टक्सिन फ्री २०१२

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

टक्सिन फ्री २०१२ Sunday, 01 January 2012 10:34 नागरिक     (1 vote, average 5.00 out of 5) मनोज दाहाल–मैले पहिलोपटक उसलाई फेसबुकमा भेटेको थिएँ। कुनै अर्को साथीको फ्रेन्ड्स लिस्टमा राम्रो नाम भएकी युवतीको आकर्षक तस्बिर देखेर आफैं रिक्वेस्ट पठाएको थिएँ। त्यही साँझ उसले मलाई एसेप्ट गरिहाली।मैले उसको प्रोफाइल खोतलेँ। एल्बमका तस्बिर अझ राम्रा थिए। झन्डै दस मिनेटजति नै म उसको एकाउन्टमा हराएँ। वालपोस्टहरू हेरेँ। अरू डिटेल्समा घोत्लिएँ। रिलेसनसिप स्टाटसमा ‘इट्स कम्प्लिकेटेड' लेखेकी थिई। मैले उसका केही तस्बिर लाइक गरिदिएँ। एउटा तस्बिरमा ‘लुकिङ गोर्जस' भनेर कमेन्ट पनि लेखिदिएँ। भर्चुअल वर्ल्डमा कसैसँग संवाद सुरु गर्ने योभन्दा उपयुक्त तरिका अरू के हुन सक्थ्यो र! भोलिपल्ट ऊ फेसबुक च्याटमा आई। मैले ‘हेलो' भनेको केही बेरमा ‘हेलो' फर्काई पनि। केही बेर औपचारिकताका सानामसिना शब्द आदानप्रदान गरेपछि मैले सोधेँ, ‘के गर्छौ?' एउटा एनजिओमा अफिसर रहिछ। कुरा खोतल्दै जाँदा ऊ डिभोर्सी भएको थाहा पाएँ। वैवाहिक जीवन समाप्तिको शोकमा रैछ। अलि आवेग र छटपटीमा भएको बुझिन्थ्यो। थामिँदै गएको नदीको छालझैं मैले उसमा व्यग्रता र नियन्त्रित हुन खोज्दै गरेको दुवै भाव एकसाथ पाएको थिएँ। त्यो दिनपछि यदाकदा ऊसँग मेरो फेसबुक च्याट हुन थाल्यो। हामी बिस्तारै भर्चुअल वर्ल्डका घनिष्ठ साथी बन्दै गयौं। म जिस्कन खोज्दा ऊ सम्हालिन्थी। शालीनताबाहेक अरू भाषा स्वीकार गर्दिनथी। निरस भने थिइन। फिल्डमा गएको बेला अर्को संस्थाको केटाले जिस्क्याएको कहिलेकाहीँ चम्किँदै सुनाउँथी। एक दिन भन्दैथिई- बैंकमा चेक साट्न गएको बेला त्यहाँ ३०-३२ वर्षको टेलर मन परेर उसले एकछिन आफैंलाई काउन्टरमा झुलाइराखी रे। अफिसको एउटा प्रोग्रामका लागि साटेको एक लाख रुपैयाँ गन्नै पाँच मिनेट लगाइदिएँ भनेर मख्ख पर्दै थिई। मलाई नयाँ मान्छेसँग संवाद गर्न मन पर्छ। सबै मान्छेसँग आफ्नै गहिराइ हुन्छ। ती गहिराइ खोतल्न चाखलाग्दो हुन्छ। ऊसँग कुरा गर्न म इन्जोय गर्न थालेको थिएँ। दुईवर्षे वैवाहिक जीवनका बेस्वाद फनफनिँदै सुनाउँथी। कहिले रोहितसँग कीर्तिपुर पढ्दा उसको आँखा जुधेको पहिलो दिनको घटना व्याख्या गर्थी र दंग पर्थी। उनीहरू कीर्तिपुरमा सँगै सोसोलोजी डिपार्टमेन्टमा भर्ना भएका रहेछन्। पहिलो भेटमै रोहित उसको नामबाट प्रभावित भएको रहेछ। जागृति भन्ने नाम पहिले कहिल्यै सुनेको थिइनँ भन्दै त्यो शब्दको सानदार व्याख्या गरेपछि ऊ पनि प्रभावित भइछ। यो केही वर्षअघिकै कुरा हो क्यार! सायद पाँचछ वर्ष पहिलेको। दुई वर्षको अफेयरपछि उनीहरूले घरपरिवारकै मन्जुरीमा बिहे गरेका रहेछन्। सल्यानबाट काठमान्डु पसेको रोहितसँग आफ्नी छोरीले बिहे गर्न लागेको जागृतिकी आमाबुवालाई मन नपरे पनि अफेयर स्वीकार गर्नसक्ने समय थिएन। मैले पनि जागृति भन्ने नाम यसअघि कहिल्यै सुनेको थिइनँ। फेसबुकमा कुराकानी हुन थालेको झन्डै छ महिनापछि उसले अपडेट गरेको स्टाटस देखेर म कुतकुतिएँ। लेखेकी थिई- आम इन डिटक्सिफिकेसन। डिटक्सिफिकेसन? मलाई पनि यो शब्द असाध्यै मन पर्थ्यो। डिटक्सिफिकेसन र ट्रान्सफर्मेसन यी दुई अंग्रेजी शब्द मलाई शुद्ध रूपले आध्यात्मिक लाग्थे। यी दुई जीवनका जरुरी र परिपूरक अवस्था हुन् भन्ने मलाई अहिले पनि लाग्छ। जागृतिको शरीरमा भने त्यस्तो के रैछ, डिटक्सिफाई गर्नुपर्ने! म अल्मलिएको पनि थिएँ। फेसबुकका तस्बिर हेर्दा ऊ दुईवर्षे वैवाहिक जीवनको हन्डर खाएर सम्बन्धविच्छेद भएजस्ती लाग्दिनथी। भर्खर स्नातक सकेर युनिभर्सिटी सुरु गरेकी कलकलाउँदी युवती देखिन्थी। फ्रेस थिई। तस्बिरमा हेर्दा फिट लाग्थी। साँझ च्याटमा सोधेँ, ‘के विकार छ र तिम्रो शरीरमा जागृति, डिटक्सिफाई नै गर्नुपर्ने?' ‘तिमीलाई के थाहा? म बल्ल बुझ्दैछु- २७ वर्षको उमेरसम्म आफ्नो शरीर टक्सिनै टक्सिनले भरेकी रैछु। त्यही टक्सिन बाहिर निकाल्ने प्रयत्नमा छु।' ‘टक्सिन? कस्तो टक्सिन?' ‘तिमी अंग्रेजी बुझ्दैनौ? तिमीले लेख्ने भाषामा भन्ने हो भने विकार। अब बुझ्यौ? के बुझ्थ्यौ? म त बल्ल बुझ्दैछु,' अलि आवेशमा आएजस्तो गरेर उसले टाइप परेको म्यासेज फेसबुकको च्याटबक्समा पिलिकपिलिक गर्दै देखियो। मैले कुनै प्रतिक्रिया जनाइनँ। केटीहरू आक्रोशित हुँदा परिस्थिति मत्थर पार्ने सबैभन्दा राम्रो उपाय चुप रहनु हो भन्ने मैले बुझेको थिएँ। उसको कथाले भने मलाई तानिरहेको थियो। डिटक्सिफिकेसन गर्दै गरेकी केटीसँगको संवाद र निकटता मलाई मन पर्दै थियो। मैले कुनै म्यासेज नपठाएपछि उसले फेरि टाइप गरी, 'मेरो शरीरमात्र होइन, मन र विचार पनि टक्सिनले भरिएका छन्।' मलाई उसको कुरामा त्यत्ति विश्वास भने लागिरहेको थिएन। खासमा भन्ने हो भने मैले कुराको भेउ नै राम्ररी पाइरहेको थिइनँ। कसरी जागृतिको शरीर, मन र यहाँसम्म कि विचार पनि टक्सिनै टक्सिनले भरियो त? मैले सपाट भाषामा भनेँ, 'कसरी तिमी टक्सिनले भरियो? के भयो त्यस्तो?' ‘एक दिन भेटेरै कुरा गरौंला,' उसले भनी। हामी फेसबुकमा भेटेको छ महिनाभन्दा बढी भइसकेको थियो। उसले भेट्ने प्रस्ताव राख्नुलाई अन्यथा लिने कुरै थिएन। जागृतिसँग भेटेरै उसका कुरा सुन्न म आतुर थिएँ। यसअघि पनि कतिचोटि हामीले भेट्ने कार्यक्रम बनाएर अन्तिम क्षणमा रद्द गरेका थियौं। एक दिन त जागृतिलाई भेट्न नयाँ बानेश्वरको बेकरी क्याफे पुगिसकेको मलाई उसले टेक्स्ट गरेकी थिई, 'नेक्स्ट टाइम।' *** बल्ल हाम्रो भेट जुरेको थियो। इन्टरनेटको दुनियाँमा गाढा मित्रता भएको महिनौंपछि हामीले पहिलोपटक बौद्धको एउटा रुफटप क्याफेमा बुद्धपूर्णिमाको साँझ भेटेका थियौं। ऊ फेसबुकका तस्बिरजत्ति राम्री लागिन। नराम्री पनि थिइन। फेसबुकका तस्बिरमा प्रियंका चोपडाजस्ती खिरिली देखिन्थी, भेट्दा साउथ इन्डियन हिरोइनजस्ती भ्यात्त परेकी थिई। जागृतिको शरीरमा टक्सिन फ्याँक्ने प्रसस्त ठाउँ भएको मैले तत्कालै महसुस गरिहालेँ। त्यो साँझ चन्द्रमा निकै माथि आउन्जेल हामी गफिएका थियौं। उसले मलाई आफ्नो वृत्तान्त सुनाई। ऊ काठमान्डुको राम्रै परिवारकी छोरी रहिछ। सानेपामा फराकिलो आँगन भएको घरमा बिन्दास पाराले हुर्केकी उसलाई बिहे गरेर जानेबित्तिकै रोहितको दुईकोठे साँघुरो डेराले खिन्न पारेको रहेछ। तैपनि आफूले मन पराएको केटासँग बिहे गर्नुको तातोमा उसले यस्ता अप्ठ्यारा सहिछ। उसको रोहितसँग र रोहितको ऊसँगको आकर्षण एक वर्ष पनि टिकेन। ऊ दुईदुई हप्तासम्म सानेपा बस्न थाली। ऊ सानेपा बसेको बेला रोहित कहिलेकाहीँ केटी साथीलाई घरै ल्याउँछ भनेर घरबेटी दिदीले पहिलोचोटि सुनाउँदा ऊ खङ्रङ्ग भएकी थिई। अर्को वर्षसम्म उनीहरूको सम्बन्धको तिक्तता निकै गहिरियो। रोहितले अर्की विवाहिता महिलाका लागि आफूलाई धोकै दिएको थाहा पाएपछि जागृतिले डिभोर्स नै फाइल गरी। उनीहरूसँगै कीर्तिपुरमा पढेकी शकुन्तलाले रोहित र अर्की विवाहिता कमन फ्रेन्डलाई धुलिखेलको एउटा रिसोर्टमा भेटेकी थिई। रातिराति आउने शंकास्पद फोन र एसएमएसले जागृति यसै आजित भइसकेकी थिई। रोहितको नराम्रो संगत, राति जहिल्यै रक्सीले टिल्ल भएर ढिलो घर आउने प्रसंगले सम्बन्ध निकै कमजोर भइसकेको थियो। रोहितसँग बिताएका दुई वर्षलाई पनि उसले टक्सिनका रूपमा लिएकी रैछ। 'म पनि त्यसबेला जीवनलाई निकै हलुका रूपले लिन्थेँ, अबेरसम्म ठमेलका डिस्कोथेक, वाइन, अरू कार्बोनेटेड ड्रिंक्स, धुवाँ रुमल्लिएका पबमा बित्थे, खानपिनको कुनै सीमा थिएन,' उसले आफ्नो शरीर कसरी विकारले भरिएको छ भन्ने वर्णन गरी। रुफटपमा कफी र मोमो खाइसकेर टहलिँदै बौद्ध स्तुपको छत पुगेपछि उसले भनी, ‘सबैभन्दा पहिले म रोहितलाई आफ्नो शरीर, मन र विचारबाट डिटक्सिफाई गर्दैछु। सम्झनामा आउने ऊसँग बिताएका पलहरू डिलिट गर्दैछु। मनमा आउने रिस, आवेग, तनाव न्युट्रलाइज गर्दैछु। त्यसपछि शरीरभित्रका अनावश्यक तत्व आफैं बाहिर निस्कन थाल्छन्।' म भने चुपै लागेर शितल चन्द्रमामा ढाड सेकाइरहेँ। के प्रतिक्रिया दिनु? जागृतिले ब्यागबाट पर्स निकाली र उसको बहिनीजस्तो देखिने तस्बिर देखाउँदै भनी, ‘ल हेर, पाँच वर्षअघि म यस्ती थिएँ। प्रियंका चोपडाजस्तै थिएँ नि, साउथ इन्डियन हिरोइनजस्ती भ्यात्त परेकी थिइनँ।' लौ, त्यो त उसकै तस्बिर पो रहेछ! प्रियंका चोपडाजत्तिकी त होइन, तर निकै राम्री थिई। ‘अहिले मेरो शरीरमा जथाभावी थुप्रिएको यो बोसो देखेर मलाई दिक्क लाग्छ, बुझ्यौ? कहिलेकाहीँ त म आफूलाई मासुको थुप्रोजस्तो मात्र लाग्छ,' ऊ रन्किई। रोहितसँग सम्बन्धविच्छेद भएको छ महिना त उसलाई सामान्य रूपमा फर्कनै लाग्यो। त्यसपछि भने उसलाई सम्बन्धको नाजुकता र आफूले एकदमै महत्व दिएका सम्बन्ध कति कमजोर धागोले बाँधिएका हुने रहेछन् भन्ने महसुस हुन थाल्यो। ऊ कहिले आफूलाई कमजोर पाउँथी, कहिले बलशाली। रोहितसँग सम्बन्धविच्छेदपछि कहिले आफूलाई स्वतन्त्र भएको महसुस गर्थी रे, कहिले बाँकी जिन्दगी कसरी काट्ने भनेर कहालिन्थी रे। यसबीच उसले किताबहरू पढिछ। एकपटक विपश्यना ध्यान गर्न बुढानीलकण्ठ गइछ। अफिस छुट्टी लिएर ट्राभल एजेन्सीबाट तीन साता सगरमाथा बेसक्याम्प घुमेर फर्किछ। नजिकैबाट सगरमाथा हेरेर फर्केपछि आफ्नो घाउ निकै बिसेक भएको महसुस गरेँ भन्थी। ‘यसबीच मैले तिमीसँग नभेटेको आफैं तयार नभएर हो, म बाहिरी दुनियाँमा आफूलाई लैजानै सकिरहेकी थिइनँ, न्युइयरदेखि बल्ल आफूलाई फरक महसुस गरिरहेकी छु, त्यही भएर तिमीसँग भेट्न आँट गरेकी।' उसकै भाषामा भन्ने हो भने नेपाली नयाँ वर्ष वैशाख १ गते ऊ डिटक्सिफिकेसनमा रैछ। *** त्यो दिनको झन्डै तीनघन्टे भेटपछि हाम्रो मित्रता झनै गहिरिएको थियो। हामी भर्चुअल वर्ल्डबाट वास्तविक जीवनका साथी बनेका थियौं। हाम्रो च्याट पहिलेभन्दा गम्भीर र आत्मीय हुन थाल्यो। हामी अझ खुल्न थाल्यौं। ऊ शालीन र नियन्त्रित हुँदै गएकी थिई। मैले पनि ऊसँग जिस्कन बन्द गरेको थिएँ। जागृति मलाई हाम्रो समाजकी प्रेरणादायी पात्र लाग्न थालेकी थिई। ऊ अरूजस्तो डिभोर्सपछि रन्थनिएकी थिइन। बरु २७ वर्षको जीवनबाट पाठ सिकेर आफूलाई सम्हाल्दै थिई। जीवन डिटक्सिफाई गर्दैथी। ‘कुनै समय यस्तो पनि थियो, मेरो शरीर, मन र विचारमा भरिएका टक्सिनबाट म आफैं आत्तिन थालेकी थिएँ, बुझ्यौ? अफिसबाट फर्केर कोठामा एक्लै बस्दा कहिले निरास हुन्थेँ, कहिले गम्भीर,' उसको कथा जारी थियो। 'म फेरि आफूलाई युनिभर्सिटी जाँदाजस्तै भर्खरकी, कल्कलाउँदी र फ्रेस देख्न चाहन्थेँ। लाग्थ्यो, यसका लागि मैले शरीर, मन र विचारमा भरिएका टक्सिन निकालेर फ्याँक्नु जरुरी छ।' मनलाई पाठ पढाउँदापढाउँदा बल्ल ऊ आफूलाई डिटक्सिफाई गर्न प्रतिबद्ध भएकी रैछ। त्यसपछि अफिसबाट फर्केर घन्टौं नेटमा घोत्लिँदा, किताब पढ्दा र दिमागलाई शान्त बनाउने गीत सुन्दा उसले डिटक्सिफिकेसनका सूत्र थाहा पाउन थालिछ। 'मैले थाहा पाएँ, मानव शरीरमा जसरी आफैं टक्सिन भरिन्छ, त्यसैगरी टक्सिन फ्री हुन सक्ने क्षमता पनि हुँदोरहेछ,' ऊ मलाई टिप्स दिन थालेकी थिई। 'जुन दिन मलाई लाग्यो, सबैभन्दा ठूलो टक्सिन तिम्रो विचारमा छ, त्यही दिनदेखि मैले जीवनशैली नै परिवर्तन गरेँ,' उसले नेपाली न्यु इयरको रिजोलुसन सुनाई। त्यसपछि झन्डै आठ महिना जागृतिसँग मेरो भेट भएन। पछि च्याट पनि पातलियो। उसले फेसबुकमा खासै नयाँ अपडेट पनि गरेकी थिइन। *** क्रिसमसको दिन मैले नयाँ बानेश्वरको हट ब्रेड्समा उसलाई भेटेँ। लौ! ऊ त वैशाख पूर्णिमामा बौद्धमा भेटेभन्दा निकै छरिती भइछ। लगभग युनिभर्सिटी जाँदाको तस्बिरजस्तै फ्रेस थिई ऊ। 'वाह!' उसलाई देखेर मेरो मुखबाट निक्लेको पहिलो शब्द यही थियो। यो भेटमा म ऊसँग खासै बोल्न सकिनँ। ऊ नै बोलिरही। दाह्री नकाटेको र जाडोका बाक्ला लुगा नमिलाई लगाएको म उसको टक्सिन फ्री व्यक्तित्वसँग धकाएको थिएँ। उसको दिनचर्या थाहा पाउँदा म झनै लोभिएँ। जागृतिले आफूलाई रुटिनमा बाँधिछ। पाँच बजे उठिसक्ने। साढे सातसम्म ध्यान, प्राणायाम, व्यायाम। ब्रेकफास्ट। अफिस। दिउँसो सामान्य खाना। फुर्सदमा ट्रान्सेडेन्टल म्युजिक। अफिस छुट्नेबित्तिकै घर। साँझ एकघन्टा ध्यान। रातिको डिनरमा सुप र फलफूल। त्यसपछि दुई घन्टा किताब पढ्ने। दस बजेभित्र ओछ्यानमा घस्रिन सक्ने। हिजोआज उसलाई राति सपनासमेत पर्न छाडेको छ रे। ट्रान्सफर्मेसनको सानदार उदाहरण बनेकी थिई जागृति। मलाई मन पर्ने दुइटा शब्द डिटक्सिफिकेसन र ट्रान्सफर्मेसनको अभूतपूर्व संयोजन। मान्छेले चाहे के गर्न नसक्दो रैछ र! त्यो दिन पनि उसले हड ब्रेड्समा भेज सुपमात्र खाई। ऊ आत्मविश्वासले भरिएकी र चम्किली देखिएकी थिई। आफूले पढेको किताबको उद्धरण गर्दै मलाई सुनाई, 'वैज्ञानिकहरूले भनेका छन्, संसार परम नियममा चलेको छ, कुनै ईश्वरीय तत्वको अस्तित्व छैन रे। त्यही परम नियम नै ईश्वरीय तत्व होइन त? यसबीच मैले परम नियम नै जगतको सत्य रहेछ भन्ने बुझेँ।' म साँच्चिकै आवाजहीन बनेको थिएँ। मेरो शब्दशुन्यतामा उसले थपी, 'आम ट्राइङ टु बि इन रुल्स दिज डेज।' मैले आफ्नो भागको सुप त खाइसकेको थिएँ, उसका कुराले कति प्रभावित भएँ भने चाउमिन घाँटीबाट छिर्दै छिरेन। डिटक्सिफिकेसन मलाई मन पर्ने शब्द थियो, जागृति भने आफैं त्यो शब्द बनेकी थिई। *** दुई दिनअघि उसले मलाई एउटा इमेल पठाई। कसैलाई सम्बोधन गरेर एउटा चिठी पठाएकी रैछ। 'तिम्रो आर्टिकलमा मिल्छ भने मिलाएर राखिदेऊ' भनेकी थिई। 'टक्सिन फ्री २०१२' शीर्षकमा जागृतिले अंग्रेजीमा लेखेको इमेल मैले हुबहु अनुवाद गरेको छु : प्रिय, मसँग तिमीलाई सुनाउन एउटा खुसी र एउटा दुःखको खबर छ। सुरुमा दुःखको खबर सुनाइहालौं तिमी टक्सिनले भरिएका छौ। तिमीले खाएका हजारौं पेग रक्सी, हजारौं खिल्ली चुरोट, सेकुवा, भुटन, रेस्टुरेन्टमा खाएका परिकार, काठमान्डुको धुलो, फोहोरमैलाले तिम्रो शरीर टक्सिनको भण्डारजस्तो भएको छ। यो जुनसुकै बेला पड्कन सक्छ। मसँग तिमीलाई सुनाउन एउटा खुसीको खबर पनि छ, तिमीले आफैं तिम्रो शरीरलाई टक्सिन फ्री बनाउन सक्छौ। यो कुनै गाह्रो काम होइन। तिमीसँगै त्यो क्षमता छ। जीवनको एउटै दर्शन परम नियमलाई बनाऊ, यो बह्मान्ड नै परम नियममा अडिएको छ। मैले बुझेको भाषामा ईश्वरीय तत्व भनेकै परम नियम हो। शरीर शुद्ध पार, मन शुद्ध पार, विचार शुद्ध पार। शिवपुरी बाबाले पनि यही भनेका छन्। त्योभन्दा पहिले श्रीकृष्णले गीतामा भनेको यही हो। मलाई थाहा छ, तिमी जोगीहरूको भाषामा विश्वास गर्दैनौ। वैज्ञानिकतामा त विश्वास गर्छौ नि। म वैज्ञानिक भाषामै भन्छु, परम नियम नै तिम्रो शरीर टक्सिन फ्री बनाउने एउटै दर्शन हुनसक्छ। अराजकताले तिम्रो शरीरमा भरेको टक्सिन अब परम नियममा बाँधिएर बाहिर निकाल्ने प्रयास गर। नयाँ वर्ष २०१२ को धेरै धेरै शुभकामना।

_____ · Jan 1, 2012 10:38 AM · 2,313 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all