होनहार वैज्ञानिकको बिदाइ -अभय रुसी आख्यानकार भासिली सुक्सिनको मृत्यु त्यतिखेर भयो जब उनी कुनै चलचित्रमा अभिनय गरिरहेका थिए। सन् १९७४ को एक मध्याह्न छायांकनका बेला संवाद बोल्दा-बोल्दै उनको मृत्यु भएको थियो। संयोगले संवाद पूरा भएको थियो। मृत्यु पनि क्यामरामा कैद भएको थियो। अर्थात् एउटै फुटेजमा अभिनय र जीवनको अन्त्य एकसाथ दर्ता भएको थियो। लेनिन पुरस्कार विजेता सुक्सिनको निधनले रुसी जनता अत्यन्त शोकाकुल भए। मास्कोमा त्यति बेलासम्मको सबैभन्दा ठूलो र शोकाकुल शवयात्रा भयो। सुदूर गाउँबाट मास्को आएका सुक्सिन कथा लेखनका अतिरिक्त चलचित्रमा अभिनय गरेर जीविका चलाइरहेका थिए। उनको जीवनमा कैयन् विडम्बना थिए। मास्कोका सम्भ्रान्त उनलाई असभ्य गाउँले ठान्थे। आफ्नै गाउँलेचाहिँ सम्भ्रान्त मान्थे। यसरी गाउँ र सहर दुवैतिर उनी अस्वीकृत थिए। साहित्यकारहरू उनलाई फिल्मका मानिस ठान्थे। फिल्मका मानिस साहित्यकार भन्थे। कतै पनि उनी सहजतासाथ स्वीकृत थिएनन्। उनको आत्मनिर्वासनको अधिकार यसरी धुस्नो भएको थियो। यथार्थमा, सुक्सिन रुसका अत्यन्तै संवेदनशील कथाकार थिए। उनका कथा पढ्दा रुसी तत्कालीन समाजप्रति गहिरो संपृक्ति, हृदयस्पर्शिता, निजी जीवनको अन्तरद्वन्द्व र विरक्तिको अनुपम चित्रण पाइन्छ। त्यसले उनलाई अन्य कथाकारबाट पृथक् बनाएको थियो। यही विडम्बना हंगेरियाली कवि अतिला योजेफको थियो। उनी चित्रकारी, फोटोग्राफी, अभिनय, अनुवाद, फिल्म निर्माण, पत्रकारीजस्ता हरेक काममा पोख्त थिए। तथापि उनी कतै स्वीकृत थिएनन्। उनलाई रोजगार दिन कोही तयार हुँदैनथ्यो। उनीविरुद्ध हंगेरीका सम्भ्रान्त लेखकहरू चार हातपाउ टेकेर लागिपरेका थिए। •••• मंगलग्रहमा पानी पत्ता लगाएर नेपाली युवा वैज्ञानिक लुजेन्द्र ओझा संसार हल्लाउने गरी चर्चित भइरहेकै बेला अघिल्लो साता अर्का युवा वैज्ञानिक तथा पत्रकार गणेश खत्रीको अल्पायुमै निधन भयो। यो खबर कतिपय उनकै हितैषीलाई थाहा भएन। सायद उनी पनि सुक्सिन र योजेफकै विडम्बना झेलिरहेका थिए। पत्रकारका नजरमा उनी वैज्ञानिक थिए। वैज्ञानिकका नजरमा पत्रकार। सायद त्यसैले उनको लास उठाउनै हाहाकार भयो। लारा दत्त, ऐश्वर्या राय, अरुणिमा लम्साल, सञ्चिता लुइँटेल गर्भवती भएका समाचार बारम्बार दिइरहेका नेपाली मिडियाले होनाहार वैज्ञानिकको मृत्युको खबर दिन जरुरी ठानेनन्। सायद यी मिडिया गर्भवती नायिकाको पेटको बच्चाको लिंग, वजन, तिनको भावी प्रेमप्रसंगबारे अनुसन्धान गरिरहेका थिए। (धन्य, अहिलेसम्म त्यस्तो समाचार 'ब्रेक' भइसकेको छैन। कसले गर्ने हो?) जनधारणा साप्ताहिकमा बाहेक त्यो खबर कतै आएन जसमा केही समयदेखि उनी संलग्न थिए। कुनै दिन उनी मेरा सहकर्मी थिए। तत्कालीन आजको समाचारपत्र (हालः नेपाल समाचारपत्र) मा उनी मुस्किलले एक महिना टिके होलान्। त्यही थोरै अवधिबीच पनि उनले खानी तथा भूगर्भसम्बन्धी महत्वपूर्ण केही समाचार लेखेका थिए। त्यसपछि स्पेसटाइम दैनिकमा पर्यटकजस्तै उनी मेरा अल्पकालीन सहकर्मी भए। खत्रीसँग मेरो सम्बन्ध निकट थिएन। तर, हरेक भेटमा उनी मसँग आत्मीय रूपमा प्रस्तुत भए। निधनको करिब दुई साताअघि मात्र नागरिक दैनिकको आँगनमा नरम ठट्टाको स्वरमा उनले मलाई सोधेका थिए, 'तपाईँ अभय श्रेष्ठ कि चंकी श्रेष्ठ?' मेरो जबाफको प्रतिक्रियामा चलचित्रमा सनी रौनियारले जस्तै हात हल्लाउँदै उनी मसँग बिदा भएका थिए। सहकर्मीको आकष्मिक मृत्युको खबरले नराम्ररी झस्काउँदोरहेछ। तीन वर्षअघि हृदयाघातबाट अघिल्लो पुस्ताका पत्रकार अशोक श्रेष्ठको निधन भएको थियो। कुनै समय स्पेसटाइम दैनिकमा उनी मेरा सहकर्मी थिए। त्यसअघि नै मोटरसाइकल दुर्घटनामा कानुन संवाददाता पुष्कर थापाको निधन भएको थियो। मित्रलाल बालक अधिकारीले धरहराबाट फाल हालेर आत्महत्या गरे। वीरेन्द्र साह माओवादीमा ओत पाएका अपराधीका गोलीको सिकार भए। मृत्युका बाटा फरक भए पनि बाँचुन्जेल यी सबैका विडम्बना समान थिए। पत्रकार हाम्रो देशमा यस्तो वर्ग हो जसको जीवन र वृत्ति सबैभन्दा बढी असुरक्षित छ। पत्रकार महासंघकै कतिपय शाखा सभापति कैयन् संस्थाबाट अन्यायपूर्वक निकालिएका छन्। त्यसविरुद्ध कतैबाट आवाज उठ्दैन। नेपालमा मिडिया क्रान्तिसँगै पत्रकारितामा धूर्त, चापलुस, श्रीहीन र डेढअक्कली एक वर्गको उदय भयो। यही वर्ग प्रेसको आन्तरिक अतिरिक्त नीति निर्माण र व्यवस्थापनमा प्रभावी थियो। पत्रकारितालाई सामाजिक न्याय र सुन्दर संसारको निर्माणसँग जोड्न चाहनेहरू सदैव तिनको सनकको सास्ती भोग्न बाध्य हुन्थे। गणेशले यस्तो सनकको सास्ती सायद भोग्नुपरेन। फुक्काफाल स्वभावका उनी पत्रकारिता र विज्ञान दुवैमा उनी होनाहार थिए। २०५२ सालमा नवयुवा मासिकले युवा वैज्ञानिक प्रतिभाबारे आवरण कथा लेखेपछि उनी चर्चित भएका थिए। उनले मिसाइल, रेडियो भएको चस्मा, ननइलेक्ट्रोनिक टाइम बम, पेन पेस्तोल, कृत्रिम पुरुष लिंग, दस गुना कम बिजुली खपत गर्ने चिम बनाएका थिए। रेडियो सुन्ने चस्मा त्यति बेला २० रुपियाँमा बनाउन सकिने उनको दाबी थियो। वायुशक्तिबारे अनुसन्धान गर्न रोनास्टले उनलाई फेलोसिप दिएको थियो। व्यापक पाठकको नजरमा नपरे पनि मीठो भाषा र आकर्षक शैलीमा लेख्न उनी पोख्त थिए। यथार्थमा, उनी देश र आफू स्वयंले नचिनेका अनुपम प्रतिभा थिए। •••• सुक्सिन, योजेफ र खत्रीको मृत्युको सिरेटो भर्खरै फेरि मुटुको एक कुनामा ठोकिएर गयो। म पनि त पत्रकारका नजरमा साहित्यकार र साहित्यकारका नजरमा पत्रकार। कथाकारका नजरमा कवि। कविका नजरमा कथाकार। गाउँलेका नजरमा सहरिया। सहरिया सम्भ्रान्तको समाजमा असामाजिक गाउँले। जातीय सांस्कृतिक अधिकार पक्षधर भए पनि जातिवादको विरोधी हुनाले कट्टर नेवारको दृष्टिमा गैरनेवार। जातिवादी क्षेत्री, बाहुनका नजरमा नेवार, (मान्छे होइन)। आँखाको बिसौनीमा सुक्सिन, योजेफ र खत्रीको मृत्युको गाडी बारम्बार घुमिरहेछ। source : www.nagariknews.com/opinions/98-opinion/30225-2011-08-19-07-35-25.html
bhakte dai · Aug 24, 2011 9:43 AM · 3,280 views
I personally know Ganesh dai. He was an acute person. I still remember he had demonstrated his invention including sound sensing gun etc. when I was in school. When I was in BSc, we had organized a picnic trip to Mirik and Darjeeling for two days to honor him. Had born elsewhere he could be someone. Rest in peace Ganesh dai.
NALAPANI · Aug 24, 2011 2:32 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion