रीमान्ले हत्या गर्न खोजेको भन्दै उनले नेपालगन्जमा प्रहरीको सुरक्षासमेत मागिन् । रक्सीले टिल्ल उनलाई पछि प्रहरीले छोरीको घर पुर्‍याएको थियो । कृष्णप्रसाद यादव, कांग्रेस  कांग्रेस सभासद् कृष्ण्ाप्रसाद यादव त यौनकर्मीसँग नै भेटिए । १८ फागुन ०६५ मा महाराजगन्जस्थित कान्ति बाल अस्पतालको पछाडितिरको एक घरमा प्रहरीले छापा मार्दा उनी देहव्यापारमा संलग्न चार युवतीसँगै भेटिए । संविधानसभा चुनावमा रौतहट-४ बाट निर्वाचित उनी पनि सजिलै उम्किए । करिमा बेगम, फोरम लोकतान्त्रिक संविधानसभा चुनावमा वीरगन्जबाट उम्मेदवार बन्दादेखि नै करिमा बेगम चर्चामा आएकी थिइन् । मुस्लिम परिवारकी उनी सामाजिक कुसंस्कारलाई तोड्दैै चुनावमा होमिएकी थिइन् । त्यतिवेला उनले राम्रै वाहवाही पनि पाएकी थिइन् । तर, माधव नेपाल नेतृत्वको सरकारमा राज्यमन्त्री भएपछि भने उनले उद्दण्डता प्रदर्शन गरिन् । जिल्ला भ्रमणमा जाँदा आफूलाई राम्रो गाडी नपठाएको तथा लिन विमानस्थल नआएको भन्दै उनले पर्साका तत्कालीन प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई चड्कन लगाइन् । २४ कात्तिक ०६६ मा उनी पर्सा विमानस्थलबाट सोझै सिडिओ कार्यालय गएर भण्डारीको गालामा झापड हानिन् । उनी त्यतिवेला कृषि राज्यमन्त्री थिइन् । उनलाई कारबाही गर्न त्यतिवेला विपक्षी दल, कर्मचारी संघसंगठन तथा विभिन्न संस्थाबाट दबाब आए पनि तत्कालीन प्रधानमन्त्री नेपाल र उनको पार्टी फोरम लोकतान्त्रिकले समेत कुनै कारबाही गरेन । खड्कबहादुर विश्वकर्मा, माओवादी माओवादी पोलिटब्युरो सदस्यसमेत रहेका सभासद् खड्कबहादुर विश्वकर्मालाई प्रहरीले चोरीको गाडी चढेको आरोपमा पक्राउ गर्‍यो । गत वर्षको १५ पुसमा उनलाई प्रहरीले नक्कली नम्बरप्लेटको गाडीसहित चाबहिलबाट पक्राउ गरेको थियो । महिला, बालबालिका तथा समाजकल्याण्ामन्त्री छँदा पाएको सरकारी गाडीमा उनले नक्कली नम्बर प्लेट हालेर प्रयोग गरेको थाहा पाएपछि उनलाई प्रहरीले छाड्यो । महानगरीय प्रहरीले उनलाई एक घन्टा नियन्त्रणमा लिएको थियो । ल्यारक्याल लामा, एमाले सभासद् भएको तीन वर्षसम्म पनि चर्चामै नआएका एमालेका ल्यारक्याल लामा मन्त्री हुनेबित्तिकै विवादमा तानिए । एमाले अध्यक्ष झलनाथ खनाल नेतृत्वकोे सरकारमा अर्थ राज्यमन्त्री बनेका उनीमाथि तीन देशको राहदानी बनाएको आरोप लाग्यो । उनीमाथिको आरोप यति बलियो हुँदै गयो कि प्रधानमन्त्री खनालको निर्देशनमा उनले नियुक्त भएको १० दिनमै राजीनामा दिनुपर्‍यो । त्यतिमात्रै होइन, सरकारले उनीमाथि लागेका आरोपबारे छानबिन गर्न समिति नै बनायो । अच्युतराज पाण्डे, कांग्रेस सभासद्हरूले सबैथोक गर्न भ्याए । गत वर्षको २२ भदौमा कांग्रेस सभासद् अच्युतराज पाण्डे जुवाको खालबाट पक्राउ परे । महानगरीय प्रहरी प्रभागको टोलीले उनलाई भोटेबहालस्थित दिनेश शेरचनको घरबाट पक्राउ गरेको थियो । संविधान लेख्ने जिम्मेेवारी बोकेका सभासद् जुवाडेका रूपमा भेटिएपछि छापा मार्न गएको प्रहरी टोलीसमेत जिल्लियो । सभासद् पाण्डेलाई प्रहरी कार्यालयसम्म त लगियो तर राजनीतिक दबाबमा त्यही दिन ससम्मान छाडियो । प्रकाशशरण महत, कांग्रेस     पटकपटक मन्त्री भइसकेका कांग्रेस केन्द्रीय सदस्य डा.प्रकाशशरण महतले पनि पदीय मर्यादाविपरीत काम गरे । संविधानसभामा राज्यको शासकीय स्वरूप निर्धारण समितिका सदस्यसमेत रहेका उनले समितिको निर्णयपुस्तिका नै च्याते । समितिको बैठकमा शासकीय स्वरूपका बारेमा दलहरूबीच विवाद चर्किरहेको थियो । सहमतिमा पुग्नेे कुनै लक्षण नदेखिएपछि बैठकमा मतदान भयो । समितिका सभापति रहेका कांग्रेस सभासद् शम्भुहजारा दुसारले निण्र्ाय सुनाउन लाग्दा महतले निर्णयपुस्तिका खोसेर च्यातचुत पारे । त्यतिवेेला ऊर्जामन्त्री रहेका डा.महतलाई न त समितिले कारबाही गर्‍यो न संविधानसभाले । चन्दादेवी, माओवादी आयु थपिँदै गएको संविधानसभाका सदस्यहरू संरक्षित क्षेत्रका रूख काट्नेे काममा पनि भेटिए । माओवादी सभासद् चन्दादेवी रामलाई १२ माघ २०६६ मा पर्सा वन्यजन्तु आरक्षका कर्मचारीले रूख काट्दाकाट्दै नियन्त्रण्ामा लिए । उनीसँगै अन्य केही स्थानीय व्यक्ति पनि थिए ।  वनसुरक्षाकर्मीको टोलीले पक्राउ गर्न खोज्दा सभासद् चन्दादेवीलगायत भाग्न खोजेका थिए । तर, गोली हान्ने चेतावनी दिएपछि उनीहरू रोकिन बाध्य भए । मोहम्मद इस्तियाक राई, मधेसी जनअधिकार फोरम माओवादी सभासद् चन्दादेवीको पद पछ्याउन खोजे मधेसी जनअधिकार फोरमका सभासद् मोहम्मद इस्तियाक राईले । उनले नेपालगन्जमा हंगामा नै मच्चाए । कानुनले रोक लगाए पनि रूख काट्न पाउनुपर्छ भन्दै उनले जिल्ला वन कार्यलयमा जुलुस नै लगेका थिए ।  संजयकुमार साह, फोरम लोकतान्त्रिक मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद् संजयकुमार साहले त संविधानसभा बैठक स्थलमा माइक नै तोडफोड गरे । जनताबाट निर्वाचित भएर आएको आफूलाई एक वर्षदेखि संसद्मा बोल्न नदिएको भन्दै उनले गत ७ पुसमा संसद्का तीनवटा माइक तोडफोड गरेका हुुन् । तोडफोडबाट माइकसँगै मेन कन्ट्रोल युनिटसमेत बिगि्रएको छ । पार्टीभित्रको आन्तरिक विवादका कारण प्रमुख सचेतकले बोल्नका लागि सिफारिस नगरिदिने र सभामुखले सचेतकमार्फत आऊ भनेर बोल्न नदिएको उनको जिकिर छ । ७ पुसको संसद् बैठकमा त उनले आफू अगाडिका तीनवटा माइक नै फुटाले । सभासद्को मर्यादाविपरीत उद्दण्ड क्रियाकलाप गरेको तथा बैठक स्थलको शान्तिसुरक्षामा खलल पुर्‍याएको भन्दै सभामुख सुवास नेम्वाङले उनलाई १० दिनका लागि निलम्बन गरेका थिए । तोेडफोडबाट भएको क्षति पनि उनकै पारिश्रमिकबाट असुलउपर गरिएको छ । तीनवटा माइकको ६० हजार र मेन कन्ट्रोल युनिटको ३० हजार गरी उनीबाट ९० हजार असुलउपर गरिएको छ । शिवपुजन राय, फोरम मधेसी जनअधिकार फोरम नेपालका सभासद् शिवपुजन यादव पनि कूटनीतिक राहदानी बेच्नेमा परे । जनता दलकी गायत्री साह र फोरमका बिपी यादवलाई पक्राउ गरिसक्दा पनि उनीमाथि प्रहरीले छानबिन  गरिरहेको थियो ।  अन्ततः सभासद् यादवले पनि राहदानी बेचेको पुष्टि भयो र उनलाई प्रहरीले पक्राउ गर्‍यो । त्यो थाहा पाएपछि उनी बेपत्ता भए । गत असोजमा मात्रै प्रहरीले सभासद् यादवलाई ताहाचलबाट पक्राउ गरेको हो । अदालत र अख्तियारबाट उनी धरौटीमा रिहा भए । तर, उनीमाथि सर्लाहीमा पनि ज्यानमुद्दाको अभियोग छ । संविधानसभाबाट उनी निलम्बनमा परेका छन् । विश्वेन्द्र पासवान, दलित जनजाति पार्टी सभासद् विश्वेन्द्र पासवान संविधानसभा सुरु भएदेखि नै चर्चामा आइरहे । कहिले संसद्मा चर्का कुरा गरेर, कहिले आफ्नै छोरीज्वाइँलाई पक्राउ गर्न लगाएर त कहिले संसद् अवरुद्ध गरेर उनी चर्चामा आइरहे । तर, ती सबैको उत्कर्ष रूप उनले गत वर्षको १८ चैतमा बसेको संवैधानिक समितिको बैठकमा देखाए ।  राज्य पुनसर्ंरचना तथा राज्यशक्ति बाँडफाँड समितिको प्रतिवेदनमा दलित, मुस्लिम, आदिबासी र जनजातिका मुद्दा नसमेटिएको भन्दै उनले चार तलामाथिको बैठक कक्षको झ्यालबाट कुर्सी नै फालिदिए । त्यति मात्रै होइन, उनले 'आवश्यक परे मान्छे नै झ्यालबाट फाल्ने' धम्की पनि बैठकमा दिए ।  ठुल्ठूलो स्वरमा आएको उनको चेतावनीपूर्ण बोलीले बैठकमा मौनता छायो । उनले आफैँले लगाएको सर्टसमेत च्यात्दै आफूलाई गोली हान्न पनि चुनौती दिए ।  तर पनि उनीमाथि कुनै कारबाही हुन सकेन । यतिमात्रै होइन, संसद् बैठक अवरुद्ध गरेको आरोपमा उनलाई ७ दिनका लागि निलम्बन पनि गरिएको थियो । इन्द्रमति यादव, माओवादी माओवादी सभासद् इन्द्रमति यादव त बिजुली चोरिरहेको अवस्थामा पक्राउ परिन् । गत १९ वैशाखमा उनीसहित स्थानीय केही व्यक्तिलाई कपिलवस्तुमा बिजुली चोर्दा-चोर्दै पक्राउ गरिएको थियो ।  तत्कालीन ऊर्जामन्त्री गोकर्णर् विष्टले संसद्ीय समितिमै यसको जानकारी दिएका थिए । बिजुली चोर्न सभासद्लाई तीन हजार जरिवाना गरेर छाडिएको थियो । माओवादीले उनलाई समानुपातिक कोटाबाट सभासद् बनाएको हो । किरणकुमारी राय, एमाले सभासद्हरूले अनेकथरि चर्तिकला देखाए । एमाले सभासद् किरणदेवी यादवले आफ्नो एसएलसीको परीक्षा छोरीलाई दिन लगाइन् । गत वर्षको १३ चैतमा सर्लाहीको बरहथवा परीक्षा केन्द्रमा उनले छोरीलाई परीक्षा दिन लगाएको प्र्रमाणित नै भयो । छोरीलाई नक्कली परीक्षार्थी बनाएर परीक्षा दिन लगाउने सभासद् यादवलाई पनि कुनै कारबाही भएन । अर्को परीक्षा दिन उनी आफँै दलबलसहित परीक्षाकेन्द्र पुगेकी थिइन् । तर, दबाब बढेपछि उनी परीक्षा नदिईकनै फर्किइन् । गुणाखर बस्याल, माओवादी जनतासित नयाँ संविधान लेख्ने बाचा गरेर सिंहदरबार छिरेका माओवादीका एक सभासद् झन्डै डेढ वर्षदेखि संविधानसभामा देखिएका छैनन् । संविधानसभा चुनावमा पर्वत २ बाट निर्वाचित माओवादी सभासद् गुणाखर बस्याल घरमा श्रीमती र छोराछोरी छाडेर कमला तामाङ नाम गरेकी कान्छी लिएर बेपत्ता भएका हुन् । जेठी श्रीमती खिमाले गत जेठदेखि सम्पर्कविहीन श्रीमान्लाई एक महिलाले अपहरण गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीले सभासद् बस्याल कान्छी श्रीमतीसित चितवनमा रहेको पत्तो लगाएको थियो । नयाँ पत्रिकाले सभासद् अपहरणमा परेकोे समाचार प्रकाशित गरेपछि उनले फोनमार्फत आफू चितवनमा रहेको जानकारी दिएका थिए । गत १४ भदौमा सभासद् बस्याललाई पाँच दिनभित्र पार्टी संसद्ीय दलको कार्यालयमा उपस्थित हुन माओवादीले सूचना जारी गरेको थियो । संसद्ीय दलले स्पष्टीकरणसहितको सूचना जारी गर्दै 'लामो समयदेखि यस दलको सम्पर्कमा नरहेको र प्रधानमन्त्री निर्वाचनलगायत दलले ह्वीप जारी गरे पनि संसद् बैठकमा अनुपस्थित रहेको' जनाएको थियो । उनले गत असोजमा सभासद् पदबाट राजीनामा दिएको जनाएका छन् । तर, उनको राजीनामा स्वीकृत भएको छैन । खोभारी राय, सद्भावना गणतान्त्रिक गणतन्त्र आउनुअघिदेखि नै चर्चामा रहेका हुन  खोभारी राय । संविधानसभा चुनावमा सद्भावनाका तर्फबाट समानुपातिक कोटामा परेका उनी अहिले उद्योग राज्यमन्त्री पनि छन् ।  संविधानसभा चुनावपछि तत्कालीन सद्भावनाका अध्यक्ष राजेन्द्र महतोको घरअगाडि रक्सी खाएर गालीगलौज गरेका कारण उनी चर्चामा आएका थिए । त्यसको लगत्तै उनलाई लाइसेन्स नभएको पेस्तोलसहित प्रहरीले पक्राउ गर्‍यो । फेरि पनि उनलाई कुनै कारबाही भएन ।  पछिल्लो समय उनलाई ठमेलको एक रेस्टुरेन्टमा दुईजना युवतीसहित रक्सीले मात्तिएको अवस्थामा फेला पारियो । हिँड्नसमेत नसक्ने गरी रक्सीले टिल्ल उनको फोटो नयाँ पत्रिकाले यसअघि नै प्रकाशित गरिसकेको छ ।  बबन सिंह, स्वतन्त्र सभासद् हत्या र काठमाडौंमा भएको शृङ्खलाबद्ध बम विस्फोटनको घटनामा संलग्न भएको आरोप लागेका बबन सिंह पनि चर्चित सभासद् हुन् । १४ जेठ ०६५ मा सभासद्ले पद तथा गोपनीयताको शपथ लिँदा उनलाई खोजी गरिरहेको थियो । प्रहरीलाई जिल्याएर उनी बानेश्वरस्थित संविधानसभा भवनमा शपथ लिन पुगेका थिए । त्यही अभियोगमा सभासद् सिंहलाई प्रहरीले पक्राउ पनि गर्‍यो । त्यसको लगत्तै उनी छुटे । पछिल्लो समयमा उनलाई वीरगन्जका व्यापारी राजेशमान सिंहलाई अपहरण गरी हत्याको सुपारी लिएको अभियोग लागेको छ । यो मुद्दा अहिले पनि अदालतमा विचाराधीन छ । अदालतले सभासद् सिंहको नाममा ३५ दिने म्यादपुर्जी जारी गरेको छ ।

IT_Guy · Jan 4, 2012 4:54 PM · 3,447 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all