एउटा प्रचलित कथन छ - सत्य तीन चरण बाट गुज्रिन्छ. पहिले त्यसको खिसी गरिन्छ , त्यस पश्चात त्यसको भीषण प्रतिकार गरिन्छ र अन्तत: त्यो स्वयंसिद्द हुन्छ. नेपाली राजनीतिमा बाबुराम भट्टराईको आरोह तथा सत्ता अभ्यासको शैली, निष्ठा तथा दृष्टिले जुन क्रिया-प्रतिक्रिया उत्पन्न गरेको छ - त्यसले मलाई सत्यको त्यही उद्गारको झल्झली सम्झना भैरहेछ. नेपाल पतनको बिशिष्ट रंग लिएर बाच्ने मुलुक भएकोले होला , बाबुरामका जुनसुकै कामकारबाहीले केही कोणहरुमा तीव्र द्वेष, उद्विग्नता तथा छटपटी उत्पन्न गरिरहेछ. म ती कोण अथवा षटकोणहरूमा उत्पन्न पीडाबारे केही भन्न चाहन्न तर सत्यका चरणहरूबीच बाबुराम कहाँ छन् भनेर निश्चित रूपमा सोच्दछु. सुकरातका चेला प्लेटो सुकरातको आत्म-मृत्यु देखि खिन्न थिए. तत्कालीन सत्ताको कल्पना बाहिरका ईश्वरहरूको पैरवीको पक्षमा सुकरातले आत्म-मृत्यु रोजे.त्यो उनको चुनाव थियो. प्लेटोले आफ़्ना गुरुको त्यस चुनाव सम्झेर भविष्यको स्मृतिको निम्ति एउटा किस्सा बुने जो 'गुफाको मिथक'का नामले प्रसिद्ध छ . म त्यसलाई सरल रूपले सम्झने कोसिस गर्छु. एउटा अंध्यारो गुफाभित्र निश्चित संख्याका केही मानिसहरु जीवन गुजार्न अभिशप्त थिए.तिनीहरु गुफाको कुनै कुनामा एउटा किलोमा बाँधिएका थिए. तिनीहरुलाई बाहिरी दुनियाको रुप र रंगका बारेमा कहिले पनि कुनै अनुभव थिएन. मानौं, अस्तित्वको कुनै अभिशप्तता अन्धकार गुफाको रुपमा तिनीहरुलाई उपलब्ध थियो. स्वभाविक रूपमा गुफाको त्यो अन्धकार उच्चाटलाग्दो हुदो हो .तर त्यो अभिशप्तताको केही सहुलियतका रूपमा तिनीहरुले गुफाको द्वारमा दिउँसो उज्यालोको बेला उप्लब्ध प्रकाश हेर्न पाउथे. त्यो प्रकाशमा बाहिरका वास्तविक बस्तुहरुको छायाँ देखिन्थ्यो. ठूला रूखहरू , जनावरहरु आदि इत्यादिको छायाँ देखिन्थ्यो . दुर्भाग्यवश भित्र किलोमा बाँधिएका मनुष्यहरुलाई वास्तविक बस्तुहरुको अनुभव किंचित नभएकोले बाहिरका छायाँहरु नै निश्चित समयमा प्रकट हुने वास्तविक बस्तु लाग्थे. यो त्यो गुफाको उदेक थियो . एक दिन अनायास ती मनुष्यहरु मध्ये एक सज्जन आफू बाँधिएको किलोबाट फुत्किए . बाहिरी दुनियाँको फरकपन प्रतिको आफ्नो मनको तृष्णा मेट्न ती तुरुन्त गुफा बाहिर कुदे. बाहिर उज्यालोमा तिनीले वास्तविक संसार देखे .तिनी विस्मित भए: तिनले बुझेका सत्य त बास्तव मा सत्यका प्रतीक रहेछन. जे लाई सत्य ठानिएको थियो , ती त फगत सत्यका छायाँहरु रहेछन . तिनलाई आफ्नो पुरानो अवस्था प्रति ग्लानि हुन थाल्यो . तिनलाई भित्र गुफा मै बाँधिई रहेका आफ्ना अन्य मित्रहरुको अवस्थाको स्मरण भयो. तिनलाई कर्तब्यबोध भयो कि अन्धकारमा बाँचिरहेका आफ्ना मित्रहरुलाई पनि सत्य र भ्रमको भेद खोल्नु पर्दछ.तिनी भित्र गए र आफ्ना मित्रहरु नजिकै रहेर आफूले अनूभूत गरेको सत्य बारे विमर्श गरे . दुर्भाग्यवश, अन्धकारमा बस्ने साथीहरुको दिमाग जड भैसकेको थियो . आफ्नो मस्तिष्कको आदत विपरीतको नयाँ सत्य तिनीहरुलाई मान्न गाह्रो भयो . तिनीहरु मध्य कुनै एकले आफ्नो मस्तिष्कको आदत विपरीतको सत्य खप्न नसकेर तिनीमाथि प्रहार गर्यो . त्यस पश्चात सबैले तिनीमाथि प्रहार शुरु गरे र तिनको प्राणन्त नहुन्जेल त्यो प्रहार भैरह्यो. प्लेटोले माथिको मिथक सुकरातको आत्म-मृत्युका सम्बद्धमा भविष्यको स्मृति तय गर्न बुनेका थिए शायद. अब सुकरातको स्मृति इतिहासमा दर्ज भैसकेकोछ . म त्यसबारे थप बोल्दिन. तर प्रसङ्ग नेपालको राजनीतिको हो र नेपाल मैले जहाँ सम्म अनुभूत गरेको छु ,त्यो सुन्दर देश त्यही मिथकीय गुफाको मानसिक धरातलमा छ र मलाई चिन्ता बाबुरामको नियति त्यही सत्य र भ्रमबीचको भेद प्रकाश पार्न चाहने मनुष्यको झैँ हुन्छ कि भन्ने हो. र ,माथि पहिलो अनुच्छेदमा प्रसङ्गमा आए झैँ सत्यको जुन स्वभाविक चरणको अपेक्षा चिन्तकहरुले गरेका थिए , नेपालरूपी गुफामा सत्यलाई ती चरणहरुबाट गुज्रने छुट उपलब्ध हुन्छ कि हुदैन भन्ने नै हो . यो टिप्पणी बाबुरामको प्रधानमंत्रीत्वप्रति सम्मानका रूपमा लेखेको छु. म उनको निष्ठा ,त्याग र तपस्याले प्रभावित छु. आशा गर्दछु, उनले देखेको सत्यले गुफाभित्रको नियतिको साटो चिन्तकहरुले अपेक्षा गरेझैं स्वयंसिद्दता प्राप्त गरोस, मेरो यही कामना छ . Last edited: 27-Oct-11 10:26 AM
tenthfractal · Oct 27, 2011 10:23 AM · 570 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion