दलित किन मारिए?-अभय श्रेष्ठ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

दलित किन मारिए? अभय श्रेष्ठ (3 votes, average 2.33 out of 5) विश्व मानवअधिकार दिवसमै कालीकोट, जुबिथा गाविसका मनवीर सुनारलाई कुटीकुटी मारियो। इन्सेकको प्रतिवेदन पूर्व प्रकाशित समाचारभन्दा फरक आए पनि जातिवादी समाजको दृष्टिमा उनी अछुत कामी हुनु नै हत्याको एकमात्र कारण थियो। हुन त मानवअधिकार आयोगको प्रतिवेदनले यसको टुंगो लगाउला, इन्सेककै प्रतिवेदनअनुसार पनि विवादको जड पसलमा दुई ठकुरी बाबुसापले उनलाई 'डुम' भनेर होच्याउनु थियो। अर्को घटनाचाहिँ हालै तनहुँको घाँसीकुवामा भयो। घाँसीकुवा-१ नाहालाकी डेरावाल माया विश्वकर्माले भरिएको गाग्रो पन्छाएर धारामा आफ्नो गाग्रो भरिन्। त्यही निहुँमा गाग्राधनी अजित श्रेष्ठ र उनका परिवारले अस्पतालै भर्ना गर्नुपर्ने गरी उनलाई कुटे। डेराको आडैको धारामा बिहान-बेलुका दुई-दुई घन्टामात्र पानी आउने रहेछ। छिमेक पाँच घरका आठ परिवारले सोही धाराबाट पानी भर्ने गरेका रहेछन्। भरिएर धाराको पानी खेर गइरहँदा गाग्राधनीलाई पर्खुन्जेल धारा सुक्ला भन्ने डर! यस्तो बेला भरिएको गाग्रा पन्छाएर आफ्नो गाग्रा भर्नुमा मायाको कुनै दोष थिएन। अजितको परिवारले धारा सुके जसरी पनि मायालाई पानी दिने ग्यारेन्टी दिएको त थिएन! श्रेष्ठ थर हुँदैमा दुष्ट व्यवहार गरे पनि सर्वोत्कृष्ट हुन्छु भन्ने भ्रम अजितलाई रहेछ। यसरी उनी अजित श्रेष्ठबाट अजित 'निकृष्ट' भए। साँच्चिकै श्रेष्ठ हुन उन्नत मानवीय व्यवहार गर्न जान्नुपर्छ भनेर तिनलाई कसले सिकाइदेला? अलिअघि मात्र कास्कीको घान्द्रुकमा एक दलित शिक्षकलाई धनी गुरुङ महोदयहरुले त्यसैगरी ठटाएका थिए। अझ उनलाई महिलाको पेटीकोट लगाइदिएर 'बेइज्जत' गरेेछन्। पेटीकोट पहिराएर तिनले दलितमाथि अत्याचारमात्र गरेनन्,स्त्री जातिकै अपमान गरे। दलित भएकै कारण आशय छुवाछुत र अपमानका घटनाको बयान साध्य छैन। कुटपिट र हत्याका घटनासमेत कम छैनन्। दलित कार्यकर्ता सरोजदिलु विश्वकर्माका अनुसार यसअघि अन्तर्जातीय विवाह गरेको निहुँमा दैलेखमा केटाको बाबु सेते दमाईलाई खुकुरी प्रहार गरी मारिएको थियो। हुम्लामा गैरदलित युवतीसँग प्रेम गरेको निहुँमा केटालाई भिरबाट खसालेर मारियो। कास्कीमा अन्तर्जातीय विवाह गरेको निहुँमा केटाको हातखुट्टा भाँचियो। सप्तरीको पिप्रा गाविस ७ र वीरगन्ज नगरपालिकाभित्रको दलित बस्तीमा आगो लगाइयो। रौतहटमा ७० वर्षे महिलामाथि सामूहिक बलात्कारै भयो। अन्त त्यस्ता कति घटना भएका होलान् जो मिडियामा आएका छैनन्! धन्य मिडिया, जसले यस्ता घटनालाई विशेष प्राथमिकता दिएर प्रकाशमा ल्याएका छन् ! जुबिथा घटनाविरुद्ध संयुक्त राजनीतिक दलित संघर्ष समितिले हत्या भएको ११ दिनपछि प्रधानमन्त्रीलाई स्मृतिपत्र बुझायो। दलित सभासद्हरुले व्यवस्थापिका-संसद् अवरुद्ध गरे। फलतः प्रधानमन्त्री बाबुराम भट्टराईले छुवाछुतका यस्ता घटना दोहोरिन नदिने प्रतिबद्धता व्यक्त गर्नुपर्‍यो। मनवीरका परिवारलाई १० लाख रुपियाँ राहतको घोषणा गर्नुपर्‍यो। घान्द्रुक घटनामा छानबिन भयो। तनहुँ, घाँसीकुवाका अजित श्रेष्ठ र उनका परिवारलाई भने कारबाही भएको खबर सुनिएको छैन। माया र उनकी आमा कति दिनदेखि अस्पतालको चिसो छिँडी रुङिरहेका होलान्। साँच्चै, मनवीर किन मारिए? घान्द्रुकमा शिक्षक र तनहुँमा माया किन कुटिए? अन्तर्जातीय प्रेम गर्ने युवक र दुलाहाको बाबु किन मारिए? नेपालमा २००७ सालमा प्रजातन्त्र आएपछि जातीय भेदभाव र छुवाछुतलाई दण्डनीय अपराध मानिएको हो। ०६२-६३ को आन्दोलनलगत्तै नेपाल छुवाछुतमुक्त देश घोषित भयोे। यही वर्ष त्यो ऐन पनि बनिसकेको छ। परन्तु, किन हाम्रा दुःखी दलित दाजुभाइ, दिदीबहिनीमाथि अत्याचार रोकिएन? जातिभेदको जरा दलित कवि तथा सभासद् आहुतिको किताब 'नेपालमा वर्ण व्यवस्था र वर्ग संघर्ष' का अनुसार दक्षिण एसियामा करिब ३५ सय वर्षअघि वर्ण व्यवस्थाको जग हालिएको थियो। करिब २ हजार वर्षअघि ब्राह्मण राजा मनुको शासनकालमा वर्णव्यवस्थामाथि छुवाछुत लादियो। त्यसपछि कथित उच्चजातीय शासनलाई दीर्घजीवी बनाउन छुवाछुतसहितको वर्ण व्यवस्था कठोर पार्दै लगियो। भारतबाट हिन्दू शासक र जनताको प्रवेशसँगै नेपालमा पनि यो व्यवस्था आइपुग्यो। नेपालमा पानी नचल्ने बनाइएका तीन समुदाय छन्। खस-पहाडियामा दमाई, कामी, सार्कीस नेवारमा च्यामे, पोडे, कसाई, कुस्ले र मधेसीमा मुसहर, पासवान, वादी, कमैया, चमार आदि छन्। हिन्दू सनातन संस्कारको प्रभाव रहेको हाम्रो समाजमा अझै पनि महाभारत, रामायणलगायत १८ पुराणलाई आदर्शको स्रोत मानिन्छ जसको जरादेखि टुप्पैसम्म दलितको अपमान गरिएको छ। वैज्ञानिक युगको फड्कोसँगै महाभारतमा गीता नियमित पढ्ने, सम्पूर्ण पुराणको सारसंक्षेप श्रीमद् भागवत लगाउने चलन बढ्दो छ। हाम्रा शास्त्र सिर्जनशीलता र कल्पनाशीलताका दृष्टिले संसारकै उत्कृष्ट साहित्य हुन्। किन्तु, इतिहास र समाजशास्त्रका हिसाबले यी सर्वथा विरोधाभासपूर्ण, अस्पष्ट, रहस्यमयी र धोकापूर्ण छन्। कति ठाउँमा यिनले विश्व भाइचारा, करुणा, दया, माया, मानवताका कुरा उठाएका छन् जसको खण्डन यिनैका कतिपय प्रसंगलले गरेका छन्। विडम्बना, तिनले सिकाएका असल कुरा हामी अनुशरण गर्दैनौँ, खराबचाहिँ तुरुन्तै ग्रहण गर्छौँ। १८ पुराणका कति प्रसंगमा दुष्ट, राक्षस र दलित हत्याको पाप लाग्दैन भनिएको छ। दलित भक्त शवरीको जुठो बयर खाएर रामले जातीय भेदभावको रेखा मेटिदिएका थिए। आठ ऋषिको उक्साहटमा वेद पढेको र तपस्या गरेको अभियोगमा उनैले दलित शम्बुकको हत्या गरेर अमानवीय वर्ण व्यवस्थालाई प्रश्रय दिए। महाभारतको कथामा दलित भएका कारण द्रोणाचार्य एकलव्यलाई धनुर्विद्या सिकाउन अस्विकार्छन्। तिनै एकलव्य स्वअभ्यासबाट कुरुकुलका राजकुमारहरुभन्दा पारंगत् हुन्छन्। त्यसपछि द्रोण गुरुदक्षिणास्वरुप बुढी औँला कटाएर उनको तेजोबध गर्छन्। कुनै पनि कुरामा कम नहुँदा पनि सूतपुत्र कर्ण अर्जुनसँग प्रतिस्पर्धा गर्न पाउँदैनन्। दलित भएकै कारण उनले द्रौपदीको स्वयंवरमा मत्स्यवेध प्रतिस्पर्धामा भाग लिन पाएनन्। दलित र महिलाका हकमा हाम्रा शास्त्रका कतिपय सन्दर्भ मानवताविरुद्ध अपराध गर्न उक्साउने खालका छन्। युधिष्ठिरले द्रौपदीलाई पाँच दाजुभाइकी पारिवारिक वेश्या बन्न बाध्य पारे। कुरुकुलको भारदारी सभाले सुन्दरी द्रौपदीलाई युधिष्ठिरले जुवामा बाजी थाप्ने हक छ भनिदियो। यसरी महिला पुरुषको 'सामान' मात्र हो भन्ने सन्देश दिइयो। विडम्बना, महाभारतले तिनै युधिष्ठिर, भीष्म, युद्ध उत्प्रेरक कृष्णलाई आदर्श पुरुष मान्छ। चेतन वा अचेतनमा यस्ता सन्दर्भले हाम्रो ग्रन्थीलाई प्रभावित पारिरहेका छन्। शिक्षित, जातिभेदविरोधी, छुवाछुतविरोधी व्यक्तिको मुखबाट पनि ऐनमौकामा जातिभेदी वचन बाहिर आउनुको कारण यही हो। सामाजिकरुपमा अझै पनि क्षत्री-बाहुनले नेवारलाई 'न्यार' भनेर होच्याउँछन्, नेवारले मधेसीलाई 'मान्छे होइन, मदिसे' र तामाङलाई भोटे भनेर हेप्छ। तामाङले दलित र मधेसीलाई हेप्छ। दलितमै कामीले दमाई र सार्कीलाई हेप्छ। ठाउँअनुसार नेवार दलितले खस दलितलाई र खस दलितले नेवार दलितलाई हेप्छन्। दुवै दलितले मधेसी दलितलाई हेप्छन्। शिक्षित व्यक्तिसमेत ख्यालठट्टाको निहुँमा यस्तो प्रवृत्ति देखाउँछन्। दलितमाथि जातिभेदी व्यवहार हुनुमा मूलतः यही मानसिकताले काम गरेको छ। अन्त्यमा छुवाछुतविरुद्ध कानुन बन्नु महत्वपूर्ण कुरा हो। त्यसले दलितलाई पनि मूलधारमा आउन ढोका खोल्छ। परन्तु, यस्ता अमानवीय घटना निर्मूल गर्न उन्नत मान्छे बनाउने वैज्ञानिक र मानवीय संस्कृति अनिवार्य रहेछ। दलितविरोधी हरेक घटनामा कथित उच्च जातिले 'आयन्दा कुनै पनि दलितले हेप्न नसकून्' भन्ने मनसायले 'देखाइदिएँ' शैलीमा व्यवहार गरेको देखिन्छ। यो देश सवर्णको जत्तिकै दलितको पनि हो। नयाँ नेपालले उनीहरुलाई समान र सार्वभौम नागरिक मानेर न्यायमूलक समाजको सपना देखेको छ। देशले समान नागरिक मानेका दलितमाथि असमान व्यवहार गर्न तिनलाई कुन कानुनले यो अधिकार दियो? यसरी उनीहरुले नेपाली समाजलाई कलंकितमात्र पारेका छैनन्, देशद्रोह पनि गरेका छन्। मायामाथि कुटपिट गर्ने अजित हुन् वा अन्य, तिनलाई त्यति कडा सजाय र क्षतिपूर्ति तिराउनु जरुरी छ जुन देखेर कसैले फेरि जातिभेदको दुस्साहस नगरुन्।

_____ · Jan 3, 2012 3:06 PM · 2,362 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all