३० गुणा ठूलो भुइँचालोको पर्खाइमा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

http://www.ekantipur.com/np/20... नेपालमा विसं १९९० सालमा गएको भुइँचालोको सबैले चर्चा गर्छन्, तर त्योभन्दा ठूलो भुइँचालो आउन सक्छ भन्ने कुराको विचार भने गर्दैनन् । भारतको विहार राज्यमा पनि गएको नब्बे सालको भुइँचालोले नेपालकै भक्तपुर र काठमाडौंका थुप्रै मठमन्दिर र घरहरू भत्कायो । अब त नेपालमा यति ठूलो भुइँचालो आउँदैछ कि नब्बे सालको भुइँचालो पनि सानो मानिनेछ । त्यसको कारण के हो भने हामी विसं १९९० सालको भन्दा करिब ३० गुणा ठूलो भुइँचालोको प्रतीक्षामा छौं । अब आउने भुइँचालोले तराईदेखि पहाडसम्म नै भयंकर क्षति पुर्‍याउनेछ । त्यसले काठमाडौं, पोखरा, विराटनगर लगायतका ठूला सहरको अवस्था के बनाउला ? यसबारे प्रशस्तै अध्ययन र तिनका आधारमा डर लाग्दा तथ्य सार्वजनिक भइसकेका छन् । नेपालमा एउटा ठूलो भुइँचालो आउनैपर्छ र आउँछ भन्ने हामीलाई थाहा छ, तर कहिले आउँछ ? योचाहिँ अहिलेसम्म पत्ता लगाउन सकिएको छैन । हुन त नेपालको इतिहासमा यस्ता भुइँचाला धेरैपटक आएका हुन् । इतिहासको अध्ययन गर्दा हामीले के पाएका छौं भने विसं २५५ मा लिच्छवि कालमा पनि एउटा ठूलो भुइँचालो आएको थियो । त्यो भुइँचालो पनि नब्बे सालको भन्दा धेरै गुणा ठूलो थियो । युरोपेली पात्रोले त्यसको व्याख्या गर्छ । त्यस्तै २५०० वर्ष अगाडि शाक्यमुनि बुद्धको पालामा नेपालमा शक्तिशाली भुइँचालो आएको थियो । त्यो कति शक्तिशाली थियो र के-के क्षति पुर्‍यायो भन्नेबारे पत्ता लगाउन हामीले अध्ययन गरिरहेका छौं । त्यसमा हामीलाई नेपालको पुरातत्त्व विभागले सहयोग गरिरहेको छ । खासगरी हामीले लुम्बिनी क्षेत्रका पुरातात्त्विक वस्तुहरूको अध्ययन गरिरहेका छौं । त्यो थाहा पाउनु भूकम्पीय अध्ययनका लागि महत्त्वपूर्ण हुन्छ । पुरातत्त्वविद्हरूले त्यो बेला भुइँचालो आएको थियो भन्ने केही संकेतहरू पाएका छन् । इतिहासमा ती बाहेक पनि अरू ठूला भुइँचाला आएका थिए । किन आउँछ नेपालमा भुइँचालो ? नेपाल विश्वको सक्रिय रूपले महादेशीय ठक्कर खाने क्षेत्रमा अवस्थित छ । त्यसैले यो हिमाली क्षेत्रमा ठूलो भुइँचालो आउने सम्भावना धेरै भएको हो । भारतीय पठारको जमिन र यसका पाप्राहरू महासागरीय माटो र पत्रहरूले बनेका छन् । यसको भित्री सतह तातो र चिप्लो पनि छ । माथिल्लो आवरणको केही भाग जसलाई भूतत्त्व पट्टिका भनिन्छ, त्यो लेदो छ । त्यही भाग एकअर्कामा घसि्रने र चिप्लिने गर्छ, जसले गर्दा भुइँचालो पैदा हुन्छ । ती भूतत्त्व पटटिकाहरूले पृथ्वीको भित्री भागको गतिशीलताका कारण हलचल पैदा गर्छन् । त्यसले ड्याङजस्तो परेको महासागरीय ढिस्को जस्तो भाग र महासागरीय सुरुङजस्तो भाग-भागमा पट्टिकाहरू निर्माण गर्न भूमिका खेल्छन् । महादेशहरू चलायमान हुन्छन् । ती चल्दा दुई महादेश चिप्लिएर नजिकिँदै जान्छन् । भित्र हुने त्यही हलचलले नै भुइँचालो पैदा गर्ने हो । अहिले चीन उत्तरबाट दक्षिण र भारत दक्षिणबाट उत्तरतिर सर्दै गएको छ । यसरी दुई क्षेत्र नजिकिँदै जाँदा एकदिन जम्काभेट भएर ठाकिन्छन् र भुइँचालो आउँछ । ती कुनै बेला विस्तारै ठोकिन्छन् त कुनै बेला जोडले । त्यसरी एउटा निश्चित गतिको शक्तिले धक्का दिँदा एक भाग धसिन्छ त अर्को माथि उठ्छ । कहिलेकाहीँ महादेशहरू अगाडि त बढ्छन्, तर भुइँचालो आउँदैन । ५० लाख वर्षपछि अहिलेको भारत भित्र दबिँदै गएर तिब्बती भाग माथि पर्ने क्रम चलिरहेको छ । त्यसैले नेपालको हिमाली भाग लगायत तिब्बती क्षेत्र अग्लिँदै गएको हो । भुइँचालो नगइकन डाँडाकाँडा र पहाड-पर्वत बन्दैनन् । त्यसैले भुइँचालो त आउँछ । फरक के भने कहिले, कहाँ, कत्रो आउँछ ? र त्यसले कति क्षति पुर्‍याउँछ ? भन्ने हो । चट्टानहरूको प्रसंग पनि त्यस्तै हो । ती हलचल गर्छन् । कहिले विस्तारै र कहिले जोडसँग ठोकिन्छन् । हिमाल त ज्वालामुखीले पनि बन्छ, तर नेपालमा ज्वालामुखीको समस्या भने अहिलेका लागि छैन । चिनियाँ भूभाग अर्थात् उत्तरी भाग माथि चढ्ने हुनाले हिमाल पनि चुलिँदै जान्छन् । महादेशहरूमध्ये भारत र तिब्बतको बीचमा यो सर्ने प्रक्रिया सबैभन्दा छिटो भइरहेको छ । फ्रान्सको पनि आल्पस हिमाली क्षेत्रमा भुइँचालो नआएको होइन, अहिलेचाहिँ रोकिएको छ । हुन त भुइँचालो महासागरहरू भित्र पनि आउँछ । जापान, इन्डोनेसिया र अमेरिकाको प्रशान्त महासागर तटीय क्षेत्रमा त्यस्तो भइरहेको छ । त्यो पानीमुनि भएकोले हामीले त्यति थाहा पाउँदैनौं र क्षति पनि गर्दैन । यसरी सर्ने महादेश र पठारहरू तुरुन्तै ठोक्किने होइनन् । विस्तारै सर्दै गएर लाखौं वर्षको समय लाग्छ । भारत त पहिले एसिया महादेशमै थिएन । अथवा करिब २ करोड वर्ष पहिले टेथ्य भन्ने समुद्रले भारतीय महाद्विपीय पट्टकिालाई युरेसियाको पट्टिकाबाट छुट्याएको थियो । सर्दै गएर पछिमात्रै एसिया महादेशमा जोडिन आइपुगेको हो । यस्तो प्रक्रिया लाखौं वर्षसम्म चलिरहन्छ । सगरमाथा हराउन सक्छ भुइँचालो आउँदा हिमाल चल्छन्, पहिरो आउँछ, उपत्यकाहरू सर्छन्, कुनै उपत्यका नै खत्तम हुन्छन्, कतै नयाँ बन्छन् त कुनै सरेर अन्तै पुग्छन् । भूदृश्य (ल्यान्डस्केप) नै बदलिन्छन् । हिमाल चल्दा कुनै उपत्यका ठडिन्छन् पनि । उदाहरण दिइहालौं, सन् २००४ मा पाकिस्तानमा आएको भुइँचालोले कतिपय उपत्यकालाई दसदेखि बीस मिटर तल झारेको थियो । अहिले सगरमाथाको उचाइ वाषिर्क चार मिलिमिटरका दरले विस्तारै अग्लिरहेको छ । कुनै दिन त्यसको उचाइ घट्दै गएर सबैभन्दा सानो हिमाल बन्न पनि सक्छ । सगरमाथा खस्कँदै जाने र 'के टु' ठडिँदै जाने भयो भने किन सम्भव नहुने ? तर यो तत्कालै हुने प्रक्रिया नभएर दसौं लाख वर्षको हो । हिमाल विशाल र अडिग लाग्छन्, तर वास्तवमा ती पनि घडीका सुईजस्तै चलायमान छन् । लाखौं वर्षको इतिहास हेर्‍यौं भने कुनै हिमाल माथि गएको त कुनै तल खस्केको पाउँछौं । करोडौं वर्ष पहिले फ्रान्सको आल्पस क्षेत्रमा पनि सगरमाथाजत्तिकै अग्ला हिमाल थिए, तर पछि ती विलुप्त भए । आल्पस क्षेत्रमा हिमाल नाशिएझैं सगरमाथा पनि आठ-दस करोड वर्षपछि हराउन सक्छ । वर्षा, हावा, वरफ, हिउँ आदिले हिमाललाई खसाल्छन् । एसिया र खासगरी हिमाली वृत्तमा भएको यो तीव्र भूकम्पीय क्रियाकलाप निरन्तर चलिरहने पर्वत रचनाक्रिया (अंग्रेजीमा- ओर्गाेजेनेसिस प्रोसेस) हो । तिब्बत चुलिँदो छ हिमाली क्षेत्रमा भएको उचाइको विकास आश्चर्यलाग्दो छ । चीनको तिब्बत क्षेत्र ५ हजार मिटरभन्दा पनि उचाइमा पुगेको छ । हिमाली क्षेत्रबाट टाढाको तिब्बत त्यसरी अग्लो हुन पुग्यो । हिमाल माथि चढेका छन्, त्यो ठीक छ, तर तिब्बत त हिमाली भागबाट निकै टाढा सिचुवान प्रान्तसम्म अग्लिएको छ । हामीले बुझ्न नसकेको कारण नै त्यही हो । त्यसो त खुम्बुदेखि चितवनसम्मकै पहाड अग्लिँदै गएका छन् । अहिले विश्वव्यापी मौसम परिवर्तनको कारण पनि सोचनीय छ । त्यसले गर्दा अरू हिमालको जस्तै सगरमाथाको पनि बरफ पग्लिँदा त्यसको उचाइ पनि घट्दै जान सक्छ । तत्कालका लागि भने सगरमाथाको उचाइ चुलिँदो छ । त्यसैले सगरमाथा अहिले एभरेष्ट भन्ने मानिसले नापेको बेलामा भन्दा अग्लो भयो भनिएको हो । सगरमाथामात्रै नभएर अन्नपूर्ण, मनास्लु लगायत समय हिमाली शृङखला नै अग्लिरहेको छ । नेपालमा भुइँचालो एकदम धेरै आउँछ, तर सबै भुइँचालो आएको मानिसले थाहा पाउँदैनन् । साना भुइँचालो त निरन्तर आइनै रहन्छन्, तर चार रेक्टर स्केलदेखि मात्रै वस्तुहरू हल्लिने, थर्कने गर्छन् । यस्तो सानो भुइँचालो नेपालमा हप्ताको सरदर एउटा र ठूलोचाहिँ वर्षमा एउटा आउँछ । छ रेक्टर स्केल भएपछि हामी ठूलो भन्छौं, जसले घरहरू भत्काउन थाल्छ, तर त्यो पनि भयानकैचाहिँ होइन । कहिलेकाहीँ पहाड, हिमाल, जंगलतिर गएको भुइँचालो स्थानीय मानिसले थाहा नपाउन पनि सक्छन् । नेपालमा त्यस्तो भुइँचालो एकदम सक्रिय छ । भ्रम र यथार्थ नेपालको सबै क्षेत्र र एसियाको सबैजसो भागमा भुइँचालोको सम्भावना र जोखिम देखिन्छ । भूकम्पीय दृष्टिले नेपाल निकै जोखिमपूर्ण क्षेत्र हो, तर सबैभन्दा बढी भने होइन । पाकिस्तान, आसाम लगायत उत्तर-पूर्वी भारत, बर्मा, थाइल्यान्ड, जापान, इन्डोनेसियासम्म भुइँचालोको जोखिम प्रशस्त देखिन्छ । भारतीय सामुदि्रक भागमा पनि भुइँचालोको जोखिम छ, तर पानीभित्र भएकोले त्यसले धेरै क्षति गर्दैन । एउटा कुरा के भने ठूलो भुइँचालो गएको ठाउँमा फेरि तत्कालै अर्को ठूलो भुइँचालो आउनु दुर्लभ हो । त्यसैले अहिले एकदम ठूलो भुइँचालोको सम्भावना कि त नेपाल कि त आसामको पूर्वी भागमा छ । त्यसको कारण के पनि हो भने धेरै लामो समय भइसक्यो, यो क्षेत्रमा ठूलो भुइँचालो नआएको । अमेरिका लगायत अन्य ठूला र विकसित देशमा पनि प्रत्येक साठी वर्षमा ठूलो भुइँचालो आउँछ भन्ने भ्रमपूर्ण विश्वास गरिन्थ्यो । नेपालमा प्रत्येक नब्बे वर्षमा ठूलो भुइँचालो आउँछ भन्ने पनि त्यस्तै अन्धविश्वास हो । त्यसको वैज्ञानिक पुष्टि गर्ने कुनै पनि भरपर्दाे आधार छैन । नेपालको मामिलामा त झन् कम जानकारी भएकोले हामीले महत्त्वपूर्ण ठानेका ठाउँमा भुइँचालोको सूचना बटुल्ने उपकरण राखेका हौं । अमेरिकीहरूले पनि केही वर्ष पहिले त्यस्तै जानकारी लिन छ महिनादेखि दुई वर्षसम्म वीरगन्जदेखि त्रिशूलीसम्म ७५ वटा उपकरण राखेका थिए । पृथ्वीसँगै नाच्छ उपग्रह पृथ्वीको धरातल अलि धिमा गतिमा चलायमान हुन्छ । मानिसहरूले भुइँचालो जानुपूर्व नै वस्तुहरू यताउती चलेको पनि पाएका छन् । धरतीमा कहिलेकाहीँ त्यही ठाउँमा रूखबिरुवा हुन्छन् त कहिले हुँदैनन् । दिशा परिवर्तन भएको, कुनै चिज प्रायः भइरहेको ठाउँभन्दा अत्यन्त्रै मोडिएको, भिरालो ठाउँ अन्तै फर्किएको पनि पाइएको छ । भुइँचालो जानुपूर्व पृथ्वीको धरातलमा यस्तै खाले अनौठा परिवर्तन देखापरेपछि भुइँचालो गएको पाइन्छ । ती निरन्तर देखिएका नभए पनि मानिसहरूले पटक-पटक अवलोकन भने गरेका छन् । हामी वैज्ञानिकहरूसँग अहिलेसम्म त्यसको व्याख्या छैन र त्यसलाई अझै पनि मापन गर्नसकेका छैनौं । अहिले केही मानिसले पृथ्वीको चुम्बकीय धरातलले कतै भुइँचालोसँग सम्बन्ध पो राख्छ कि भन्ने बारेमा यथार्थ पत्ता लगाउन अध्ययन गरिरहेका छन् । त्यो पत्ता लगाउन केही भू-उपग्रहहरू पनि छोडिएका छन् । तिनले पृथ्वीको चुम्बकीय धरातलको गतिशीलताबारे खोजी गर्छन् र वस्तुहरू भुइँचालो जानुपूर्व चले-नचलेको हेर्ने गर्छन् । अहिले हामीलाई भुइँचालो कहाँ आउँछ ? भनेर थाहा भए पनि कसरी आउँछ र त्यसको गति पनि कति हुन्छ भन्ने थाहा छैन । त्यस्ता सबै जानकारी बटुल्नका लागि हामीले काठमाडौंको त्रिचन्द्र क्याम्पस, त्रिभुवन विश्वविद्यालय र खानी तथा भूगर्भ विभागसँग मिलेर अध्ययन गरिरहेका छौं । पच्चीसवटा भूकम्प मापकयन्त्र (सिस्मोग्राफ) नेपालका विभिन्न ठाउँमा राखेका छौं । तिनले चौबीसै घन्टा काम गरिरहेका हुन्छन् । ती यन्त्रले म्याग्नेच्युड एकदेखिको भुइँचालोको हरेक झड्कालाई रेडियो तरंगमार्फत सुर्खेत र काठमाडौं गरी दुई ठाउँमा रहेका केन्द्रमा पठाउँछन् । भुइँचालोको गति पत्ता लगाउन भू-उपग्रहको माध्यमद्वारा सूचना प्राप्त गर्ने विश्वव्यापी प्रणाली जीपीएस -ग्लोबल पोजिसनिङ सिष्टम) प्रयोग गछौं । नेपालका लागि जीपीएसका सात-आठवटा केन्द्रले लगातार काम गर्छन् । यो फ्रान्स र नेपालबीचको सम्भवतः सबैभन्दा पुरानो संस्थागत सहकार्य हो । भुइँचालोका बारेमा धेरै अध्ययनहरू हुने गर्छन् । नेपालमा हरेकपटक भुइँचालो जाँदा खानी तथा भूगर्भ विभागले कहाँ गयो, कस्तो र कत्रो गयो भनेर गृह मन्त्रालयलाई तत्कालै जानकारी दिन्छ । केही भइहालेमा उद्धारका लागि सहज होस् भनेर यसो गरिएको हो । भुइँचालो मापन गर्ने काम भने खर्चिलो छ । सिस्मोग्राफहरू बारम्बार बिगि्ररहने हुनाले तिनको मर्मत सम्भार र ती राखिएका केन्द्रहरूमा गएर निरन्तर निगरानी गरिरहनुपर्छ । त्यसबाहेक हामी अन्य अनुसन्धानका काम पनि गछौं । हाम्रो एनालाइसिस डिपार्टमेन्ट एन्ड इन्भाइरोमेन्टल सर्भिलेन्स (डीएएसई) ले नेपालसँग सहकार्य गर्छ । हामीचाहिँ भूकम्पीय र ज्वालामुखी जोखिमको अध्ययन गछौं । त्यो काम म प्राध्यापक रहेको पेरिसको जुस्यु विश्वविद्यालयको इन्स्िटच्युटले हेर्छ । नेपाल र फ्रान्सबीच पच्चीस वर्षदेखि चल्दै आएको यो सहकार्यको मैले विगत दस वर्षदेखि जिम्मेवारी लिँदै आएको हुँ । कुनै साथीहरू भूगर्भ (जिओलोजी), कसैले बाँध र कसैले पानीसम्बन्धी अध्ययन गर्छन् । चट्टानको प्रकार, प्रकृति र ढाँचा सबै भुइँचालोसित सम्बन्धित हुन्छन् । सबै अध्ययन गर्न सायद हामी पर्याप्त छैनौं । भुइँचालो कहिले, कसरी र कस्तो तरिकाले आउँछ ? त्यसपछि के हुन्छ ? भुइँचालोलाई कसरी स्पष्टसँग बुझ्न सकिन्छ ? यस्ता अनेक प्रश्न उब्जिन्छन् । खासगरी भुइँचालोको भविष्यवाणीका लागि हामी धेरै घोत्लिने गरेका छौं । वैज्ञानिकहरू बीचका अनुभव साटासाट गर्न तथा नयाँ सम्भावनाहरूबारे पत्ता लगाउन हामी बेलाबेलामा कार्याशाला र गोष्ठीहरू पनि गछौं । भुइँचालो आयो भने त्यसबारे कसरी बच्ने भनेर हामी गाउँका प्रमुख, शिक्षक तथा सर्वसाधारणलाई भेला गराएर ज्ञान पनि दिने गर्छौं । सावधान, अगाडि महाभूकम्प ! हामीले काठमाडौंमा भवन निर्माणबारे सतर्क गराउन लागेको दस वर्ष नाघिसक्यो, तर जुनसुकै तरिकाले पनि भवन ठड्याउने क्रम कहिल्यै रोकिएन । काठमाडौंमा भवन निर्माणको तरिका पूर्णरूपमा परिवर्तन गर्नु जरुरी छ । तर कसरी काठमाडौंका मानिसलाई बुझाउन सकिन्छ थाहा छैन । हामीले पर्खिरहेको भुइँचालो आयो भने कुनै ठाउँमा त कुनै पनि भवन बाँकी रहने छैन । ढलेका भवनले बाटो छेकेर उद्धार गर्न जाने ठाउँ पनि हुने छैन । ठमेलदेखि टेकुसम्म त सारा भवन ध्वस्तै हुनेछन् । त्यो बीचका मानिसको जीवन एकदम ठूलो जोखिममा छ । हामीले यो कुरा वर्षौंदेखि भन्दै आएका छौं, तर कसैले सुनेको छैन । मान्छेहरूले सात-आठ तलाभन्दा अग्ला घर ठड्याइरहेका छन् । जबकि त्यहाँ भुइँघर मात्रै बनाउनुपर्ने हो । एउटा वास्तविकता के भने अब नेपालमा आउने ठूलो भुइँचालो जताबाट आए पनि क्षति सबैतिर गर्नेछ । दस वर्षदेखि अमेरिकी प्राध्यापक रोजर बिलाँले 'सतर्क रहनु, लौ है नेपालमा अब महाभुइँचालो आउन सक्छ' भन्दै जनताको ध्यान तान्ने कोसिस गर्दै आएका हुन्, तर कसैले पनि टेरपुच्छर लगाएको छैन । भुइँचालोबाट बच्नका लागि नेपालमा भवन निर्माणका नियम, कानुन र आचारसंहिता नै नभएको पनि होइन, तर कसैले पालना गरेको छैन । अर्को कारण के भने नेपालमा तत्कालै नगरी नहुने कामले सरकारलाई व्यस्त बनाएको छ । भविष्यबारे सोच्ने फुर्सदै छैन । सरकारलाई हतारो त निर्वाचनको हुन्छ, किनकि निर्वाचनको निश्चितता हुन्छ, तर भुइँचालोको कुनै निश्चितता छैन । अर्को कारण त भ्रष्टाचार पनि हो, तर भ्रष्टाचारमात्र एउटा कारण भने पक्कै होइन । भ्रष्टाचार त फ्रान्समा पनि हुने गर्छ । फ्रान्सको दक्षिणमा पर्ने निशतिर सानो खाले भुइँचालो जाने गर्छ । त्यहाँ भवन तथा विमानस्थल निर्माणका लागि नियम बनाइएको थियो, तर मानिसले लागू गरेनन् । मानिसहरूले आफ्नै सुरक्षाका लागि बनाइएका कानुन त मान्दैनन् भने अरू के कुरा ? क्षति भइसकेपछि सरकारलाई दोष दिएर त काम छैन नि ! कसले दबाब दिएको छ त काठमाडौंमा गगनचुम्बी घर बनाउन ? त्यसैले सरकारलाई मात्रै दोष दिएर हुँदैन । मैले त काठमाडौंको बारेमा सोचेको हुँ । भुइँचालोपछिको गाउँहरूको बारेमा सोच्ने हो भने त कहाली लाग्छ । त्यहाँ उद्धारकर्मी पुग्दैनन् । भएका पनि सहर-बजारमै केन्दि्रत हुन्छन् । सडकहरू छिन्नभिन्न हुन्छन्, फोनका तार छिनेर सम्पर्कविहीन अवस्था हुनेछ । पानीका पाइप फुट्नेछन् । अस्पतालका भवन ढल्नेछन्, बाँकी रहेका अस्पतालमा पनि घाइते राख्ने ठाउँ हुने छैन । औषधीको अभाव हुनेछ, उद्धार गर्ने मानिस हुने छैनन् आदि-आदि । अनि के गर्ने ?नेपालमा आउने महाभुइँचालोपूर्व नै हामीले सबै जानकारी लिने प्रयास गरेर भुइँचालोभन्दा अगाडि हुन खोजिरहेका छौं, तर भोलि नै आयो भने त हामी हार्छौं । त्यसैले हरेकपटक रेडियोमा भुइँचालो गयो रे भन्ने सुन्नासाथ म झसङ्ग हुन्छु । अन्तै गएको भन्ने थाहा पाएपछि 'ए नेपालमा होइन रहेछ, योपटक बँचियो' भनेर अलि ढुक्क हुन्छु । सधैं यस्तो भने हुँदैन, एकदिन त्यो डरलाग्दो दिनको सामना त गर्नैपर्छ । साभारः ददि सापकोटाद्वारा लिखित 'त्यो नेपाल' पुस्तकबाट । लेखक फ्रान्सेली भूकम्पविद हुन् । SOURCE : EKANTIPUR

meh_nepali · Sep 21, 2011 8:48 AM · 15,626 views

4 Replies

30 guna thulo bhukampa?  Hehehehe.  Roland Emmerich ko 2012 bhanney film herera lekheko article jasto cha yo ta.  An earthquake 30x bigger in magnitude than the 90-saal-ko-bhuichalo would be catastrophic not only for Nepal but for the whole world and could bring an end to all life as we know it.

Nepali_American · Sep 21, 2011 12:24 PM

nepali_american: Richter Scale is measured in logarithmic scales "An earthquake that measures 5.0 on the Richter scale has a shaking amplitude 31.5 times larger than one that measures 4.0."  http://en.wikipedia.org/wiki/R...

jay-z · Sep 21, 2011 12:55 PM

This is what 30 times more stronger quake than Sept 18th quake means. 6.8 RS quake will release 240 KIlotons ( 1.0 PJ ) of energy. Inorder to have 30 times more effect, (30* 240 = 7200) kilotons or ( 30.0 PJ ) of energy has to be released with the quake of magnitude between 7.7 to 7.8. as 7.7 RS will release 5.4 megatons ( 22 PJ ) & 7.8 RS will release 7.6 megatons  (32 PJ ) of energy. It may not have widespeaded effect around the world but It surely may wipe out 80 % of KTM's building structure.

jira · Sep 21, 2011 1:02 PM

I agree with both of you guys, if and only if, we are talking about richter scale.  But the article does not mention richter or any other technical scale, if there is one.  It mentions: sagarmatha haraunu sakcha, upatyaka khattam huney, naya upatyaka banney, athawa upatyaka nai antai sarney.... that sounds like straightforward 30x "90 saal ko bhuichaalo", not logarithmic equivalent of 7.8 richter.  Hoina ta? Anyway, I am not here to part hairs.  Sar-sari padhda haaso lagyo.  Tyetti ho.  In no way am I making light of possible catastrophe that Nepal might face should, or rather, when a significant earthquake occurs.

Nepali_American · Sep 21, 2011 1:24 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all