what an article

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

    मिल्काउनु पर्ने केही अवशेषहरू – मोदनाथ प्रश्रित     हाम्रो समाजमा अझ पनि जात, जाति, इलाका, पहिरन, पेशा, खानपिन, धर्म, संस्कृति आदिका आधारमा एक–अर्कालाई घृणा गर्ने, हेप्ने, अविश्वास गर्ने, छेड हान्नेजस्ता साम्प्रदायिक कुसंस्कारहरू बाँकी–टाकी रहेका पाइन्छन्। यस्ता अवशेषहरूमध्ये धेरैजसो मध्यकालीन सामन्तवादसित सम्बन्धित छन्। कतिपय त कविलातन्त्री अवस्थाकै तुषका रूपमा पनि बाँकी छन् र केही चाहिँ व्यापारिक पुँजीवादको उदयपछि देखा परेका छन्। ती चाहे जुनसुकै समयमा उब्जनी र अवशेष होउन्, तिनले नेपाली जनताको एकता, आत्मीयता, राष्ट्रियता र प्रजातान्त्रिक भावनामा हानीनोक्सानी पुर्‍याउँने गरेका छन्। त्यसैले यस्ता विषैला साम्प्रदायिक धारणाका अवशेषहरूलाई छानविन गरेर उखेली सबैका निम्ति मिल्काउँनुपर्छ। यस लेखमा म त्यस्ता कतिपय कुरातिर समाजको ध्यान तान्न चाहान्छु। हामीकहाँ जात–जातिको आधारमा चल्दै आएका घृणा, हेपाई र अविश्वासको भावना व्यक्त गर्ने कतिपय उखानहरू यसखालका छन्: (१) “बाहुनको चित्त माखाको पित्त”, “जहाँ दही उहीँ बाहुनको सही”। (२) “बाहुनलाई पाटो नदिनु, नेवारलाई बाटो नदिनु”, “गुरूङलाई वन नदिनु, क्षेत्रीलाई मन नदिनु, ठकुरीलाई धन नदिनु”। (३) “वरिपरी खस माझमा नबस”। (४) “कुमाईको घुमाई, बनियाको जाल”, “मरेको कुमाईले ज्यूँदो पूर्वियालाई ठग्छ”। (५) “नेवार इष्ट र बाबु दुष्ट कहिल्यै हुदैन”। (६) “अक्कर पर्‍यो जाडे, लिँड सारे”। (७) “कायस्थका बच्चा कभी न सच्चा” आदि। यसरी नै बाहुनलाई लोभी, लुच्चो, क्षेत्री र राई–लिम्बूहरूलाई क्रूर, रिसाहा, खुँखार, नेवारलाई डरछेरूवात्र मगरलाई डेब्रे, हठीत्र गुरूङलाई भेँडो, बुद्धु आदिजस्ता विशेषण र लाञ्छना पनि केलाएर हेर्‍यौँ भने माथि भनेजस्ता छेपनहरू एकदमै झुटा हुन् भन्ने कुरा प्रष्ट हुनेछ। हाम्रो देशका बाहुनहरू सबै नै सानो चित्तका स्वार्थी र लोभीमात्रै हुन्छन् त? त्यसै भए सन्त शशिधर, ज्ञान दिलदास, लक्ष्मीप्रसाद देवकोटा, टङ्कप्रसाद आचार्य, मनमोहन अधिकारी, बी.पी. कोइराला, युद्धप्रसाद मिश्रजस्ता अनेकौँ व्यक्तिलाई र देशका निम्ति आफूलाई बलिदान गर्ने वीर सहिद नेत्र घिमिरे, रामनाथ दाहाल, कृष्ण कुइँकेल, ऋषि देवकोटा आजाद आदिलाई के भन्ने? के तिनलाई “माखाको पित्त” र 'लोभी' जस्ता आक्षेप लगाउन सकिन्छ। यदि नेवार जातिकै रूपमा कायर हुन्छ र ऊ कसैको इष्ट (बन्धु) हुनै सक्तैन भने आधुनिक नेपाली राजनीतिको उषाकालमा राणाशाहीको विरूद्ध सङ्घर्षको बिगुल फुकेर मृत्युसित पौठेजोरी खेल्ने सम्मान्य सहिद गङ्गालाल, धर्मभक्त, शुक्रराज शास्त्री आदि, ने.का. का निर्भिक नेता गणेशमान सिंह, सामन्तवादसित जीवनभर सङ्घर्ष गर्ने ने.क.पा. का संस्थापक पुष्पलाल, विख्यात, प्रगतिशील लेखक हृदयचन्द्र सिंह प्रधान आदिलाई कसैले कायर र नेपाली जनताका इष्ट हैनन् भन्न सक्छ? यदि मधिसे भनेर पहाडेहरूले घृणा र हेपाईको भावना लिने हो भने राजर्षी जनक, दार्शनिक कपिल, कनकमुनि, गौतम बुद्ध आदिजस्ता गौरवशाली ऐतिहासिक पुर्खाहरूदेखि आजसम्मका अनगिन्ती तराईवासी विद्वान, नेता र पञ्चायतकालमै सहिद हुने दुर्गानन्द झा, रामप्रित यादव, कामेश्वर, कुशेश्वर यादव, झप्सी मण्डल, सिंहेश्वर पासवान आदिको कसरी मुल्याङ्कन गर्ने?  वीर सहिद भीमदत्त पन्त, गौरा प्रसाई (क्रान्तिकारी महिला), सी.के. प्रसाई आदि कुमाई हुन्। एकदेव आले, बुद्धिसिंह राना (२०१८ मा सहिद), इगलबहादुर (२०३६) आदि मगर हुन्। गुरूङ जातिबाट झागल, जङ्गबहादुर गजेघले, चित्रबहादुर गुरूङ र सहिदहरू धर्मध्वज (२००७), लालध्वज, हरिबहादुर र खेमबहादुर (२०१८) जस्ता व्यक्ति जन्मेका छन्। क्षेत्री जातले पृथ्वीनारायण शाह, भीमसेन थापा, बलभद्र, अमरसिंह, थिरबम मल्ल (२००७ मा सहिद) आदि व्यक्तिलाई दिइएको छ। राई लिम्बू समुदायबाट संस्कृतिविद् इमानसिंह चेम्जोङ, सहिद रन्तकुमार वान्तवा (२०३५), बमबहादुर वान्तवा (२०३५), सहिद खगेन्द्र राई आदित्र तामाङबाट निर्मल लामा, पारिजात, एस.पी. तामाङ (अर्थशास्त्री)त्र कामीबाट सर्वजीत विश्वकर्मा (अछुत प्रथाविरोधी आन्दोलनका नेता), रूपलाल विश्वकर्मा (वामपन्थी नेता)त्र दमाईबाट धनमानसिंह परियारत्र कायस्थबाट काशीप्रसाद श्रीवास्तव (इतिहासकार), वीरेन्द्रकुमार मल्लिकत्र थारूबाट सहिद गुम्रा थारू, भीमनारायण चौधरी (वामपन्थी नेता)त्र शेर्पाबाट तेन्जिङ शेर्पा आदि विभिन्न क्षेत्रमा विभिन्नखाले योगदान दिएका व्यक्तिहरू देखा परेका छन्। यी मलाई झट्ट सम्झना भएका केही सिमित नाममात्र हुन्। जुनसुकै जात/जाति र क्षेत्रमा पनि देश, समाज र जनताका निम्ति लागिपर्ने असल मानिसहरूका साथै स्वार्थी, लोभी, गुण्डा, देशद्रोही, जनद्रोहीहरू पनि जन्मन्छन्। हामीकहाँ यस्ता दुवैथरी मानिस छन् र जन्मनेछन्। कुनै खास इलाकामा जन्मेका मानिस सभ्य र अर्को इलाकाको असभ्य हुदैन। यसरी जात/जाति र इलाकाको आधारमा कसैलाई राम्रो भन्नु नै असभ्य र पछौटे चिन्तनको चिनारी हो। माथिका उदाहरणबाट प्रष्ट छ– जात/जाति, इलाका आदिको आधारमा आँखा चिम्लेर, छानविन नै नगरी गुणगान वा दोषारोपण गर्ने चलन एकदम गलत र अवैज्ञानिक हो। उसो भए हाम्रो समाजमा यस्ता साम्प्रदायिक धारणाहरू कसरी जन्मे त? तिनको कुनै ऐतिहासिक र ऐतिहासिक आधार छ या छैन? यसबारे छोटो चर्चा गरौँ। यस्ता भावनाहरू पुराना कविलातन्त्री समाज, दासस्वामी समाज, सामन्ती व्यवस्था र पुँजीवादी प्रभावबाट समेत विभिन्नरूपमा आएका छन्। मगर, गुरूङ, तामाङ, राई, लिम्बु, थारू आदि जातिबारे प्रायः जुनखाले आक्षेपहरू लगाइन्छन्, त्यसमा कविला वा जनजातीय अवस्थाका गोत्र र रगतका आधारित सम्बन्धका परस्पर विरोधी भावनाका अवशेषहरू पनि रहेको देखिन्छ। हामीकहाँ सामन्ती व्यवस्था रहनुको कारणले अहिलेसम्म पनि सबै जातिको एकता र मित्रताका वस्तुगत आधारहरू पूणरूपले तयार नभएकाले त्यस्ता अवशेष झिनोरूपमा बाँकी नै छन्। दासस्वामी समाजमा मालिक वर्गले विभिन्न कविला समुह वा जातिहरूबीच घृणा फैलाएर लडाइँ गरी लुटपाटको धान र दासदासी हात पार्ने गर्थे। त्यस अवस्थाका सांस्कृतिक अवशेष पनि बाँकी छन्। नेपालले लामो समयदेखि राज्यव्यवस्थामा हिन्दू धर्म र वर्णवादलाई प्रोत्साहन दिएकाले यहाँ परम्परागतरूपले नै शिक्षा, राजनीति, शासन, अर्थतन्त्र आदि क्षेत्रमा बाहुन, क्षेत्री, नेवारहरूको माथिल्लो तप्का अघि बढ्नु स्वभाविकै थियो। त्यसैले समाजका प्रायः सबै क्षेत्रमा यिनीहरूको बोलवाला रहँदै आएकाले अरू विभिन्न जाति, जनजाति र गरीब श्रेणीका जनतामा बाहुन, क्षेत्री र नेवारहरूलाई जातीयरूपमा नै शासक, शोषक, फटाहा, ठगाहाजस्तो ठान्ने भावना बढ्यो। तराईका कायस्थहरूको एक अङ्गले पनि अघिदेखि नै कानुनी व्यवसाय गर्दै आएकाले सारा कायस्थहरू नै जाली हुन्छन् भन्ने पर्‍यो। अर्कातिर, नेपालका अधिकांश जनजाति र गरीब श्रमिक समुहका मानिसहरूले पढ्ने, लेख्ने, शासनमा पुग्ने कम अवसर पाएकाले उनीहरूले देश–विदेशका ठालूहरूको चाकरी गरेर पेट पाल्नुपर्ने स्थिति रह्यो। त्यसैले तिनीहरू बाहुन, क्षेत्री, नेवार आदि भन्दा सबै क्षेत्रमा पछाडि परेर लाटो–सोझो अवस्थामा रहन बाध्य भए। नेपालभन्दा भारतमा पहिले पुँजीवादको प्रवेश भएकाले र तराईमा प्रायः भारतीय मूलका मानिसहरू बस्दै आएकाले, यातायातको सुविधाले भारतीय व्यापारीहरू आवतजावत गर्नाले समेत हाम्रो पहाडमा भन्दा तराईमा व्यापार र पुँजीवादको प्रभाव चाँडै फैलिनु स्वभाविकै थियो। हाम्रा पहाडवासीहरू मालताल किन्न तराईका विभिन्न हाटबजारमा झर्दा साहू–महाजनबाट कहिलेकाँही ठगिने गरेकाले पहाडीहरूमा पूरै तराईवासीहरूलाई नै ठग ठान्ने गलत भावना जन्म्यो। राणाकालबाट तराई आवाद हुन थालेपछि कतिपय ठूलाठालू र चलाख पहाडीहरूले तराईमा जमिन्दारी र पटवारीगिरी चलाउन थाले। फलतः लाखौँ तराइवासीहरूको जमिन मुट्ठीभर जमिन्दारहरूको हातमा केन्द्रित हुन गई हिजोका मध्यमस्तरका किसानहरूसमेत क्रमशः जमिन्दारका मोही, हली, गोठाला हुन बाध्य भए। हुन त तराईमा पहाडी मूलका मात्र हैन, तराई क्षेत्रकै पनि ठूल्ठूला जमिन्दार छन् तर पहाडी जमिन्दारहरूको क्षेत्रमा सारा पहाडीहरू नै शोषक, हैकमवाज हुन्छन् भन्ने मनोवैज्ञानिक छाप पर्दै आयो। प्रहरी, सेना र कर्मचारी क्षेत्रमा पनि तुलनात्मकरूपमा यसै भावनाले पुट पायो। कतिपय जातीय घृणाका साम्प्रदायिक भावना त २००० वर्ष पुराना अवशेषसमेत भेटिन्छन्। ई.पू. ७०० तिर हाम्रो तराईको दक्षिणमा लिच्छवी, मल्ल आदिको बृज्जी महासङ्घ बनेको थियो। त्यस महासङ्घसित हाम्रा तराईवासी डराउँथे पनि। त्यही बृज्जी शब्द प्राकृतमा “बज्जी” भएर अहिले “बाजी” हुन आएको छ र गालीमा “बजिया” बनेको छ। अहिले तराईमा थारूहरू दक्षिण मू्लका निवासीलाई बाज, बजिया भन्छन् र “बजिया” भन्ने गाली पहाडका कुनाकुनामा समेत पुगेको छ। यस्तै–यस्तै कतिपय कारणहरूबाट नै हाम्रो समाजमा माथि भनेजस्स्ता विभिन्न साम्प्रदायिक धारणाहरू जन्मने र हुर्कने गरेका हुन्। जनतालाई विभिन्न उपायले फुटाएर शासन र शोषण गर्न खप्पिस सधैभरी उक्साउँने काम गर्दै आएका छन् र आज पनि जातीय, क्षेत्रीय आदि जस्ता फुटबाट फाइदा उठाउन चाहने तत्व सक्रिय नै छन्। यस्तै स्वार्थी र गलत तत्का गलत कामका कारणले नेपालको राजनीतिक एकीकरणको दुई सय वर्षभन्दा बढी समय बितिसक्दा पनि आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा राष्ट्रिय एकताका आधारहरू परिपक्व हुन नसकेकाले सबै जाति र क्षेत्रका जनताको बीच वास्तविक एकता र आत्मियताको राष्ट्रिय भावना राम्ररी मौलाउन सकेको छैन। राम्ररी हेर्नोस्। के नेपालका बाहुन, क्षेत्रीय, नेवारहरूभित्र पनि गरीब र शोषित–पीडितहरूको ठूलो सङ्ख्या छैन? के बाहुनले बाहुनललाई, क्षेत्रीले क्षेत्रीलाई, नेवारले नेवारलाई, राईले राईलाई, गुरूङले गुरूङलाई, पहाडीले पहाडीलाई, मधिसेले मधिसेलाई ठगेको छैन र? सबै जाति र सबै क्षेत्रमा शोषक र शोषित, ठग्ने र ठगिनेहरू छैनन्? सामन्ती शासनअन्तर्गत जनताको प्रजातान्त्रिक र वर्गीय भावनालाई दमन गरिएको र योजनावद्धरूपले साम्प्रदायिक भावनामा जनतालाई रङ्गाएर फुटालिएकाले नै हामीकहाँ उपर्युक्त गलत साम्प्रदायिक संस्कारहरूको विकास भएको हो। आजको युग राष्ट्रियता, प्रजातन्त्र, विज्ञान, वर्गीय चेतना, समाजवाद र संयुक्त राष्ट्र सङ्घको मानवतावादी युग हो। हामीमा सबैखाले साम्प्रदायिक र अवैज्ञानिक विचारहरू रहेसम्म हामीले न बलियो राष्ट्रिय एकता कायम गर्न सक्छौँ, न प्रजातन्त्र र समाजवादको निम्ति जनताको निम्ति जनताको विराट् शक्ति सिर्जन सक्छौँ, न त विश्व श्रमिक वर्गको महान् एकता नै। त्यसैले आज हामीले हाम्रा माझ रहेका उपर्युक्तखाले साम्प्रदायिक भावनाका सम्पूर्ण अवशेषहरू उखेलेर मिल्काउँने, जातीय घृणा मेट्न, जातपातको भेदभाव हटाउन र जनताको बीच राष्ट्रिय, प्रजातान्त्रिक, वर्गीय समाजवादी एकता हासिल गर्न एवं विश्वबन्धुको भावना बढाउन भगिरथ प्रयत्न गर्नुपर्ने खाँचो छ। यस निम्ति सबभन्दा पहिले हामीले नेपालका सबै जात, जाति र क्षेत्रका जनताको माझमा गहिरो मित्रता, उच्च सद्भावना र व्यापक हार्दिकता कायम गर्न सक्नुपर्छ। अनि आम जनताका दिमागमा निरङ्कुशता, साम्प्रदायिकता, सामन्तवाद र प्रभुत्ववाद जस्ता युगविरोधी, जनविरोधी, प्रजातन्त्र र समाजवादविरोधी, विज्ञानविरोधी शक्तिहरूको विरूद्ध, तीव्र घृणा र अजेय क्रान्तिकारी भावनाको व्यापक विकास गर्नु आवश्यक छ। यही हो आजको युगको माग, विश्वको माग। यस बाटोबाट मात्र हामी नेपाली एकतावद्ध भएर सही दिशामा अघि बढ्न सक्छौँ।  (मोदनाथ प्रश्रितका सङ्कलित रचनाहरू, खण्ड ६ बाट) Last edited: 18-Nov-11 04:11 PM

gorkhecowboy · Nov 18, 2011 4:02 PM · 9,642 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all