करोडपति पियन पूर्ण बहादुर बस्नेतको सत्यकथा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

करोडपति पियन पूर्ण बहादुर बस्नेतको सत्यकथा    Weekly Nepal करोडपति पियन पूर्ण बहादुर बस्नेतको सत्यकथा काठमाडौं, कात्तिक २२ । अमेरिका जान लागेकी डेचेन शेर्पालाई दुःख दिएर १ लाख रुपैयाँ घुस असुली गर्ने अध्यागमन कार्यालय एयरपोर्टका कार्यालय सहयोगी पूर्णबहादुर बस्नेत श्रेणीविहीन कर्मचारी भए पनि अकूत सम्पत्तिका मालिक रहेको तत्यहरू प्राप्त भएका छन्। एउटा श्रेणीविहीन कर्मचारीले मासिक कति आम्दानी गर्छ? पछिल्लो पटक बृद्धि भएको तलवमानअनुसार कार्यालय सहयोगीको मासिक तलव १३ हजार हजार ६ सय ६० रुपैयाँ हो। यति पैसाले ४ जनाको परिवारलाई मुस्किलले खान पुग्छ। तर अध्यागमन कार्यालय एयरपोर्टका कार्यालय सहयोगी पूर्णबहादुर बस्नेतसँग काठमाडौंको बालाजु बोहराटारमा तीन तले घर, कार र जीपसमेत छ। त्यतिमात्र होइन, भ्रष्टाचार, कीर्ते कामबाट आर्जित सम्पत्तिले उनले काठमाडौंको तीनकुनेमा फ्ल्याट लिएर पराजुली थरकी एक मैयाँलाई कान्छी श्रीमती बनाएर राख्दैआएको उनका एक सहकर्मीले बताए। देखिएको सम्पत्तिमात्र करोडौंको छ उनीसँग अरु पनि अकुत सम्पत्ति रहेको उनका सहकर्मीहरू नै बताउँछन्। एक दर्जन मोवाइलका सीम प्रयोग गर्ने उनी मासिक लाखौं लाख रुपैयाँ कमाई हुने कुरा सहकर्मीहरूसँग निर्धक्क बताउने गर्थे। लामो समय काठमाडौं जिल्ला प्रशासन कार्यालयमा कार्यरत कार्यालय यी बस्नेत साँढे २ बर्षअघि अध्यागमनमा सरुवा भएका थिए। प्रजिअ कार्यालयमा हुँदा पनि भ्रष्ट क्रियाकलापले बदनाम छवि बनाएका पूर्ण बस्नेत जसरी हुन्छ पैसा असुल्न पल्किएकाले अध्यागमनमा सरुवा भएपछि त गैरकानुनी धन्दा गर्ने क्रमलाई तीव्रता दिएको अध्यागमन स्रोत बताउँछ। भ्रष्टाचारबाट अकूत सम्पत्ति आर्जन गरेपछि त्यसकै बलले उनी राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रको उपाध्यक्ष भए। उनले श्रम स्वीकृति नभएका महिलाहरूलाई पैसा लिएर खाडी मुलुक उडाउने, बंगलादेशी नागरिकलाई नेपाली नागरिकता र पासपोर्ट बनाएर अमेरिका र यूरोप उडाउने काम गराउने गिरोह नै चलाउँदै आएको अध्यागमन स्रोतले बतायो। काठमाडौं जिल्ला प्रशासनमा कार्यरत हुँदा प्रजिअलाई समेत काबुमा राख्ने दुस्साह गर्ने पियन बस्नेतले अध्यागमनमा सरुवा भएपछि सबै कर्मचारीलाई उनको काम नगरे जे पनि हुने धम्की दिंदै हुने नहुने कामहरू जबर्जस्ती गराउँदै आएका थिए। अध्यागमन स्रोतका अनुसार गैरकानुनी रुपमा लाखौं रुपैयाँ असुल्दै मानिस विदेश पठाउने धन्दा गर्ने उनी कार्यालयमा हप्ता दस दिनमा मात्र जान्थे। उनको गैरकानुनी गतिविधिबाट अध्यागमनको छविमा आँच पुग्न थालेपछि एयरपोर्ट अध्यागमनका कर्मचारीहरूले उनको सरुवा गर्न महानिर्देशकलाई सिफारिस गरेपछि सरुवाको टिप्पणी तयार भएको थियो। तर मिलन केन्द्रका अध्यक्ष कृष्ण भण्डारी, एमाओवादी निकट राष्ट्रिय कर्मचारी महासंघका अध्यक्ष रुक्म लामिछानेले गृुहसचिवलाई दबाब दिएपछि पियन पूर्णको सरुवा रोकिएको अध्यागमनका एक अधिकारीले बताए। ती अधिकारले भने, त्यतिबेलै सरुवा गरेको भए यस्तो विभाग समेत बद्नाम हुने घटना हुँदैनथ्यो कि। लहरो तान्दा पहरो नै आउने कार्यालय सहयोगी बस्नेतले कात्तिक ३ गते राति डेचेन शेर्पालाई कागजात नपुगेको भन्दै अमेरिका जानबाट रोकी २ दिनपछि एक लाख रुपैयाँ घुस लिएको कुरा एक साप्ताहिकमार्फत् कात्तिक ७ गते सप्रमाण सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई तुरुन्त निलम्बन गरी पक्राउ गर्न निर्देशन दियो। तर अख्तियारको निर्देशनपछि अध्यागमन विभागले उनलाई पक्राउ नगरी निलम्बन गरिएको पत्र हुलाकमार्फत् पठाएर भाग्ने अवसर दिएको स्रोत बताउँछ। डेचेन प्रकरणमा विभागका उच्चपदस्थ हाकिमहरू पनि मुछिने भएकाले बस्नेतलाई भगाइएको चर्चा छ। अध्यागमन स्रोतका अनुसार विभागको चिट्ठीले मान्छे (डेचेन) गएकी हुन्। तर एयरपोर्टको मान्छेलाई कारबाही गरिएको छ। यसमा अख्तियारले विभागबाट डेचेनलाई पठाउन पत्र लेख्नेहरूमाथि अनुसन्धान गरे, सब छर्लङ्ग हुन्छ। बस्नेतले विभागको कालिकास्थानस्थित कार्यालयमा डेचेनलाई लगी घुसको कारोबार मिलाएको कुरा डेचेनले नै उजुरीमा उल्लेख गरिसकेको अवस्थामा कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने उखानलाई चरितार्थ गर्दै काम देखाउन एयरपोर्टका कर्मचारीलाई मात्र बलिको बोको बनाइएपछि एयरपोर्ट अध्यागमनका सबै कर्मचारीहरू कार्यालय प्रमुख बसन्त भट्टराईसमक्ष सरुवाको माग गर्न पुगेको समाचार छ। स्रोतका अनुसार बस्नेत प्रकरणमा काम देखाउन विभागका महानिर्देशक जन्मजेय रेग्मीले कात्तिक २ गते ३ कर्मचारी हरिप्रसाद न्यौपाने, नैनबहादुर कार्की र विश्वन्तर सुकुभुटुलाई निलम्बन गरेपछि कात्तिक ३ गते नै ८३ जना कर्मचारीहरूले सरुवा माग गरेको बताइन्छ। विभागका कम्प्युटर अप्रेटर नासु महेश गौतम र केही उच्चपदस्थ हाकिमको आडभरोसामा बस्नेतले गैरकानुनी धन्दा गर्दैआए पनि विभागले एयरपोर्टका कर्मचारीलाई निलम्बन गरेको गुनासो एयरपोर्टका कर्मचारीहरूले गरेका छन्। स्रोतका अनुसार विभागका कम्प्युटर अप्रेटर गौतम र बस्नेत नै अध्यागमनका अवैध क्रियाकलाप गर्ने र पछिल्लो पटक डेचेन प्रकरणका देखिएका पात्र पनि हुन्, उनीहरूका पछाडि विभागका उच्चपदस्थ हाकिमहरूको पनि मिलेमतो रहेको बताइन्छ।

_____ · Nov 11, 2011 12:07 PM · 3,762 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all