काठमाडौ, वैशाख २३ - सरकारी कार्यालय बिहान १० बजे खुलेर ५ बजे बन्द हुन्छ । तर अचम्म, काठमाडौं जिल्ला प्रशासन कार्यालय बुधबार राति साढे ८ बजेसम्म खुल्यो । सर्वसाधारणको कामका लागि होइन, एक जना आरोपीलाई रिहा गर्न । खुकुरी र तरबारसहित पक्राउ परेका चरी भनिने दिनेश अधिकारी छुटाउन प्रशासनले 'नियम मिचेको' हो । ११ दिनअघि थानकोटमा ११ साथी सहित समातिएका चरी बुधबार राति साढे ८ बजे काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोख्रेलको आदेशमा छुटेका हुन् । उनले पाँच हजार रुपैयाँ धरौटीसमेत बुझाए । पक्राउ गरेको तेस्रो दिनदेखि मुद्दा चाँडो बुझाउन चर्को दबाब झेलेको प्रहरीले बुधबार दिउँसो साढे ४ बजे सरकारी वकिल कार्यालयमा मुद्दा बुझाएको थियो । 'अन्य मुद्दा बुझाउँदा ढिलो भो भन्दै फिर्ता पठाउने सरकारी वकिलले ६ बजेसम्म लगाएर फाइल तयार पार्‍यो,' काठमाडौं परिसरका एक अधिकृतले भने, 'दबाब प्रहरीलाई मात्र होइन, सरकारी वकिल र प्रजिअ सबैलाई थियो ।' स्रोतका अनुसार सरकारी वकिल कार्यालयमा जसरी भए पनि मुद्दा बुझाउन दबाब आएको थियो । 'कार्यालय समय सकिन लाग्दा बुझाइएका व्यक्तिलाई समय अभाव भन्दै फिर्ता पठाउँथ्यौं तर चरीको मुद्दामा जसरी भए पनि बुझाउन दबाब थियो,' कार्यालयका एक वकिलले भने । उनका अनुसार महान्यायाधिवक्ताको कार्यालयबाट 'आजै मुद्दा बुझाउनू' भन्ने दबाब आएको थियो । एमाले धादिङ क्षेत्र नम्बर १ का उपाध्यक्षसमेत रहेका चरी ६ बजे बबरमहलस्थित जिल्ला प्रशासन कार्यालय पुर्‍याइएका थिए । '५ बज्न नपाउँदै खाली हुने कार्यालयमा चरीलाई कुन बेला ल्याउलान् भन्दै कुरेर बस्नुपर्‍यो,' जिल्ला प्रशासन कार्यालयका एक अधिकृतले भने । कायममुकायम प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोख्रेलले ५ बज्नुअगावै चरीलाई आफ्नो कार्यालय ल्याइसकेको दाबी गरे । 'ठ्याक्कै समय याद छैन तर ५ बज्नुअघि नै ल्याएका थिए, दर्ता गराएर बयान पछि मेरो अघिल्तिर उपस्थित गराउँदा अल्ली ढिलो भएको हो,' उनले भने । उनले आफू कार्यालयमा रहेका बेला कुनै मुद्दा आएमा त्यस माथि निर्णय गरेरमात्र जाने गरेको सुनाए । सार्वजनिक मुद्दामा २५ दिनसम्म प्रहरीले थुनामा राख्न पाउने भए पनि अनुसन्धान सकिएको भन्दै चरीसहित समातिएका १२ जनामध्येबाट चरीको मात्र मुद्दा बुझाइएको हो । काठमाडौं परिसरका एसपी केदार रिजालले चरीको 'अनुसन्धान सकिएकाले मुद्दा बुझाइएको,' दाबी गरे । आयुक्त कार्यालयका एक अधिकृतले प्रहरीले उल्टो काम गरेको प्रतिक्रिया दिए । 'मुख्य व्यक्ति नै ऊ हो, उसकै अनुसन्धान सकिएपछि अन्यलाई थुन्नुपर्ने कारण छैन,' ती अधिकृतले भने, 'चरीको मुद्दा चाँडै बुझाउन दबाब आएपछि प्रहरीले उल्टो काम गरेको हो ।' चरीसहित समातिएका विवेक प्रजापति, धन लामा, अजित लामा, दिलु शाही, पञ्चकुमार लामा, विनय राई, देवा तामाङ र ईश्वर गुरुङ प्रहरी हिरासतमै छन् । अन्य दुई फरार भोटे भनिने रूपेश गुरुङ र जोन भनिने ओम गुरुङ भने लुटपाट र ज्यान मार्ने उद्योग अभियोगमा फरार रहेको एसपी रिजालले बताए । हतियार जोन गुरुङको भएको दाबी प्रहरीको छ । हतियार चरीले चलाएको बा८च २१९८ नम्बरको कारको अघिल्लो सिटमुनिबाट बरामद भएको थियो । चालक छेउको उक्त सिटमा जोन गुरुङ बसेकाले हतियार उनको भएको प्रहरीको दाबी छ । चरीलाई पक्राउ परेलगत्तै छुटाउन कालिमाटी वृत्त र धादिङ जिल्लाको पृथ्वी राजमार्ग सडक खण्डमा एमाले कार्यकर्ताले प्रदर्शन गरेका थिए । Source:http://www.ekantipur.com/np/20...
thukka · May 7, 2011 9:59 AM · 3,630 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion