बिहान सात बजे पनि गाउँ सुनसान थियो। मान्छेहरु रोइरहेका थिए । कोही मौन थिए। सबैको अनुहारमा त्रास। म स्तब्ध भएर उभिएको थिएँ। मेरो सामु थियो, बुबा (मोतिलाल) को मृत शरीर। पछाडि डोरीले दुवै हात बाँधिएको। कन्चटमा गोली हानेको निशान। अनुहार, छाती र पिठ्युभरि बन्दुकको कुन्दा र बुटले हानेको निलडाम। रक्ताम्मे शरीर। जताततै चोटले खुइलिएको छाला। २०५९ असार २५ गते राति १ बजे। बाँके शमशेरगञ्जको अकलघरवा गाउँ। घरबाट बुवालाई अपहरण गरी माओवादी कार्यकर्ताले गोली हानेर मारेका थिए। गाउँको किनारमा हाम्रो पक्की घर थियो जसलाई सोही रात माओवादीले बम पड्काएर ध्वस्त पारिदिए। त्यो त्रासदीपूर्ण रातमा मैले मेरो अभिभावक र ओत लाग्ने छाप्रो दुवै गुमाउनुपर्यो। यी सबै घटनाक्रम र दृश्यहरु मलाई सपनाजस्तै लागिरहेका थिए। घटना भएको राति नौ बजे म छतमा पल्टिरहेको थिएँ। बा आँगनमा खाना खान बस्नुभएको थियो। सानो भाइ र अर्की बहिनी बासँगै खाटमा थिए। आमा भान्सामा। अचानक घरमा एक हुल मान्छे छिरे। छतबाट उठेर मैले तल हेरेँ। आँगनको दृश्य डरलाग्दो थियो। पाँच/छ जनाको एउटा समूहले बालाई प्वालैप्वाल भएको बन्दुकले घेरेको थियो। आमा र भाइबैनी रुँदै थिए। बन्दुकको बीचमा बा चुपचाप उभिनुभएको थियो। सम्भावित अप्रिय घटनाको त्यो दृश्य सुरुवातमात्र थियो। परिणामबारे मेरो दिमागले काम गर्न छाडेको थियो। उनीहरुले मलाई देखेका थिएनन्। तलको डरलाग्दो दृश्यले मेरो शरीर गलिसकेको थियो। अचानक म छतबाट हाम फालेर थारु टोलमा पुगिसकेको थिएँ। पर पुगिसकेपछि मैले आफूलाई कायर ठानेँ। पूरा परिवार बन्दुकले घेरिएको अवस्थामा भाग्नु कायरता थियो। आमाका अनुसार माओवादीले बालाई घिसार्दै, कुट्दै गाउँबाहिर लगेका थिए। बालाई छाडिदिन आग्रह गर्दै आमा रुँदै उनीहरुको पाउ पनुभयो। उहाँको अनुनयविनयले काम गरेन। 'मलाई कहाँ लैजाँदैछौ?' बा सोधिरहनुभएको थियो, 'मेरो अपराध के हो? के गल्ती गरँ मैले?'। उनीहरु जबाफ दिइरहेका थिएनन्। थारु बस्ती सुनसान थियो। मेरो गाउँमा थारु र मधेसीको मात्रै बसोवास छ। मेरो घर यी दुई समुदायको बीचमा थियो। दुई जना भेटिए, गंगाराम थारु र राधेश्याम थारु। रातभरि त्यहीँ बसेँ। मधेसी टोलबाट मान्छे रोएको, कराएको आवाज लगातार आइरहेको थियो। त्यो रात करिब तीन सयभन्दा बढी माओवादी कार्यकर्ताले गाउँ चारैतिरबाट घेरेर कब्जा गरेका थिए। गाउँको बीचमा ठूलो इनार छ। माओवादीले कारबाहीका लागि घरघरबाट मान्छे घिसार्दै त्यही इनारमा जम्मा गर्दै थिए। कम्ब्याट डे्रस लगाएका उनीहरुका हातहातमा बन्दुक थिए। माओवादीसँग लामो सूची थियो। एउटाले नाम पढ्दै थियो, अर्कोले भिडबाट सोही नामको मान्छे तान्दै अर्कोतर्फ राखिरहेको थियो। उनीहरुले नजिकैको घरबाट घन, बन्चरो र सिलौटा ल्याएर त्यही राखेका थिए। कारबाहीको सूचीअनुसार सिलौटामा राखेर इन्दल यादव र जगदीश यादवको एउटा-एउटा खुट्टा काटेर अगल गरे। सोहन यादवलाई घनले हानेर त्यहीँ मारे। दुई दर्जन जति गाउँलेलाई कुटपिट गर्दै बेहोस पारे। धनीराम यादवलाई गाउँबाहिर लगेर गोली हाने। तर, पेटबाट चिप्लिएर गोली बाहिर गयो र उनी घाइतेमात्र भए। राति १ बजे केही मिनेटको फरकमा दुई गोली चलेका थिए। बिहान थाहा भयो, राति चलेको दुईमध्ये एउटा गोली बाको शरीरमा परेको थियो। राती १ः३० बजेसम्म कुटपिट जारी थियो। २ बजेसम्म माओवादीहरु गइसकेका थिए। यस घटनाको करिब तीन महिनाअघि नजिकैको हवल्दारपुरमा रामगोपाल तमोलीलाई माओवादीले मार्ने योजना बनाएका थिए। उसले सुराकी गरेको माओवादीको आरोप थियो। गोपाललाई मार्न आएको मान्छेले सकेन र भाग्यो। त्यहीँका स्थानीय केही व्यक्तिले दुई जनालाई समातेर प्रहरीलाई बुझाएका थिए। मेरो गाउँमाथि माओवादीले सामूहिक आक्रमणको कारण त्यही थियो। त्यसैको बदला लिएका थिए, माओवादीले। यथार्थमा त्यस घटनासँग माओवादी कारबाहीमा परेका मेरा गाउँले कसैको सरोकार थिएन। माओवादी कार्यकर्ता समातिएका बेला बा बिरामी हुनुहुन्थ्यो। उहाँ दिनभरि घरमै हुनुहुन्थ्यो। बा किसान हुनुहुन्थ्यो। राजनीतिकरुपमा उहाँ नेकपा (एमाले) कार्यकर्ता। द्वन्द्वकालमा माओवादीले सबभन्दा बढी एमाले समर्थकलाई मारेका थिए। म विश्वस्त भएर भन्न सक्छु, फरक राजनीतिक धार र फरक विचार भएकै कारण माओवादीले बाको हत्या गरेका थिए। बाको दोष के थियो? किन मारिनुभयो उहाँ? किन कारबाहीमा परे ती निर्दोष गाउँले? मेरा बा कसरी 'जनयुद्ध' को बाधक बने? जबाफ माओवादीसँग छ? माओवादी नेता, कार्यकर्ता र स्वयं अध्यक्ष पुष्पकमल दाहालसँग मेरा आँखामा आँखा जुधाएर जबाफ दिने नैतिक शक्ति छ? पीडितहरुले न्याय कहिले पाउने? निर्दोष गाउँलेको हत्या गर्ने, अंगभंग गर्ने कुनै पनि माओवादी कार्यकर्ता वा नेतालाई अहिलेसम्म कारबाही भएको छैन। घटनाको छानबिनसमेत माओवादीले गरेको छैन। घटना भएको नौ वर्ष भइसक्यो। मेरी आमाका आँखा अझै ओभाएका छैनन्। आमा रुँदा उहाँलाई चुप लगाउन मसँग कुनै उपाय छैन। घटनापछि लगातार पाँच वर्षसम्म गाउँबाट हामी विस्थापित हुनुपर्यो। सुरक्षित आश्रयको खोजीमा कति ठाउँ भौतारिनुपर्यो। यो मानवीय पीडाको क्षतिपूर्ति माओवादीले दिन सक्छ? मनभित्रको पीडा मैले कहिल्यै कसैसामु पोखिनँ। द्वन्द्वकालमा मारिएका पीडित परिवारमध्ये म पनि एक हुँ भनेर घाउमा मलम लगाउने प्रयास गरिरहेँ। माओवादीबाट पीडित भएर पनि माओवादीको अहित मैले कहिल्यै चिताइनँ किनकि जनतामा अधिकारको जागरण ल्याउने दल उही थियो। माओवादीले देशमा यस्ता थुप्रै परिवर्तन ल्याएको छ जसका लागि ऊ प्रशंसाको हकदार छ। उसका पछिल्ला केही निर्णयले मलाई बोल्न बाध्य पार्यो। जनयुद्धकालमा सर्वसाधारणको हत्या, अपहरण वा सम्पत्ति कब्जा गरेको थुप्रै माओवादी नेता र कार्यकर्तामाथि अभियोग छ। तिनैमध्ये एक हुन् ओखलढुंगाका बालकृष्ण ढुंगेल। अदालतले दोषी ठहर गर्दै जन्म कैदको सजाय सुनाएको बालकृष्णको मुद्दा माओवादी पहलमा मन्त्रिपरिषद्ले फिर्ता गर्ने निर्णय गरिसकेको छ। हत्याका अभियुक्त ढुंगेलमाथि कारबाही हुनुको साटो उल्टै उन्मुक्ति दिनु कहाँको न्याय हो? यही हो दाहाल र विद्यावारिधि बाबुराम भट्टराईको नैतिकता? यो, माओवादीपीडितको मात्र होइन, न्याय पक्षधर सबैको अपमान हो यो। जनयुद्धताक हत्या र अपहरणको अभियोग लागेका हरेक माओवादी नेता र कार्यकर्ताको मुद्दा फिर्ता गराउन एनेकपा (माओवादी) लागिपरेको छ। तर, दोषीलाई उन्मुक्ति दिने काम रोक्नैपर्छ। माओवादीले हतियार बिसाएको पाँच वर्ष भयो। युद्ध सकिएको छ। घाउ ताजै छ। युद्धका घाउ पुर्न दाहाल साँच्चै इमानदार छन् भने दोषीलाई कारबाही हुनैपर्छ।
Ojaswi rana · Nov 14, 2011 5:51 PM · 9,697 views
True story from nagariknews...
Ojaswi rana · Nov 14, 2011 5:52 PM
No wonder, people in madhes hate Maoist.
vasudev · Nov 15, 2011 3:06 AM
Sad..... May God bless the victims family.
sanju.baba · Nov 15, 2011 8:25 PM
All for money and power for Maobadi kingpins.
aman · Nov 16, 2011 9:45 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion