महाकवि देवकोटा सम्बन्धी सामाग्रीहरु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

साझाबासी आदरणीय नेपाली भाषा र साहित्य अनुरागी अग्रजहरु तथा मित्रहरु, आगामी देवकोटा जयन्तीलाई लक्ष्य गरी म महाकवि देवकोटा सम्बन्धित एउटा श्रव्यदृष्य सामाग्री बनाउने कोशिसमा छु । यहाँहरुसँग महाकवि देवकोटाका तस्बिरहरु, उनको जीवनीसम्बन्ध उल्लेख्य प्रसँगहरु जस्ता सामाग्रीहरु भए उपलब्ध गराइदिनुहुन विनम्र अनुरोध गर्दछु । सामाग्रीको खोजी गर्दै रहँदा हाम्रो नेपे दाजु, गौतामे दाजु लागायत अन्यले साझामा छोड्नु भएको यो धागो फेला पर्‍यो । http://sajha.com/sajha/html/in... नेपे दाजु के हजुरसँग यो धागोमा राख्नु भएको तस्बिरहरुको गुणस्तरीय प्रतिलिपिहरु संग्रहित छन्?  

Geology Tiger · Oct 10, 2011 4:30 PM · 14,502 views

10 Replies

 खै त कोही सहयोगी पनि देखिएनन्, झगडा गर्न त धेरै तम्सिन्थे, कसैले सहयोगी हातहरु बढाए पनि त हुन्थ्यो हजुरहरुकै सहयोगको आशामा!

Geology Tiger · Oct 14, 2011 10:24 PM

जिते दाई हुन त दाईले त्यो कुन्नी के जाती गोलमटोल त गर्नु भाकै होला यो पनि हेर्नुस् ( सायद हेरी सक्नु भो कि ) महाकवी लक्ष्मी प्रसाद देवकोटा जीवनी (१९०९-१९५९) लक्ष्मी प्रसाद देवकोटा तिलमाधव देवकोटा र अमरराज्यलक्ष्मी देवकोटाका छ भाइ छोराहरूमध्ये लक्ष्मीप्रसाद देवकोटा साइँला छोरा थिए । लक्ष्मीप्रसादका सात जना दिदीहरू थिए । लक्ष्मीप्रसाद देवकोटाको जन्म १९६६ साल कात्तिक २७ गते शुक्रबार काठमाडौ, डिल्लीबजारमा भएको थियो । उनको न्वारानको नाउँ तिर्थमाधव देवकोटा हो । तर तिहारको लक्ष्मीपूजामा जन्मेका हुँदा उनलाई लक्ष्मीप्रसाद भनियो । देवकोटा जन्मेदेखि नै उनका घरमा अनेक कष्टहरूको प्रवेश भइरहृयो । उनको घरको व्यवस्थापकीय ढाँचा पनि अत्यन्तै दयनीय थियो । साथै उनको घरले गरिबीको रेखालाई नाघ्न पनि सकेको थिएन । त्यसैले उनी सानैमा भन्थे, ‘म अङ्ग्रेजी पढ्छु र धेरै पढेपछि टयुसन गरेर पैसा कमाउँछु ।’ तर उनीचाहिं जन्मेदखि नै रोगी थिए । देवकोटाले बाल्यकालमा नै अमरकोश घोकेका थिए र स्तोत्रमाला पढेका थिए । उनी सानैदेखि आफ्ना बुबाको कविता साफी गर्थे । आफ्ना बुबाको कविता सार्दासार्दै उनीभित्र पनि साहित्यको रस बस्न थाल्यो । उनलाई उनका बुबाले पण्डित बनाउन खोजेका थिए । तर परिवारै त्यस विचारको विरोधमा लागेपछि देवकोटालाई अङ्ग्रेजी पढाउन दरबार स्कुलमा भर्ना गरिएको थियो । देवकोटा दरबार स्कुल पढ्दा नै आफ्ना साथीहरूलाई कविता सुनाउने गर्थे । उनका प्रायः साथीले ती कविता देवकोटाले नै लेखेका हुन् भनेर स्विकार्दैनथे । यसै क्रममा एक दिन सबै विद्यार्थी मिलेर यिनको बेइज्जत गर्ने हिसाबले कविता लेख्ने परीक्षा लिए । यिनले पनि सबै विद्यार्थीमाझ कविता लेखे । अनि त्यसै घडी शिक्षकहरूले उनलाई ‘कोपिलाउँदो कवि’को दर्जा दिए । देवकोटाले आफ्ना बुबा र कविशिरोमणि लेखनाथ पौडयालका कविता पढेर नै कविता लेख्ने प्रेरणा बटुलेका थिए । उनी छिप्पिँदै गएपछि वर्डर्स्वर्थ र सेलीजस्ता पाश्चात्य कविहरूका प्रभावमा पनि पौडन थाले । देवकोटाले दस वर्षनपुगी कविता लेखे । त्यति बेला आफ्नी जेठी भाउजू सोमकुमारीको व्यथामा डुबेर ‘म त अभागी पो भएँ’ शिर्षमा उनले कविता लेखेका थिए । देवकोटाको पढाइ राम्रो भएकाले उनले दरबार स्कुलमा आठौँ कक्षाबाट एक्कैचोटि दसौँ कक्षा पढे । उनले १७ वर्षो हुँदा भारतको पटनाबाट म्याट्रिकुलेसनको परीक्षा दिएका थिए । देवकोटाले त्रिचन्द्र कलेजमा आइएस्सी पढे । उनले आइएस्सी पढ्दा लेखेको वसन्तषोडसी शीर्षकको कविता ‘लक्ष्मी, टीसी कलेज, नेपाल’का नाऊँबाट गोरखापत्र साप्ताहिकमा छापिएको थियो । त्यसै ताक उनले आफ्ना घरमा टयुसन पनि पढाउन थालेका थिए । उनले प्राइवेट परीक्षार्थीका रूपमा भारतको पटना विश्वविद्यालयबाट बीए पढे र त्यहीबाटै बीएल पनि पास गरे । पटनामा बीएल पढेताका देवकोटामा रोमान्सको हरियाली पल्हाएको थियो । त्यसपछि उनले प्रेमविषयक कविताहरू बढी लेख्न थाले । लेखन नै देवकोटाको क्रमशः प्रिय साथी हुन थाल्यो र लेखनमा नै उनको दिनचर्या पनि बित्न थाल्यो । देवकोटा चौध भाषा बुझथे । उनीद्वारा नौ भाषामा लेखिएका कविताहरू शारदा मासिकमार्फत जनमाझ पनि आए । देवकोटालाई काव्यसागरका जलदेवता भने पनि हुन्थ्यो । उनी उठ्ता, बस्ता, हिँड्दा, सुत्ता, खाँदा वा आफ्ना चेतन र अचेतनका कुनै पनि पलमा काव्यभन्दा बाहिर हुँदैन थिए । बिहान आँखा उघारेदेखि राति आँखा चिम्लेपछिको स्वप्नसंसारमा पनि उनी काव्यसंसारमा नै विचरण गर्थे । उनको बाँचुन्जेलको साथी एउटा कविता थियो र अर्को चुरोट थियो । लेखेका बेला उनी आफ्नै पाण्डुलिपि बालेर चुरोट सल्काएको र त्यसैले सिँगान पुछेको पनि चाल पाउँदैन थिए । सोह्र वर्षो उमेरमा देवकोटाको मनदेवी चालिसेसँग विवाह भयो । विवाहपश्चात् देवकोटाको जीवनमा मनदेवी नै संसारभरिका सम्पूर्ण पात्रहरूभन्दा महत्त्वपूर्ण पात्र भइन् । त्यस बेलाको उनको दाम्पत्यप्रेमको प्रगाढतालाई दर्शाएर नै पनि उनले ‘मुनामदन’ लेखे । देवकोटा र मनदेवीले पाँच छोरी र चार छोरा जन्माए । देवकोटाले गरिबीका कारण दैनिक अठार घन्टा पनि टयुसन पढाए । झन्नै तीन दर्जनलाई खान पुग्ने धन कमाउँदा पनि उनका घरका पुगनपुग एक दर्जन मान्छे भोकभोकै हिँड्थे । जति पैसा कमाउँदा पनि उनी कङ्गालसरि थिए । ८० बिघा खेत हुँदा पनि उनी भोकभोकै सुत्थे । देवकोटाकी पत्नी मनदेवी धर्ममा समर्पित हुनु र देवकोटा आफु चाहीं अति अव्यवहारिक हुनुका कारण नै देवकोटाको घर सारै दयनीय थियो । देवकोटा लाउनका भन्दा खानाका सौखिन थिए । उनले एउटा खसीको टाउको खान पाए भने एउटा खण्डकाव्य नै लेखिदिन्थे । मिठाई पनि उनलाई खुबै मन पर्थ्यो । देवकोटाको उधारो खाने ठाउँ डिल्लीबजारको लप्टनको होटल थियो । त्यस होटलमा देवकोटाका नाउँमा अरूहरूले पनि उधारो खान्थे । बगरेसँग पनि उनी उधारो नै मासु लिन्थे । बगरेले पनि महिना मरेपछि उनीसँग तेबारेर नै पैसा लिन्थ्यो । देवकोटा जुवातास र पासामा पनि पारङ्गत थिए । साथै उनी गीत पनि गाउँथे, हार्मोनियम र तबला पनि बजाउँथे । उनको सौखको अर्को साधन साइकल पनि थियो । राणाकालीन युगमा देवकोटा नेपालमा पुस्तकालय खोल्न लाग्दा झन्नै कैदी पनि भए । तर एक सय रुपियाँ जरिमाना गरेर उनीलाई छोडिएको थियो । देवकोटा दूरदर्शी थिए । कुनै बेला उनले ‘उद्देश्य के लिनु ? उडी छुनु चन्द्र एक !’ कविता लेख्ता धेरैले उनलाई तरङ्गी भने । तर उनी दिवङ्गत हुनुभन्दा सोह्र घन्टाअघि रूसको रकेट चन्द्रलोक पुगेको थियो । देवकोटा मानसिक आघातका सिकार भएकाले उनलाई राँची लगियो । उपचारका क्रममा डार्.बर्कले हिलले भनेका थिए, ‘देवकोटाजस्तो मान्छे नेपालमा जन्मने नै होइन । उनी नेपालमा जन्मनु भूगोलको गल्ती हो ।’ लहडी भएकाले देवकोटा बीए, बीएल पढेको दस वर्षम्म जागिरमा छिर्न सकेनन् । अन्ततः उनी नेपाली भाषानुवाद परिषद्मा जागिरे भए । उनी जागिरे हुँदा बालकृष्ण सम र उनको प्रायः बौद्धिक जुहारी चल्थ्यो । त्यसै बेला उनले त्रिचन्द्र कलेजमा पनि प्रोफेसरको जागिर पाए । बीए पास भएर प्रोफेसरको पद पाउने पनि उनी प्रथम नेपाली थिए । देवकोटाले पद्म कन्या कलेजमा पनि प्रोफेसरको पद पाए । तर त्यहाँ उनी चार महिना मात्र टिके । त्यसपछि उनले कमर्स कलेजमा पनि प्रोफेसर पद पाए । त्यहाँ पनि उनी तीन महिना मात्र टिके । उनी आफ्नो कार्यालय र कलेजमा कहिले समयभन्दा निक्कै पहिले पुग्थे र कहिले समयभन्दा धेरै ढिलो पुग्थे । देवकोटा लहैलहैमा बनारसतिर पनि हान्निए । त्यस बेला उनले त्यहाँ जानेबारे घरपरिवारलाई पनि जानकारी दिएका थिएनन् र त्रिचन्द्र कलेजबाट पनि बिदा लिएका थिएनन् । अनि बनारसकालीन समयमा देवकोटाको जीवनपद्धति बौद्धिक कुल्ली, भरिया र हलीभन्दा माथिको देखिँदैनथ्यो । त्यस बेला उनको प्रमुख काम राणा विरोधमा युगवाणीको सम्पादन गर्ने थियो । उनी वनारसमा आर्थिक रूपमा आक्रान्त भएपछि बबरशमशेरले देवकोटालाई लिन खर्चसहित उनका भाइलाई पठाए । त्यसपछि देवकोटा आफुलाई बनारस लैजानेलाई धिक्कार्दै काठमाडौं फर्किए । देवकोटालाई प्रजातन्त्रपछि राजा त्रिभुवनले सल्लाहकार सभाको सदस्यमा मनोनीत गरे । राजा महेन्द्रले पनि देवकोटाको सो पदलाई निरन्तरता दिए । देवकोटा त्रिभुवन विश्वविद्यालयको स्थापनासँगसँगै सो विश्वविद्यालयको कमिसनको सदस्यमा मनोनीत भए । त्यसपछि उनैको हस्ताक्षरमा विश्वविद्यालयको रूपरेखा तयार भयो । महेन्द्रको चान्सरलरसिपमा देवकोटा पनि नेपाल एकेडेमीको सदस्य भए । डा.के.आई. सिंहको प्रधानमन्त्रित्वमा गठित मन्त्रिपरिषद्मा उनी शिक्षा तथा स्वायत्त शासनमन्त्री पनि बने । ११० दिनसम्म मन्त्री भएका बेला पनि उनले नेपाल राष्ट्रभरिका स्कुल र कलेजहरूमा नेपाली भाषामा पढाइ हुने व्यवस्था मिलाए । नेपाली भाषासाहित्यमा देवकोटा रूमानी प्रवृत्तिलेखनका श्रीगणेश भए । साथै नेपाली भाषासाहित्यलाई अङ्ग्रेजी भाषासाहित्यमा अनुवाद गरेर सर्वप्रथम पश्चिमी मुलुकमा पुर्‍याउने काम पनि देवकोटाबाट नै भएको थियो । भारतीय महापण्डित डा.राहुल साङ्कृत्यायनले भनेका थिए, ‘मैले देवकोटालाई बुद्धपछिको सबैभन्दा ठूलो मानवअवतारका रूपमा लिएको छु ।’ साङ्कृत्यायनले देवकोटालाई भारतका जल्दाबल्दा तीन कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला बराबर एक जना देवकोटा हुन् भनेका थिए । देवकोटा अफ्रोएसियाली लेखकसम्मेलनमा भाग लिन सोभियतसङ्घको तासकन्द गए । चिकित्सकको सल्लाहले त्यस समारोहमा भाषण गर्नुअघि देवकोटालाई दुई बोतल रगत पनि चढाइएको थियो । देवकोटा नेपालबाट भिसा र पासपोर्ट नबनाई तासकन्द गएका थिए । त्यसका निम्ति उनलाई मन्त्रिपरिषद्का अध्यक्ष सुवर्णशमशेरदेखि रोयल नेपाल एकेडेमीका भाइस चान्सलर बालचन्द्र शर्मासम्मले हरियो झण्डा देखाएर प्रेरित गरेका थिए । तर पछि तिनै व्यक्तिहरूको सिफारिसमा नै देवकोटाले एकेडेमीबाट पाउने पारिश्रमिक रोक्का गरिएको थियो । तर पछि त्यसको रहस्य खुलेपछि एक महिनाको तलब जरिमाना गरेर राजा महेन्द्रले उनको पारिश्रमिक निकासा गरिदिए । देवकोटा २०१६ साल भदौ २९ गते सोमबार साँझको ६ बजेर १० मिनेटमा क्यान्सरका कारणले दिवङ्गत भए ।

mulmiz · Oct 15, 2011 2:33 PM

जिते दाई यो पनि है मलाई मनपर्ने बाजेको कबिता जरुर साथी म पागल ! यस्तै छ मेरो हाल । म शब्दलाई देख्दछु ! दृश्यलाई सुन्दछु ! वासनालाई संबाद लिन्छु । आकाशभन्दा पतला कुरालाई छुन्छु । ती कुरा, जसको अस्तित्व लोक मान्दैंन जसको आकार संसार जान्दैन ! म देख्दछु, ढुङ्गालाई फूल ! जब, जलकिनारका जल चिप्ला ती, कोमलाकार, पाषाण, चाँदनीमा, स्वर्गकी जादूगर्नी मतिर हाँस्दा, पत्रिएर, नर्मिएर, झल्किएर, बल्किएर, उठ्दछन् मूक पागलझैँ, फूलझैँ- एक किसिमका चकोर फूल ! म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती मसँग एक भाषा, साथी ! जो लेखिन्न, छापिन्न, बोलिन्न, बुझाइन्न, सुनाइन्न । जुनेली गङ्गा-किनार छाल आउँछ तिनको भाषा साथी ! छाल छाल ! जरुर साथी म पागल ! यस्तै छ मेरो हाल ! तिमी चतुर छौ, वाचाल ! तिम्रो शुद्ध गणित सूत्र हरहमेशा चलिरहेको छ मेरो गणितमा एकबाट एक झिके एकै बाँकी रहन्छ ! तिमी पाँच इन्द्रियले काम गर्छौ, म छैटौँले ! तिम्रो गिदी छ साथी ! मेरो मुटु । तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ, म उसमा हेलेन र पद्मिनी पाउँछु, तिमी बलिया गद्य छौ ! म तरल पद्य छु ! तिमी जम्दछौ जब म पग्लन्छु, तिमी सँग्लन्छौ जब म धमिलो बन्छु, र ठीक त्यसैका उल्टो ! तिम्रो संसार ठोस छ । मेरो बाफ ! तिम्रो बाक्लो, मेरो पातलो ! तिमी ढुङ्गालाई वस्तु ठान्दछौ, ठोस कठोरता तिम्रो यथार्थ छ । म सपनालाई समात्न खोज्दछु, जस्तो तिमी, त्यो चिसो, मीठो अक्षर काटेको पान्ढीकीको बाटुलो सत्यलाई ! मेरो छ वेग काँडाको साथी ! तिम्रो सुनको र हीराको ! तिमी पहाडलाई लाटा भन्दछौ, म भन्छु वाचाल । जरुर साथी । मेरो एक नशा ढिलो छ । यस्तै छ मेरो हाल ! - महाकवि लक्ष्मी प्रसाद देवकोटा -

mulmiz · Oct 15, 2011 2:34 PM

 Yo chai pakkai commendable job nai ho GT timro. Hami bichma kehi matbhed bhae pani timro kaam ko sarhana garchhu........Keep going dude !!

NALAPANI · Oct 15, 2011 4:22 PM

GT देवकोटासम्बंधी खुराक नभए पनि यो पुरानो धाको खोतलेर राखी दिनु भएकोमा धन्यबाद !  मुल्मी पनि धन्यबादका पात्र हुनुहुन्छ जिवनी खोजेर टास्नु भएकोमा !  कसैसंग अरु खुराक भए पस्किनु हुन पनि अनुरोध छ !!

bhakte dai · Oct 15, 2011 4:50 PM

 

facebook · Oct 15, 2011 5:36 PM

 Mitra ma sanga yesko sab cha hai !  upload garne try gareko sajha le dedai dedaina, email paau ma gardinchu. 

facebook · Oct 15, 2011 5:39 PM

http://www.nepalikavita.com/1/...

facebook · Oct 15, 2011 5:44 PM

सहयोग र समर्थनको लागि सबै मित्रहरुलाई धन्यवाद, मैले खोजेर केही फेला पार्न सके भने यहाँहरु सबैलाई उपलब्ध गराउने नै छु  

Geology Tiger · Oct 17, 2011 5:03 PM

महाकवि देवकोटासँग सम्बन्धित दस्तावेज खोज्ने मेरो कार्य जारी नै छ । साझाका केही मित्रहरुले पनि मलाई आफ्नो अमूल्य सुझाव र जानकारीहरु उपलब्ध गराएर ठुलो मद्घत गर्नुभयो यसै बिच मैले ईन्टरनेटमा खोजी गर्दा फेला परेका केही सामाग्रीहरु यहाँहरु सबै समक्ष बाड्न चाहन्छु । महाकवि देवकोटाको विविध पक्षसँग सम्बन्धित भएर कार्य गर्ने थुप्रै संस्थाहरु होलान्, ती मध्य दुइवटा संस्थाहरुको जानकारी ईन्टरनेटमा सजिलै हेर्न पाईन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटा अध्ययन तथा अनुसन्धान केन्द्र यो संस्थामा देवकोटाका कान्छा छोरा पदम देवकोता स्वयम् सहभागी हुनुहुन्छ http://www.dsrc.org.np/eng/abo... अर्को त्रिमूर्ति निकेतन जसले महाकवि देवकोटा, नाट्यसम्राट बाल्कृष्ण सम तथा कवि शिरोमणी लेखनाथ पौड्याल सम्बन्धी अध्ययन गर्छ http://www.trimurtinepal.com.n... देवकोटाको केही कृतिहरु अन्लाईन पढ्नको लागि उपयुक्त साइट: पुस्तकालय http://www.pustakalaya.org/ नब्बे भन्दा बढी महाकविका रचनाहरु भएको साइट: सन्जाल http://sanjaal.com/nepalipoems... हामी मध्य धेरैले युट्युबमा राखिएको महाकवि देवकोटाको आवाज सुनिसकेका छौ होला । यसको सक्क्कली प्रति बिबिसी नेपाली सेवासँग छ । मैले बिबिसी नेपाली सेवालाई एउटा प्रतिलिपी उपलब्ध गराइदिन अनुरोध गरेको थिए । तर बिबिसीले कुनै चासो देखाएन । http://www.youtube.com/watch?v... युट्युबमै सगरमाथा टेलिभिजनले तयार पारेको संरक्षणको अभावमा दिन दिनै बिग्रदै गएको महाकवि देवकोटाको घर देखाइएको छ । यसलाई संरक्षण गर्ने जिम्मा कसको? http://www.youtube.com/watch?v... अझ अर्को भिडियोमा देखाइको देवकोटाको नाममा बनाइएको पार्कको द्रिष्य हेर्यो भने त रुनै मनलाग्छ ।   http://www.youtube.com/watch?v...

Geology Tiger · Oct 30, 2011 12:53 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all