भट्टराई मन्त्रिपरिषद् बिस्तार

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौँ, १८ भदौ (दैपस)– प्रधानमन्त्री निर्वाचनको एक सातापछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आइतबार मन्त्रिमण्डल बिस्तार गरेका छन् । हतियारको साँचो विशेष समितिलाई बुझाउने विवादलाई लिएर माओवादी उपाध्यक्ष मोहन वैद्य पक्षधर मन्त्रिमण्डलमा सहभागी नहुने भएपछि भट्टराईले आफ्नो पार्टीका छ जना सहित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सात मन्त्रीहरूलाई सामेल गराएर मन्त्रिमण्डल बिस्तार गरेका हुन् । माओवादीले सरकारमा दोस्रो वरियतामा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’लाई उपप्रधान सहित परराष्ट्र मन्त्रालयको जिम्मेवारी साथ पठाएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा प्रधानमन्त्रीले नवनियुक्त १३ मन्त्रीहरूलाई सपथ गराएका हुन् । माओवादी पार्टी सचिव पोष्ट बहादुर बोगटीलाई ऊर्जा मन्त्रालयमा पठाइएको छ भने अर्थतन्त्रबारे खासै जानकार नरहेका लडाकू सैन्य इन्चार्ज वर्षमान पुन अनन्तलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । माओवादीले स्थायी कमिटि सदस्य टोप बहादुर रायमाझीलाई स्थानीय विकास, प्रभु शाहलाई भूमि सुधार तथा व्यवस्था र कमला रोकालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएको छ । उपाध्यक्ष वैद्य पक्षधर मन्त्रीहरूलाई पछि सपथ गराउने गरी शिक्षा, शान्ति तथा पुनःनिर्माण लगायतका मन्त्रालय छुट्टाइएको छ । हतियारको साँचो बुझाउने विवाद नसुल्झिएसम्म वैद्य पक्षले सरकारमा नजाने बताएको छ । मधेसी मोर्चाका सात मन्त्रीलाई समेत प्रधानमन्त्रीले सपथ गराएका छन् । मधेसी जनअधिकार फोरम गणतान्त्रिकका तर्फबाट सूचना तथा संचार मन्त्रालयमा अध्यक्ष जेपी गुप्ता, कृषि मन्त्रालयमा नन्दन कुमार दत्तले सपथ लिए भने राजलाल यादवलाई विनाविभागीय मन्त्री भएका छन् । तराई मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले भौतिक योजना तथा निर्माण र न्याय तथा कानुन मन्त्रीको रूपमा सपथ लिए भने तमलोपा नेपालका अध्यक्ष महेन्द्र राय यादवले सिंचाइ मन्त्रालयको जिम्मेवारी लिएका छन् । सद्भावना पार्टीका तर्फबाट अध्यक्ष राजेन्द्र महतोले स्वाथ्य तथा जनसंख्या मन्त्रीको सपथ लिएका छन् । पार्टीभित्रको आन्तरिक विवादका कारण सिफारिस गरिएका मधेसी मोर्चाका चार जना मन्त्रीले सपथ गरेका छैनन् । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फका रक्षामन्त्रीमा प्रस्तावित शरदसिंह भण्डारी तथा वातावरण मन्त्रालयमा प्रस्तावित निलम बर्माले सपथ लिएनन् । प्रोटोकलमा सहमति नभएका कारण उनीहरूले सपथ नलिएको बताइएको छ । यसै गरी, तमलोपाले कानुन मन्त्रीमा सिफारिस गरेका जितेन्द्र सोनाल र तमलोपा नेपालले महिला तथा समाज कल्याण मन्त्रीमा सिफारिस गरेका गोविन्द चौधरी संविधान सभा चुनावमा पराजित भएका कारण विजयी सभासद्लाई पठाउनु पर्ने भन्दै पार्टीमा विवाद भएपछि सपथ लिन गएनन् । पछि कपिलवस्तुका विजयी सभासद दान बहादुर चौधरीलाई तमलोपा नेपालले पठाउने भएको छ । आइतबारको बिस्तार सँगै भट्टराईको मन्त्रिमण्डल १५ सदस्यीय भएको छ । लुम्बिनीबाट ४ मन्त्री बुटवल, १८ भदौ (दैपस)– डा. बाबुराम भट्टराईले आइतबार बिस्तार गरेको मन्त्रिमण्डलमा लुम्बिनी अञ्चलबाट ४ जना परेका छन् । लुम्बिनी अञ्चलका रूपन्देही, अर्घाखाँची, कपिलवस्तु र नवलपरासीबाट १–१ जना मन्त्रिमण्डलमा समावेश भएका छन् । जस अनुसार संविधान सभा निर्वाचनमा रूपन्देही क्षेत्र नं. ७ बाट विजयी फोरम लोकतान्त्रिकका सभासद मोहम्मद वकिल मुसलमान वन तथा भूसंरक्षण मन्त्री, अर्घाखाँची क्षेत्र नं. १ बाट विजयी भएका माओवादी सभासद टोप बहादुर रायमाझी स्थानीय विकास मन्त्री भएका छन् भने नवलपरासी क्षेत्र नं. ६ बाट विजयी भएका तमलोपाका सभासद हृदयेश त्रिपाठी भौतिक योजना तथा निर्माण मन्त्री भएका छन् । उनीहरूले आइतबार नै सपथ लिए पनि मन्त्रीमा सिफारिस भएका नवलपरासी क्षेत्र नं. ५ बाट सभासदमा पराजित गोविन्द चौधरीले भने पार्टी विवादका कारण महिला बालबालिका तथा समाज कल्याण मन्त्रीको सपथ लिएनन् । तमलोपा नेपालले गोविन्द चौधरीलाई सरकारमा पठाउन सिफारिस गरेको भए पनि प्रधानमन्त्री डा. भट्टराईले आफ्नो नेतृत्वको सरकारमा सभासदलाई मात्र मन्त्री बनाउने भएपछि तमलोपाले आइतबार राति मात्रै कपिलवस्तुका दान बहादुर चौधरीलाई पठाउने निर्णय गरेको छ । यसअघि तमलोपाले नवलपरासी ५ बाट सभासद्मा पराजित उम्मेदवार गोविन्द चौधरीलाई सिफारिस गरेको थियो । लुम्बिनी अञ्चलबाट मन्त्रिमण्डलमा समावेश भएका नेताहरू अधिकांश विकासे मन्त्रालयमा परेका छन् । अर्घाखाँचीका रायमाझी र नवलपरासीका त्रिपाठी अनुभवी मन्त्री हुन् भने अरु राज्यमन्त्रीसम्म भएका थिए । यसै बिच, भौतिक योजना तथा निर्माण मन्त्री बनेका त्रिपाठीले आफू सरकारी गाडी नचढ्ने बताएका छन । प्रधानमन्त्रीको सिको गर्दै मन्त्री त्रिपाठीले आफ्नै गाडी भएकाले आफूलाई मन्त्री भएकै आधारमा सरकारी गाडी नचाहिने तर्क गरेका छन् ।   http://dainikpatra.com/wordpre...

GORE · Sep 5, 2011 2:53 AM · 11,260 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all