टाढा पहाडमा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

टाढा पहाडमा मनोज दाहाल-  चण्डीगढमा अलमल्ल परेका एक हुल नेपाली देखेर मन एक तमासले विरसिलो भयो। आठदस जना हामी चढेकै गाडीबाट ओर्लिएका थिए। सिमलाबाट रुपैडिया जान तिनटा बस फेर्नुपर्छ भन्दै थिए। दुई दिन दुःख गरेर नेपाल सीमा पुगेपछि भारतीय सुरक्षाकर्मीले हजार/पाँच सय नअसुली उनीहरूलाई देश पस्न दिँदैनन्। दिएन भने भकुर्छन्। नेपाली सुरक्षाकर्मी हेर्‍याहेर्‍यै गर्छन्। यात्रामा कसैले केही सुँघाइदिएर बेहोस पार्ने डर त छँदै छ। यो परदेशमा पाँचछ महिना कमाएको सिरिखुरी कसैले उडाइदियो भने घर पुग्ने उपाय पनि हुँदैन। नेपालगन्जबाटै फेरि सिमला वा यता पहाडको कुनै सहर फिर्नुको विकल्प छैन। हामी सिमलादेखि चण्डीगढ आएको बसबाट उत्रेका नेपालीहरू यहाँबाट हरिद्वारको बस पक्डनुपर्छ भन्दैथे। त्यहाँबाट बल्ल रुपैडिया। रुपैडियामा सकससँग सीमा काटेपटि बल्ल उनीहरूको डर थामिन्छ। त्यहाँबाट त गाडीमा सरर्र सुर्खेत, दैलेख, दाङ- आफ्नो घरतिर। आफ्नै गाउँ फर्किआएँ वा मन रमाउने कुनै गीत गुन्गुनाउँदै। सेती पहाडतिर घर भएकालाई वनबासा सीमा हुँदै महेन्द्रनगर निस्कन सजिलो हुन्छ। तर, त्यो बाटोमा सुरक्षाकर्मीले अति नै सास्ती दिन्छन्। सबै झोला निकालेर खोतलखातल पार्छन्। छोरीचेली जिस्क्याउँछन्। वनबासाबाट महेन्द्रनगर निस्कन झन्डै १० किलोमिटर पर्छ। यो बाटो गाडी चल्दैन। टाँगा वा रिक्सामा काट्नुपर्छ। यो सास्ती व्यहोर्नुभन्दा त बाटो अलि लामो परे पनि रुपैडियाबाटै नेपाल निस्कन सजिलो हुन्छ। ... हामी धर्मशाला बसपार्कमा मनाली जाने बस कुरिरहेका छौं। धर्मशालाबाट मनाली जाने एउटै रात्रिबस चम्बाबाट आउँछ, राति साढे आठ बजे। धर्मशालामा पाँचै मिनेट अडिएर हिँडिहाल्छ। त्यो छुट्यो भने भोलि बिहानसम्म पर्खनुको विकल्प छैन। हामी चनाखो भएर आउनेजाने प्रत्येक बस हेरिरहेका छौं। पहाडका बसपार्कमा नेपाली भेटिनु सामान्य हो। रातिको झन्डै आठ बज्दा पनि हामी धर्मशाला बसपार्कमा नेपाली संवाद सुनिरहेकै छौं। उत्तरपश्चिम भारतको पहाड घुम्दा लाग्छ- सारा नेपालको पश्चिम पहाड सायद यतै बसाइ सरेको छ। गाडी आइपुग्यो। हामी हतारहतार त्यो खटारा सरकारी बस उक्लिहाल्यौं। सोचेअनुसार भीड रहेनछ। आठदस जनामात्र यात्रु। लौ, यो बसमा चाहिँ नेपाली छैनन् होला है! हिमाँचलको पहाडी सहर चम्बाबाट अर्को पहाडी सहर मनालीसम्म झन्डै ४ सय किलोमिटर यो रात्रिबसमा तय गर्ने को नै नेपाली होला! चेपचेपबाट छिरेको चिसो स्याँठले हाने पनि बसका यात्रु फुसुफुसु निदाइरहेका थिए। आज रात्रिबसको चिसो खाएरै मनाली पुगिने भो। मलाई यसै त रात्रिबसमा निद्रा लाग्दैन, त्यहीमाथि सरकारी बसका भ्वाङबाट छिरेको स्याँठबाट बचेर कसरी निदाउने हो! दस बजेतिर खाना खाने ठाउँमा मैले फोनमा नेपाली बोलेको सुनेर एउटा केटा मेरो नजिक पर्न खोज्दै थियो। मैले उति वास्ता गरिनँ। खाना खाएर गाडी चलेपछि कन्डक्टर सबै बत्ती निभाएर अगाडिको सिटमा बर्को ओढेर निदाउन पसारियो। उत्ति नै बेला पछिल्लो सिटमा बसेको केटो मतिर फुस्फुसायो, ‘दाइ... ए दाइ...!' ए, त्यो अघि मसँग नजिक पर्न खोजेको केटो नेपाली नै रहेछ। ऊसँग ओढ्ने बर्को पनि रहेनछ। पातलो स्वेटरमात्र लगाएर सिउसिउ गर्दै सिटमा गुज्मुल्टिएको थियो। ‘किन हिँड्यौं मनाली?' मैले सोधेँ। ‘साथी छन्,' केटोले भन्यो। ‘काम गर्न हिँड्या हौ?' मैले बिस्तारै सोधेँ। बसका अरू यात्रु फुसुफुसु निदाइरहेका थिए। भुवन केसीजस्तो अनुहार परेको र उनैले जसरी कालो गगल्स ढल्काएर बस हुँइक्याइरहेको ड्राइभर, म र यो केटोबाहेक सायदै बसमा कोही जागा होला! ‘हो...,' ऊ बोल्यो। ‘खै, के पाइएला अब मनालीमा काम? सिजन सकिन लागिसक्यो,' मैले कत्ति न जानेजस्तो गरेर भनेँ। डिसेम्बरदेखि फेब्रुअरीसम्म मनालीमा टुरिस्ट जाँदैनन् भन्ने सुनेको थिएँ। बाहिरबाट आएको उज्यालोमा त्यो केटाको उदास अनुहार देखियो। उसले आफ्नो सिटपट्टिको अलिकति खुलेको खापा कस्यो, तैपनि बतास गाडीभित्र छिरिरहेकै थियो। सायद मन्डी आउन लागेको थियो। यहाँबाट कुल्लुमनाली जाने विकट बाटो सुरु हुन्छ। ब्यास नदीको किनारैकिनार मनाली जाने यो बाटोमा मलाई डर लाग्छ। म निदाउने प्रयास गर्न थालेँ। एकछिनमा केटा बोल्यो, ‘दाइ, तपाईंले चिनेका कोही होटलवाला छैनन् मनालीमा? एक महिनापछि घर फिर्दा मैले २/४ हजार रुपैयाँ त लिएरै जानुपर्छ।' कहाँ चिन्नु मैले मनालीमा होटलवाला! एक मन त लाग्यो- बरु आफैं २/४ हजार रुपैयाँ दिएर यो केटाको अनुहारमा अलिकति खुसी भरिदिउँ! तर, मेरो खल्तीमा अब त्यही २/४ हजार रुपैयाँ बचेको होला। त्यही खर्चले काठमाडौंसम्म पुग्नु छ। मन्डी-कुल्लुको अप्ठ्यारो बाटोमा पनि म निदाउन सकिनँ। राति भएकालेे बाहिरको दृश्य उत्ति देखिँदैन थियो जसले डर घटाएको थियो। केटो आफ्नो कथा सुनाउँदै थियो। बौद्धको एउटा सानो रेस्टुराँमा काम गर्दागर्दै ऊ दुई महिनाअघि भारत पसेको रहेछ। दुई महिना पठानकोटमा साथीहरूसँग एउटा रेस्टुराँमा काम गरेछ। बैतडीका ती साथी अस्ति नेपाल फिरेपछि ऊ मनाली हिँडेको रहेछ, अर्को साथीकहाँ। ‘कति कमायौ त पठानकोटमा?' मैले सोधेँ। ‘के कमाउनु दाइ, त्यही हजार रुपैयाँ बचेको छ, अब तीन हजार जति कमाउन पाए मंसिरमा घर जाँदा अलिकति पैसा हुन्थ्यो, यहाँबाट नेपाल पुग्नै हजार रुपैयाँ जति खर्च लाग्छ।' नेपाली भएर यो पहाडमा घुम्नु सास्तीकै काम रहेछ। जताजतै दुखी अनुहारका नेपाली देखेपछि हामीलाई बोल्न मन लागिहाल्ने। बोलेपछि उनीहरूका दुःख सुनेर हाम्रो मन बेस्वादिलो भइहाल्थ्यो। उनीहरू काठमाडौंलाई सराप्थे। बाबुराम, प्रचण्ड, झलनाथ, सुशील कोइरालाहरूलाई बेस्मारी गाली गर्थे। वर्षको आधा महिना यी पहाडमा काम गर्न नआए खानै पुग्दैन भन्थे। हाम्रो घुमघामको मजा फुरुर्र उडेर जान्थ्यो। ... मनाली बसपार्कमा त कालो टोपी लगाएका नेपाली दाजुभाइको लस्कर नै देखियो। उनीहरूले लगाएका बेग्लाबेग्लै रङका टोपी महिनौंसम्मको फोहोरले कालो भएका। मान्छे पनि उस्तै मैलाधैला। ‘कहाँ हो क्यारे तपाईंहरूको घर?' दैलेखतिरका दाइले हामी बसबाट झर्नेबित्तिकै सोधे। ‘काठमान्डुबाट आएका हौं' भनेपछि उनी अचम्भित बने, उति टाढाबाट आइपुगेको भनेर! सुरुमा त ‘यतै कतै सर्विस गर्नुहुन्छ कि?' भनेर खेरे पनि। हामीले भन्यौं, ‘होइन, हामी त काठमाडौंबाट घुम्नै आएका।' बसपार्ककै दसजना जति नेपाली दाइहरू हाम्रो वरिपरि झुरुप्प जम्मा भए। मैले सबैलाई एकएकवटा गोल्डफ्लेक सिगरेट बाँडेँ र सानो पसलमा दस कप चिया अर्डर गरिदिएँ। नोभेम्बर लागिसकेको थिएन। तैपनि मनालीको बिहान ठिहिर्‍याउने थियो। दाइहरू सिउसिउ गर्दै चियाको चुस्की मार्दै फुर्रफुर्र सिगरेट उडाउन थाले। तीमध्ये कोही पनि अहिलेसम्म काठमान्डु पुगेका रहेनछन्। उल्टै भन्थे, ‘किन जानु काठमान्डु? हामीलाई त काठमान्डु परदेशजस्तो लाग्छ। बरु बम्बै-दिल्ली गइएला, यो जुनीमा काठमान्डु गइँदैन क्यारे।' काठमान्डुमा शान्ति प्रक्रिया टुंग्याएर नयाँ संविधान जारी गर्न दलहरू छलफल गरिरहेका थिए। जनताका लागि संघर्ष गरेको भन्ने पार्टी सरकारको नेतृत्वमा थियो। प्रधानमन्त्री बाबुराम जनतालाई राहत दिन कार्यक्रम ल्याउने कुरा गर्दै थिए। पहाडका नेपाली दाजुभाइलाई यसको केही मतलव थिएन। उनीहरू मजुरी गरेर दुईचार पैसा कमाउन मुग्लान भासिएका थिए। त्यही मजुरी राम्ररी गर्न पाइयोस्, सीमामा भारतीय सुरक्षाकर्मीले सास्ती नदिउन्, गाउँ जाँदा माओवादीको डर नहोस्- उनीहरूको जम्माजम्मी चाहना यत्ति नै रहेछ। ... दिउँसो सोलाङ घाटीमा पनि हामी एउटा ठिटोसँग एकैछिन गफियौं। जाडोले जिउ कटकटी खाएपछि कफीसपमा चिया माग्दै गर्दा काउन्टरको भाइले सोधेको थियो, ‘दाइहरू नेपाली हो?' भारतभरिका पर्यटक प्याराग्लाइडिङ र स्की गर्न आउने सोलाङ घाटीमा टुरिस्टको भीड थियो। त्यो भाइले ‘नेपाली हो?' भनेर नेपालीमा सोध्दा हामीलाई अचम्म लागेन। प्रत्येक ठाउँ नेपालीसँग गफिइरहेकै जो थियौं। ‘कति पढ्यौ?' मैले कलकलाउँदो अनुहार परेको त्यो डडेलधुरेली ठिटोलाई सोधेँ। ‘किन पढ्ने हो दाजु? आठसम्म पढेर यता पसेको हुँ,' हँसिलो भाइले जवाफ फर्कायो। उसलाई हिजोआज मनालीको सोलाङ घाटी डडेलधुराजत्तिकै प्यारो लाग्दो रहेछ। ‘यहीँ कमाएको दुईचार पैसाले घरमा नुनतेल पुर्‍याएको छु दाजु, चाडबाडमा दुई हजार बोकेर गाउँ जाँदा अर्कै इज्जत हुन्छ,' भाइले सुनायो। ऊ पनि काठमान्डु पुगेको रहेनछ। ‘किन जाने हो दाजु काठमान्डु?' उसले पनि उस्तै जवाफ फर्कायो, ‘काठमान्डु त ठूलाबडा बस्ने ठाउँ हो रे नि!' के जवाफ दिने? यहाँबाट मनाली १३ किलोमिटर टाढा थियो। हामी रोहताङ पास जाने बाटो छाडेर सोलाङ घाटीतिर लम्केका थियौं। घाटीबाट रोहताङ पास जाने बाटोसम्म चार किलोमिटर हिँडेरै जानुपर्ला भनेर हामी बाटबाटै लम्क्यौं। रोहताङ र लद्दाख जाने बाटोमा तस्बिर खिचाउँदै थियौं, फेरि नेपालीको अर्को हुल भेटियो। उही मैलाधैला। कोहीकोहीले काँधमा नाम्लो पनि भिरेका थिए। ‘कहाँ हो दाइहरूको घर?' हामीले सोध्यौं। ‘गुल्मीतिर हो,' एकजनाले जवाफ फर्कायो। ती दाइहरू पनि यो विकट पहाडमा घुम्न आएका नेपाली देखेर चकित परे। पत्याएनन्। हामी घुम्नै आएका हौं भनेपछि उल्टै जिल्याए, ‘नेपाली भएर पनि के घुम्न आउनुभएको यो पहाडमा? गुल्मीतिरै योभन्दा एकसेएक पहाड छन् नि!' हामीले हाँस्दै सोध्यौं, ‘पास (रोहताङ) तिर हिउँ छ?' एकजना कलिलो भाइले जवाफ फर्कायो, ‘टुरिस्टहरूलाई छ, तपाईंहरूलाई छैन।' सबै गलल्ल हाँसे। हामीले कुरा बुझेनौं। ‘माथि हिउँ त छैन, तर टुरिस्टहरूलाई हामीले हिउँ छ भनेर लैजानुपर्छ। कुनाकुनीतिर थुप्रिएको हिउँ देखाएर अल्मल्याउनुपर्छ। अब तपाईंहरूसँग त साँचो बोल्नुपर्‍यो नि, पासमा अहिले हिउँ छैन हो दाइ। हिउँ खेल्ने भए फेब्रुअरीमा आउनू,' तिनै भाइले कुरा बुझाए। काठमान्डुबाट आएका नेपाली भनेपछि उनीहरूले निकै चिज गरे। ‘लौ है तपाईंहरूलाई धन्यवाद छ, नेपाली पनि टुरिस्ट भएर आउनुभयो। अहिलेसम्म यो पहाडमा हामीले नेपाली टुरिस्ट देखेका थिएनौं। कन्ग्र्याचुलेसन!' हाम्रै समवयी एकजनाले अंग्रेजी लवज घुसारे। उनको व्यंग्यजस्तो लाग्ने संवादमा हामी हाँस्यौं। नेपाली भएवापत यी बिचराहरूले केही पाएका छैनन्, नागरिकताको प्रमाणपत्रबाहेक। सर्वहारा वर्गका नेता बाबुरामलाई यिनको दशा थाहा होला? केही सामूहिक तस्बिर खिचाएर हामी बाटो लाग्यौं र अलि तल पुगेर एउटा जिपलाई हात दियौं। ... अर्को दिन सिमलामा बडेमानका झोला बोकेर कुन होटलमा बस्ने होला भनेर हामी अल्मलिइरहेका थियौं। एकदुई वटा होटलले हाम्रो बजेटभन्दा चर्को मोल भनेकाले कसो गर्ने होला भनेर गफिइरहेकै बेला एउटाले नजिकै आएर फ्याट्ट सोध्यो, ‘होटल चाहिए क्या?' हामीले ‘हाँ' भनेर एकआपसमै कुरा गर्‍यौं, ‘हेरौं न, यसको होटल कस्तो रहेछ? मन नपरे नलिउँला, कि कसो?' हामीले नेपाली बोलेको सुनेर उसले तत्काल भनिहाल्यो, ‘अरे, नेपाली पो हुनुहुन्छ? म पनि त नेपाली हुँ।' हामीलाई फिटिक्कै अचम्म लागेन। त्यो मान्छे हेर्दा सुरुमै नेपालीजस्तो लागेको थियो। त्यसअघि सिमलामै भारी बोकेका बीसपचास नेपाली हामीले देखिसकेका थियौं। ‘के हो तपाईंको नाम?' हामीले सोध्यौं। ‘केशव थापा,' उसले जवाफ फर्कायो। ‘घर कहाँ नि?' मैले सोधेँ। ‘सर्लाही, नयाँरोड,' जवाफ आयो। ‘कहाँबाट सर्लाही जानुभएको थापा नि तपाईंहरू?' साथीले सोध्यो। ‘खासमा बात के छ भने मेरो नाम सोमप्रसाद काफ्ले हो, तर यहाँ सबैले थापा भनेर चिन्छन्,' उसले भन्यो, ‘तीसौं वर्षदेखि यहाँ बसिरहेछु, अब त मेरो नाम केशव थापा नै भैगयो।' उसले हामीलाई सस्तोमै मालरोडको पुछारतिर एउटा होटल मिलाइदियो। ... भोलिपल्ट बिहान सखारै सिमलाबाट चण्डीगढ जान बसपार्क पुगेर कफीको चुस्की मार्दै थियौं, नेपालीको हुल देखिहाल्यौैं। कोही हरिद्वार जान लागेका, कोही चण्डीगढ, कोही नहान (हरिद्वार नजिक), कोही रुपैडिया। सिमलाबाट दैनिक एउटामात्र बस रुपैडिया जाँदो रहेछ। त्यो बस भरिएपछि कोही वनबासा जाने बस चढे। कोही हरिद्वारबाट रुपैडियाको बस पाइन्छ भन्दै थिए। यो पहाडबाट नेपालीलाई घर फिर्नु पनि सास्तीकै काम रहेछ। चण्डीगढ जाने बसमा पनि आधाभन्दा बढी नेपाली नै थिए। कोही दैलेख, कोही सुर्खेत, कोही दाङ, कोही डडेलधुरा, कोही बैतडीतिरका। मैला लुगा लगाएका, मैला झोला वा बोरा बोकेका, कति दिनदेखि ननुहाएकाजस्ता नेपाली देखेर मन भरंग भयो। ‘टुरिस्ट भएर नापिस्!' आफैंले आफूलाई लोप्पा खुवाउन मन लाग्थ्यो। मेरो छेउमा बस्ने ठिटो दैलेखतिरको रहेछ। उसले आफूलाई अलि आधुनिक देखाउन कानमा हेडफोन घुसारेको थियो। क्याप ढल्काएको थियो। कागती निचोरेजस्तो शुष्क अनुहार भएको र मैलो जुत्ता भएको त्यो ठिटाले रातो मैलो झोला बोकेको थियो। ऊ सिटमा निदाएजस्तो गर्दै थियो तर मलाई थाहा थियो- ऊ निदाएको थिएन। तिहारको बेला दुईचार हजार रुपैयाँ लिएर भारतबाट गाउँ जान लागेको ठिटो बसमा निदाउन सक्दैन भन्ने मलाई थाहा थियो। मैले आफ्नो कानबाट निकालेर हेडफोनको एउटा तार उसलाई दिएँ। उसले आफ्नो हेडफोन झिकेर मेरो तार कानमा घुसार्‍यो। मेरो मोबाइल सेटमा ‘असारे महिनामा पानी पर्‍यो रुझाउने, एक्लो यो मेरो मन कसरी बुझाउने' गीत बज्दै थियो। बिजुली चम्केजसरी उसको अनुहारको भाव फेरियो। बल्ल उसको अनुहारमा मैले साँच्चिकै खुसी देखेँ। ऊ रमाएको देखेर अर्को सिटमा बसेको उसको साथीले कौतुहलपूर्ण आँखाले हेर्‍यो। उसले आफ्नो कानको तार उसको कानमा घुसारिदियो। उसको अनुहार पनि तत्कालै फेरियो। मैले हेडफोनसहित मोबाइल सेट नै सिटको छेउमा बसेको ठिटोको हातमा राखिदिएँ, नेपाली गीत सुन भनेर। चण्डीगढसम्म आइपुग्दा पनि उनीहरू मेरो मोबाइल सेटबाट छानीछानी नेपाली गीत सुन्दै थिए। चण्डीगढ सहरका रुलरले नापेर बनाएजस्ता सडकमा गाडी निस्कँदै गर्दा मैले सोचेँ, ‘अरू केही गर्न नसके पनि अमृत गुरुङ वा दुईचार जना नेपाली गायक ल्याएर यो पहाडी भेकमा दुईचार कन्सर्ट गर्न पाए दुःख गरेर दुईचार रुपैयाँ कमाइरहेका यी नेपालीको मन कति रमाउँथ्यो होला!' हामी चढेको बस चण्डीगढ बसपार्क नजाने रैछ भन्ने थाहा पाएर उनीहरू अल्मलिए। बसपार्कबाट हरिद्वारको बस लिने उनीहरूको सुर थियो। बीचबाटोबाट बसपार्क पुग्ने वा कहीँ अन्तैबाट हरिद्वारको बस लिने आइडिया उनीहरूलाई थिएन। ‘तुम लोग यहीँ उतरो, ये बस सेक्टर १७ (बसपार्क) नहिँ जाएगी,' कन्डक्टरले भन्यो र उनीहरूलाई ट्रिब्युनचोकमै उतारिदियो। अल्मलिएका उनीहरूलाई हेर्दै मैले हात हल्लाएँ र भनेँ, ‘ल है... तिहारको शुभकामना।' अब के गर्ने होला भन्ने दोधारमै उनीहरूमध्ये केहीले मतिर हेरेर हात हल्लाए। गाडी पर पुग्दासम्म पनि म उनीहरूलाई नै हेरिरहेको थिएँ।

_____ · Nov 8, 2011 1:33 PM · 1,791 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all