काठमाडौँ, जेठ १२ । बाटोघाटोमा हिंड्दा कसैले चिन्ने हुन् की भनेर धेरै सभासद हिजोआज आफ्नो लोगो छोपेर हिंड्छन् । केही सभासदको खराब आचरण र व्यववहारका कारण संविधानसभामा रहेका सबै सभासदले बदनामी खेप्नुपरेको छ । संविधान बनाउन जनताले भोट हालेर पठाएका यिनै सभासद्का घिनलाग्दा आचरण र अपराधिक क्रियाकलापले सभासद् त बदनाम भएकै छन् स्वयं संबिधानसभा र राज्यब्यबस्थाप्रति पनि जनता क्रुद्द बन्न थालेका छन् । पासपोर्ट बेच्ने, बिजुली र जंगलको काठ चोर्ने, जाँड पिएर एकाबिहानै सार्बजनिक चोकमा तमासा देखाउने, पुलिसमा भर्ना गरिदिन्छु भनेर सर्वसाधारणबाट घुस लिने, यौनकर्मी महिलासँग रात बिताउने मात्रै हैन संबिधानसभा हलभित्रै अमर्यादित गतिबिधिमा पनि सभासदहरुनै संलग्न भए । संबिधानसभाको चुनावयता सभासद्ले देखाएका चर्तिकला कस्ता थिए त ? पासपोर्ट बेच्ने सभासदः संविधानसभाको दोस्रो कार्यकाल सकिनै लाग्दा सभासद्द्वय गायत्री शाह र बीपी यादव कुटनीतिक राहदानी दुरुपयोग अभियोगमा जेलमा पुगे । १५ लाख धरौटीमा अदालतले रिहा गर्ने आदेश दियो । रातो पासपोर्ट बेचेको अभियोगमा अरु ६ जना सभासद पनि छानवीनको दायरमा छन् । जँड्याहा सभासदः २०६७ बैशाख २४ गते माले सभासद शारदा नेपालीले नेपालगंजको सडकमा मदिरा सेवन गरेर तमासा देखाईन् । मदिराले लट्ठ भएर दिउँसै उनी सडकमा लर्बराउँदै र बर्बराउँदै हिंड्दा रमिता हेर्नेहरुको भीड नै लाग्यो । उनले गत साउनमा दुईपटक विष सेवन गरेर आत्महत्यको प्रयाससमेत गरेकी थिईन् । चोर सभासदः २०६७ पुसमा माओवादी सभासद खड्कबहादुर विश्वकर्मा चोरीको गाडी प्रयोग गरेको अभियोगमा समातिए । २०६८ बैशाखमा माओवादी सभासद ईन्द्रमति यादवले कपिलवस्तु हरिहरपुर स्थित आफ्नो घरमा बिजुली चोरेर बाल्ने गरेको पाईएपछि प्रहरीले नियन्त्रणमा लिई जम्मा ३ हजार जरीवाना गरेर छाड्यो । २०६६ माघमा माओवादी सभासद चन्दा देवी सहित अरु केही सभासद् रुख काट्दाकाट्दै पर्सा वन्यजन्तु आरक्ष क्षेत्रबाट पक्राउ परे । फोरमका सभासद मोहम्मद इस्तियाक राईले रुख काट्न पाउनुपर्ने माग गर्दै जिल्ला वन कार्यालय बाँकेमा नाराजुलुस गरे । कामातुर सभासदः २०६५ फागुनमा कांग्रेस सभासद कृष्णप्रसाद यादव यौनकर्मी महिलाहरुसँग भेटिए । काठमाण्डौ महाराजगंजको एउटा घरमा प्रहरीले छापा मार्दा उनी कपडा सम्हाल्दै कुलेलम ठोके । उनको रसिक कहानी निकै चर्चित बन्यो, पछि यो यत्तिकै सेलायो । घुस्याहा सभासदः २०६७ भदौ २५ मा एमाले सभासद डोलबहादुर कार्की प्रहरीमा भर्ना गरिदिने भन्दै एकलाख रुपैंया घूस लिंदालिंदै पक्राउ परे । पछि उनलाई पार्टीले पनि कार्वाही गर्यो । सभासद पद पनि गुम्यो । जुवाडे सभासदः २०६७ भदौमा कांग्रेस सभासद अच्युतराज पाण्डे जुवा खेलिरहेका बेला समातिए । जुवा खालबाट समातिएका पाण्डेको पनि निकै चर्चा भयो । तर यो काण्ड पनि त्यसै सेलायो । कसैले कार्वाही पनि गरेन । उनी अहिले पनि छाती फुलाएर हिंडिरहेका छन् । थप्पड हान्ने सभासदः समयमा संविधान नबनाएको भन्दै अहिलेका प्रधानमन्त्री झलनाथ खनाल र माओवादी सभासद झक्कु सुवेदीलाई सर्वसाधरणले थप्पड हाने जत्तिकै चर्चा भयो सभासदले अरुलाई हानेको थप्पड पनि । २०६५ जेठ १५ मा संविधानसभाको पहिलो बैठककै दिन एमाले सभासद कमला शर्माले अर्का सभासद पूर्णबहादुर खड्कालाई चप्पलले हानिन् । २०६६ कात्तिक २४ मा फोरम लोकतान्त्रिककी सभासद करिमा वेगमले सिमरा विमानस्थलमा आफूलाई लिन नआएको भन्दै पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीलाई कार्यालय परिसरमै पुगेर गालामा थप्पड् हानिन् । त्यतिबेला उनी कृषि राज्यमन्त्री थिईन् । हतियार प्रेमी सभासदः प्रहरीको मस्ट वान्टेड सूचीमा रहेका बबन सिंहले भूमिगत अवस्थामै संविधानसभाको चुनाव जिते । र, जितेको डेढ महिनापछि सार्वजनिक भए । माओवादी सभासद लोकेन्द्र विष्ट हतियार सहित संविधानसभा भवन प्रवेश गरेको विषय पनि निकै चर्चित भयो । डेढ वर्षअघि सद्भावनाका सभासद खोभारी राय अवैध हतियार सहित बानेश्वरबाट पक्राउ परे । अमर्यादित सभासदः २०६७ मंसिर ३ मा संसदमा बजेट पेश गर्न खोज्दा तत्कालिन अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई माओवादी सभासदहरुले लछारपछार पारे । संविधानसभाको शासकीय स्वरुप निर्धारण समितिमा भएको निर्णय चित्त नबुझेपछि कांग्रेस सभासद प्रकाशशरण महतले निर्णयपत्र च्याते । सभासद् विश्वेन्द्र पासवानले त झन् संवैधानिक समितिको बैठकदेखि संसद बैठकसम्म निकै चर्तिकला देखाईसकेका छन् । कुर्सी फाल्ने, माईक फोड्ने, आफ्नै लुगा च्यात्ने गरेर उनले निकै हंगामा मच्चाईसकेका छन् । –अनलाइन खखर
_____ · May 26, 2011 12:41 PM · 1,724 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion