संस्कृति सिक्न नेपालमा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

संस्कृति सिक्न नेपालमा          जितेन्द्र साह १ बालकुमारीस्थित हिन्दु विद्यापीठमा पढ्ने थाई बालबालिका । तस्बिर ः विजय न्यौपाने/कान्तिपुर सम्बन्धित समाचार ललितपुर, मंसिर ५ - थाई बालक एघार वर्षीय मेथासित फामी (मेधासिद्धि गौतम) मजाले थाई भाषा बोल्छन् । थाइल्यान्डको मुख्य पर्यटकीय थलो फुकेटका यी बालक आफूसँग थाई-अंग्रेजी शब्दकोश राख्छन् । तर उनी थाइल्यान्ड छाडेर नेपाली/अंग्रेजी भाषा र संस्कृतिको अध्ययन गर्न नेपाल आएका हुन् । 'त्यहाँको विद्यालयमा नेपाली भाषा पढाइ हुन्न, थोरै अंग्रेजी पढाउँछन्,' बालकुमारीस्थित हिन्दु विद्यापीठमा कक्षा-४ मा अध्ययनरत उनले भने, 'बुबाले नेपाली र अंग्रेजी पढ्न र धर्म-संस्कृति बुझ्न नेपाल पठाएका हुन् ।' कक्षा-१ मा अध्ययनरत ९ वर्षीय भाइ फानुवित फामी (भानुसिद्धि गौतम) सँग उनी उक्त विद्यालयको छात्रावासमा बस्छन् । उनीहरूका पिता जिकोडम कुल (ओमप्रकाश गौतम) को फुकेटमा रेडिमेड पसल छ । मेथासितका अनुसार बा, आमा, फुपू, साहिँला बा र साहिँली आमा सबैको घरमा नेपाली नाम र परिचय कार्डमा थाई नाम हुने गर्छ । उक्त विद्यालयको कक्षा-५ मा अध्ययनरत १२ वर्षे सारायुथ (राम) लामाले त्यहाँ नेपाली मन्दिर बनाएर पूजाआजा गर्नुका साथै सांस्कृतिक कार्यक्रम गर्ने र म्युजिक एल्बमसमेत निकाल्ने गरेको बताए । 'राहदानीमा र सरकारी कामका लागि थाई नाम राखे पनि घरमा नेपाली नाम नै हुन्छ,' उनले भने, 'न्वारानदेखि बिहेबारी र धार्मिक संस्कारमा नेपाली नामकै प्रयोग हुन्छ । थाई विद्यालयमा हुने तीन महिना बिदाका बेला नेपाली गुरु राखेर भए पनि त्यहाँ बस्ने नेपालीले बालबालिकालाई नेपाली भाषा सिकाउने गरेको उनले बताए । अभिभावक एवं फुकेटस्थित थाई नेपाली संघका शाखा सचिव ओमप्रकाश गौतमका अनुसार आफ्नो भाषा-संस्कृति सिकाउन र नेपालमा अंग्रेजी पढाइ राम्रो हुने भएकाले बालबालिकालाई पढ्न पठाइएको हो । 'नेपालबाट पढेर गएपछि यहाँको राम्रो विद्यालयमा भर्ना हुन्छ,' उनले कान्तिपुरसित टेलिफोनमा भने । 'आतेजाते हवाई भाडा जोड्दा पनि थाइल्यान्डको भन्दा नेपालका विद्यालयमा पढाउन सस्तो पर्छ,' गौतमले भने, 'अंग्रेजी, गणित र विज्ञानको पढाइ थाईभन्दा काठमाडौंको स्तरीय छ ।' उनले सबै किसिम र सुविधाले काठमाडौंमा पढाउन सस्तो भएको बताए । यी बालबालिकाहरू एक महिनाको दसैं-तिहारको बिदामा मात्र घर जाने गर्छन् । धेरै पहिलेदेखि थाइल्यान्डमा बसे पनि नेपालीहरूले दीपावली, देउसी-भैलो, तीज र दसैं जस्ता आफ्ना चाडपर्व धुमधामले मनाउने गरेको गौतमले बताए । दार्जिलिङ र नेपालभरिका विद्यालयमा थाई नेपाली बालबालिका पढे पनि यकीन तथ्यांक संकलन भने भएको छैन । हिन्दु विद्यापीठमा मात्रै एल केजीदेखि माथिल्लो कक्षासम्म ९ जना थाई बालबालिका अध्ययनरत छन् । थाई बालबालिकाहरूले वर्षैपिच्छे थप्नुपर्ने गैरआवासीय नेपाली (एनआरएन) भिसामा यहाँ पढ्न पाउँछन् । थाईस्थित नेपाली एम्बेसीले नेपालीभाषी भनेर प्रमाणित गरेर पठाएको पत्रअनुरूप गृह मन्त्रालयले अध्यागमन विभागमार्फत यो भिसा दिन्छ । गौतमका अनुसार परिवारका कुनै सदस्यको नागरिकता हुनुपर्ने प्रावधानका कारणले पुस्तौंपुस्ता अगाडि थाइल्यान्ड पुगेका नेपालीहरूले गैरआवासीय परिचय कार्ड पाउन सकेका छैनन् । यो कार्ड पाएकाले १० वर्षसम्म भिसा नवीकरण गर्नु पर्दैन । यो वर्षको एनआरएन सम्मेलनमा थाई र बर्मेली व्यवसायीहरूले भिसाको यो मुद्दा उठाएका छन् । सरकार र गृहमन्त्रालयले ऐनमा संशोधन गरेर यस दिशामा पहल गर्ने प्रतिबद्धता जनाएको छ । पढ्न आउने बालबालिकाले गृहमन्त्रालयमार्फत अध्यागमन विभागबाट सीधै भिसा पाउने गरे पनि गत वर्षदेखि परराष्ट्र मन्त्रालय जानुपर्छ । थाइल्यान्डका १ लाख नेपालीमा ८० हजारको थाई नेपाली संघसँग रेकर्ड रहेको गौतमले बताए ।  गृहमन्त्रालयका अनुसार नेपालीको यकीन पहिचान गरेर भिसा सुविधा प्रदान गर्न प्रक्रिया लम्ब्याइएको छ । 'गृहले आफंै छानबिन गर्दा प्रक्रिया अझ लम्बिन सक्थ्यो,' परराष्ट्र मन्त्रालयका उपसचिव रामबाबु ढकालले भने, 'त्यहाँको नेपाली एम्बेसीले प्रमाणित गरेर परराष्ट्रलाई पत्र लेख्छ, परराष्ट्रले गृहलाई लेखेपछि उनीहरूले भिसा पाउँछन् ।' उपसचिव ढकालले यो सहज प्रक्रिया भएको बताए । थाई र बर्मेली नेपाली भाषीलाई एनआरएन कार्ड उपलब्ध गराउन कानुनमा संशोधन गर्नुपर्ने भएकाले यो अझै छलफलको क्रममा रहेको ढकालले बताए । 'यो कर्मचारीको तहबाट हुने कुरा होइन, त्यहाँका नेपालीभाषीले मुख्य दल र नेतृत्व तहसम्म यो समस्या पुर्‍याउनुपर्छ,' उनले भने । उपसचिव ढकालले नेेतृत्व तहबाट पहल भएमा मात्र कानुन संशोधन हुन सक्ने बताए ।   प्रकाशित मिति: २०६८ मंसिर ५ ०९:०४

_____ · Nov 21, 2011 5:03 PM · 1,608 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all