Seems Twin boys interesting Scientist

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

जुम्ल्याहा युवा वैज्ञानिक http://www.nayapatrika.com/mul... 29/09/2011 05:22:00 Online Editor Font size: युवा वैज्ञानिक राम-लक्ष्मणले आविष्कार गरेका नयाँ-नयाँ प्रविधिबाट समाज-सुधारका काम हुन थालेपछि काठमाडौंमा उनीहरूले के गरिरहेका छन् भन्नेबारे चासो बढेको छ । यहाँ छ, दाजुभाइको प्रविधि-आविष्कारबारे तयार पारिएको 'जुम्ल्याहा कथा'-   बाल्यकालमा उनीहरू साह्रै चकचके थिए । रित्तो हात त बस्नै नसक्ने π घरमा कोही नभएको मौका पारेर रेडियो, फाङ्लाङ-फुङ्लुङ पार्थे- कुनै जिज्ञासाले घेरिएर । नुवाकोटमा जन्मेका शिशु मस्तिष्कहरूलाई रेडियोबारे कुनै जानकारी थिएन । रेडियोका कान निमोठ्दा घरिघरि निस्कने गीतका मीठा लयले पनि जिज्ञासु बनाउँथ्यो । केटाकेटी अलमलमा पर्थे, 'यी अनौठा आवाजमा बोल्नेहरू कहाँका होलान् ? कस्ता होलान् ? के खाँदा हुन् ?' थुप्रै अनुत्तरित प्रश्नलाई मीठो कल्पनासँग साटेर उनीहरू रेडियो फुटाउँथे अनि सपना देख्दैै मस्त निदाउँथे । त्यही पहिलो रेडियो-जिज्ञासाले आज ती जुम्ल्याहा दाजुभाइ राम-लक्ष्मण -रामप्रसाद र लक्ष्मण रिमाल) लाई चर्चित युवा-वैज्ञानिक बनाएको छ ।  उनीहरू पढ्नचाहिँ सिपालु थिए । घाँस काट्न होस् वा बाख्रा चराउन जंगल गएका वेला उनीहरूका हातमा किताब हुन्थ्यो । रूखको आड लागेर दाजुभाइ गणित वा विज्ञानका सूत्र घोक्थे । ३० वर्षअघि नुवाकोट, मदनपुरमा जन्मेका यी जुम्ल्याहाको ख्याति आजभोलि बिस्तारै चुलिँदो छ । काठमाडौंमा यी जुम्ल्याहाको आविष्कार दैनिक जीवनमा प्रयोग गर्ने ७० हजार ग्राहक भएको उनीहरू दाबी गर्छन् । राम-लक्ष्मण सधैं आफ्ना ध्यान नयाँ-नयाँ प्रविधिमै केन्दि्रत गर्छन् र दुई जोडी चम्किला आँखाले प्रत्येकपल नौला सपना देख्छन् ।  र, आफूहरूले देखेको सपना साकार पार्न चौबीसै घन्टा खटिइरहेका हुन्छन् उनीहरू । नयाँ विषयमा खोज-अनुसन्धान गर्दै आएका यी जुम्ल्याहा दाजुभाइ 'वैज्ञानिक उत्पादनका लागि कुनै खास ट्रेनिङ लिएको छैन' भन्छन् । उनीहरू प्रत्येक वर्ष फरक-फरक आविष्कारले चर्चाको शिखरमा हुन्छन् ।  वायरलेस कम्युनिटी सेक्युरिटी साइरन  कुरा सुरु गरौँ यो जुम्ल्याहा जोडीको पछिल्लो आविष्कारबाट । पछिल्लो समय उनीहरू खस्कँदो सुरक्षा-प्रणालीलाई प्रविधिमार्फत सुधार गर्न जिसिएम प्रविधिमा आधारित ट्रयाकिङ प्रणालीको निर्माण गरेर चर्चामा आएका छन् । वायरलेस कम्युनिटी साइरन निर्माण गरी चर्चामा आएका उनीहरूले डिजिटल प्रविधिमार्फत सवारीसाधन र व्यक्तिबारे सहजै जानकारी पाउन सकिनेगरी जिपिएस -ग्लोबल पोजिसन सिस्टम) निर्माण गरेका हुन् । 'यसको प्रयोग गरी कम्प्युटरमार्फत प्रविधि जडान गरिएको सवारीसाधन र व्यक्ति कहाँ छन् सजिलै पत्ता लाग्नेछ,' राम रिमालले भने, 'व्यक्ति र सवारीसाधन रहेको स्थान पत्ता लगाउन गुगल र माइक्रोसफ्टसँग सहमति गरेका छौँ ।' अर्का भाइ लक्ष्मणका अनुसार ट्रयाकिङका लागि २५ हजार र सवारीसाधनमा जडान गर्न ३० हजारमा राम-लक्ष्मणको कम्पनी 'टेक्नोलोजी सेल्स प्रालि'ले सो सुविधा उपलब्ध गराउँदै आएको छ । 'यो प्रविधिको जडानपछि नेपाल र भारतको समेत सम्पूर्ण म्यापिङ विवरण कम्प्युटरमा उपलब्ध हुनेछ,' लक्ष्मण भन्छन् । महानगरीय प्रहरी अवधारणाअनुसार परिचालित सिआरभी भ्यानको अवस्था, प्रहरी कर्मचारीहरू कहाँ छन् ? भन्ने जानकारी लिन जिपिएस प्रविधिको उपकरण सहयोगी हुने राम रिमाल बताउँछन् ।  यही प्रविधिमा आधारित सुरक्षाको विकासका लागि आयुक्तको कार्यालय रानीपोखरीमा निःशुल्क सेन्टर मनिटरिङ युनिट पनि जडान गरिएको छ । करिब १५ लाख जडान-शुल्क लाग्ने भए पनि आयुक्त कार्यालयमा निःशुल्क जडान गरिएको लक्ष्मणले बताए । 'ताररहित फोन जडान भएका सर्वसाधारणले आफ्नो टेलिफोनमा एक हजार दुई सयको इन्कोडर जडान गरेपछि सेन्टर मनिटरिङ डिभाइसको सुविधा लिन सक्छन्,' लक्ष्मण बताउँछन्, 'टेलिफोनसँगै जडित इन्कोडरमा रहेको स्विच थिच्नासाथ प्रहरी कार्यालयमा रहेको सेन्टर मनिटरिङ युनिटमा बटम दबाउने व्यक्तिको पूरै विवरण आउँछ । यसैको आधारमा आपतमा परेका सर्वसाधारणको घरसम्म पुग्न प्रहरीलाई निकै सजिलो हुन्छ ।'  तार चोरी नियन्त्रण प्रविधि प्रविधिको कमाल पनि गजबैको हुँदोरहेछ । ललितपुरको लुभुस्थित ज्यागाठा क्षेत्रमा टेलिफोनको तार चोरी हुन थालेपछि दूरसञ्चार प्राधिकरणले जडान गरेको राम-लक्ष्मण निर्मित 'तार चोरी नियन्त्रण प्रविधि'ले कमाल नै गर्‍यो । उनीहरूकै कम्पनी टेक्नोलोजी 'सेल्स प्रालि'ले जडान गरेको यो स्वचालित साइरन घन्टीले टेलिफोनको तार काट्नेबित्तिकै टेलिकमका कर्मचारी र प्रहरीलाई फोन गरी 'तार चोरी भएको' सूचना दियो । चोरहरूले एउटा तार काट्न सफल भए तर अरू तार काट्न पाएनन् र साइरन बजेपछि भागाभाग भयो । 'यो प्रविधिले तार छुने वा केही वस्तुले काट्नेबित्तिकै प्रविधिमा डबिङ गरेका टेलिफोन नम्बरमा 'अटोमेटिक' फोन गरिदिन्छ,' राम भन्छन्, 'यस प्रविधिमा विभिन्न स्थानको नामसमेत डबिङ गर्न मिल्छ र तार चोरी हुनेबित्तिकै प्रविधिले स्थानसमेत उल्लेख गरिदिन्छ ।'  हतियार भण्डारणका लागि सुरक्षागार्ड  हतियार भण्डार गरेको कोठा, ढोकामा जडान गर्न सकिने अर्को प्रविधि 'हतियार भण्डारणका लागि सुरक्षागार्ड' प्रविधिको निर्माणबाट राम-लक्ष्मण निकै उत्साहित छन् । यो सेन्सर प्रविधि जडान गरेपछि हतियार चलाएको कुरा साइरनबाट सजिलै थाहा पाउन सकिने दाजुभाइ वैज्ञानिक बताउँछन् । उनीहरूले हतियार भण्डारका लागि आफ्नै सोचले तयार पारेको यो प्रविधिले भण्डारण गरिएको हतियार चलाएको खण्डमा एकैपटक दुई दर्जनभन्दा बढी फोनमार्फत स्वचालितरूपमा फोन गर्ने र समाचार पठाउने गर्छ । 'सरकार-माओवादीले हतियार व्यवस्थापनका लागि साइरन घन्टीको कुरा उठाएपछि यो प्रविधि तयार पारेका हौँ,' राम भन्छन् । ताररहित यो प्रविधिको प्रयोगले हतियार भण्डारण गरिएको क्षेत्रमा के-कस्ता क्रियाकपाल भइरहेका छन् भन्ने कुरा सरकारी अधिकारी तथा संयुक्त राष्ट्रसंघका पदाधिकारीले काठमाडौंमै बसेर सजिलैसँग सुन्न सक्नेछन् । फोन-लाइन जोडेर प्रयोगमा ल्याउन सकिने यो प्रविधिले फोन गर्ने मात्र होइन, सम्बन्धित व्यक्तिसँग कुरासमेत गर्छ । यो प्रविधि यति सुरक्षित छ कि कोही हतियार भण्डारण गरिएको ढोका र झ्यालबाट मात्र नभएर छतबाट गएको खण्डमा पनि साइरन घन्टी स्वचालित रूपमा बज्ने गर्छ । यो प्रविधि धेरै खर्चिलो छैन र विदेशबाट साइरन झिकाउन आवश्यक पर्दैन । यो प्रविधि निर्माणमा उनीहरूले लामो खर्चेका छन् ।  स्वचालित मोटर अपरेटर यी दाजुभाइको पूरै समय प्रविधिको विकास र आविष्कारमै बित्छ । हरेक काममा उनीहरू सँगै सहभागी हुन्छन् । यो उमेरसम्म आइपुग्दा कुनै पनि काम छुट्टाछुट्टै गरेको याद छैन उनीहरूलाई । उनीहरूको सुरुवाती आविष्कारचाहिँ 'स्वचालित मोटर अपरेटर' हो जसले उनीहरूलाई यो ठूलोे सपनाको सहरमा छुट्टै परिचय दियो । जतिवेला उनीहरू आर्थिक हिसाबले सबल थिएनन्, केही गर्ने जोस र कालो आँखामा टल्किएको सपना मात्रै थियो, त्यहीवेला यो मेसिनको निर्माण गरेका थिए उनीहरूले । यो मेसिनको जन्मको कथा बेग्लै खालको छ । उनीहरू काठमाडौंको कुनै एउटा गल्लीको घरमा डेरा बस्थे । घरबेटीले 'ट्यांकीमा पानी भर्ने र पानी भरिएपछि बन्द गराउने' जिम्मा यी दाजुभाइलाई दिएका थिए । उनीहरू दिक्क मान्थे । केही समय त घरबेटीको आदेश खुरुखुरु माने उनीहरूले । तर, सधैं मोटर अन/अफ गर्न तल-माथि गरिरहनुपर्ने झन्झटबाट उनीहरू मुक्ति चाहन्थे । त्यही चाहनाको कारण जन्मियो- स्वचालित मोटर अपरेटर । त्यसपछि उनीहरू राति मस्त निदाउन सक्ने भए र उता ट्यांकीमा पानी आफैं भरिन थाल्यो । यसको प्रयोगबाट जुनसुकै वेला धारामा पानी आए पनि अपरेटरले पानी तान्ने मोटर अन गरिदिन्छ र पानी बन्द भए वा ट्यांकी भरिएमा अफ गरिदिन्छ ।  ०५५ सालमा यो प्रविधिको निर्माणले कमर्स पढिरहेका यी जुम्ल्याहाको मन पूरै विज्ञान-प्रविधितिर मोडिदियो । र, उनीहरूको तन-मन अनि घुम्ने पृथ्वीको आफ्नो भागमा पर्ने चौबीस घन्टा समय प्रविधि विकासमै केन्दि्रत हुन थाल्यो । उनीहरूले निर्माण गरेको मकै छर्ने मेसिन, बाढी/सुनामी-सूचक यन्त्र, बाइकगार्ड पनि मानिसहरूले निकै रुचाएका प्रविधि हुन् । 'हामी ठूला वैज्ञानिक बन्ने सुरले यो काममा लागेका होइनौँ । मात्र मानिसको जीवनशैलीलाई केही हदसम्म सहज बनाउन सके पुग्छ,' लक्ष्मण भन्छन् । बाढी/सुनामीसूचक यन्त्रले नयाँदिल्लीमा सन् २००४ मा भएको बृहत् विज्ञान प्रदर्शनीमा 'युथ इनिसिएटिभ अवार्ड' जितेको थियो । यो यन्त्रबाट समयमै बाढी/सुनामीबारे सूचना पाउन सकिन्छ । 'विशेषतः तराई क्षेत्रमा यो यन्त्र निकै प्रभावकारी हुनसक्छ,' राम भन्छन्, 'त्यहाँ बाढी बढी आउँछ र यो मेसिनबाट मानवीय र आर्थिक क्ष्ाति कम गर्न सकिन्छ ।'  राम-लक्ष्मणले लामो समयको मिहिनेतमा निर्माण गरेको 'मकै छर्ने मेसिन' पनि निकै चर्चित बन्यो । यो उपकरणले रोनाष्टबाट 'एमेच्योर साइन्स अवार्ड' पनि प्राप्त गर्‍यो । तर, यो प्रविधि ग्रामीण किसानको क्षमताबाहिर भयो र बिक्री-वितरण हुन सकेन । यसमा सरकारले सहयोग गरोस् भन्ने उनीहरूको चाहना छ र मकै छर्ने मेसिनलाई गाउँ-गाउँ पुर्‍याउन, प्रयोगमा ल्याउन सकियो भने कृषिक्षेत्रले ठूलो फड्को मार्छ भन्ने लाग्छ उनीहरूलाई ।  अहिले काठमाडौं र आसपासका जिल्लामा चोरी र लुटपाट नियन्त्रणमा यी दाजुभाइको ठूलो योगदान छ । चोरी र लुटपाटका घटना नियन्त्रणका लागि उनीहरूले बनाएको 'इलेक्ट्रोनिक सेक्युरिटी सिस्टम' काठमाडौं मात्रै होइन, बाहिरका सहरतिर पनि पुगेको छ । यसले थुप्रै स्थानमा चोरी नियन्त्रणमा सघाउ पुर्‍याएको छ । आफूहरूले विकास गरेको कुनै प्रविधिको प्रयोग भएको देख्दा साह्रै खुसी लाग्छ रे उनीहरूलाई । 'हामी अहिले जनताको हितलाई ध्यानमा राखेरै मात्र अहोरात्र जुटिरहेका छौँ,' उनीहरू भन्छन् ।  जुनैवेला पनि प्रविधि र विज्ञानमै रमाइरहने यी दाजुभाइ बिहान सातै बजे अफिस पुग्छन् र ल्यापटपमा आँखा जुधाउन थाल्छन् । राति ९ बजेमात्रै अफिसबाट निस्कन्छन् । 'अब त हरेक समस्याको प्राविधिक समाधान खोज्ने बानी नै भइसक्यो,' राम भन्छन् । उनीहरूले उपत्यकाको बाइक चोरी नियन्त्रणका लागि 'बाइकगार्ड' नामक यन्त्रको निर्माण गरेका छन् । यो प्रविधिलाई बाइकमा जोडेपछि जुनै ठाउँमा बाइक रोके पनि चोरले चोर्न सक्दैन । बाइकलाई केही मिटर हिँडाउँदा स्वचालित साइरन बज्न थाल्छ र स्टार्ट गरेपछि आफैं बन्द हुन्छ ।  यी दाजुभाइका पिता-पुर्खाले खेती-किसानीमै जीवन गुजारे । तर, परिवारको पेसाबाट फुत्त बाहिर निस्केर उनीहरूले नितान्त नौलो क्षेत्रमा आफूलाई स्थापित गरे । नयाँ-नयाँ प्रविधिबाट समाज-सुधार हुन थालेपछि काठमाडौंमा उनीहरूले के गरिरहेका छन् भन्नेबारे चासो बढेको छ । यो 'जुम्ल्याहा कथा' सुनाउँदा वेला-वेला उनीहरू भावुक पनि हुन्छन् । एउटै प्रविधि आविष्कारका लागि वषर्ाैंसम्म खटेका दिनहरू आँखामा नाच्न थाल्छन् ।  'हाम्रो अफिसमा ढोका खोल्ने आफ्नै सिस्टम छ,' लक्ष्मणले पाइन्टबाट पर्स निकालेर छुस्स ढोकामा छोएपछि ढोका खुल्यो र कोठाको बत्ती पनि आफैं बल्यो । आफैंले निर्माण गरेको 'अटोमेटिक डोर सिस्टम' र 'स्वचालित बत्तीको स्विच'बारे केही शब्द वर्णन गरेपछि छेउको चिया-कपलाई च्याप्प समातेर तम्तम्याइलो चिया सुरुप्प पारेका लक्ष्मण भन्दै थिए, 'नेपालैभरि यो प्रविधि विस्तार गर्न पाए क्या मज्जा हुन्थ्यो π' आफूहरूले आविष्कार गरेका प्रविधि र सामानहरूको लामो समयको बेलिविस्तारपछि लक्ष्मणभन्दा आधी घन्टा मात्रै जेठा राम भन्दै थिए, 'तपाईंलाई कत्तिको मन पर्‍यो कुन्नि ?'  दीपक सापकोटा spkt.deepak@gmail.com तस्बिरः लेखक

timer · Sep 29, 2011 1:20 PM · 7,397 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all