'बाहुनहरूले त्यो सहर बिगारे

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

http://www.ekantipur.com/np/20... जम्काभेटहरु   दिनेश वाग्ले   काठमाडौ, भाद्र ३ - 'बाहुनहरूले त्यो सहर बिगारे,’ उसले मलाई अचम्मित पर्दै भन्यो । पाँच सय ११ नम्बरको वातानुकूलित सार्वजनिक बस व्याङ्ककको खाओसान रोड पुग्नै लागेको थियो । सहर र आकासे/जमिनमुनिका रेल प्रणालीका दुई नक्साहरू म पल्टाइरहेको थिएँ । सँगैको एक सिट खाली थियो । पाइजामा लगाएको एउटा अधवैंशे खैरे त्यहीँ सिटमा आयो । दुई/चार सेकेन्ड मलाई नियालेपछि उसले साध्यो, ‘ह्वेर आर यू फ्रम ?’ ‘काठमान्डू,’ मैले भनें । अनि उसले मलाई अचम्मित पारेको थियो । ‘पहिला क्याटमान्डू कति सुन्दर थियो,’ उसले थप्यो, ‘अहिले बाहुनहरूले धेरै घर बनाए, गाडी धेरै ल्याए, बागमती प्रदूषित पारे र सहर कुरूप भयो ।’ टेक्सास, अमेरिकाको त्यो गोरासँग म बाहुनहरूको बचाउ गर्ने मुडमा थिइन । मलाई खाओसान उत्रिनु थियो, होटल भेट्टाउनु थियो र कोठामा झोला बिसाएर सहर घुम्न निस्कनु थियो । ‘म पनि खाओसानै जाने हो,’ बितेका केही वर्षदेखि दक्षिण कोरियामा बसेको, बौद्धवादमा स्नातकोत्तर गरेको र आगामी वर्ष त्यसैमा विद्यावारिधि गर्ने योजना बनाइरहेको उसले भन्यो, ‘नक्सा हेर्न बन्द गरे हुन्छ । बरु तिम्रो बजेट कति हो ?’ बौद्धवाद पढ्न र घुम्न माइकल थुप्रैपटक काठमान्डू गएको रहेछ । स्वयम्भू र बौद्धनाथ अपेक्षितरूपमा उसका मनपर्ने स्थान रहेछन् । खासमा काठमान्डूप्रति उसमा अलि बढी नै माया रहेछ । त्यसैले ऊ मसँग लहसिन थालेको थियो । ‘दुई सय भाटबाट थालौं,’ मैले होटलका लागि आफ्नो बजेट सुनाएँ । ‘मेरो पनि त्यति नै हो,’ उसले भन्यो, ‘मै बसेको ठाउँ हेर्छौं कि ? मैले तिमीलाई स्प्यानिस ठान्या थिएँ ।’ ठ्याक्कै होटल थिएन त्यो तर ठूलो कोठामा एसी, फ्रिज र दराज थिए । अघिल्ला दुई चलाएबापत बिजुलीको पैसा तिर्नुपर्ने । तैपनि दुई सयमा त्यो मिलेको पत्याउन गाह्रो थियो । ‘जाने बेला मलाई तिम्रो इमेल ठेगाना दिन नबिर्सनु,’ माइकलले भन्यो । दक्षिण पूर्वी एसिया घुम्ने ब्याकप्याकरहरूका लागि ब्याङ्कक र त्यहाँको खाओसान रोड आधार शिविर हुन् । खाओसान रोडजस्ता ब्याकप्याकर गेट्टोहरू विश्वका अन्य सहरहरूमा पनि हुन्छन्– काठमान्डूको ठमेल, पोखराको लेकसाइड, दिल्लीको पहाडगन्ज, कलकत्ताको सडर स्ट्रिट या मनिलाको माकाटी ।तुलनात्मकरूपमा सस्ता होटल र विविधतापूर्ण खाना पाइने यी ठाउँमा ब्याकव्याकरहरू बेलुका खाँदै या बियर पिउँदै दिउँसोको यात्राबारे छलफल गर्छन् । ब्याङ्ककका कहिल्यै घुमेर नसकिनेजस्ता लाग्ने किनमेल केन्द्रहरू (मल) चहारेपछि र चाओ फ्राया नदीमा चल्ने जेट्टी चढेपछि लखतरान भएर राति १० बजे फर्किंदा होटलअगाडिको खानेठाउँमा माइकल अर्को एकजना ऊभन्दा अलि बूढो गोरासँग बियर पिइरहेको थियो । ‘यी नेपालका पत्रकार,’ माइकलले मलाई ती गोरासँग चिनायो । ‘ओहो,’ हात मिलाएपछि पिटरले भने, ‘म १९७६ मा काठमान्डू गएको थिए !’ मैले पिटरलाई माइकलले बाहुन मन नपराउने तर म बाहुन भएको बताए । 'मैले कहाँ त्यसरी सबै बाहुनलाई भनेको हुँ त ?' माइकलले हास्दै भने । बेलायतका पिटर खाओसाना रोड नजिकैको एउटा बौद्ध विश्वविद्यालयमा बौद्धमार्गका प्राध्यापक रहेछन् । नेपाली दूतावास भएको क्षेत्र सुकुम्भितमा एउटा अपार्टमेन्ट लिएका रैछन्, महिनाको २० हजार भाट । तलब ३७ हजार भाट (जो मैले नसोधी उनले बताए) । ‘थाइल्यान्डमा प्राध्यापकलाई खासै राम्रो तलव छैन,’ बौद्ध धर्मबारे केही किताब पनि लेखेका ७० वर्षेले भने, ‘समय मिलाएर मेरो अपार्टमेन्टमा आउनुहोला । एक्लै छु, खाना जसोतसो खाउँला । पर्सि मेरी केटी फर्किन्छिन्, सजिलो हुन्छ ।’ थाइल्यान्डमा प्रायः विदेशीहरू थाई केटीसँग बसेका हुन्छन् जसले उनीहरूलाई खानादेखि अन्तरङ्ग मित्रतासम्म उपलब्ध गराउँछन् । ‘तोङ्वा अझैं पाइन्छ नेपालमा ?’ पिटरले मुस्काउँदै सोधे, ‘आज तपाईंलाई देखेर मेरा सम्झना ताजा भए । अनि याक चुरोट ?’ ‘सुन्नुस्,’ मैले जवाफ दिन नपाउँदै उनले भने, ‘म काठमान्डूबाहिर, ठाउँको नाम बिर्से माफ गर्नु होला, पदयात्रामा गएको थिएँ । हराएँ । हा हा हा । अँध्यारो भइगयो, कता जाने केही देखिन । कसोकसो एउटा गोठमा पुगेछु । त्यही बसेँ । भोलिपल्ट फर्किएँ काठमान्डू नै ।’ उनी सन् ८० को अन्त्यतिर पनि नेपाल गएका रहेछन् तर लुम्बिनी नपुगेका । ‘हो है ?’ बौद्धमार्गको प्रध्यापक भएर लुम्बिनी नजानु लाजमर्दो भएको मबाट सुनेपछि पिटरले भने । ‘अनि के त ?’ ‘जानुपर्ला,’ उनले भने । बिहान पाँच बजे नजिकैको रेलवे स्टेसन पुग्नु थियो– क्याम्बोडिया जान । जनकपुरको त्यो बेकामे चिजबाहेक नेपालमा रेल छैन । तर रेल र सागरजस्ता ‘नभएका कुरा’ हाम्रा लागि नौला किन होइनन् भने ती बारम्बार हाम्रो मानसपटलमा छाइरहन्छन्– मुख्यतः गीतमार्फत । जिन्दगीमा पहिलो रेल म वासिङ्टन डीसीमा चढेको थिएँ– २६ वर्षको हुँदा, २००६ मा । त्यसको दुई वर्षपछि भारतको गोरखपुरबाट पूरै तीन दिन दुई रात रेलैमा बिताएर दक्षिणको त्रिवेन्द्रम पुग्दा म छुक–छुक आवाजबाट दिक्कै भएको थिएँ । त्यो यात्रापछिका दुई वर्ष दिल्लीमा रहेर पत्रकारिता गर्दा विश्वकै ठूलो यात्रु रेल सञ्जाल भएको भारतका लागि त्यो रक्तनली हो भन्ने बुझेँ । भारतीय रेललाई एसियाका अन्यसँग तुलना गर्ने रहर त्यो बिहान मेटिँदै थियो । ‘ह्वेयर आर यू फ्रम ?’ गुडिरहेको थाई रेलको रुचिपूर्वक तस्बिर खिच्दै गरेको देखेपछि पल्लो सिटमा बस्ने खैरेले मलाई सोधेको थियो । ३० चानचुनको ऊसँग अलि कान्छीजस्ती लाग्ने एउटी गोरी थिई जो उसकी गर्लफ्रेन्ड हो भनी बुझ्न मलाई समय लागेन । उसले सोध्दा दुवैका आँखा ममा थिए । ‘काठमान्डू’ मैले भने । ‘साँच्चै ?’ केटीले अनुहारमा चहकता ल्याउँदै भनी, ‘हामी अक्टोबरमा नेपाल जाँदै छौं ।’ ‘पदयात्रा कहाँ राम्रो होला ?’ केटोले सोध्यो, ‘अक्टोबर नेपाल जाने राम्रो समय हो, हैन ?’ उसले भीडभाडपूर्ण अन्नपूर्ण सर्किट जान नचाएको तर फ्रोजन लेकले आकर्षित गरेको बतायो । लोन्ली प्लानेटलगायतका पथप्रदर्शक पुस्तकहरूले गोसाइँकुण्डलाई फ्रोजन लेक (जमेको ताल) पनि भन्छन् । जाडो सुरु हुनुअघि र सकिएलगत्तैका पर्यटकीय सिजनमा पुग्दा तालमाथि चिप्लेटी खेल्न मिल्नेगरी हिउँजमेको देखिन्छ । ‘भीड छल्न मनास्लु या पश्चिम नेपाल ताक,’ मैले भने, ‘तर गोसाइँकुण्ड जाँदा लाङ्टाङ् उपत्यका नछुटाउ ।’ २००३ को अप्रिलमा गोसाइँकुण्ड पुग्नुअघि लाङ्टाङ् उपत्यकाको केन्जिन गुम्बामा उभिँदा चारैतिर हिमाल देखेको र त्यो कहिल्यै बिर्सन नसकेको मैले बताए । क्याम्बोडिया छिरेपछि म विश्वकै ठूलो धार्मिक भवन (अङकोरवाट मन्दिर) भएको ठाउँ सियामरिप जानेवाला थिएँ । त्यो जोडी त्यहाँ जानुअघि केही समय अर्कै गन्तव्यमा बिताउनेवाला थियो । १२ औं शताब्दीको सुरुतिरै त्यतिबेला त्यो क्षेत्रका राजा सूर्यवर्मन द्वितीयले राजधानी अङ्कोरमा पश्चिम फर्किएको त्यो विशाल विष्णु मन्दिर बनाएका थिए जसको पश्चमी पर्खालमा महाभारतको युद्धका चित्र छन् भने पूर्वीमा समुद्र मन्थनको दृश्य उतारिएका दृश्य । त्यतिबेला अहिलेका क्याम्बोडिया, थाइल्यान्ड र भियतनामका भूभाग ओगटेको त्यो हिन्दू मुलुकका हिन्दू राजाले मेरु पर्वतको झल्को दिनेगरी बनाएको साढे तीन किलोमटिरको पर्खाल र नहरले घेरिएको मन्दिरलाई सय वर्षपछि तिनै राजाका सन्ततीले बौद्धकरण गरेका थिए । अहिले क्याम्बोडियाका ९६ प्रतिशत जनता थेरावाद बौद्धमार्गी हुन् । तर संस्कृत शब्द ‘नगर’बाट अपभ्रंश हुँदै अङ्कोर भएको सहरको यो भव्य मन्दिरलाई क्याम्बोडियाले राष्ट्रिय झन्डामा राखेको छ । मुख्य मन्दिर र दुई/चार किलोमिटर वरिपरिका अन्य थुप्रै बौद्ध/हिन्दू मन्दिरहरू क्याम्बोडियाको सर्वाधिक प्रिय पर्यटकीय आकर्षण हुन् । ती मन्दिर घुम्न एकदिने टिकटको २० र तीनदिनेको ४० डलर तिर्नुपर्छ । एकदिने टिकट किनेपछि अघिल्लो बेलुकीको सूर्यास्त हेर्न मन्दिर छिर्न पाइन्छ । सूर्यास्त हेर्ने मन्दिर पुगेपछि म क्यामेरालाई सेल्फ टाइमरमा राखेर मन्दिरसँगको आफ्नो तस्बिर खिचिरहेको थिएँ । (एक्लै घुम्नुको नरमाइलै यहीँ– तत्काल अनुभव बाँड्न नपाइने र तस्बिर खिचिदिने मान्छे पनि नहुने ।) संयोगले एउटी गोरी केटी नजिकै आएर भनी, ‘के म तिम्रो तस्बिर खिचिदिऊँ ?’ मेरो क्यामेराबाट मेरो फोटो खिचेपछि लामो लेन्स भएको उसले क्यामेरा मलाई थमाउँदै फोटो खिचिदिन अनुरोध गरी । ‘थ्याङ्क्यू,’ उसले भनी र सोधी, ‘ह्वेर आर यू फ्रम ?’ ‘काठमान्डू ?’ मेरो जवाफ सुनेपछि अचम्मित हुँदै उसले भनी, ‘गत वर्ष म त्यहाँ थिए । मनासलु पदयात्रा गएकी थिएँ । कस्तो रमाइलो ठाउँ ।’ मस्कोमा बस्ने लाट्भियाकी त्यो केटीसँग गफिने समय थिएन । मन्दिरले साझका दुई घन्टा खायो, भोलिपल्ट बिहानका चार घन्टा पनि त्यहीँ बिते । बेलुका अङ्कोर नजिकैको ब्याकप्याकर गेट्टो सियामरिपमा मुख्यतः तरकारी र भात खाने ठाउँ खोज्दै थिएँ, त्यही लाट्भियालीसँग जम्काभेट भो । ऊ फ्रेन्च खाने मुडमा रहिछ । ‘नयाँ खाना एकदुई दिनका लागि ठीक हो,’ मैले भनें, ‘तर मैले घर छाडेको केही साता नै भइसक्यो ।’ ‘तिमीलाई दालभात खान मन लागेको होला,’ खासमा रसियन बोल्ने उसले (अङ्ग्रेजीमा) भनी, ‘मनासलु जाँदा बिहान–बेलुकै दालभात खाएँ । सुरुमा ठीकै लाग्यो, पछि दालभात (उसले दुवै हत्केला घाँटीमा पुर्याई) यहाँसम्म आयो । हा हा ।’ गफिँदै  गर्दा उसले फ्रेन्च खाने इच्छा त्यागी र खमेर रेस्टुरेन्टमा खमेर खाना खायौँ । उसले मलाई केहीअघि नेपाल घुमेर फर्केकी र अहिले सियामरिपमै काम गर्ने आफनी रसियन साथी भेटाउन खोजेकी थिई तर मन्दिर घुमाई चटारोले त्यो सम्भव भएन । भोलिपल्ट मन्दिरमा भेटिएला भन्दै हामी छुट्टियौं तर मन्दिर साँझको जस्तो शान्त कहाँ हुन्थ्यो ? हजारौं युरोपेली, जापानी, भियतनामी र चिनियाँ पर्यटकहरूले मन्दिरका कुनाकुना ओगटेका थिए । गाइडहरूले बोलेका ‘हिन्दू’, ‘विष्णु’, ‘अप्सरा’, ‘बुद्ध’, ‘नेपाल’, ‘इन्डिया’ शब्दहरू कानमा ठोक्किइरहे । हिन्दू मन्दिर ध्वंसात्मक ढंगमा बौद्धकरण भएको छैन । विष्णुको मूर्ति भएको ठाउँमा बुद्धका उभिएका र बहुमुखी नागमुनि ध्यान गरिरहेका मूर्ति छन् । मुख्य मन्दिरबाट दुई किलोमिटर पर बुद्धका मुहारै मुहार झल्किने आकर्षक संरचनायुक्त मन्दिर छन् जहाँ हिन्दू देवीदेवताका चित्र/मूर्ति पनि प्रशस्तै कुदिएका छन् । एलिफेन्ट टेरेस भन्ने हात्तीहरूको मूर्ति भएको पट्टाङ्गिनीमा मध्यदिनको चर्को गर्मीमा म सेल्फ टाइमरमार्फत तस्बिर लिइरहेको थिएँ । ‘म खिचिदिउँ ?’ भन्दै एउटा चिनियाँजस्तो देखिने केटो आयो । उसले मेरो फोटो लिँदै गर्दा एउटी चिनियाँजस्तै देखिने केटी खुरर्र दौडिएर मसँगै टाँसिन आई । ‘तपाईंसँग फोटो खिच्छु है ?’ उसले मलाई हेर्दै भनी । त्यो केटा उसको ब्वाईफ्रेन्ड हो कि भन्ने मेरो अनुमान रह्यो । ‘नमेटानुस् ल यो तस्बिर,’ उसले भनी र सोधी– ‘ह्वेर आर यू फ्रम ?’ जवाफ सुनेपछि ऊ छक्कै परी, एकैछिन केही सम्झिन खोजेजस्तो गरी र झन्डै तीस सेकेन्डपछि मैले केटोबाट क्यामेरा लिएर झोलामा हाल्दै गर्दा मेरो छेवैमा आएर भनी, ‘तपाईं पक्का नेपाली हो ? म एउटा गीत सुनाउँ ?’ अनि उसले ‘रेसम फिरिरी’ गाई । छक्क पर्ने पालो मेरो थियो । दक्षिण कोरियाकी त्यो केटी दुई साताअघि मात्रै दोस्रोपटक नेपाल गएकी रैछ– पोखरा, चितवन, काठमान्डू । ‘रमाइलो भयो नेपालमा,’ तस्बिर पठाउन मलाई उसको इमेल ठेगाना दिँदै गर्दा उसले भनी, ‘त्यहीँ सिकेँ यो गीत ।’ छ वर्षअघि ‘सान फ्रान्सिस्को क्रोनिकल’ पत्रिकामा ‘एभ्री थिङ् एड्स अप इन म्याथ अफ चान्स मिटिङ्स’ शीर्षकमा जोन फ्लिनको लेख छापिएको थियो जसमा ती अमेरिकीले कसरी आफ्ना स्कुले गणित शिक्षक, स्की प्रशिक्षक र पूर्व सहकर्मीसँग वर्षौंपछि म्याग्दीको घोडेपानी, काठमान्डूमा नेपाल एअरलाइन्सको अफिस र एउटा थाई टापुमा जम्काभेट भए भन्दै वर्णन गरेका थिए । उस्तै सोख भएका दुई चिनजानका मान्छे कुनै न कुनै क्षण आफ्नो घरभन्दा हजारौं कोस टाढा संसारको अर्को कुनामा अनपेक्षितरूपमा भेटिन्छन् भन्ने जोनको तर्क थियो । खुबै मनपरेको त्यो लेखलाई मैले अनुवाद गरेपछि ‘जम्काभेटको अङ्कगणीत’ शीर्षकमा कान्तिपुरमा छापिएको थियो । अनुवाद गर्दा या गत महिना दक्षिण पूर्वीएसियाको यात्रामा निस्कँदा मैले नेपालसँग कुनै न कुनैरूपमा सम्बन्धित यी मानिसहरूसँगको जम्काभेटबारे सोचेको थिइनँ । ब्याङ्कक (दिल्ली र हङ्कङ्जस्तै) थुप्रै विदेशीका लागि नेपाल आउने ढोका हो । राजधानी नोमपेनमा पोलपोटले वास्तविक माओवाद स्थापना गर्ने क्रममा मारेका १३ देखि २५ लाख सम्मका क्याम्बोडियनहरूमध्ये केहीका खोपडी जम्मा गरिएका सङ्ग्रहालय र मेकङ् किनार डुलेपछि म ब्याङ्कक जाने बसमा छिरेको थिए– काठमान्डूका लागि प्लेन अठ्याउन । छेवैको सिटमा एउटा गोरा थियो जसले यता घुमे, उता घुमे भन्नेक्रममा उत्साहित हुँदै मलाई उसको क्यामेरामा भिडियो देखायो– नोमपेनको सुटिङ् स्थलमा ४५ डलर तिरेर एके फोर्टिसेभेनबाट उसले गोली हानेको । ‘अमेरिकामा पाइँदैन,’ उसले भन्यो, ‘यहाँ रहर पूरा गरियो ।’ ‘सेनामा जानु नि,’ मैले भनें, ‘इराक र अफगानिस्तान पठाइहाल्छन् ।’ ऊ हाँस्यो र सोध्यो, ‘ह्वेर आर यू फ्रम ?’ जवाफ सुनेपछि पल्लो सिटको साथीलाई देखाउँदै उसले भन्यो, ‘वाह ! ऊ दुई महिनाअघि नेपाल गा’थ्यो !’ ब्याङ्कक बसाइको अन्तिम दिन (त्यहाँकी रानीको जन्मदिनको अघिल्लो दिन) खै किन हो सहरको ट्राफिक प्रणाली अलि अस्तव्यस्त थियो । सहरको केन्द्रमा जाने बस भेट्टाउन मुस्किल । अप्ठेरोमा म मात्र थिइनँ । ‘ठूला सहरहरूमा म हराउँछु,’ बस स्टपमा उभिएको एउटा गोराले हामी दुवै एउटै स्थितिमा रहेको बुझेपछि मसँग भन्यो । ‘हो र ?,’ मैले भनें र दिल्ली, न्युयोर्कलगायतका केही ठूला सहरका सार्वजनिक यातायात प्रणालीबारे केही बताएँ । ‘न्युयोर्कमा पनि म हराउँछु,’ उसले भन्यो र मेरो प्रश्नको उत्तर दियो, ‘म अमेरिकाको सानो सहर विलिङ्स (मोन्टाना) बाट । अनि तिमी ?’ ‘साँच्चै ?’ जवाफ सुनेपछि उसले भन्यो, ‘अर्को महिना म त्यहीँ जाँदै छु । अहिले इन्डियाको भिसा लिन हिँडेको । धन्न, नेपाल जान आवेदनको झन्झट छैन । तर मैले सुनेको छु, नेपालमा पदयात्रा निकै महँगो पर्छ ।’ ‘तिमी एभरेस्टै त चढ्ने हैन होला,’ मैले भने । ऊ हाँस्यो र भन्यो, ‘हैन, हैन ।’ ‘त्यसो भए ढुक्क होउ, नेपाली पदयात्रा तिमीले सोचेजस्तो महँगो छैन ।’ Last edited: 21-Aug-11 07:13 PM

_____ · Aug 21, 2011 6:51 PM · 2,189 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all