अर्को गाईजात्रा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ठेठी'लाई दरभंगिया पाग किन ? By mysansar, on May 29th, 2011 -अवधेश कुमार- भाषाविद् म्याक्स वेनरिचले भन्ने गर्थे – ‘भाषा त्यो बोली हो जसको आफ्नै सेना हुन्छ’। अछामका बाहुन-क्षेत्रीको बोली इलामका बाहुन-क्षेत्रीले बुझे-नबुझे तापनि ती नेपाली भाषा हुन पुगे, किनकि नेपाली सेना मौजूद थियो। मैथिल सम्भ्रान्तहरू प्रभावशाली थिए, मैथिली नेपालको दोश्रो ठुलो भाषा बन्न पुगे। थारुहरु उठे वा उचालिए, तिनीहरुको थारू भाषा हुन पुग्यो। मारवाडीहरु समृद्ध छन्, गोरखापत्रमा समेत मारवाडी भाषा-पृष्ठ भेटन सकिन्छ। तर जो सँग सेना वा सामर्थ्य छैनन् तिनीहरुका भाषा पनि त आफ्ना कसरी हुन सक्छन्? सन्दर्भ हालै मतदाता नामावली संकलन र जनगणनाका क्रममा देखिएका भाषा सम्बन्धी विवाद र जबरदस्तीका घटनाहरुको हो। फोटो सहितको मतदाता नामावली संकलन गर्ने क्रममा देशका विभिन्न ठाँउबाट भाषा सम्बन्धी विवाद बारे समाचारहरु आए। सप्तरीको इनर्वा फुलबडियामा खटिएका थारू कर्मचारीहरुले मुस्लिम, यादव, तेली र खत्बे समुदायको बसोबासरहेको सो ठाउँको बासिन्दाहरूको भाषा ‘थारू’ उल्लेख गरी दिए भने, मैथिली भाषाकर्मीहरुले त्यसको घोर विरोध गरी मैथिली लेख्नु पर्ने कुराको दाबी मात्रै गरेनन्, तालाबन्दी गरेर आफ्नो सामर्थ्य नै देखाए। मेडिया र शासन-संयन्त्रमा राम्रै पहुँच भएको मैथिली भाषाकर्मीहरुले यस घटनालाई खूब प्रचार-प्रसार गरे भने, नामावली संकलनमा खटिएका थारू कर्मचारीहरुले पनि ‘जे गर्छस् गर्’ भनेर घुर्की नै देखाए। तर यस द्वन्दमा कसैले पनि ती मुस्लिम, यादव, तेली र खत्बे समुदायको भाषाको बारेमा विस्तारमा जान्ने कोशिस गरेनन्; ती निमुखा, सामर्थ्यहीन र पहुँच नभएका जनताहरुको आवाजलाई सुन्ने प्रयास गरेनन्। आखिर के हो त तिनीहरुको भाषा? के तिनीहरु साँच्चिकै मैथिली भाषा बोल्छन्? के तिनीहरु साँच्चै थारू भाषा बोल्छन्? नभए कुन भाषा बोल्छन् त? दुई-तीन वर्ष अगाडि सप्तरी मै रहेको मेरो गाउँको एउटा विद्यालयको समारोहमा म पुगेको थिएँ। जनगणनाको रिपोर्ट अनुसार, मेरो गाउँको मात्रै हैन, त्यहाँ वर-पर रहेका दर्जनौं गाउँहरुमा समेत शत प्रतिशत बासिन्दाहरुको भाषा “मैथिली” नै लेखाइएको कुरामा शंका मान्नु पर्ने स्थिति छैन। त्यस विद्यालयमा पनि एक जना देव-सर बाहेक, अन्य शिक्षकहरु र प्रधानाध्यापकज्यू पनि स्थानीय कथित “मैथिली” भाषी नै थिए। तर प्रधानाध्यापकज्यूले भन्दै हुनुहुन्थ्यो – “हामीले मैथिलीमा बोल्न समर्थ हुनेछौं कि छैनौं डर लागेको थियो। तर देव-सरले दिएको हौसलाले गर्दा हामीले मैथिली बोलेर कार्यक्रम संचालन गर्न सक्यौं।” उहाँको खुशी देखेर लागि रहेको थियो मानौं अन्य ग्रहबाट आएको प्राणीको भाषा मानवले प्रथम पटक बोल्न सकेको होस्। त्यही अर्को तिर मेरो मनमा प्रश्न पनि उब्जिरहको थियो- त्यसो भए अहिले सम्म हामीले कुन भाषा बोलि रहेका थियौं? लेखाउन त हामी सबैले मैथिली नै लेखाएका छौ, अनि यो दुविधा किन? पूर्व-मधेसमा अक्सर बहुसंख्यकहरुले झेल्दै आएको यस किसिमका दुविधाहरुको कारण हो – त्यहाँका मानिसहरुले मैथिली होइन, ‘ठेठी’ बोल्छन्। त्यहाँका वासिन्दालाई कुन भाषा बोलेको सोध्दा, ‘ठेठी’ नै बोलेको भन्दछन् र त्यही नै उनीहरुको मातृभाषा हो। मैथिलीलाई मातृभाषाका रुपमा त मैथिल सम्भ्रान्तहरुले आफ्नो बाहुल्यता देखाउन जनगणना‍‍ र सर्भेहरु‍‍‍‍मा लेखाइ दिएको हो। र अब, दशकौं-दशक सम्म उनीहरुको भाषा ‘मैथिली’ भनेर लेखाइ दिँदा केहीले त अब ‘मैथिली’को ट्यागलाई स्वीकार्छन् पनि, तर तिनीहरुलाई नै मैथिली बोलेर सुनाउन भन्नु भयो भने कुनै व्राम्हण वा कायस्थको घर तिर औंला तेर्साउछन्। न त उनीहरुलाई मैथिली बोल्न आउँछ, न त मैथिली लेख्न वा पढन नै। अनि, कसरी उनीहरुको मातृभाषा मैथिली भयो त? मैथिल समभ्रान्तहरु मधेसमा थोरै नै भए तापनि शिक्षित थिए, सम्पन्न थिए, शासक र सरकारी संयन्त्र सम्म तिनीहरुको राम्रो पहुँच थियो। त्यही भएर मैथिल समभ्रान्तहरुले मधेसका निमुखा बहुसंख्यक जनताहरुको भाषाको टाउको काटेर ‘ठेठी’ बनाइ दिए, फगत एक बोली मात्र रहेको भन्दै ‘मैथिली’ लेखाइ दिए। मधेसमा मुख्यत: व्राम्हण र कायस्थहरु मिलाएर फगत १% ले बोल्ने मैथिली भाषालाई विगतका जनगणनाहरुमा १२% जति नै पुर्याइदिए। र पुन: यस पटकको जनगणनामा पनि मैथिल सम्भ्रान्तहरु मधेसको भए-भरको जनसंख्याको भाषा मैथिली लेखाउन लगाएर आफ्नो वर्चस्व कायम गर्न लागी परेका छन्। मेडिया र सरकारी संयन्त्र सम्मको आफ्नो निकट पहुँचलाई दुरुपयोग गर्दै यिनीहरुले यसका लागि साँढे-अभियान नै चलाएका छन्। तर यस पटक साँढेहरुको झुण्ड नै देख्न सकिन्छ। हिन्दी भाषाकर्मीहरु पनि उतिकै आक्रामक देखिएका छन्। यसले गर्दा आउने दिनहरुमा पनि मधेसका बहुसंख्यकहरुको भाषाको टाउको फेरि काटी ‘ठेठी’ बनाएर यिनीहरुले आ-आफ्नो स्वार्थ अनुरुप आ-आफ्नो मुखण्डो लाइदिने निश्चित:प्राय छ। तर भाषाविद्को हैसियतले म के औंल्याउँन चाहन्छु भने जति भिन्नता मैथिली र वज्जिकामा छ, जति भिन्नता थारू र मैथिलीमा छ, त्यो भन्दा कहीं धेरै भिन्नता मैथिली र ‘ठेठी’मा छ। अक्सर यी ‘ठेठी’ भाषीहरुलाई बास्तविक (जस कारणले अरुभाषा सँग पृथक भन्न सकियोस्) मैथिलीमा बोलेको कुरा बुझ्न पनि निकै नै कठिनाई हुन्छ। यसरी ‘म्यूच्वल इन्टेलिजिविलिटी’ को सिद्धान्त अनुरूप हुन् कि ‘सिन्ट्याकटिकल’ वा ‘स्टर्कचरल’ वा ‘लेक्जिकल’ भिन्नताका आधारमा, यदि मैथिली, भोजपुरी, थारू, वज्जिका र हिन्दी फरक भाषाहरु हुन् भने ‘ठेठी’ कसरी केवल बोली हुन सक्दछ? वा, ‘ठेठी’लाई कसरी मैथिली भाषा अन्तर्गत राख्न मिल्दछ? खाली ‘ठेठी’ लाई न्वारण गरि दिने कुनै ‘अंग्रेज’ नभेटेर न हो, ‘ठेठी’ लाई पहरा गरिदिने कुनै सत्ता वा संरक्षण गरिदिने सामन्तहरु न भएर न हो। ‘ठेठी’ बोल्ने मधेसका आम जनताहरुको सत्ता र सामर्थ्य सम्म पहुँच नभएर न हो। ‘ठेठी’ बोल्नेहरुको आवाजलाई स्थान दिने मेडिया न भएर न हो। तर नयाँ नेपालको निर्माणमा यी कुराहरु माथि गम्भीर विचार हुनु आवश्यक छ। आम मधेसीहरु नेपाली शासकवर्गसँग अहिले असंतुष्ट रहेको अवस्थामा तथा देश नै तरलावस्थामा रहेको मौका छोपी यी मैथिल समभ्रान्तहरु मधेसका जनताहरु माथि मैथिल व्राम्हणवाद र मैथिली भाषा लाद्न व्यस्त छन् , दरभंगा र मधुबनीबाट पाग झिकाएर मधेसीहरुको टाउकोमा थोपार्न व्यस्त छन्। मधेसमा कतै पनि कसैले नलाउने पाग मधेसीहरुको टाउकोमा अब लाधिदैछ। यदि पाग मधेसीहरुको आफ्नै आभूषण भएको भए, मधेसीहरुले सँधै लगाउँथे, पाग यहीं उपलब्ध हुन्थ्यो, घर-घरमा पाइन्थ्यो, दरभंगा र मधुवनीबाट मँगाउनु पर्ने थिएन। त्यसै गरी अहिले यी मैथिल समभ्रान्तहरू तिरहुता लिपीलाई मधेसीहरुको लिपी बनाउन तम्तयार भएर लागेका छन्। यिनीहरुको वश चल्ने भए सम्पूर्ण मधेसीहरुको लिपी त तिरहुता लिपी भनेर लेखाइ दिन्थे। यस्तो लिपी जुन मधेसमा लेख्न र पढन जान्ने एक दर्जन मान्छे पनि भेटाउन गार्हो छ, यस्तो लिपी जसले सम्पूर्ण मधेसीहरुलाई राता-रात लेख्न र पढन नजान्ने निरक्षर बनाइ दिओस् व्यूँताउनुको के औचित्य? नयाँ नेपालमा मधेसका बहुसंख्यकहरु माथि भित्रैबाट गरिदै आएको यस किसिमका भाषिक अतिक्रमणहरु रोकिनु पर्दछ, यिनीहरुको भाषाको नामाकरण हुनु पर्दछ, यिनीहरुको मौलिक भाषिक पहचानलाई हामी सबैले स्वीकार्नु पर्दछ। त्यसले नै न्याय-संगत नयाँ नेपालको सिर्जना हुन सक्दछ।

_____ · May 29, 2011 7:25 PM · 1,250 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all