सुत्ने र कुद्ने दुवै एकै समय पुग्ने !

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

सुत्ने र कुद्ने दुवै एकै समय पुग्ने ! (3 Votes)   ०   ठमाडौ, अषाढ २५ - किसुनजी प्रधानमन्त्री हुँदाको कुरा हो । एकदिन उहाँले मलाई सिंहदरबारस्थित आफ्नो कार्यालय हेर्न आउने निम्ता दिनु भयो । मैले खासै रुचि नदेखाइकन उत्तर दिएँ, 'भैगो पर्दैन, त्यहाँ मेरो के काम ? फेरि गई नै हाले पनि तपाईंलाई त्यहाँ भेट्न मैले धेरैबेर बेकारमा कुर्नुपर्ने हुन्छ ।' तर किसुनजी मान्नु भएन, आफ्नो एउटा सहायकलाई बोलाएर आदेश दिनुभयो, 'भोलि दिउँसो ठीक १२ बजे विजयबाबु अफिसमा आउनु हुन्छ । त्यसबखत म जे गरिरहेको भए तापनि, जो इडियट वा विद्वान्सँग व्यस्त भए पनि उहाँलाई सरासर भित्र ल्याउने ।' भोलिपल्ट निर्धारित समयमा प्रधानमन्त्री कार्यालय पुग्दा आधा दर्जन मन्त्रीज्यूहरू र दसौं सचिवज्यूहरू प्रधानमन्त्रीको 'वेटिङ' मा प्रतीक्षारत भएको पाएँ । तर अघिल्लो दिनको आदेशबमोजिम मलाई निर्बाध रूपले सरासर प्रधानमन्त्री कक्षमा लगियो । प्रधानमन्त्री आफ्नो कुर्सीमा देखिनु भएन, सहायकले ट्वाइलेट चेक गर्‍यो- त्यो पनि खाली ! खोइ त प्रधानमन्त्रीज्यू ? भनेर सोध्दा सहायकले छेउको ढोका देखायो तर खोल्न अलि हिचकिचाउँदै भन्यो, 'प्रधानमन्त्रीज्यू आराम गर्दै हुनुहुन्छ क्यारे ।' भित्र पसेर हेर्दा किसुनजी मस्त निदाइरहनुभएको थियो । मैले उहाँलाई अलि बिस्तारै हल्लाउँदै 'उठनुस् किसुनजी ! उठ्नुस् ! बाहिर दर्जनांै मन्त्री, सचिव प्रतीक्षामा छन् । तपाईंचाहिँ सुतेर बस्ने ? देश बनाउनु पर्दैन ?' भनेर अलि तिखो स्वरमा भनें । त्यो सुनेर किसुनजीले बिस्तारै आँखा खोल्दै भन्नुभयो, 'योर क्वेसन ह्याज टु पार्टस (तपाईंको प्रश्नका दुई भाग छन्) । जहाँसम्म आधा दर्जन मन्त्री पर्खेको भन्ने कुरा छ, ती मोराहरू कुनै खासै राम्रो कामका निम्ति पर्खेको जस्तो मलाई लाग्दैन । खराब काम एकैछिन पछि गर्दा पनि खासै फरक पर्दैन । रह्यो देश बनाउने कुरा- एकछिनको सुताइ वा दौडाइसँग त्यसको कुनै सम्बन्ध छैन । अहिले मेरो मुख्य जिम्मेवारी निर्धारित समयमा नयाँ संविधान बनाउनु हो । नयाँ संविधान बनाउने कुरा सडकमा दौडेर, कराएर, उप|mेरमात्र हुने कुरा होइन । विश्वनाथजीलगायत व्यक्तिहरूको बडो काबिल टिम बनाएको छु । परमात्माको कृपा भयो भने समयभित्रै त्यो काम सम्पन्न हुनेछ ।' गहिरा कुराहरूलाई हल्काफुल्का रूपले भन्ने अद्भुत बानी थियो किसुनजीको । त्यस दिन 'देश बनाउने' प्रसंगको कुरा हुँदा उहाँले एउटा चामत्कारिक वाक्य बोल्नु भयो, 'जहाँसम्म देश बनाउने कुरा छ, नेपालमा सुत्ने र कुद्ने दुवैको इन्ड रिजल्ट -अन्तिम परिणाम) एउटै हो । चाहे सुत्नुस्, चाहे कुद्नुस् अन्तिम परिणाम एउटै हो । सब परमात्माको लीला हो ।' त्यो सुनेर मैले आश्चर्यमिश्रति स्वरमा सोधें, 'सुत्ने र कुद्ने दुवैथरीको अन्तिम परिणाम एउटै हुन्छ र ?' किसुनजीले बडा रहस्यमयी मुस्कानका साथ उत्तर दिनुभयो, 'अलमोस्ट विजयबाबु ! अलमोस्ट !' बढी भए उन्नाइस-बीसको फरक रहन्छ, बस त्यहीमात्र हो ।' त्यस दिन मलाई किसुनजीको कुरा चित्त बुझेको थिएन, भाग्यवादी लागेको थियो । निष्काम कर्मयोग र भाग्यवादबीच फरक छुट्टयाउने समझ नभएर होला । आज पछाडि फर्केर हेर्दा महसुस हुन्छ, त्यति गलत हुन्न थियो किसुनजी जति मैले त्यस प्रसंगमा ठानेको थिएँ । तर्कवितर्क गरेर, दौडेर, कराएर, उप|mेर, मरेर, मारेरमात्र हुने भएको भए आज आम जनताको जीवनमा धेरै थोक भइसक्ने थियो ! सारा संविधानसभाले रातरातभरि नसुतेर मिटिङ गर्दा पनि, सारा रात जाग्राम बस्दा पनि संविधान र शान्तिको माला जप्नेबाहेक अरू कुनै सार्थक उपलब्धि हासिल गर्न नसकेको वर्तमान सन्दर्भमा किसुनजीका शब्दहरू याद आउँछन्- हल्काफुल्का रूपमा भनिएका तर गम्भीर अर्थ लाग्ने शब्दहरू ! ती शब्दहरूको तुलना जब म ऋषि धमलाजीलाई छेउमा साक्षी राखेर वर्तमान नेताजीहरूले थाकेको, कान्तिहीन मुद्रामा प्रवचनहरू दिएको देख्छु, एक प्रकारको हाँसो उठेर आउँछ । सोच्छु समयको मात्र कुरा हो, बडे-बडेलाई थकाइ दिएको छ यो वाग्मतीको पानीले ! कुद्ने र सुत्ने दुवै थरीको 'इन्ड रिजल्ट' लाई एउटै बनाइदिएको छ यो वाग्मतीको पानीले ! पत्रकार मित्र किशोर नेपालको ताजा गाथा पढ्दै थिएँ । किशोर प्रचण्डका प्रचण्ड प्रशंसकमध्ये थिए क्यारे । उनैले लेखेका छन्, 'प्रचण्ड पनि अब थाक्न थालेका छन् ।' प्रचण्डका विषयमा किशोरले लेखेको कुरा कहिलेकाहीं अर्थपूर्ण हुन्छ । यदि किशोरको आंकलन सही हो भने त्यो समाजका लागि शुभ संकेत हो । दक्षिण एसियाको यो भूभागमा अनावश्यक उप|mाइको कुनै अर्थ हुँदैन । राणा र शाहहरूले बनाइदिएका दरबारहरूभित्र बसेर क्रान्तिकारी परिवर्तनका भाषण गर्नु एउटा कुरा हो, जनताले महसुस गर्ने परिवर्तन ल्याएर देखाउन सक्नु नितान्त भिन्न कुरा हो । नेपालको सन्दर्भमा भन्ने हो भने विभिन्न कालखण्डहरूका दौरान अनेक प्रकारका 'तन्त्र', 'पक्ष' र 'पार्टी' नेताहरूले नेपाली जनतालाई नानाथरी नारा दिएको इतिहास छ । म सम्झन्छु- राजाहरूले दिएको 'विकासको मूल फुटाउने' नारा अथवा 'एसियाली मापदण्डमा पुर्‍याउने' नाराका कुरा । अनि म सम्झन्छु 'सारा रोगको एकमात्र औषधि भनेको पञ्चायत फाल्नु हो' भन्ने नारा ! त्यसपछि आयो माओवादीको औषधि जसले भन्यो, 'सम्पूर्ण रोगको रामवाण उपचार भनेको राजतन्त्र फाल्नु हो । राजतन्त्र ढालेपछि जुन झरनाको मूल फुट्छ त्यही मूलको पानी मुखमा दुई थोपा राख्नेबित्तिकै गरिब सर्वहाराका सबै रोग गायब हुनेछन् ।' गरिब सर्वहाराका कति रोग गायब भए वा थपिए ? निर्णय गर्ने काम पाठकहरूलाई छाडिदिन नै बेस हुनेछ । २००७, २०१७, २०३६, २०४६, २०६२/६३ का परिर्वतनहरूले हामीलाई दिएको मूल शिक्षा के हो भने- नेपाली जनजीविकाका समस्या समाधान गर्ने काम नेताहरूले भाषण गरेभन्दा, सामान्य जनताले सोचेभन्दा, कथित बुद्धिजीवीहरूले लेखे-बोलेभन्दा धेरै नै जटिल थिए, छन् र रहनेछन् । राणा हटाउने, निर्वाचित संसद्लाई सैन्यबल लगाएर हटाउने, जनआन्दोलनद्वारा पञ्चायत ढाल्ने वा राजतन्त्र समाप्त गर्ने कामको तुलनामा कैयौं गुणा बढी अप्ठ्यारा रहेछन् जनताको गाँस, बास, कपास र स्वतन्त्रताको मार्गका जटिलताहरू । राजनीतिक पार्टीका नेताहरू, तिनको महिनावारी तलब खाने र नखाने कार्यकर्ताहरू, आमसभाहरूमा हावाधारी कुरा सुनेर उत्तेजित हुँदै ताली पड्काउने सामान्य जनताहरू व्ा तिनको पक्षविपक्षमा अनेकौं तर्कवितर्क र कुतर्क गर्ने शिक्षित/अर्धशिक्षित समीक्षकहरू आदि सबैले केही आधारभूत तथ्यहरूलाई अत्यन्तै गहिरो ढंगले बुझ्न/बुझाउन जरुरी छ । कुनै जमाना थियो जब नेपालमा मात्र होइन सारा संसारमा 'ब्राह्मण युग' थियो । आदरणीय पाठकहरू- मैले प्रयोग गरेको 'ब्राह्मण' शब्दलाई हाल नेपालमा चलेको र 'सेमिनारहरूमा' चलाइएको 'ब्राह्मण' शब्दको अर्थमा कृपया नबुझिदिनु होला । ब्राह्मण युगको अर्थ- त्यो समय जब संसारमा जसले वेदको वा बाइबलको वा कुरानको वा बौद्ध ग्रन्थको धाराप्रवाह प्रवचन दिन सक्थ्यो, उही मानिस नेतृत्वदायी अवस्थामा पुग्दथ्यो । बेलायतमा भएको औद्योगिक क्रान्तिपछि वर्तमान संसार मूलतः 'वैश्य युग' मा प्रवेश गरेको छ । वैश्य युग अर्थात् उत्पादन र व्यापारको प्राध्ाान्य हुने युग । आजभोलि कुरा चाहे माओको गर्नुस् या चाओको वा स्टालिनको, कामचाहिँ वैश्य युगको नियमअनुसारै हुन पुग्दछ । अब 'कलेक्टेड वर्कस अफ माओ' पढेरमात्र कसैको पनि निर्वाह नचल्ने स्थितिमा संसार पुगेको छ । आम जनताका निम्ति दैनिक आवश्यकताका वस्तुहरूको निर्बाध उत्पादन र सहज प्राप्ति वर्तमान युगको सर्वोपरि सिद्धान्त बनेको छ । उत्पादक-उत्पादन-उपभोक्ताको संसार हो यो । यो संसार असल होला, खराब होला विवाद गर्न सकिन्छ तर अहिले यो संसार यस्तै छ । अब फगत भाषण गरेर वा बोलेरमात्र धेरै टिक्न सकिन्न । हो, बोल्नेको पिठो त अझै बिक्छ तर बेच्नलाई पिठो त हुनुपर्‍यो नि पहिला आफूसँग । पिठोचाहिँ उत्पादन नगर्ने तर 'बोली' मात्र रहनेलाई वर्तमान युगमा पागल कहलिन धेरै बेर लाग्दैन । कर्तव्यबिनाको अधिकार, योग्यताबिनाको आकांक्षा र उत्पादनबिनाको वितरणका तीन सूत्रीय हावादारी सिद्धान्तहरूमा जबर्जस्ती अड्काइएको वर्तमान संरचना, आफ्नै शरीरको भार धान्न नसकेर छिन्नभिन्न हुन धेरै समय लाग्ने छैन । हिन्दु धर्मशास्त्रअनुसार यो सृष्टि सञ्चालनका निम्ति ब्रह्मा, विष्णु र महेश तीन अलगअलग 'धर्म' भएका तत्त्वहरू अपरिहार्य छन् । यी तीन तत्त्वको सन्तुलनमा आर्दश समाज सम्भव छ । नयाँ सृष्टि केही नगर्ने, आफूसँग भएका वस्तुको संरक्षण रत्तिभर नगर्ने र खाली भत्काउने काममा मात्र दक्षता हासिल गरेको राजनीतिक नेतृत्व भएको समाजको हालत ठीक त्यही हुन पर्दथ्यो, जुन हालत हाम्रो अहिले छ । हिजैमात्र समाचार आएको छ- नेपालको आर्थिक वृद्धि दर तीन वर्षयताकै न्यूनतममा झरेको छ । विदेशमा लाखौं नेपालीले रगतपसिना नबगाएको भए आजै, अहिलै, यसै क्षणमा यो देश हरिकंगाल नयाँ नेपाल भइसक्थ्यो । अब प्रश्न उठ्छ, के हाम्रो राजनीतिक नेतृत्वले वा अझ भनौं सरकारमा आउने जानेहरूले 'उत्पादन' गर्न वा 'निर्माण' गर्न नचाहेकै हुन् त ? के यिनीहरूको 'ब्रह्मा' सँग कुनै पुरानो दुस्मनी छ ? होइन, त्यस्तोचाहिँ होइन । एकदिन एउटा रिसेप्सनमा आर्थिक अनियमितताका निम्ति नाम चलेको एउटा मन्त्रीले मलाई टिल्ल भएर भन्यो, 'म त्यति चोखो मानिस त होइन तर आफू जेजस्तो भए पनि आफ्नो कार्यकालमा जनतालाई सुख हुने दुई-चार राम्रो काम गरेर देखाउने चाहना नभएको कुनै मन्त्री हँुदैन ।' यति भनेर उसले दुई-चारपल्ट हिक्कहिक्क गर्‍यो र फेरि कुराको सिलसिला जोड्यो, 'तर समस्या के छ भने नयाँ ओरिजिनल काम कहाँबाट सुरु गर्ने मलाई थाहा नै छैन । भेट्न आएकामध्ये आजसम्म कोही पनि माइकालाल उसको निजी कामबाहेक अर्को काम लिएर आएकै छैन । साले जतिसुकै विद्वान् बुद्धिमान किन नहोस् आफ्नै कामको मात्र कुरा गर्छ ।' त्यो मन्त्रीको इमानदार स्विकारोक्ती सुनेर मलाई सुखद आश्चर्य भयो । टिल्ल भएर साचो बोल्ने त्यो मन्त्रीले मात्र होइन धेरैले नबुझेको सामान्य क, ख, ग के हो भने- वर्तमान युगमा उत्पादन बढाउन जेजस्तो नीति र योग्यता चाहिन्छ, त्यो हाम्रो नेतृत्वको क्षमता र सोचाइभन्दा बाहिरको कुरा हो । क्षमता नहुनु कुनै दोष होइन, जन्मँदै कोही सिकेर आएको छैन तर नेतृत्वमा बसेकाहरूले क्षमता बढाउने र सिक्ने कुनै चाहना नै नराख्नुचाहि जनताप्रति अपराध हो । किशोरले भनेझैं प्रचण्ड यदि साँच्चै थाक्न थाल्नुभएको हो भने देशका निम्ति अत्यन्तै शुभ संकेत हो । हरदिन नयाँ-नयाँ झूट बोल्नुभन्दा थाक्नु बेस हो । सुस्ताएको बेला मानिसले शान्त मनले पछाडि फर्केर हेर्न सक्दछ । वाईसीएलले काठमाडौं सफा गर्छ भनेको होइन कमरेड ? विकास निर्माण गर्छ भनेको होइन ? केही वर्षअगाडि दौडी-दौडी वाईसीएल कार्यकर्ताले सडक सफा अभियान उद्घाटन नगरेका पनि होइनन् । तर त्यो कति दिन चल्यो ? एक दिन ? कि दुई दिन ? दोष तपाईंको होइन कमरेड कसैको पनि होइन । वैश्य युगमा ब्राह्मण युगको नारा त लगाउन सकिन्छ तर टिकाउन सकिन्न । कि त वैश्य युगको लोभ गर्न छाडांै, होइन भने वैश्य युगमा वैश्य युगकै नियमहरू पलन गरेर देश र जनतालाई चीनमा माओले होइन, देङ सियाओले झैं चाँडै सुखी र समृद्ध बनाऔं । त्यो पनि गर्न सक्दैनौं भने किसुनजीको अमरवाणी स्मरण गरांै, 'यो देशमा सुत्ने र कुद्ने दुवैथरीको अन्तिम परिणाम एउटै हो । परमात्माको एउटा लीला छ त्यसैअनुसार सबथोक चलिरहन्छ । कोही उफ्रिँदैमा, कराउँदैमा परमात्माको गतिमा कुनै फरक पर्ने छैन ।' source: http://www.ekantipur.com/np/20...

_____ · Jul 8, 2011 2:15 PM · 1,658 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all