यसरी मारिए मेरा श्रीमान् Sunday, 13 November 2011 11:10 नागरिक 30 विनिता दाहाल, काठमाडौं, कात्तिक २७- काठमाडौंमा ठेक्कापट्टा गर्ने अर्जुन लामा एकाध महिनामा कमाइ पुर्‍याउन गाउँ जान्थे- काभ्रे नमोबुद्ध नजिकै दाप्चा। २०६२, वैशाख १७ गते घरबाट १० मिनेट उकालोको श्रीकृष्ण माविमा सञ्चालक समिति अध्यक्ष छानिँदै थियो। गाउँलेको चाहना थियो- स्कुललाई आर्थिक सहयोग गरिरहने अर्जुन नै अध्यक्ष हुन्। नभन्दै उनी निर्विरोध अध्यक्ष छानिए। अघिल्लो साँझ अबेला घर पुगेका उनी गाउँमा क-कसलाई कतिकति पारिश्रमिक दिनु छ, हिसाब गर्दै थिए। श्रीमती पूर्णिमाया लामाले सोधिन्, 'किन आजै हिसाब गरेको? कति दिन बस्ने गरी घर आएको हो र?' 'भोलि नै स्कुलको काम सकेर फर्किहाल्छु,' अर्जुनले श्रीमतीपट्टि नहेरी जवाफ दिए, 'गाउँका केटाहरूको कामको पैसा बाआमालाई पुर्‍याइदिनु छ।' काठमाडौंमा अर्जुनले गाउँका केही केटालाई रोजगारी दिएका थिए। पारिश्रमिक उनी आफैँ गाउँ पुर्‍याइदिन्थे। ... भोलिपल्ट सँगै स्कुलको कार्यक्रममा गए पनि पूर्णिमायाको श्रीमान्सँग खासै कुरा भएन। त्यसपछि दुई वर्षसम उनले अर्जुनलाई न कहिल्यै देख्न पाइन्, न केही खबर नै थाहा पाइन्। एकैपटक २०६४ सालमा उनले श्रीमान्को निर्ममतापूर्वक हत्या गरिएको सुनिन्। विश्वासै लागेन। 'न लास देखेको छ, न सास,' पूर्णिमायाले शनिबार काठमाडौं गौरीघाट नजिकै भाडाको कोठामा दुखेसो पोखिन्, 'सात वर्ष हुन लाग्यो, न मान्छे देख्न पाइन्छ, काजकिरिया गरौं भने लास पनि देखेको छैन।' ... स्कुलमा कार्यक्रमको पहिलो सत्र सकिँदा पानी पर्दै थियो। धेरै महिला र केटाकेटी ओत लाग्न कक्षाकोठा छिरेका थिए। त्यही बेला माओवादी कार्यकर्ता भोला अर्याल, यादव पौडेल र श्याम गौतमले अर्जुनलाई 'केही कुरा गर्नु छ, हामीसँग हिँड' भने। काठमाडौं फर्कनु छ भन्दै सुरुमा त अर्जुन उनीहरूसँग जान मानेनन्। पछि गाउँका अरू दुई जना पनि जाने भएपछि पुर्णिमायालाई केही नभनी उनीहरू हिँडे। गाउँकै अरू दुइटा केटा पनि गएकाले पूर्णिमायाले अर्जुन कहाँ गएका हुन् भन्ने चासै देखाइनन्। डाँडामा रहेको स्कुल नजिकैबाट उनले श्रीमान् खेतको आलीआली गएकोमात्र हेरिरहिन्। दिनभरि श्रीमान् फर्किएनन्। सँगै माओवादीले लगेका केदार भने फर्किए। 'मलाई खोलामा पुगेपछि फर्की, नफर्के गोली हान्दिन्छौं भने,' केदारको त्यति बेलाको भनाइ सुनाउँदै पूर्णिमायाले भनिन्, 'म फर्किएँ, अर्जुन दाइ र नानीरामलाई खोला तारेर लगे।' माओवादीले लगेका तेस्रा व्यक्ति गाउँकै नानीराम रहेछन्। त्यही दिन पूर्णिमाया, उनका देवर र झन्डै ५०/६० जना गाउँले खोलासम्म पुगे। त्यहाँ पुग्दा अर्कै नाम थाहा नभएको एकजना मानिसले खोलापारिबाटै 'उनीहरू भोलि फर्कन्छन् रे' भन्यो। भोलिपल्ट नानीराम एक्लै गाउँ फर्किए। पूर्णिमायाले सोधिन्, 'सुनीका बा खै त?' 'कामको लागि लगेको रे,' उनले नानीमायाको जवाफ सुनाइन्, 'एक-दुई हप्तापछि पठाइदिन्छौं, खोजी नगर्नू भन्याछन्।' दुई हप्ता बित्दा पनि अर्जुन फर्केनन्। बरू माओवादीका केटा पूर्णिमायासँग पैसा माग्न घर आउँथे। अर्जुनलाई लैजाँदा उनीसँग गाउँका केटाहरूको पारिश्रमिक दिन लगेको एक लाख रुपैयाँ, नेदरल्यान्डबाट ल्याएको घडी र एक तोला पाँच लालको औँठी थियो। 'श्रीमान् भएको ठाउँ पुर्‍याइदिन्छु, हामीलाई चन्दा देऊ भन्थे,' उनले भनिन्, 'मैले घरमा भएको ५० हजार भन्दा बढी पैसा सिध्याएँ।' घरमा ८८ वर्षीया बृद्ध ससुरा अवतारसिंह लामा र उनीमात्रै थिए। श्रीमान्ले द्वन्द्वका कारण छोराछोरी गाउँमा पढाउन नसकेपछि काठमाडौंमै राखेका थिए। घरमा आउने तिनै माओवादी कार्यकर्ताले बताएअनुसार पूर्णिमाया गाउँबाट धेरै टाढाको नामै थाहा नभएको ठाउँमा बास बस्दै श्रीमान् खोज्न गइन्। बास बसेको घरकी सुकुमाया तामाङका श्रीमान् पनि माओवादीमै रहेछन्। पूर्णिमायाले श्रीमान् नभेटिएको भन्दै रातभर रोइकराइ गरेपछि सुकुमायाले उनका श्रीमान्लाई सम्झाएर अर्जुनलाई फिर्ता गराइदिन भनिन्। सुकुमायाका श्रीमान् 'म कोशिस गर्छु' भन्दै गए। उनी दुई दिनसम्म फर्किएनन्। बरू एकजना महिला पहिलेजस्तै 'एक/दुई हप्तामा माओवादी आफैँले ल्याइदिने' सन्देश बोकेर आइन्। बृद्ध ससुरालाई छोडेर गएकी पूर्णिमाया निरास घर फर्किन्। यसपछि पनि काभ्रेकै तेमाल, मंगलटारजस्ता गाउँमा गएर श्रीमान् खोज्ने उनको काम जारी रह्यो। त्यही असारमा श्रीमान् सिन्धुलीमा छन् भन्ने सुनेर काठमाडौंबाट देवरलाई बोलाइवरी उनले खोज्न पठाइन्। जंगलमा भेटिएका माओवादीले यसैगरी खोज्न हिँडे तँलाईं पनि मार्छु भनेछन्। देवर डरले भाउजूलाई पनि गाउँ नबस्न भन्दै काठमाडौं आए। वैशाख १७ गतेबाट हराएका श्रीमानको दुई महिना खोजी गरेपछि असार ७ गते उनी देवरको सल्लाहअनुसार काठमाडौं आइन्। बृद्ध ससुराको स्याहार गर्न बेलाबेला उनी कोही न कोही साथी लिएर गाउँ जान्थिन्। २०६२ पुस २८ गतेको स्थानीय पत्रिकामा माओवादी र राज्यको भिडन्तमा अर्जुन लामा पनि मारिए भन्ने समाचार आयो। उनलाई विश्वास लागेन। उनलाई चिनेकै मान्छेले भिडन्तमा अर्जुन नभएको बताए। उनलाई आस थियो, कसैको नराम्रो नगरेका श्रीमान् फर्केर आउँछन्। छोरो हराएको साढे दुई वर्षपछि त्यही पिरले ससुरा बिते। काजकिरिया गर्न गएका अर्जुनका जेठा छोरालाई माओवादीले फेरि धम्क्याए। 'गाउँका मान्छेले तिम्रो श्रीमान्लाई माओवादीले यसरी मारे भनेर सुनाउँथे,' पूर्णिमायाले भनिन्, 'मलाई विश्वास थिएन। मेरो श्रीमान्ले कसैको नराम्रो गरेको थिएन, कसैको छोरीचेली लगेको थिएन।' श्रीमान् हराएको दुई वर्षपछि उनी घर गएको बेला एकजनाले आएर अर्जुन कसरी मारिएका थिए भनेर बेलिबिस्तार लगाए। 'अरु कसैलाई मारेको सुनेको भए त डर लाग्थ्यो होला,' उनले त्यो दिन सम्झिन्, 'आफ्नै श्रीमान्लाई त्यसरी पशुलाई भन्दा दुख दिएर मारे भन्ने सुन्दा मैले कसरी सहेँ होला?' .... वैशाख १७ गते अपहरण गरी लगेका श्रीमान्लाई बीचमा कहाँकहाँ लगेर के के यातना दिए, उनलाई कसैले थाहा दिएन। 'दाइलाई असार १ गतेदेखि हप्ताभरि केही खान नदिई एउटा घरको खाटमा हातखुट्टा बाँधेर राखेका थिए,' ती मान्छेले पूर्णिमायालाई सुनाए। त्यसै राति 'कुखुराको मासु र भात खा' भन्दा अर्जुनले आफूलाई घर पुर्‍याइदिन भने। उनीहरुले 'ल हिँड् घर' भन्दै तल खोल्सामा पुर्‍याए। साँझ पर्दै थियो। अह्राएअनुसार अर्जुनले सकिनसकी खाल्डो खने। त्यसपछि अपहरणकारीले उनलाई रूखमा चार हातखुट्टा बाँधे। जिउभरि नै छुरा नै छुरा हाने। पुरै अनुहार र जिउ छियाछिया बनाएर त्यही खाल्डोमा पुरे। यसरी भयो अर्जुन लामाको हत्या। मानवअधिकारवादी संघसंस्थाले अनुसन्धान गर्दा पनि त्यही देखियो। पूर्णिमायाले आफ्नै आँखाले लास नदेखेकोले अझै श्रीमान्को काजकिरिया गर्न सकेकी छैनन्। ... घटना भएको दुई वर्षपछि गाउँकै एउटा केटाले माओवादी कार्यक्रमको भिडियो उनलाई देखायो। भिडियोमा काभ्रे माओवादीका नेता सूर्यमान दोङले अर्जुनको अपहरण हुँदा लगाएको नेदरल्यान्डको घडी लगाएका थिए। उनलाई पक्का भयो- श्रीमान्का हत्यारा दोङ नै हुन्। 'सुनीका बाले नेदरल्यान्डबाट फर्कंदा लगाएको घडी म राम्ररी चिन्छु,' उनले भनिन्, 'मलाई पक्का भयो उनलाई मार्नेमध्ये एक जना दोङ पनि रहेछन्।' तिनै दोङ अहिले ऊर्जाराज्यमन्त्री नियुक्त भएका छन्। 'त्यस्तो मान्छेलाई मन्त्री बनाएको हामीले कसरी हेर्ने?' उनले प्रश्न गरिन्, 'प्रहरीले पक्रनू भनेर आदेश दिएको छ। उनी मन्त्री भएर हिँडिरहेका छन्।' अहिले पूर्णिमाया २१ वर्षीय छोरी सम्झना लामाका साथ काठमाडौंको गौरीघाटमा दुई कोठा भाडामा लिएर बस्छिन्। छोरीको ६ हजार तलबले पूर्णिमाया, सम्झना र सानी छोरी सुनीको खर्च टार्न धौधौ हुन्छ। 'सुनीका बालाई मार्ने अहिले मन्त्री भएका छन्,' पूर्णिमायाले भनिन्, 'केही नगरेका हामी घरको न घाटको भएर यसरी न्याय खोजिरहेका छौं।' Last edited: 13-Nov-11 04:03 AM
no_quiero · Nov 13, 2011 4:01 AM · 5,287 views
[Disallowed String for - bad word]ing killers . [Disallowed String for - bad word] them all. nepali janata ajha ke herera basekaa chan kunni .
facebook · Nov 13, 2011 4:29 AM
Man Makes my blood boil with anger..............may god be with the berieved family!
sanju.baba · Nov 13, 2011 9:54 AM
सर्बोच्चले दोषी ठाराएको मान्छेलाइ त कार्बाही हुदो रैछ भने बिचारी पूर्णिमायालाइ कसले न्याय देला !! यसरी बाको हत्या भयो (nagariknews.com) महेश चौरसिया बाबुरामको कुतर्क सुन्ने कि ?
bhakte dai · Nov 13, 2011 10:37 AM
Keep this story alive. Injustice anywhere is threat to justice anywhere.
Ojaswi rana · Nov 14, 2011 4:00 PM
Every single person should get justice. Those were innocent lives not a soldier in battle. Never trust killers.
goddamn · Nov 14, 2011 6:29 PM
I wonder what Baburam has to say about this case?
vasudev · Nov 15, 2011 3:05 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion