अधिबक्ता सम्भु थापा द्वारा अदालत मा ताण्डब नृत्य..

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौ, श्रावण ३ - सुडान घोटालाका मुख्य आरोपीमध्येका एक पूर्वप्रहरी महानिरीक्षक रमेश चन्द ठकुरीलाई विशेष अदालतको आदेशमा मंगलबार जेल चलान गरिएको छ । चन्दलाई 'तत्काल प्राप्त प्रमाणका आधारमा कसुरदार देखिएकाले' विशेषका अध्यक्ष न्यायाधीश गौरीबहादुर कार्की र सदस्य ओमप्रकाश मिश्रको इजलासले ७ करोड धरौटी बुझाउन आदेश गरेको थियो । चन्दले सिभिल बैंकको जमानतमा धरौटी बुझाउने तयारी गरे पनि समय सकिएकाले त्यो बुझ्न नसकिएको अदालतले जनाएको छ । 'नगद भए हामी बुझ्ने थियौं,' विशेषका रजिस्ट्रार धिरबहादुर चन्दले भने, 'जमानतका लागि समय सकिइसक्यो ।' चन्दको साबिती बयान बेलुका ४ बजेसम्म सकिएको थिएन । साढे चार बजेपछि थुनछेकको बहस भएको थियो । बहस गर्दागर्दै बेलुका साढे ६ बजेको थियो । त्यसको आदेश सवा ७ बजेतिर अदालतले सुनाएको थियो । चन्द पक्षका  वरिष्ठ अधिवक्ता शम्भु थापाले ५ बजेपछि बहस रोक्न न्यायाधीश कार्कीसँग आग्रह गरेका थिए । तर कार्कीले मंगलबारै सक्ने भन्दै बहस नरोक्ने कुरा गरेपछि थापा क्रुद्ध देखिएका थिए । उनले विरोधमा बहस पनि गरेनन् । सुशीलकुमार पन्त, दुर्गादत्त पाण्डेय र भीमार्जुन आचार्यले चन्दको बचाउ गर्दै उनी निर्दाेष भएकाले छाडिदिनुपर्ने जिकिर गरे । ठकुरी महानिरीक्षक हुँदा ७ लाख २३ हजार अमेरिकी डलर भुक्तानी गरेका थिए । उनी पदमा हुँदा आठ थान एपीसी काम नलाग्ने गरी बिगि्रएको जानकारी राष्ट्रसंघको निरीक्षण प्रतिवेदन प्रहरीलाई प्राप्त भइसकेको थियो । प्रतिवेदनमा ती सामान मिसनमा काम नलाग्ने जानकारी पनि गराइएको थियो । त्यो थाहा पाउँदापाउँदै भुक्तानी गरेको र अघिल्ला भुक्तानी अनुमोदन गरेकाले सुडान घोटालामा उनी पनि संलग्न भएको अभियोग अख्तियारले लगाएको छ । सुडान नेपाली मिसनका प्रमुख राजेन्द्र सिंह भण्डारीले एपीसी र अन्य बन्दोबस्तीका सरसामान काम नलाग्ने अवस्थामा त्यहाँ पुगेको जानकारी पनि उनलाई गराएका थिए । यति हुँदाहुँदै पनि उनले २०६६ असोज १ गते प्रहरी कल्याण कोष सञ्चालक समितिको बैठकबाट सुडान मिसनमा खर्च भएको ४५ करोड ४९ लाख १० हजार २ सय ८० रुपैयाँ सदर गरेका थिए । उनको यो कामबाट २९ करोड घोटाला भएको भन्दै अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार हदैसम्म सजाय गर्न उनका विरुद्ध अभियोगपत्र विशेष अदालतमा दर्ता गराएको थियो । थुनछेकको आदेश गर्दै ७ करोड धरौटी तिराउने निर्णय विशेषले गरेको छ । 'तत्काल प्राप्त प्रमाणका आधारमा यी प्रतिवादी कसुरदार देखिने अवस्था भएको' विशेषको आदेशमा उल्लेख छ । 'प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल प्रतिवादीले नगद धरौटी ७ करोड रुपैयाँ दिए वा सो बराबरको जेथा जमानत वा बैंक जमानत दिए लिई तारेखमा राखी मुद्दामा पुर्पक्ष गर्न दिनू' आदेशमा भनिएको छ, 'नगद धरौटी वा जेथा जमानत वा बैंक जमानत दिन नसके कानुनबमोजिम सिधा खान पाउने गरी अ.वं १२१ नं. बमोजिम थुनुवा पुर्जी दिई थुनामा राखी मुद्दामा पुर्पक्ष गर्नू ।' चन्द सुडान घोटालामा थुनामा पर्ने पाँचौं अभियुक्त हुन् । दिनभरि अदालतमा बसिरहेका उनी थुनामा पर्ने भएपछि दुःखी देखिएका थिए । उनलाई अदालतको गाडीमा राखेर साँझ पौने आठ बजे सदर कारागार डिल्लीबजार लगिएको थियो । विशेषको आदेशअनुसार ५ करोड धरौटी बुझाउन नसक्दा पूर्वप्रहरी महानिरीक्षक हेमबहादुर गुरुङलाई पनि त्यहीं थुनी राखिएको छ ।  धरौटी बुझाउन खोज्दाखोज्दै पनि कारागार जान परेकामा उनी खिन्न थिए । 'म अरू केही पनि भन्दिनँ,' कारागारमा जानुअघि उनले संवाददाताहरूसँग भने, 'सबै कुरा तपाईंहरूलाई थाहै छ नि, अघि बहस पनि सुनिहाल्नु भो होला ।'

Smooth · Jul 20, 2011 9:12 AM · 11,838 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all