Great Interview

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

This may have been posted here earlier, but what an interview by the "Jumping Jack" of Nepalese Cineworld....... His vision into life and relationship is really interesting............ Inspiring too ...... मैले विवाहका लागि उपयुक्त साथी पाएँ     डेरीको दूध पाइन्छ भने गाई किन पाल्ने भन्ने तपाईं अबचाहिँ गाई नै पाल्ने मुडमा पुग्नुभयो होइन ? खै यो कुरा कहाँबाट निस्कियो थाहा छैन, मैले विवाहलाई कहिल्यै त्यसरी हेरेको छैन, किनभने विवाह भनेको एउटै कुरामा मात्र केन्दि्रत छैन अर्थात विवाह दूध खान मात्र गर्ने कुरा होइन, गाई पाल्नेले पनि दूधकै मात्र आशा राख्छन भन्ने पनि होइन, गाईवस्तुप्रतिको लगाव, प्रेम र खाँचो महसुस गरेर पाल्नेहरू पनि छन्, दूध दिन छोडे पनि गाइ पालेकै छन् त। विवाहको विपरीत सोच राख्ने तपाईंले यसको आवश्यकता कसरी महसुस भयो नि ? विवाहका बारेमा मेरो आफ्नै दृष्टिकोण भए पनि म नितान्त रूपमा विपरित लिंगीसँग सम्बन्धै नभएको पुरुष भने होइन, जीवनको अहिलेसम्मको यात्रामा महिलाहरू मेरा अभिन्न मित्रका रूपमा आएका छन्। हाम्रो जुन किसिमको सामाजिक अवधारणा छ म त्योभन्दा पृथक् मानिस होइन, मेरो जीवनमा महिलाहरूसँगका विभिन्न सम्बन्ध भए। जहाँसम्म प्रेमको कुरा छ, थुप्रैसँग लामो र छोटो किसिमका रिलेसनसिप भए, तर विवाह सम्झौता हो भन्ने दृष्टिकोणका कारण मैले त्यसतर्फ ध्यान दिइन्, तर अहिले आवश्यकता महसुस भयो। मैले यसअघि जुन प्रकारको रिलेसन राखे, ती सम्बन्ध विवाहका निम्ति तयार थिएनन् भन्ने मेरो बुझाइ छ। अर्को कुरा मलाई आफू अचानक विवाहको मुडमा पुगेको पनि लाग्दैन, अब भने विवाह गर्नुपर्‍यो भनेर यो उमेरमा निर्णय गरेको भन्दा पनि अहिले आएर मेरा लागि सही व्यक्ति पाएँ, जसका कारण विवाह गर्ने निर्णय लिएँ भन्नुउपयुक्त हुन्छ । किनभने विवाहका लागि मुख्य कुरा जीवनसाथी सही हुनुपर्छ, अहिले जो मेरो जीवनमा छिन्, उनी मेरा लागि सही छिन्। अहिलेसम्म राजेश हमालको जीवनमा कति गर्लफ्रेन्ड आए त ? मेरो जीवनमा धेरै कारणले धेरै महिला आए, किटान गरेर हिसाब किताब निकाल्ने कुरा आएन, सबैसँग प्रेम वा रिलेसनसिप नै थियो भन्ने पनि छैन। २० र ३० को दशकमा टुरिस्ट गर्लफ्रेन्ड धेरै थिए, उनीहरू ५ दिनका लागि नेपालका आएका हुन्थे, त्यसैले त्यस्तो सम्बन्ध छोटो समयका लागि थियो, केही रिलेसनसिप अलिक लामो पनि रह्यो। जीवनमा धेरै गर्लफ्रेन्डका रूपमा आए भनेर भन्न म लाज मान्दिनँ, यसलाई म सकारात्मक रूपमै लिन्छु। केटी साथीहरूसँगको सम्बन्धले मेरो जीवनमा थप ऊर्जा मिल्यो। उमेर अनुसार जीवन जिउने मेरो आफनै शैली थियो। महिलाहरूसँगको सम्बन्धबाट मैले जीवन जीउने कला सिकें, जीवनका थुप्रै रंग बुझ्न सहयोग पुग्यो। संख्यात्मक रुपमा कति आए भनेर म भन्न सक्दिनँ तर लामो रिलेसनसिप ६ जनासँग चल्यो।  राजेश हमालका यति धेरै अफेयर किन चर्चामा आएनन् त ? आएका छन् नि, मेरो कलेजकालीन अफेयर प्रायः सबैलाई थाहा छ, त्यस्तै केही सम्बन्धहरूका बारेमा पत्रपत्रिकामा समाचार छापिएका थिए। रिलेसनसिपलाई लुकाउनुपर्छ भन्ने मान्यता मेरो छैन, तर मेरा सबै लामा रिलेसनसिप विदेशी महिलाहरूसँगै भएकाले यस विषयमा कोही जानकार रहे, कोही रहेनन्। म ती सबै रिलेसनसिपलाई अमूल्य मान्छु, ती सबै सम्बन्ध मेरा लागि धेरै महत्वपूर्ण रहे। त्यो सम्बन्धलाई विकास गर्ने महिलाहरूको म कदर गर्छु। उहाँहरूप्रति मेरो रेस्पेक्ट छ। अहिलेसम्म जीवन रिलेसनसिपमै चलिरहेको छ, अब पनि किन विवाह गर्नुपर्‍यो नि ? जीवन भनेको म्याराथुन रेस होइन, एउटै ट्रयाकमा कुद्नपर्ने, जीवन विभिन्न ट्रयाकमा दौडिन्छ। उमेर, सोचाइ, बुझाइअनुसार व्यावहारिक रूपमा जीवन चल्छ, उमेर अनुसार जीवन भोग्न जान्नुपर्छ, त्यसैले अहिले सम्मको मेरो जीवन मेरा लागि निरस रहेन, जुन प्रकारको जीवन मैले विगतमा भोगे त्यो गर्व गर्न लायक छ। रहयो अबको जीवनको कुरा, त्यसलाई पनि म निरस बनाउन चाहन्नँ। ३० को दशकको जीवन र ६० को दशकको जीवनमा धेरै फरक छ। विगतको अनुभवले मलाई अझ परिपक्व बनाएको छ। विवाह गरेर अघि बढ्न र निर्णय लिन मलाई उमेरले नै सिकाएको हो। कुनै नेपालीसँग लामो रिलेसनसिपचाहिँ रहेन ? मैले माथि उल्लेख गरेका पाँच-छवटा रिलेसनसिप सबै विदेशीसँगै थिए, तर अहिले मैले जसलाई जीवनसाथी बनाउँदै छु, उनी नेपाली नै हुन्, त्यसैले नेपालीसँग पनि लामो रिलेसनसिप रहने भयो नि ... छोटो प्रकारको सम्बन्ध धेरैसँग रहयो भन्नुभयो, त्यसमा त नेपाली महिला पनि थिए होलान् नि ? आफ्नो उमेरको २० र ३० को दशकमा मेरो सम्बन्ध अक्सर विदेशीहरूसँग थियो, टुरिस्टहरू मेरा गर्लफ्रेन्ड थिए। म नेपाली गर्लफ्रेन्ड थिएनन् भन्दिनँ, तर धेरै कम थिए। आदर्श साथीका रूपमा पनि नेपाली महिला साथी थिए, डिप रिलेसनसिप कम नै थियो। यो प्रेमको सुरुवात कसरी भयो नि ? यस विषयमा अहिले धेरै कुरा नगरौं। एउटा गेट टुगेदरमा उनीसँग भेट भयो। भेटकै क्रममा उनलाई मैले आफ्नो टाइप र नेचरसँग मिल्ने खालको पाएँ। उनी मेरा लागि फिट थिइन्। म उनीप्रति पनि आकषिर्त हुँदै गए। हामी दुवैको मन मिल्यो। हामीबीच समझदारी र प्रेमकै कारण सम्बन्धले स्थान पायो। उनको समर्पित प्रेमका कारण पनि म उनीप्रति आकषिर्त भएको हुँ। उमेरको ठूलो ग्याप हुँदैन र ? हो, उमेरमा ग्याप छ, तर वर्षले ग्याप भए पनि एकअर्काको भावना बुझ्नका लागि उमेरले खासै महत्व राखेको छैन। हामीबीचको सम्बन्धले त्यो ग्यापको अनुभूति गराएको छैन, तर पनि ग्यापका कारण हतारिएर विवाह गरेर भोली कुनै किसिमको समस्या नआओस भन्ने मेरो चाहना हो। विवाहको प्रस्ताव कसले राख्यो त ? विवाहको प्रस्ताव कसले राख्ने भन्ने प्रसङ्गै आएन, हाम्रो प्रेम म्युचुअल अन्डरस्ट्यान्डिङमै भयो। यो उमेरमा आइपुगेर विवाहको प्रस्ताव राख्ने कुरा पनि आएन, सम्बन्ध नजिकिँदै जाँदा धेरै कुरा मिल्न गएकाले पनि हामी विवाहको बाटोतर्फ अघि बढेका हौं। माया गाढा हुँदँ गएपछि हामी सँगै जीवन चलाउन सकिन्छ कि भन्ने अभ्यासमा छौं। परिपक्व हुन नसकेको प्रेम भन्नुभयो, अझ प्रस्ट्याइदिनुस् न ? हेर्नुस्, दही जम्न जम्न लागेको बेला हल्लाइदियो भने त्यो नजम्न पनि सक्छ। दही जमिसकेको छैन, तर बन्ने प्रक्रियामा लागिसकेको छ। त्यसैले विवाह हुने प्रक्रियामा छ, समय आएपछि यसको औपचारिक घोषणा गर्नेछु, त्यसकै लागि मैले आफ्नो रिलेसनसिपलाई पि्र-म्याचोर्ड भनेको। उहाँसँगको प्रेममा तपाई पागल भैसकेजस्तो देखिन्छ नि ? म त्यस्तो पागल प्रेम गर्ने व्यक्ति होइन, म प्रेमलाई प्राप्तिसँग पनि जोड्दिनँ। हामी दुवैले त्यो हिसाबको प्रेम गरेको होइन। म कसैलाई देख्नेबित्तिकै आकषिर्त भएर प्रेम गर्ने व्यक्ति पनि होइन। एक स्टेजसम्मको सामिप्यता भैसकेपछि उनका धेरै कुराले मलाई आकषिर्त गरेको भने हो, त्यसकारण पनि हामी दुवै सन्तुलित प्रेम गरिरहेका छौं।

gyanguru · May 8, 2011 3:00 AM · 2,244 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all