वाणिज्यदूत एवं नेकोन अध्यक्ष श्रेष्ठको राहदानी जफत गर्न निर्देशन केदार ओझा ० काठमाडौ, अषाढ १४ - गृह मन्त्रालयले आइसल्यान्डका अवैतनिक वाणिज्यदूत एवं विघटित नेकोन एयरका अध्यक्ष मुकुन्दभक्त श्रेष्ठको राहदानी जफत गर्न मातहतका निकायलाई निर्देशन दिएको छ । विभिन्न बैंकबाट लिएको ४० करोड रुपैयाँ नतिरेपछि कालोसूचीमा परेका श्रेष्ठ मुलुक बाहिर जान सक्ने भएकाले गृहले राहदानी जफत गर्न निर्देशन दिएको हो । यसअघि नेकोन सञ्चालनका क्रममा ऋण लिएर नतिरेकाले उनको राहदानी जफत गर्न कर्जा सूचना केन्द्र, राष्ट्र बैंक र ऋण असुली न्यायाधिकरणमा अनुरोध भएको थियो । सञ्चालक समति सदस्य र पछि अध्यक्षसमेत भएका श्रेष्ठको नेकोनले नबिल बैंकको नेतृत्वमा विभिन्न बैंकबाट लिएको ४० करोड रुपैयाँ ऋण लिएर तिरेको छैन । नेपाली आकाशमा उत्कृष्ट सेवा दिँदादिँदै एकाएक डुबेको नेकोनको श्रेष्ठ मुख्य लगानीकर्ता हुन् । क्यासिनोका बादशाह मानिने टटलको अप्रत्यक्ष लगानी भएको सांगि्रला एयरको दुई जहाजलाई नेकोनले भाडामा लिई सञ्चालनमा ल्याउने क्रममा श्रेष्ठले बैंकहरूबाट ठूलो परिमाणमा ऋण लिएका थिए । नेपालगन्ज मेडिकल कलेजका संस्थापक अध्यक्षसमेत रहेका श्रेष्ठ हाल आइसल्यान्डका लागि अवैतनिक वाणिज्यदूत हुन् । गृहले नक्सालस्थित प्रहरी मुख्यालय र कालिकास्थानस्थित अध्यागमन विभागलाई दिएको निर्देशनमा 'नबिलका ऋणी नेकोनसँग सम्बन्धित श्रेष्ठको राहदानी जफत गर्न अनुरोध भएकाले उनको नाममा रहेको राहदानी चलानी नम्बर ४५५ जफत गरी यथाशीघ्र जानकारी दिन आदेश छ' भन्ने पत्र काटेको छ । नेकोनलाई दिइएको साँवा ब्याजसहित करिब ४० करोड रकम नउठेपछि बैंकले रकम माग गरेका थिए । नेकोनका सञ्चालकहरूले 'जहाजको सामान बिक्री नभई रकम मागेको' भन्दै कर्जा असुली न्यायाधिकरणमा मुद्दा दायर गरेपछि यो विषय लम्बिएको थियो । करिब एक वर्षअघि न्यायाधिकरणले बैंकहरूका पक्षमा निर्णय गरेपछि श्रेष्ठलगायत ३ जनाको पासपोर्ट जफत गर्न सम्बन्धित निकायलाई आग्रह गरेका थिए । 'हामीले मुद्दा जितेका थियौं, लगानीकर्तामध्ये एक हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत एवं कर्जा सूचना केन्द्रका अध्यक्ष अशोक राणाले भने, 'त्यसै अनुसार यो प्रक्रिया अघि बढेको हुनुपर्छ ।' हिमालयनको पनि लगानी थियो । आठ वर्ष अघिसम्म सबैभन्दा उत्कृष्ट अन्तरिक वायु सेवाका रूपमा परिचित नेकोन व्यवस्थापकीय कमजोरीले डुबेको थियो । कम्पनी डुब्दा सर्वसाधारण सेयरधनीले समेत ठूलो रकम गुमाउनुपरेको छ । नेकोन मुलुककै पहिलो निजी क्षेत्रको वायु सेवा कम्पनी हो । व्यवसाय विस्तारका क्रममा भारतमा समेत सेवा विस्तार गरेको नेकोन अचानक डुबेपछि संस्थापक/ सञ्चालकहरूउपर कुनै ठोस कारबाही नभएको गुनासो लगानीकर्ताको छ । २०४८ मा सेवा सुरु गरेको यस कम्पनीको २०६० मा सबै सेवा बन्द भएको थियो ।
_____ · Jun 28, 2011 11:23 AM · 1,302 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion