माइनसको तर्कमा मुलुकको मानचित्र

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

दलहरू केवल प्रतिक्रिया, फगत प्रतिक्रिया र मात्र प्रतिक्रियाको दुष्चक्रमा फसेका छन् । माइनसको तर्कमा मुलुकको नयाँ मानचित्र कोरिएको छ । यो मानचित्र हाम्रो सपनाको नयाँ नेपालसँग मेल खाँदैन ।   अमेरिकी दार्शनिक तथा लेखक रबर्ट एम पिर्सिगको उपन्यास 'जेन एन्ड दि आर्ट अफ मोटरसाइकल मेन्टिनेन्स' मा एउटा गजबको दार्शनिक दृष्टिकोण छ ः प्लस र माइनसको तर्क । पिर्सिगका अनुसार हरेक चिजको अलग अस्तित्वको आधार प्लस र माइनसको तर्कमा छ । कुनै वस्तु या त हुन्छ या त हुँदैन । यसैलाई समग्र दार्शनिक दृष्टिकोण मान्न नसकिएला, तर वस्तुको अस्तित्वको एउटा व्याख्या मान्न सकिन्छ । गणित-विज्ञानमा समेत प्लस र माइनसलाई सामान्य हिसाबकिताबको चिह्नबाट अघि बढेर एउटा दार्शनिक अवधारणा मानिन्छ । अर्थात् प्लस र माइनसको तर्कले सकारात्मक र नकारात्मक अवधारणासम्म पुर्‍याउँछ ।  प्लस र माइनसको तर्क हाम्रो संविधानसभाको म्यादका बारेमा भैरहेको विवाद र त्यसबाट उत्पन्न राजनीतिक तनावलाई व्याख्या गर्ने राम्रो औजार हुनसक्छ । अझ यसो भनौँ : जेठ १४ पछि संविधानसभा या त हुन्छ या त हुँदैन । संविधानसभा कहिल्यै नभएको भए, त्यसको एउटा सुमधुर सपना बाँकी रहन्थ्यो । तर, सात सालको विधानसभाको सपना, जनयुद्धको संविधानसभाको कल्पना र यो कल्पनासँग जोडिएको राज्य पुनर्संरचनाको आकांक्षा, अनि दोस्रो जनआन्दोलनको तीव्र दबाबको कोलमा पेलिएर संविधानसभा जन्मियो । सपना जब विपना हुन्छ, अनि सपना र विपनालाई छुट्याउने कुनै चिज बाँकी रहँदैन । अर्को यथार्थ के पनि हो भने समाजमा कुनै खास वर्गको सपना अर्को वर्गको स्वप्नदंश हुन्छ । संविधानसभा काठमाडौंकेन्दि्रत सत्ताका निम्ति स्वप्नदंश नै हो । काठमाडौंकेन्दि्रत सत्ता भत्कनुको सोझो अर्थ यो केन्द्रलाई टिकाएर महल खडा गर्ने र त्यो महललाई जनसामान्यको दृष्टिबाट छेक्न अग्लो पर्खाल खडा गर्नेहरूको स्वर्गमा पहिरो जाने नै हो । त्यसैले संविधानसभा छ, त्यसैले यसको एउटा डाइनोसर स्वरूप पनि छ । दुनियाँमा अहिले डाइनोसर छैन, तर डाइनोसरको अवधारणा हाम्रो मस्तिष्कमा छ । डाइनोसरको अवधारणा भएकै हुनाले हामी डाइनोसरविनाको दुनियाँका बारेमा सोचेर केही आस्वस्त हुन्छौँ । अन्यथा डाइनोसरको डरलाग्दो भीमकाय उपस्थितिले कतै जुरासिक पार्क नामको फिल्ममा जस्तो खतरा उपस्थित हुन्थ्यो । यसैगरी संविधानसभा विपनामै खडा भैसकेको हुनाले यसको मधुरताले हामीलाई कहिल्यै छाड्नेछैन, चाहे संविधानसभा अल्पायुमै किन नमरोस् । फेरि पनि पुरानै व्यवस्था, राज्यको संरचना र राजनीति फर्काएर ल्याइयो भने पनि संविधानसभाका रूपमा खडा भएको सपनाको संसारको स्वादले हामीलाई लखेट्न छाड्ने छैन । त्यसैले संविधानसभाको अस्तित्वलाई माइनसको अवधारणामा राखेर हेर्नासाथ एउटा खतरनाक भविष्य हाम्रो आँखामा आइपुग्छ । हुन त माइनसमा हामी माहिर छौँ । माइनसलाई एउटा बिम्बका रूपमा हेरौँ । ऋणात्मक गणितीय चिह्न माइनसलाई नेगेटिभ अर्थात नकारात्मक चिह्न पनि भन्न सकिन्छ । हाम्रो सत्तासीन संस्कृतिलाई ध्यानले हेर्‍यौँ भने हामी माइनस मानसिकता भरमार भेट्टाउँछौँ । यतिवेला सभासद्लाई गाली गर्ने होडबाजी माइनसको मानसिकले ग्रस्त भएको यत्रतत्र देखिन्छ । छोराछोरीका लागि जागिर खोजिदिनेदेखि पासपोर्ट बनाइदिनेसम्म, स्कुलदेखि वन समितिका भेलामा पुग्नेसम्म, लोग्नेस्वास्नीका झगडा मिलाउनेदेखि कुलोनहर खन्ने अभियानसम्म, संघसंस्थाका कार्यक्रममा आतिथ्य ग्रहण गर्नेदेखि स्थानीय मुद्दा लिएर मन्त्रालय डेलिगसन जानेसम्म हामीले सभासद्हरूलाई के मात्र काम लगाएका छैनौँ ? तिनै सभासद्लाई हामी स्थानीय समस्याहरूमा तान्छौँ, अनि तिनैलाई पटक-पटक सरकार बनाउने र गिराउने राष्ट्रियदेखि अन्तर्राष्ट्रिय राजनीतिले पनि उनीहरूलाई छाड्दैन । तिनै सभासद् हुन् जो असिन-पसिन भएर यता र उता कुदिरहेका हुन्छन्, सबैका मन राख्न नसकेकोमा उदास भैरहेका हुन्छन् र तिनैलाई हजार रुपैयाँको बाजी राखेर थप्पड हान्न जो-कोही चियापसलमा कुरिरहेको हुन्छ । हाम्रो माइनस संस्कृतिले हामीलाई हत्तपत्त सकारात्मक बन्न दिँदैन । चौबीस घन्टामा हामी अत्यन्त न्यून समय मात्र सकारात्मक विचारका साथ बिताउँछौं । अन्यथा नकारात्मक विचारको प्रवाह सदैव ८४० भोल्टमा बगिरहन्छ हाम्रो मस्तिष्कमा । हाम्रो राजनीतिमा अझैसम्म सक्रिय अघिल्लो पुस्ता त झन् विषवमन र विघटनको विचार प्रवाह गर्न अत्यन्त माहिर छ । हुँदाहुँदा यस्तो नकारात्मकताले समग्र मुलुक र विचारधाराको घेरो पटक-पटक नाघ्छ र व्यक्तिगत कुण्ठाको तहमा र्झछ । यसैको पछिल्लो परिणति संविधानसभाको म्यादका विषयमा भैरहेको लिँडेढिपीवाला बहस हो । संविधानसभा छ र यसले गर्न सकेको-नसकेको अथवा सक्ने-नसक्नेबारेमा छलफल हुनसक्छ । संविधानसभा नै नरहे त्यसको भोलिपल्ट मुलुकको दैनिकी कस्तो हुने भन्ने कल्पनासम्म हामीसँग छैन । संविधानसभा नरहनुको मतलब हो कुनै वैधानिक निकाय नरहनु र त्यस्तो अवस्थाको कल्पना अन्तरिम संविधानले गरेको छैन । त्यस्तो अवस्थाको कल्पना होइन अनुमान गर्न सकिन्छ । त्यो अनुमान अहिलेसम्मको अनुभवका आधारमा उत्पन्न हुन्छ र नेपाली राजनीतिको इतिहासले सुखद अनुमान गर्ने अनुमति दिँदैन । पिर्सिग ठीकै भन्छन्, हामी कुनै चिज छ वा छैनका आधारमा आफ्नो जीवन र समाजको दैनिकीको कल्पना गर्दछौँ । संविधानसभा 'छैन'को आधारमा अनुमान गर्नु त्यसैले जरुरी छ । म्याद थप्न हुन्न भन्नेहरूको लहरमा कांग्रेस सबैभन्दा अगाडि छ, तर उसले 'छैन'को अवस्थामा के हुने भन्ने विकल्पका बारेमा बोल्न पनि आवश्यक ठानेको छैन । संविधानसभा छैन भने अरू केही त हुन्छ । आखिर हुन्छ के ? संविधानसभालाई स्वप्नदंश मान्ने वर्गको रेडिमेड जवाफ छ ः राष्ट्रपति शासन । संविधानसभा स्वयंले आफ्नै हत्या गरिसकेपछि राष्ट्रप्रमुखका हैसियतले राष्ट्रपति 'राजनीतिक' कदम चाल्न बाध्य हुनेछन् । त्यसका निम्ति कांग्रेसलगायत पुराना पञ्चहरूले बाध्यताको स्थिति निर्माण गरिदिनेछन् । जेठ १५ गते बिहानको हावामा एउटा मनोवैज्ञानिक त्रास फैलिएको हुनेछ र त्यो हावालाई समेत गिरफ्तार गर्नका निम्ति सेना उतारिनु जायज मानिनेछ । गणतन्त्र दिवसको शुभप्रभात सैनिक बुटहरूको खत सडकमा ब्युँझाएर उत्रनेछ । अनि 'प्रतिगमन आधा सच्चिएको' व्याख्या गर्नेहरूको एउटा समीकरण देखापर्नेछ । संविधानसभा नरहेको कल्पना गर्नासाथ हाम्रो जीवनको नयाँ दैनिकी उजेलिन्छ । के हामी त्यही त्रासद् स्थितिको प्रतीक्षा गरिरहेका छौँ ? अथवा त्यस्तै घातक इतिहास दोहोर्‍याउने मनोदसामा छौँ ? राजनीति अत्यन्त प्रतिक्रियात्मक भएको छ । परिस्थितिमाथि काबु पाउने कुनै अवधारणा यतिवेला राजनीतिमा सक्रिय छैन । बरु परिस्थितिको प्रेतले निरन्तर हाम्रो राजनीतिलाई सताइरहेको छ र दलहरू केवल प्रतिक्रिया, फगत प्रतिक्रिया र मात्र प्रतिक्रियाको दुष्चक्रमा फसेका छन् । माइनसको तर्कमा मुलुकको नयाँ मानचित्र कोरिएको छ । यो मानचित्र हाम्रो सपनाको नयाँ नेपालसँग मेल खाँदैन । संविधानसभा यतिवेलाको एक मात्र जीवित जनता हो । यसको म्याद नथपिए जेठ १४ गतेको मध्यरात जनता शक्तिच्यूत हुन्छन् । यसले संविधानसभाको मात्र विघटन ल्याउँदैन, बरु शान्तिप्रक्रियामाथि घातक प्रहार गर्छ । यतिवेला उठेका जाति, जनजाति, आदिवासी, मधेसीलगायत सबै समुदायको आकांक्षाको झिल्को डढेलो बन्न सक्छ । समाजमा अकस्मात अराजकताको राँको बल्न सक्छ । प्रयास गर्नका निम्ति कुनै धरातल बाँकी रहँदैन । त्यसैले माइनसमा संविधानसभाको अस्तित्व सोच्नसमेत सकिँदैन । यतिवेला जस-जसले माइनसमा संविधानसभालाई सोचिरहेका छन्, उनीहरूले यो कल्पना गरेका छन् ? त्यसैले संविधानसभालाई प्लसमा सोचौँ र यसलाई प्लसकै तर्कले सफल बनाउने प्रयास गरौँ । माइनसको मानचित्रबाट भविष्यलाई बचाउनु मात्र बुद्धिमानी हो । source: http://www.nayapatrika.com/the...

_____ · May 26, 2011 12:47 PM · 11,804 views

1 Reply

धन्यवाद धर्के ब्रो, सधैं गहन बिषयमा पोस्ट गरेकोमा अभार ब्यक्त गर्दछु । तिमीले पोस्ट गरेका प्रतेक थ्रेडहरु नौलो र राष्ट्रिय सवलका बिषय मा हुन्छन। भत्केको घरको बिग्रेको चाला । Despite of very few responses to your thread, you have been posting these threads without any respite or grudge. I wonder at times - we Nepalese have been exposed to so much of irresponsibility by our leaders and occasionally by our countrymen alike, we have become desensitized to the plight of everyone. We take every incident, even which are a matter of national embarrassment, as an passing event. Every time when I think it as a last of its kind, I read yet another ridiculous and blatant scandal, just to be proved how wrong and naive we people were to think of it. Everyone of us is an accomplice to this farce that has been reenacted at the national theatre time and again. We don't really have a mechanism to counter this faux democracy . All these politicians conspire to keep their job in expense of all Nepalese people. It doesn't hurt them a bit if the country pluges deep down to a crevasse. Most of them are tainted to nth degree, they won't speak up against others, fearing a reprisal against themselves. And we elect them or they sneak in somehow to the parliament. This is outrageous and sad at the same time.  Holistically, it seems like there is nothing but despair to fellow Nepalese. I hope we strive to get rid of this plague, lest it is too late. We are much more interested in identifying ourselves to a particular ethic group or of a particular religous affiliation, and sajha is not an exception either.

bhakunde bhut · May 26, 2011 4:51 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all