म हिन्दुस्तानी हुँ। तर, भारतले बुद्ध आफ्नो देशमा जन्मेको हल्ला फैलाउँदा साह्रै झोक चल्छ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

    बुद्धको जीवनी एनिमेसन फिल्ममा Friday, 29 July 2011 12:40 नागरिक       सन्तोष रिमाल, काठमाडौं, साउन १३- 'म हिन्दुस्तानी हुँ। तर, भारतले बुद्ध आफ्नो देशमा जन्मेको हल्ला फैलाउँदा साह्रै झोक चल्छ,' बुद्धको जीवनकथा झल्काउने एनिमेटेड फिल्म 'गौतम बुद्ध' बनाउन व्यस्त निर्देशक तुलसी घिमिरे यसलाई बुद्धबारे धेरै भ्रम चिर्ने फिल्म दाबी गरे।   'हामीलाई धार्मिक र दार्शनिक पक्षसँग त्यति धेरै सरोकार छैन। तर, अकाट्य कुरा के हो भने गौतम बुद्ध कपिलवस्तुको लुम्बिनीमा जन्मिएका हुन्। जुन नेपालमा पर्छ,' भारतीय फिल्मकर्मीले समेत बेलाबखत बुद्धको जन्मस्थलको विषयमा भ्रामक प्रचार गरिरहेको चर्चा गर्दै त्यसलाई चिर्ने अठोट गरेका छन् उनले। बुद्धको जीवनकथाका थुप्रै रोचक तथ्य फिल्मले उजागर गर्ने जिकिर समेत छ उनको। कपिलवस्तुका राजकुमार सिद्धार्थ गौतमले गृहत्यागको बाटो रोजेको कथा उनको फिल्मले भन्नेछ। 'विभिन्न श्रोतव्यक्तिको भनाइ र अनुसन्धानका आधारमा केही नयाँ र अभिरुचिपूर्ण तथ्य देखाउन खोजेका छौं र त्यसलाई तर्कसंगत ढंगले पुष्टि गर्ने प्रयास पनि,' थरिथरिका मिथकको जालोबाट बुद्धको स्पष्ट जीवनी देखाउने काम उनलाई निकै चुनौतीपूर्ण लागेको छ। तीन वर्षअघि इन्जिनियर छत्रहरि कार्कीले राखेको प्रस्ताव स्विकार्दै घिमिरेले 'गौतम बुद्ध'को निर्देशकीय जिम्मेवारी सम्हालेका हुन्। नेपालमा बनेको पहिलो एनिमेटेड फिल्मको निर्देशक बन्ने 'ग्ल्यामर'ले उनलाई केही हदसम्म लोभ्याएको पनि थियो। कलाकारलाई भावनामा बगाउन र त्यसमा दर्शकलाई डुबाउन माहिर निर्देशकले यो फिल्म थालेको तीन वर्ष पूरा भएको छ। अझै दुई वर्ष काम सकिने छनक उनले पाएका छैनन्। बुद्धको विषय र टुडी एनिमेसन प्रविधि दुवैमा दख्खल नभए पनि फिल्म बनाउन तम्सिनुको पछाडि घिमिरेको तर्क छ, 'कसै न कसैले नयाँ कामको सुरुवात गर्नु पर्थ्यो। हामीले जमर्को गर्‍यौं र त्यसलाई पार लगाउन कम्मर कसेर लागेका छौं।' 'कलाकार राखेर फिल्म बनाइएको भए के हुन्थ्यो?' नागरिकको प्रश्नमा उनले भने, 'बुद्धको रोलमा कसलाई खेलाउने? ३२ लक्षणले युक्त उनको जस्तो व्यक्तित्व झल्कने कलाकार खोज्नु ठूलो चुनौती थियो।' फिल्मका निर्माता कार्कीले व्यापारिक कारण देखाए, 'हामीले यसलाई विभिन्न भाषामा डबिङ गरी विदेशी बजारमा समेत पठाउने लक्ष्य राखेका छौं। नेपाली कलाकारले जापानी भाषा बोलेको फिल्म हेर्दा स्वभाविक लाग्दैन भनेर एनिमेसन फिल्म बनाएका हौं।' फिल्मलाई शैक्षिक र व्यापारिक प्रयोजनले तयार गर्न खोजेको उनले बताए 'पहिला नसोचेको सुक्ष्म कुराले अहिले अल्झाएको छ,' उनले बिस्तार लगाए, 'हरेक फ्रेमको चित्र कोर्नु पर्ने। मुभमेन्ट, लाइटिङ, भेषभूषा, पृष्ठभूमि, गहना आदिमा एकदमै हेक्का पुर्‍याउनु पर्दा फिल्मको लगानी र समय दुवै बढेको छ।' गीत रचनामा 'गौतम बुद्ध' युनिटले कविवर माधवप्रसाद घिमिरेलाई रोजेका छन्। सिद्धार्थ गौतम हुर्कदै गएको अवस्था बताउने गीतले साह्रै प्रभाव पारेको प्रतिक्रिया दिए निर्देशक घिमिरेले। गीतलाई उचाइ दिन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति अम्बर गुरुङलाई संगीत निर्देशन आग्रह गरेको उनले बताए। 'त्यसबेलाका मानिसले कस्तो गीत गाउँथे हामीलाई थाहा थिएन। उहाँको विज्ञताले न्याय गर्नेछ,' घिमिरेले भने। बुद्धको विषयमा उठिरहेको विवाद साम्य पार्न पनि नेपालबाट यस्तो फिल्म बन्न जरुरी देख्छन् उनी। घिमिरेले फिल्मको अपरिहार्यता औँल्याए, 'विश्वमै शान्ति मुख्य आवश्यकता हो। शान्तिका अग्रदूत बुद्धका कुरा नेपालीले देखाउँदा विश्वसनीयता पनि बढ्छ।' थाइल्यान्ड र श्रीलंकाले बनाएको बुद्धको फिल्म वास्तविकताभन्दा धेरै टाढा लागेको छ निर्माता कार्कीलाई। 'बुद्धको अनुहार पनि फरकफरक छ। कुनै फिल्ममा उनको दरबार हिमालमा पो देखाइएको छ,' फिल्मलाई वास्तविकतासँग नजिक बनाउने प्रयत्न गरिएको उनले बताए। सुरुमा क्यानाडाका प्रवधिकको सहयोगमा काम थालेको जानकारी दिँदै अहिले नेपालीलाई प्रशिक्षण दिएर एनिमेसनको काममा लगाएको बताए। http://www.nagariknews.com/ent...

_____ · Aug 5, 2011 8:29 AM · 1,487 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all