हाम्रो बोसले यसपटकको टेण्डर कांग्रेसलाई पारेको छ,

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मध्यरातका महारथीहरु     काठमाडौं। 'हाम्रो बोसले यसपटकको टेण्डर कांग्रेसलाई पारेको छ, कांग्रेसको निर्णय जे हुन्छ, हामी त्यही अनुसार चल्ने हो' २०६८ जेठ १४ दिनभरी सहमतिको प्रयास चलिरहेका बेला सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले केही पत्रकारहरुसग भारतको टेण्डर कांग्रेसलाई परेको खुलस्तै पारे। त्यसमा पनि टेण्डरको जिम्मा कृष्णप्रसाद सिटौलाले पाएको बताउने मधेशवादी दलका नेताहरु अन्तिममा कांग्रेसले 'हामीलाई मात्र होइन, बोसलाई नै धोखा दियो' भन्दै कटाक्ष गर्नसमेत बाध्य भए। कांग्रेसले अन्तिम घडीमा गएर तीन महिना म्याद थप्ने सहमति जनाएपछि भर्खरै फोरम फुटाएका जेपी गुप्ता सबैभन्दा आक्रोशित बनेका थिए। संविधानसभा सिध्याउने मूल्यमा करोडौं रुपैया प्राप्त गरेका गुप्ता मिसनमा सफल हुन नसकेपछि आत्तिएको मुडमा देखिएको सचिवालयका कर्मचारीहरुबीच चर्चा चलेको छ। पटक–पटक बाहिर निस्कदै हिन्दी भाषामा कतै जानकारी गराइरहेका गुप्ताले, अन्तिममा कांग्रेसमा देउवा लाइन हावी भयो भनेका थिए। मध्यरातमा संविधानसभा नबच्ने अवस्था पुगिसकेका बेलामा एमाओवादी अध्यक्ष प्रचण्ड र एमालेका बरिष्ठ नेता माधवकुमार नेपालबीच निकै गम्भीर छलफल भएको थियो। दुई नेतामात्र पटक पटक वार्ता गर्दा ओहोरदोहोर गरिरहेका संसद सचिवालयका एक कर्मचारीले भने 'बाहिर जति आरोप प्रत्यारोप गरे पनि प्रचण्ड र माधव नेपालको सम्बन्ध अरु नेताहरुको भन्दा विशेष खालको रहेछ, प्रचण्डले माधव नेपाललाई आफ्ना दुःख–कष्टका कुरा समेत सबै सुनाउदारहेछन्। उनीहरु कुनै पनि मूल्यमा संविधानसभा जोगाउनुपर्छ भन्नेमा सहमत थिए, त्यसैले प्रधानमन्त्रीको राजीनामा भन्ने शब्द राख्न समेत राजी भएका हुन्'। माधव र प्रचण्डबीच चरणबद्ध कुरा चलिरहदा प्रधानमन्त्री झलनाथ खनाल भने आफ्नै चेम्बरमा हुन्थे। प्रधानमन्त्रीको चेम्बर नछाड्नेमा उपेन्द्र यादव पनि एक थिए। एमालेका महासचिव इश्वर पोखरले अस्वस्थ भए पनि संविधानसभा जोगाउन बिहानैदेखि खटिएका थिए। साँझमात्र संविधानसभा भवन छिरेका केपी ओलीले मधेशवादी र कांग्रेसलाई मनाउन प्रयास गरेका थिए। बामदेव गौतम, प्रदीप ज्ञवाली, भीम रावलमात्र होइन, एमालेका युवानेता रामनाथ ढकाल पनि मध्यरातसम्म मिलाउन खटिने नेतामा परे। एमाओवादीबाट सबैभन्दा बढी खटिनेमा जनार्दन शर्मा देखिए। नेताहरुलाई मिलाउनेदेखि, हरेक ठाउँमा उनी सक्रिय थिए। कृष्ण सिटौला र केही मधेशवादी दलका नेताहरुले हतियारको साँचो बुझाउनुपर्ने कुरा उठाउन नछाडेपछि झोंक्किएका शर्माले त्यही भनिहाले 'अस्थायी शिविरका कन्टेनरभित्र हतियार छन्। एउटा चाबी पहिले अनमिनसँथ थियो, अहिले विशेष समितिसँग छ। विशेष समिति सरकार मातहत छ। एउटा चाबी सम्बन्धित शिविरको कमाण्डरसँग हुन्छ, जो विशेष समिति मातहतमै छ। यति गर्दा पनि तपाईंहरुलाई चाबी नै चाहिएको हो भने घरको ताल्चाको चाबी ल्याएर दिनुपर्ने भयो।' अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रभित्रका सबै कोठाहरु रातभरी दुईपक्षीय र बहुपक्षीय वार्ताले भरिएका थिए। नेताहरुको वार्तामा नियमहरुको गाठो फुकाउने क्रममा संसद सचिवालयका कानुनी सल्लाहकार टेकप्रसाद ढुंगाना पनि निकै खटिएका थिए। सामान्यतः त्यति सक्रिय नदेखिने एमाओवादीका महासचिव रामवहादुर थापा बादल पनि संविधानसभा जोगाउनका लागि वार्ता तथा छलफलमा खटिएका थिए। बरु यसअघिभन्दा एमाओवादी नेता वर्षमान पुन निस्त्रि्कय देखिएका थिए। संविधानसभा भंग गर्ने दक्षिणतिरको योजनामा कृष्णप्रसाद सिटौलाले सुशील कोइरालालाई फसाउन लागेको भन्दै कांग्रेसका केही नेताहरु जसरी भए पनि जोगाउनुपर्छ भनेर लबिङमा लागेका थिए। अर्जुननरसिंह केसी सभासद नभए पनि दिनभरी संविधानसभा भवनमा देखिए। उनले पनि सिटौलाको भूमिकाप्रति कटाक्ष गर्दै, कांग्रेसले माओवादीका हतियारका साँचो लिनेभन्दा पनि सत्ताको साचो लिने खालको भूमिका निर्वाह गरेको बताएका थिए। त्यसो त एमाओवादी अध्यक्ष प्रचण्डले समेत सिटौला लगायत कांग्रेस नेताहरुलाई 'तपार्इंहरुले हतियारको सा147चो माग्ने नाममा सरकारको साँचो माग्नुभएको हो, तर त्यो अहिले सम्भावना छैन' भनेका थिए। २०६८ जेठ १४ गते संविधानसभाको क्यान्टिनमा करीव १७ सय जनाले तीन छाक खाना खाएका थिए।

_____ · May 31, 2011 11:05 AM · 1,326 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all