लौ हेरौ नेपाली को असली रुप

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

विकिलिक्स खुलासा : आफ्नै छोरालाई विश्‍वास गर्दैनन् दाहाल (0 votes, average 0 out of 5) सिङ्गापुरमा कसलाई भेटेका थिए दाहालले ?- उमेश श्रेष्ठ, काठमाडौं, भदौ १९- माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नै छोरा प्रकाश दाहाललाई विश्‍वास गर्दैनन्, किनभने उनी धेरै रक्सी पिउँछन् र भरपर्दा छैनन्- अमेरिकी दूतावासले वासिङ्टनस्थित विदेश मन्त्रालयमा पठाएको यो जानकारीको खुलासा विकिलिक्सले गरेको छ।   सन् २००९ को डिसेम्बर १ मा काठमाडौंस्थित अमेरिकी दूतावासका चार्ज डे अफेयर्स र्‍यान्डी डब्ल्यु बेरीले पठाएको यो केबलमा दाहालको बहुचर्चित रहस्यमय सिंगापुर भ्रमणबारे समेत उल्लेख छ। उपचारका लागि तत्कालीन नेपाली कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला सिंगापुरमा उपचारका लागि गएका बेला दाहाल एक्कासी सिंगापुर उडेका थिए। सिंगापुर भ्रमणका क्रममा उनले क-कसलाई भेटेका थिए भन्नेबारे आजसम्म कसैले स्वतन्त्र पुष्टि गर्न सकेको छैन। अमेरिकी दूतावासले भने दाहालको टोलीसँगै रहेका एक नेपाली व्यापारी दिनेश मानन्धरमार्फत् उनको सम्पूर्ण गतिविधिको रिपोर्ट भ्रमणको दुई साता नबित्दै वासिङ्टन पठाइसकेको थियो। मानन्धरका अनुसार सिंगापुरमा दाहालले भारतीय कुटनीतिज्ञ र चिनियाँ अधिकारीहरुलाई समेत भेटेका थिए। 'दाहालको सिंगापुर भ्रमणको बिजनेस क्लासको टिकट, बीएमडब्ल्यु कार भाडा र फोर सिजन्स होटलको खर्च सबै सिंगापुरमा मुख्य कार्यालय रहेको कम्पनी स्मार्ट टेलिकमले बेहोरेको थियो', मानन्धरलाई उद्धृत गर्दै दूतावासले आफ्नो केबलमा लेखेको छ, दाहालले सुरुमा भारतीय प्राध्यापक एसडी मुनीलाई भेटेका थिए। मुनी भारत सरकार र नेपालका माओवादीबीच राम्रो सम्बन्ध कायम हुनुपर्छ भन्ने पक्षमा थिए। दाहालले नेपालका लागि भारतका पूर्व राजदूत केभी राजन र वर्तमान वरिष्ठ अधिकारीलाई समेत भेटेको मानन्धरले बताएका छन्। ती अधिकारीको नाम भने आफूलाई थाहा नभएको मानन्धरले बताएका छन्। आफूले माओवादी प्रतिनिधि मण्डललाई ठाउँमा पुर्‍याइदिने काम मात्र गरेका र बैठकमा सहभागी नभएको कारण आफूलाई बैठकको विषयवस्तुबारे केही थाहा नभएको पनि उनले दूतावास अधिकारीलाई बताए, केबलमा लेखिएको छ। सिंगापुर भ्रमणकै क्रममा दाहालले दुई पटक चिनियाँ अधिकारीहरुलाई भेटेको पनि मानन्धरले बताएका छन्। चिनियाँ अधिकारीको परिचय भने खुलाइएको छैन। भारतीय र चिनियाँसँगको प्रारम्भिक छलफलपछि दाहालले सभापति कोइरालासँग आधा घण्टा गोप्य वार्ता गरेको र त्यसपछि कोइरालापुत्री सुजाता र कृष्णबहादुर महराको साथमा थप २० मिनेट वार्ता गरेको केबलमा उल्लेख छ। भारतीय अधिकारीसँगको छलफलपछि प्रचण्ड निकै खुसीको मूडमा देखिएका थिए, मानन्धरलाई उद्धृत गर्दै केबलमा लेखिएको छ, 'ती भारतीय अधिकारीले नोभेम्बर १७ मा प्रचण्डका लागि रात्रीभोजसमेत आयोजना गरेका थिए।' आफूलाई महरानिकट तर माओवादी पार्टीको सदस्य नभएको बताउने स्मार्ट टेलिकमका स्थानीय नेपाली साझेदार मानन्धरलाई दूतावासका अधिकारीले माओवादीका अन्य प्रतिनिधि मण्डलमा जस्तै दाहालपुत्र प्रकाश पनि थिए कि भनी दूतावासका अधिकारीले प्रश्‍न राखेका थिए। त्यसको जवाफमा मानन्धरले भनेका रहेछन्, 'उनी थिएनन् किनभने प्रचण्डले उसलाई विश्‍वासै गर्दैन। प्रकाशले धेरै पिउँछन् र भरपर्दा छैनन्।' source:http://www.nagariknews.com/pol... Last edited: 05-Sep-11 05:38 PM

_____ · Sep 5, 2011 5:33 PM · 2,284 views

2 Replies

मोरियार्टीले रिपोर्ट पठाएछन् – ‘प्रचण्डको भुँडी बढ्यो’ -संजीव पाण्डे- फुर्सदिलो बिहानीमा कफी पिउँदै इन्टरनेटतिर आँखा डुलाइराखेको थिएँ। केही दिन अघिमात्र विकिलिक्सले आफूसँग भएका सबै दस्तावेजहरू सार्वजनिक गरेको थियो। त्यसैले नेपालको दूतावासले के-के रिपोर्ट पठाएको रहेछ हेर्ने जिज्ञासा जाग्यो। सूर्यबहादुर थापा, प्रभाकर राणा, माधव नेपाल, अर्जुननरसिंह केसी, रुक्माङ्गद कटवाल, शेखर कोइराला, सुजाता कोइराला आदि अमेरिकी राजदूतका सूचनाका स्रोत रहेछन्। तपाईंहरूलाई जस्तै मलाई पनि यी नामहरू सुन्दा कुनै आश्चर्य भने लागेन। तर खोज्दै जाँदा एउटा केबलमा गएर म रोकिएँ। यसको शीर्षक नै अनौठो लाग्दो थियो — ‘मुटुको डाक्टरद्वारा माओवादी प्रमुखको परीक्षण’। अचम्म लाग्यो, यति साधारण समाचार पनि राजदूतले किन अमेरिकी विदेश मन्त्रालयमा पठाए होलान्? पढ्दै जाँदा थाहा भयो- समाचार त रोमाञ्चक पो रहेछ। नर्भिक अस्पतालका मुटु रोग विशेषज्ञ डा. भरत रावत यो सूचनाको स्रोत रहेछन्। भएको के रहेछ भने एक दिन माओवादीहरूको एउटा समूह डा रावतको कार्यालयमा पुगेछन् र उनलाई तुरुन्त आफूहरूसँग हिँड्न भनेछन्। सुरुमा त डाक्टरसाबको सातोपुत्लो उडेछ। उनलाई ती माओवादी कार्यकर्ताले एउटा साधारण घरमा पुर्‍याएछन् जहाँ प्रचण्डसँग उनको भेट भएछ। प्रचण्डले उनलाई आफ्नो स्वास्थ्य परीक्षण गर्न भनेछन्। डा. रावतले आफूसँग उपकरण नभएकोले परीक्षण गर्न नसक्ने बताएछन् र उनलाई आफ्नो क्लिनिकमा आउन सुझाव दिएछन्। प्रचण्ड किन मान्थे? अन्त्यमा, डा रावतले आफ्ना सहयोगीमार्फत उपकरणहरू मगाएछन् र परीक्षण गरेछन्। प्रचण्डको स्वास्थ्यमा खासै समस्या देखिएनछ। र, पछि यही कुरा डा रावतले अमेरिकी राजदूतलाई सुनाइदिएछन्। यो घटना सन् २००७ को सुरुतिर भएको रहेछ। त्यतिखेर माओवादीहरू खुल्ला राजनीतिमा आइसकेका थिए। तत्कालीन अमेरिकी राजदूत मोरिआर्टीले यो रिपोर्ट अमेरिकी विदेश मन्त्रालयलाई ४ अप्रिल २००७ मा पठाएका रहेछन्। रिपोर्टमा प्रचण्डको चुरोट र रक्सी पिउने बानी भएको र उनको हुनुपर्ने भन्दा ज्यादा तौल भएको पनि उल्लेख गरिएको छ। राजदूतले लेखेका छन् -’गएको वर्षयता प्रचण्डको कम्मरको चौडाइ बढ्दै गएको जो कोहीले पनि झलक्क हेर्दा नै प्रष्टसँग अनुभव गर्नसक्छ।’ यो त प्रचण्डको बारेमा गरिएको चर्चा भयो। यो सूचना दिने डा रावतको बारेमा पनि राजदूतले लेखेका छन्। राजदूतका अनुसार रावत धेरै नै प्रतिष्ठित डाक्टर हुन् र अमेरिकी नियोगले धेरै विरामीहरूलाई उनीकहाँ जान सिफारिस गरेको रहेछ। शायद यसैको गुण तिरेका होलान् डाक्टरसाबले। राजदूतले प्रष्टै लेखेका छन् -’डा रावतले भरपर्दो सूचनाको स्रोतको रूपमा हामीलाई प्रभावित गर्ने गरेका छन्।’ लौ हेर्नुस्, यी डाक्टर त जासुसकै काम पो गर्दा रहेछन्। माइसंसार पढिरहेका डाक्टर साथीहरूले तल कमेन्ट लेखिदिनुहोला- ‘आफूले हेर्ने बिरामीको स्वास्थ्यको जानकारी निजको स्वीकृतिबिना कुनै तेस्रो पक्षलाई दिनु तपाईंहरूको पेशागत मर्यादा बाहिरको कुरा हो कि होइन?’ शायद डाक्टरहरूको पनि आचारसंहिता हुन्छ क्यारे। विदेशमा भए त मेडिकल बोर्डले यस्ता जासुस डाक्टरलाई कारबाही पनि गर्थ्यो होला। अन्त्यमा, हामीलाई मन परे पनि अथवा मन नपरे पनि प्रचण्ड नेपालका प्रमुख नेतामध्येका एक हुन्। अमेरिकी दूतावासले जासुसमार्फत उनको स्वास्थ्यको बारेमा चासो राख्नु र आफ्नो विदेश मन्त्रालयलाई रिपोर्ट समेत गर्ने गर्नु शंकास्पद छ। अहिलेलाई भने प्रचण्डलाई यति मात्र सुझाव दिनुपर्ला- चुरोट रक्सी पिउन छाडिदिनुस्, शारीरिक कसरत गर्ने गर्नुस् र आफ्नो डाक्टर फेर्नुहोस्। तपाईंको स्वास्थ्यमा कुनै समस्या आएमा अस्पताल नै जाने गर्नुस् तर ‘मुन्ना भाइ’ स्टायलमा आफ्ना केटाहरू पठाएर डाक्टरलाई नै अपहरण गरेर घरमा ल्याउने काम भने बन्द गर्नुहोस्। Source:http://www.mysansar.com/archiv...

_____ · Sep 5, 2011 5:37 PM

विकिलिक्स खुलासा : दाहाल राजनीतिक चतुर्‍याइँ भएका राजनेता » नयाँदिल्ली, भाद्र २० - पछिल्ला वर्ष आपसी सम्बन्धमा चिसोपन आए पनि एकताका माओवादी अध्यक्ष पुष्पकमल दाहालबाट भारत निकै प्रभावित भएको र उनलाई राजनीतिक चतुर्‍याइँ भएको नेताका रूपमा नयाँदिल्लीले लिएको विकिलिक्सको खुलासा छ । यद्यपि दाहालबारे भारतको त्यस्तो बुझाइ धेरै समय टिक्न सकेन । खासगरी सेनापति प्रकरणपछि सरकारबाट माओवादी बाहिरिएलगत्तै नयाँदिल्लीसँग उनको सम्बन्धको दूरी बढ्यो । यहाँस्थित भारतीय दूतावासको गोप्य विद्युतीय खबर (केबल) अनुसार प्रधानमन्त्रीका रूपमा करिब तीन वर्षअघि दाहालले गरेको भारत भ्रमणको मूल्यांकन गर्दै नेपाल हेर्ने तत्कालीन भारतीय सहसचिव प्रीति शरणले अमेरिकी अधिकारीहरूलाई भनेकी छन्, 'दाहाल एक जना गुरिल्ला नेताबाट राजनेतामा रूपान्तरण भएका छन् ।' नेपालमा भारतका खास चासोबारे ज्यादै सुझबुझ देखाएको उल्लेख गर्दै शरणले सबै राजनीतिक प्रक्रिया सही ढंगले अघि बढे दाहाललेे फेरि पनि ठूलो जनमत प्राप्त गर्ने भविष्यवाणी गरिन् । 'वास्तवमा नेपालमा भारतीय चासोहरू जस्तै सुरक्षा, राजनीतिक स्थायित्व, नयाँ संविधान निर्माण र आर्थिक विकासबारे पहिले कुरा उठाउनेमा दाहाल नै थिए,' शरणलाई उद्धृत गर्दै केबलमा उल्लेख गरिएको छ । केबलका अनुसार भारतीय वार्ताकारहरूसँगको छलफलमा माओवादी लडाकुबारे नेपालले के गर्नेछ भन्ने विषय पहिले दाहालले नै उठाएका थिए । दाहालले जनमुक्ति सेनाभित्र चरम उत्तरपन्थी र चरम दक्षिणपन्थीबीच गहिरो विभाजन रहेको बताउँदै सामान्य रूपमा नेपाली सेनामा समायोजन गरेरमात्रै यी दुवै पक्षको धारणा खारेज गर्न नसकिने उल्लेख गरेका थिए । भारतीय वार्ताकारहरूसँगको छलफलका क्रममा दाहालले सन् १९५० को सन्धि पुनरावलोकनको माग, बाहिर देखाउन मात्रै भएको संकेत दिएको केबलमा उल्लेख छ । 'सन्धिबाट नेपाललाई भइरहेको फाइदाबारे दाहालले महसुस गरेको बताए । तर आफ्नै सरकारभित्रका अन्य माओवादी साथीहरूलाई खुसी बनाउन सन्धि पुनरावलोकनको दृष्टि आफूलाई आवश्यक भएको उनले भने,' शरणलाई उद्धृत गर्दै केबलमा उल्लेख छ । कोइराला राष्ट्रपति भए द्वैध शक्ति केन्द्रः दाहाल संविधानसभा निर्वाचनपछि उत्पन्न राजनीतिक अप्ठ्यारो फुकाउन भारतबाट प्रभावशाली कम्युनिस्ट नेता सीताराम येचुरी नेपाल पुगेका थिए । निर्वाचनमा माओवादी ठूलो राजनीतिक शक्तिका रूपमा उदय भए पनि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले सहज रूपमा सत्ता हस्तान्तरण गर्न अस्वीकार गरेपछि राजनीतिक संकट उत्पन्न भएको थियो । येचुरीले त्यतिखेर कोइरालालाई आलंकारिक भूमिकाको अन्तरिम राष्ट्रपतिका रूपमा स्वीकार्न दाहाललाई सुझाव दिएका थिए । यद्यपि कोइरालाले राष्ट्रपति र कमान्डर इनचिफ बन्ने इच्छा येचुरीसँग प्रकट गरेका थिए । दाहालले भने कोइराला राष्ट्रपति भए उनले सेना प्रयोग गरी शक्ति बलियो बनाउन सक्ने र त्यसले द्वैध शक्ति केन्द्रको अवस्था सिर्जना गर्नेतर्क गरेको येचुरीले यहाँस्थित अमेरिकी अधिकारीहरूसँग बताएको केबलमा उल्लेख छ । पछि त्यही अस्वीकारोक्ति दलहरूबीच सहमतिको राजनीति अन्त्य गर्ने कारण बन्न पुग्यो । येचुरीले त्यतिबेला नै कंग्रेसलाई राष्ट्रपति, माओवादीलाई प्रधानमन्त्री र एमालेलाई संविधानसभाको अध्यक्ष पद दिए राजनीतिक समीकरण सन्तुलित हुने सुझाव दाहाललाई दिएका थिए । उनले प्रधानमन्त्री पदमा दाहाल जानुभन्दा बाबुराम भट्टराईलाई पठाउन उपयुक्त हुने सुझाव दिएको केबलमा उल्लेख छ । भट्टराईलाई प्रधानमन्त्री प्रस्ताव गर्नु पछाडिको कारण भने केबलमा खुलाइएको छैन ।

_____ · Sep 5, 2011 5:52 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all